नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीले कारबाही गर्ने नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ ।
मंगलबार कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार भेटघाट गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँण र आङ्टावा शेर्पालाई अनुसन्धान जारी रहेकाले तत्काल कारबाही नहुने बताएका थिए ।
तर, मंगलबार साँझ नै महामन्त्री गगन थापाले भने अपराधमा संलग्न नेताको भारी पार्टीले बोक्न नसक्ने भन्दै कारबाहीको माग गरेका हुन् ।
खाँण नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा छन् भने शेर्पा सोमबार आफैं प्रहरी कार्यालय हाजिर भएका थिए । उनलाईसमेत प्रहरीले हिरासतमा नै राखेको छ ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेता’bout पार्टीका दुई जिम्मेवार नेताको फरकफरक आसयसहितको अभिव्यक्तिले कांग्रेस नक्कली शरणार्थी प्रकरणमा आफ्ना नेतालाई जोगाउने कि कारबाही गर्ने भन्नेमा अलमलमा रहेको र सो विषयमा कांग्रेस भित्र विवाद रहेको देखाएको हो ।
प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रहेकाले पार्टीले अहिले नै केही नबोल्ने भनेका थिए । उनले अनुसन्धानबाट दोषी ठहरिए सिस्टमले नै कारबाही गर्ने अभिव्यक्ति सञ्चारकर्मीमाझ राखेका थिए ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानकै क्रममा छ, अनुसन्धानको दायरामा रहेको विषयमा अहिले नै को दोषी को निर्दोष भन्ने मिल्दैन, अनुसन्धानको निष्कर्ष आएपछि दोषीलाई सिस्टमले आफैं कारबाही गर्छ,’ सरकारका अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता महतले पत्रकार भेटघाटमा भनेका थिए ।
तर, महामन्त्री थापाले भने प्रवक्ताको धारणाको ठ्याक्कै उल्टो अभिव्यक्ति दिएका हुन् । थापाले आफ्नो धारणालाई पार्टीको आधिकारिक धारणासमेत भनेका छन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै थापाले पार्टीमा क्रियाशील व्यक्ति कुनै भ्रष्टाचार वा अपराधमा संलग्न भएको थाहा भएपछि पार्टीले त्यसको भार बोक्न नसक्ने भनेका हुन् ।
‘पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ तर थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नुहुँदैन, पार्टीका तर्फबाट हामीले भन्ने यति मात्र हो, अनुसन्धान निष्पक्ष हुनुपर्छ, निर्दोष पर्नुहुन्न, दोषीले सजाय पाउनुपर्छ, दोषी र निर्दोष छुट्टयाउने कानुनी प्रक्रियाबाट हो,’ कांग्रेस महामन्त्री थापाले भनेका छन् ।
थापाले विधिको शासनको स्थापित मान्यता र अभ्यासअनुसार फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दामा कुनै व्यक्ति अनुसन्धानको दायरामा आएपछि सार्वजनिक पद वा भूमिकाबाट स्वतः निलम्बित हुनुपर्नेसमेत भनेका छन् । अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रशस्त गर्नुपर्ने र अनुसन्धानबाट निर्दोष साबित भए पुनस्र्थापना हुने बाटो रहने भनेका छन् ।
उनले विगत लामो समयदेखि मुलुकको शासकीय संरचनामा प्रवृत्तिकै रूपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल, राजनीतिकर्मी, नीति निर्माता, कर्मचारीतन्त्रलगायत राज्यका निकायप्रति व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा बढेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध पछिल्ला दिनमा नागरिक तहमा प्रतिरोध प्रारम्भ हुनु जायज र स्वाभाविक रहेको भनेका छन् ।
‘अब कुनै पनि व्यक्ति, समूह वा राजनीतिक दल कि यो प्रतिरोधमा नागरिकका साथ उभिनुपर्छ कि भ्रष्टहरूको समर्थनमा, बीचको बाटो कसैसँग पनि छैन,’ थापाले भनेका छन् ।
थापाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र नभएर संगठित अपराध र मानव बेचबिखन नै भएको ठोकुवा गरेका छन् ।
‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र होइन यो संगठित अपराध हो, मानव बेचबिखन हो, यो नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै हो, तसर्थ यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागीदार छन् ।’
थापाले पार्टीका जिम्मेवार नेतामाथि गम्भीर आरोप लाग्दा जिम्मेवार व्यक्ति अनुसन्धान किनारा नलाग्दासम्म आफैं पार्टीको जिम्मेवारीबाट अलग हुनुपर्ने नभए त्यस्ता व्यक्तिलाई पार्टीले नै निलम्बन गर्नुपर्ने स्पष्ट पारेका छन् ।
यस्तै, उनले पार्टीका नेताबाट नै विगतमा कारबाही गर्ने परम्परा नरहेको भन्ने अभिव्यक्ति आइरहेको भन्दै विगतका परम्परालाई पनि आवश्यकता र समयअनुसार पार्टीले तोड्नुपर्नेसमेत भनेका छन् ।
थापाले नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन भए पनि जनताको अपेक्षाअनुसार आर्थिक विकास, सामाजिक रूपान्तरण र सुशासनको प्रत्याभूति हुन नसकेकोप्रति आमजनताको प्रश्न रहेको समेत भनेका छन् । उनले ती सबै प्रश्नको एउटा प्रमुख कारण भ्रष्टाचार र कुशासन रहेको समेत दाबी गरेका छन् ।
कुनै पनि बहानामा अनुसन्धान प्रकियामा अवरोध, ढिलासुस्ती, दबाब वा प्रभाव पार्न नहुने भन्दै कांग्रेस महामन्त्री थापाले पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्नेसमेत भनेका छन् ।
थापाले अघि भनेका छन्, ‘अनुहारमा दाग लागेपछि ऐना जतिपटक पुछे पनि अनुहारको दाग पुछिँदैन, अनुहारकै दाग पुछ्नुपर्छ, त्यसका लागि पार्टीभित्र शुद्धीकरणको अपरिहार्यतालाई बोध गर्दै पार्टीका प्रत्येक सदस्यले दृढ संकल्प गर्ने बेला आएको छ ।’
यसअघि कांग्रेस पदाधिकारी बैठकमासमेत थापाले नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीले कारबाही गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, कांग्रेस नेतृत्वले भने थापाको प्रस्तावलाई नसुने झैं गरी ठार्दै आइरहेको छ । थापाको प्रस्तावको पक्षमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङसमेत उभिँदै आइरहेका छन् ।