ad

चेतना यात्रा

चिन्तामणिनाथ योगी
मङ्गलबार, चैत्र २८ २०७९
image

धर्मका बारेमा धेरै कुरा लेखिएका छन्, बोलिएका छन् र  गरिएका पनि छन् । तथापि लाग्छ, धर्म के हो भनेर हामीले गहिरिएर बुझ्न, बुझाउन सकेनौं कि ? शायद त्यसैले "धर्मस्य तत्वं निहितं गुहायाम्" भनिएको पनि हो। धर्म नजान्ने र नमान्नेहरु भन्दा पनि धर्म जान्ने र मान्नेहरू बढी अन्योलमा परेको पनि देखिन्छ। अझ भन्ने हो भने 'धर्म यस्तो हो' भनेर व्याख्यान गरी हिंडिरहेका गुरु, पण्डित र व्याख्याताहरु पनि कता-कता स्पष्ट नभएको देखिन्छ । एकातिर समाज अधर्मको अन्धकारले पिरोलिएको छ भने अर्कातिर धर्मको बारेमा स्पष्टता नहुँदा पनि समाज झन् बढी अल्मलिएको हो कि भन्ने बारेमा पनि अहिले कताकता चिन्ता गर्ने बेला आएको छ।

धर्म र अध्यात्म

हुन त धर्म भनेकै अध्यात्म हो। हाम्रो पूर्वीय सनातन दृष्टिकोणले भन्नुपर्दा यसमा केही भिन्नता छैन। तथापि स्पष्टतः छुट्याएर बुझ्दा पनि सायद अनुपयुक्त नहोला। धर्म भनेपछि कतै कुनै विशेष पहिचान वा विशेषण पनि थप्नुपर्ने देखिन्छ अर्थात् हिन्दू धर्म, बौद्ध धर्म, जैन धर्म, क्रिश्चियन धर्म मुस्लिम धर्म आदि भनेर । हुन त यिनलाई धर्म नभनिकन सम्प्रदाय पनि भन्ने चलन छ। किनकि धर्म व्यक्तिप्रेरित वा केन्द्रित हुँदैन। धर्म ग्रन्थकेन्द्रित पनि हुँदैन । धर्म त मूलतः प्रकृति हो, अस्तित्व हो, सनातन चिन्तनधारा, जीवनधारा हो। यसलाई हामीले सद्धर्म पनि भन्न सक्छौं। यस सद्धर्मलाई अर्को भाषामा सनातन धर्म पनि भनिन्छ । यसैलाई अध्यात्म भनेर व्याख्या गर्दा पनि सजिलो हुन्छ । अध्यात्म भनेपछि अध्यात्म मात्र हुन्छ। त्यहाँ फेरि कुन अध्यात्म? भनेर प्रश्न गर्ने ठाउँ रहँदैन । कहाँबाट आएको? कसरी आएको? कसबाट निर्दिष्ट भएको? भनेर प्रश्न गर्ने ठाउँ पनि रहँदैन। अध्यात्म भनेको त्यो चिन्तन धारा हो जहाँ अस्तित्व छ समग्रतामा, जहाँ प्रकृति बोल्छ समग्रतामा, जहाँ प्राणीमात्र सङ्गको अन्योन्याश्रित भाव छ। सारा जीव जीवन र जगतमा जुन आत्मभाव छ त्यसलाई अध्यात्म पनि भन्न सकिन्छ । त्यसैलाई गहिरिएर बुझ्दै जाँदा हरेक व्यक्तिमा निहित स्व को बोध र भावको अनुभूति नै अध्यात्म हो। 'स्व' मै समग्र विश्व ब्रह्माण्ड समाहित छ । त्यसैले गीतामा पनि भनिएकोछ- स्वभावोsध्यात्ममुच्यते । 

धर्म र संस्कृति

यसलाई सजिलोसँग बुझ्नु पर्दा सूक्ष्म र बाह्य रुप  पनि भन्न मिल्छ। सूक्ष्म रुप भनेको धर्म हो भने बाह्य रुप भनेको संस्कृति हो । संस्कृतिमा गरिने कुराहरूको महत्व हुन्छ भने अध्यात्ममा बुझिने कुराको। संस्कृति क्रियाकलापपरक हुन्छ भने धर्म अध्यात्मपरक। संस्कृति समाजपरक र परिवारपरक हुन्छ भने धर्म जीवनपरक र अस्तित्व परक । संस्कृति गरिने गराइने , मान्ने मनाइने अनेकौँ सुन्दर श्रृंखलाहरुको समष्टि रुप हो भने धर्म केवल बुझ्ने, रम्ने र एकत्वानुभूतिको उच्चतम अवस्था हो । यही एकत्वानुभूति, आनन्दानुभूति, चैतन्यानुभूतिको जुन यात्रा हो, साधना हो र अवस्था हो त्यसैलाई अध्यात्म पनि भन्न सकिन्छ।

