ad

भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ : पर्यटनमन्त्री अरगरिया

आइतबार​, आषाढ ६ २०७८
image

काठमाडौं : पशुपति क्षेत्रभित्र राममन्दिर निर्माण हुने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले धार्मिक विधिअनुसार राममन्दिरको शिलान्याश गरेका हुन् ।

७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण शुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

शिलन्यासपछि मन्त्री अरगरियाले पशुपति क्षेत्रलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिए । उनले आफु पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफु आएर अनुगमन गर्ने बताए । उनले भ्रष्टाचार हुन नदिनका निम्ति सजग पनि गराए ।

मन्त्री अरगरियाले पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउने नभई व्यवस्थित रुपमा राखिने प्रतिवद्धता जनाए । सरकारी बजेटमा नभई पशुपतिले सहयोगबाट मन्दिर निर्माण गर्न खोज्नु स्वागतयोग्य भएको र पुरातत्व विभागको नियमअनुसार मन्दिर निर्माण गर्न सुझाव दिए ।

त्यस्तै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रका भौतिक तथा अमूर्त सम्पदाहरुको संरक्षणमा विशेष ध्यान दिइने जिकिर गरे । उनले कोषमा देखिएका गुनासालाई सम्बोधन गर्ने जनाए ।

राम मन्दिरसँगै नजिकका साधु बाबा बस्ने सतहहरुलाई पनि पुनर्निर्माण गरिने कोषले जनाएको छ । पुनर्निर्माणका लागि सो क्षेत्रबाट बाबालाई हटाइएको थियो । तर पुनर्निर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन खोजिएको भन्दै विरोध भएको थियो । 

ad
ad
ad