ad

इन्द्रा बन : डायस्पोराकी नेपाली दिदी

ग्लोबल नेप्लिज संवाददाता
सोमबार, फागुन २४ २०७७
image

काठमाडौं : मानिस किन सम्मानित हुन्छ ? त्यसका केही कारण हुन्छन् । योग्यता, क्षमता, अनुभव, योगदान, उमेर यस्तै यस्तै ।

मूल्यांकनका आधार पनि यिनै हुन्छन् प्राय: । जो अब्बल सावित हुन्छ, ऊ सम्मानित हुन्छ वा पुरस्कृत हुन्छ । नियम यही हो ।

व्यक्तिगत फाइदा र अवसरका लागि त जो पनि लागिपर्छ । यो मानवीय र प्राकृतिक चरित्र नै हो । व्यक्तिगत र पारिवारिक स्वार्थ भन्दा केही माथि उठेर  समाज र समुदायका लागि केही गरौं भन्ने मानिस भने कमै भेटिन्छन् ।

यस्तै निकै कम मानिसहरुको सूचीमा पर्ने एउटा नाम हो, इन्द्रा बन ।

...............

समान अवसर र सहभागिताको नारासहित सोमबार संसारभर ‘१११औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । विशेषगरी श्रमिक महिलाहरुको स्वतन्त्रताको प्रसंगबाट शुरु भएको यो दिवस हिजोआज सिंगो महिला समुदायको अधिकार स्थापित गराउने पर्वको रुपमा मनाउने गरिएको छ ।

विश्वको कूल जनसंख्यामा झण्डै आधा हिस्सा महिलाको छ । त्यसैले त महिलाहरुलाई ‘आधा आकाश’ भनेर सम्बोधन गर्ने गरिन्छ । एउटा ‘आधा’ ले अर्को आधालाई सम्मान गर्ने नभई दुवै आधाबीचमा समानताको रुपमा हेरिनुपर्ने आवाज पनि बुलन्द भइसकेको छ । विकसित मुलुकहरुमा यस्तो सोंच कार्यान्वयनमा पुगिसके पनि अविकसित देशहरुमा भने यस्तो मान्यताका लागि अझै पनि संघर्ष जारी नै छ ।

समानता र सहभागितासँगै जोडिएर आउँछ, नेतृत्व । हिजोआज नेतृत्व पदसँग अलि बढी तुलना हुने गरेको छ ।

तर, उनलाई पदसँग चिन्ता छैन । विचार र पहल मुख्य ठान्छिन्, उनी ।

..............

हिजोआज विश्वका सबैजसो देश र ठाउँमा पुगेका छन् नेपालीहरु । तर, अलि पहिले यस्तो अवस्था थिएन । कतिपय देशमा हरियो पासपोर्टलाई अनुमति थिएन त कतिपय देशमा जाने नेपालीहरुको सोंच पनि ।

यस्तै अवस्थामा अष्ट्रेलियाको सिड्नी पुगेकी थिइन् इन्द्रा बन झण्डै आधा शताब्दी पहिले ।

सन् १९७५ मा इन्द्रा सिड्नी पुग्दा त्यहाँ उनले कोही पनि नेपाली भेटिनन् । सिड्नी विश्वविद्यालयमा अध्ययनका लागि आवासीय अनुमतिसहित पुगेकी इन्द्राले नेपाली साथीहरु भेट्न एक वर्ष पर्खिनु पर्यो ।

............

अष्ट्रेलिया अहिले नेपालीको एउटा प्रमुख गन्तव्य मुलुक हो । वर्षेनी हजारौं नेपाली युवा विद्यार्थीहरु उच्च शिक्षाका लागि अष्ट्रेलिया पुग्छन् । सीप भएका नेपालीहरु रोजगारीका लागि जाने गरेका छन् ।

शिक्षा र रोजगारीका लागि नेपाली जाने क्रम बढेसँगै त्यहाँ नेपालीहरुको संख्यामा बढोत्तरी भइरहेको छ ।

तर, त्यतिबेला ........ ? त्यतिबेला त उनलाई साथी भेट्टाउन पनि मुस्किल थियो ।  

त्यो मुस्किल धेरै समय भने खेप्नु परेन । श्री गोविन्द शाह, आनन्द श्रेष्ठ र अकलबहादुर सिंहलाई एक वर्षपछि अर्थात १९७६ मा भेटेकी उनलाई नेपालका आफ्नै परिवारका दाजुभाइ भेटे जस्तै भयो । त्यतिबेला अहिले जस्तो कहाँ थियो र ? उनी भन्छिन् ।

अचेल नेपाली नभेटिने ठाउँ छैन, नेपाली भएको ठाउँमा संगठन नहुने कुरै भएन । संगठनको कुरा त्यतिबेला पनि मिल्दो थियो । ‘नेपाली विद्यार्थी संघ अष्ट्रेलिया’ अष्ट्रेलियामा खुलेको पहिलो नेपाली संस्था थियो । पछि यो संस्थामा अष्ट्रेलियालीलाई समेत समावेश गरियो ।

सन् २००३ मा बेलायतको लण्डनबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) घोषणा गरियो । प्रारम्भमा चौध, पन्ध्र जना मिलेर घोषणा गरिएको यो नै विदेशमा रहेका सबै नेपाली समेट्ने पहिलो संस्था थियो ।

