ad

बागमती प्रदेशमा अब ब्लुबुक र लाइसेन्सको कर घरबाटै तिर्न मिल्ने

शुक्रबार​, श्रावण ८ २०७८
image

काठमाडौं : सवारी साधनको अनलाइन कर भुक्तानीका लागि बागमती प्रदेशमा ‘यातायात व्यवस्था सुचना प्रणाली’ को शुभारम्भ गरिएको छ । 

शुक्रबार मकवानपुरको हेटौंडामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सुचना प्रणालीको शुभारम्भ गरेका हुन् । प्रणालीको शुभारम्भ भएसँगै बागमती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने छ ।

सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर पनि भुक्तानी गर्न सकिने प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै सेवाग्राहीले अब सवारीसाधनको राजश्व विवरण घरमै बसेर हेर्न र अनलाइनमार्फत दाखिला गर्न सक्नेछन् ।  

कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशमा सुशासनको युग शुरु भएको बताए । उनले अब विद्युतीय बस सञ्चालन गर्नका लागि टेन्डरको आह्वान भइसकेको जानकारी दिए । भीमफेदीदेखि कुलेखानीसम्मको सुरुङमार्गका लागि पनि टेन्डरको प्रक्रियामा जाने उनले बताए ।

बागमती प्रदेशमा रहेका १० वटा यातायात सेवा व्यवस्था कार्यालयहरुमध्ये हाल ६ वटा कार्यालयबाट यो सेवाको सुरुवात गरिएको जनाइएको छ । बागमती प्रदेशमा हालसम्म १६ लाख ४७ हजारभन्दा धेरै सवारी दर्ता भइसकेको बागमती भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव संजिव बरालले जानकारी दिए ।

ad
ad
ad