ad

जुमबाट सुनुवाइ गर्दै अदालतले गर्‍यो मृत्युदण्डको फैसला

बिहीबार, जेष्ठ ८ २०७७
image

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण अहिले विश्वका धेरै देशहरूमा लकडाउन छ। एसियाली मुलुक सिंगापुरसमेत कोरोना भाइरसको दोस्रो लहरका कारण गम्भीर रूपमा प्रभावित भएको छ।

जसका कारण सिंगापुरमा आगामी जुन १ सम्मका लागि लकडाउन जारी रहँदा अदालतलगायतका सरकारी निकायहरू बन्द छन्। यद्यपि, प्रविधिको उच्चतम प्रयोग गर्ने मुलुक सिंगापुरमा अत्यावश्यकीय सरकारी कामहरू भिडियो कन्फ्रेन्सिङ एप जुमलगायतका अनलाइन माध्यमबाट भइरहेका छन्।

सिंगापुरमा अहिले अदालतका प्रत्यक्ष सुनुवाइहरू बन्द छन् । तर अति नै आवश्यक कतिपय सुनुवाइहरू अदालतहरूले भिडियो कन्फ्रेन्सिङमार्फत गर्ने गरेका छन् । यहीँ क्रममा सिंगापुरको एक अदालतले भिडियो कन्फ्रेन्सिङ सर्भिस जुममार्फत सुनुवाइ गर्दै एकजना व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको छ ।


सायद भिडियो कन्फ्रेन्सिङ सुनुवाइमार्फत अदालतले कुनै अभियुक्तलाई मृत्युदण्डको फैसला सुनाएको यो विश्वकै पहिलो घटना हुनसक्दछ ।

गत शुक्रबार अदालतले जुममार्फत सुनाएको फैसलामा ३७ वर्षीय पुनिथान गेनासन नामका व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको हो । ती व्यक्तिविरुद्धको लागूऔषध अपराधको मुद्दा सन् २०११ देखि अदालतमा विचाराधीन थियो ।

मानव अधिकारवादी संस्थाहरूले भने विश्व नै महामारीको पीडामा रहेको बेला मृत्युदण्डको सजाय सुनाउनु घृणित कार्य भएको आरोप लगाएका छन्।

सिंगापुरको सर्वोच्च अदालतका प्रवक्ताका अनुसार, सुनुवाइमा संलग्न सबै व्यक्तिहरूको सुरक्षालाई मध्यनजर गर्दै ती अभियुक्तविरुद्धको मुद्दाको सुनुवाइ भिडियो कन्फ्रेन्सिङमार्फत गरिएको हो।

स्मरणरहोस् लागूऔषध अपराधमा सिंगापुरले शून्य सहनशीलता अवलम्बन गर्दै आएको छ । सन् २०१३ मा त्यहाँ लागूऔषध अपराधमा १३ जनालाई मृत्युदण्ड दिइएको थियो। सिंगापुरमा मृत्युदण्ड पाउने ४ वटा अपराधहरूमा लागू औषध कारोबार पनि एक पर्दछ ।

ad
ad
ad