इन्द्रा बन अष्ट्रेलियामा स्थापित थिइन् । उनका बारेमा डा. उपेन्द्र महतो लगायतका अभियन्ताहरुले थाहा पाएका थिए । महतोले उनलाई फोन गरिहाले ।

‘पहिले त मलाई एनआरएनएका बारेमा जानकारी नै थिएन, जब महतोले फोन गर्नुभयो, मैले नाइ भन्नै सकिन’ एनआरएनए स्थापनाताकाको कुरा सुनाइन् । लगत्तै काठमाडौंमा सम्मेलन भयो, उनी अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य बनिन् । अनि लेखियो, एनआरएनए संस्थापकको सूचीमा उनको नाम ।

आइसीसी सदस्य बनेकी इन्द्रामाथि अष्ट्रेलियामा एनसीसी स्थापना गर्ने दबाब पर्यो । उनले साथीहरुलाई खबर गरिन् अनि २००५ मा नै अष्ट्रेलियामा विधिवत रुपमा एनआरएनए स्थापित भयो ।

एनआरएन अभियानमै पहिलो पटक उच्च पदमा (उपाध्यक्ष) पुग्ने महिला हुन् इन्द्रा । अहिले विश्वका असी भन्दा बढी मुलुकमा एनआरएनए फैलिएकोमा उनी खुसी छन् । ‘जुन उद्देश्यले यो संस्था स्थापना भयो, त्यसलाई पूरा गर्ने अभियान अझै जारी छ,’ उनले थपिन् ।

.............

अष्ट्रेलिया निवासी इन्द्रा । अष्ट्रेलियामै बसोबास गर्ने सफल व्यवसायी तथा विश्वकै धनाढ्य सूचीमा परेका शेष घलेले एनआरएनएको नेतृत्व गरे । इन्द्राले कहिल्यै नेतृत्वको अपेक्षा गरिनन् । तर, जब शेष एनआरएनएको नेतृत्वमा पुगे, सबैभन्दा बढी खुसी इन्द्रा नै भइन् । शेषजीले कठीन समयमा नेतृत्व गर्नुभयो, त्यही बेला बाढी पहिरो, त्यही बेला भूकम्प, ढुक्कै नेपाल बसेर नेपालीको सेवा गर्नुभयो, संस्थाको उपादेयता पूरा गर्नुभयो, उनले खुसी साटिन् ।

अहिले तिनै शेषकी पत्नी जमुना गुरुङ अभियानमा सक्रिय छन् । जमुनाप्रति इन्द्रा आशावादी पनि छन् । अहिलेसम्म कुनै पनि महिला अध्यक्ष र महासचिव भएका छैनन्, जमुना त्यसका लागि सक्षम छन्, उनले संभावना सुनाइन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार ‘नेपाल ट्वेन्टी फोर आवर्स डट कम’ का लागि बाबा राजेश्वरी  थापासंग कुरा गर्दै बनले आफ्नो रगतमै एनआरएन रहेको बताइन् ।  “चेन्ज इज द नेम अफ द गेम," उनले भनिन् ।  उनले संस्थामा नयाँ नेतृत्वलाई प्रशिक्षित गर्दै अगाडी बढाउनु पर्ने सुझाव पनि दिइन् । 

‘महिला भएकै कारणले आरक्षण तोकेर ठाउँ दिनुपर्छ भन्ने मान्यता उनको छैन । अब नेपाली महिलाहरु पनि सक्षम भइसकेका छन्, प्रतिस्पर्धा गर्न पनि तयार छन्, प्रतिस्पर्धाबाट आउने हो,’ उनले भनिन् ।

नेपालमा महिलाहरुलाई दिइएको आरक्षणप्रति पनि उनको खासै चित्त बुझेको छैन । छोरा र छोरीलाई घरबाटै समान अवसर दिएर प्रतिस्पर्धी बनाउनुपर्छ, त्यसपछि त आरक्षणको कुरै आउँदैन, उनले आफ्नो विचार सुनाइन् ।

उच्च शिक्षाको लागि झण्डै पाँच दशक अघि नेपालबाट अष्ट्रेलिया पुगेकी इन्द्रा सबै दृष्टिले त्यहाँ सम्मानित छन् । रोटरी क्लब, हेल्प नेपाल नेटवर्क, द फ्रेड हलोज फाउन्डेशन, अस्ट्रेलियन हिमालयन फाउन्डेशन जस्ता सामाजिक संस्थाहरुसंग आवद्ध रही समाज सेवामा सक्रिय बनलाई सन् २०११ मा अर्डर अफ अस्ट्रेलिया पदकले सम्मानित गरिएको थियो।  नेपालीहरुले त उनलाई ‘इन्द्रा दिदी’ भनेर सम्बोधन गर्छन् । अघिल्लो पुस्तादेखि नयाँ पुस्तासम्म सबैकी दिदी इन्द्रा विचार, योगदान र सेवा भावका कारण पनि संसारभरका नेपालीहरुको मन मुटुमा दिदीकै रुपमा रहिरहने छिन् । 

ad
ad
ad