संस्कृतिसंग परम्परा पनि जोडिएको हुन्छ अर्थात् दशैं, तिहार, लोसार, छठ, माघी, तीज आदि हाम्रा संस्कृति हुन् भने त्योसँग जोडिएर फरकफरक तरिकाले मनाउने जुन विधि हुन्, विभिन्नता हुन् र विशिष्टता हुन् त्यसलाई हामी परम्परा भन्न सक्छौं।

संस्कृति समग्रमा धर्मबाट अभिप्रेरित हुन्छ र जोडिएको हुन्छ भने परम्परा हाम्रा केही विशेषताहरुसँग, विशेष प्रसंगहरुसंग, कुनै घटना प्रसङ्गहरुसँग वा कुनै किंवदन्तीहरूसँग जोडिएको हुन्छ। अनि यही परम्परामा पनि फेरि विभन्न प्रकारका रीतिरिवाज चालचलनहरु पनि स्थानीय विशेषता अनुसार, पारिवारिक विशेषता वा घटना अनुसार आ-आफ्नै प्रकारले अनौठो रुपले जोडिएका हुन्छन् । त्यसैले नेपालमा जातिपिच्छे , समुदायपिच्छे, सम्प्रदाय पिच्छे अलग-अलग प्रकारका चलनहरु पाइनु यसको विशेषता हो । यो नेपालको समृद्धिको परिचायक पनि हो । अनेकतामा एकताको खोजी गर्ने भनेको पनि यही कुरालाई समग्रमा बुझ्नु हो। "एकम् सत् विप्रा बहुधा वदन्ति" भनेर शास्त्रमा गरिएको व्याख्यालाई समाजसँग सकारात्मक रुपले जोडेर हेर्ने आधार पनि यही नै हो ।

आत्मज्ञान

आजभोलि धेरै गुरुहरुले, स्वामी साधु सन्तहरुले, आचार्यहरुले आत्मज्ञानको बारेमा अनेकौं प्रकारका भाषण व्याख्यान, साधना आदि विभिन्न रुपले आ-आफ्ना चेलाहरूलाई सिकाइराखेका छन् । अनेकौ प्रकारका कथाहरु, ज्ञानयज्ञहरु, सत्संगहरु र जुम यज्ञहरु पनि अहिले विश्वव्यापी रुपमा फैलिँदै गएका छन् । तर यहाँनेर  तात्विक रुपमा बुझ्न बुझाउन नसक्दा समाज लाभान्वित हुनुपर्ने ठाउँमा विचलित  भएको र प्रताडित पनि भएको हो कि? भनेर पनि प्रश्न गर्नुपर्ने अवस्था सिर्जित भएकोछ।

अर्थात् -

क- आत्मज्ञान भनेको हो ? आफूमा आफैँभित्र खुम्चिनु हो ? वा अनन्ततामा समाहित हुनु हो ?

ख- आत्मज्ञान, आत्म कल्याण भनेको स्व केन्द्रित मात्र हुनु हो ? वा समग्र परिवार , समाज र विश्वसँग पनि जोडिएर स्व बोध सहित सुकर्म गर्नु पनि हो?

ग- आत्मज्ञान वा आत्मकल्याण भनेको आफुमा मात्रै निहित हुनु हो ? वा आफूभित्रै समग्र विश्व ब्रह्माण्डको बोध गरी प्रत्येक प्राणीप्रति, जीव प्रति एकत्व भाव, करुणाभाव, दयाभाव, प्रेमभाव, मैत्रीभाव राख्नु हो?

घ- आत्मज्ञान, आत्मकल्याण भनेको निराशा तर्फको, उदासीपन तर्फको, बैराग्य तर्फको वा एक्लोपनको यात्रा हो? वा श्रद्धा उत्साह सकारात्मकता सहित एकत्वको यात्रा हो?

ङ- आत्मज्ञान, आत्मकल्याण भनेको सम्यक् यात्रा, सहज यात्रा, सकारात्मक सन्तुलित यात्रा हो ?  वा स्वघोषित गुरु वा सम्प्रदायका पछि लागेर कतै कुनै पार्टीको टिकट काटेको जस्तो वा कुनै कम्पनीको सदस्य भएको जस्तो सीमित हुनु हो? 

यसरी हेर्दा यहाँ उठाउन खोजेको प्रश्न मूलतः के हो भने आत्मज्ञान र आत्मकल्याणका नाममा पनि  अहिलेको नयाँ समाज परिवारविमुख, समाजविमुख, राष्ट्रविमुख, मानवता विमुख भएको हो कि? अर्थात् कर्तव्यबोध घट्दै गएर एक्लोपन, उदासीपन , वैराग्यपनको कतै शुष्क अभ्यास बढेको हो कि ?

यहाँनेर अर्को पनि प्रश्न छ- सनातन जीवन दर्शन र र संस्कृति अनुसार चार आश्रमको व्यवस्था गरिएको छ- ब्रम्हचर्य आश्रम, गृहस्थाश्रम, वानप्रस्थ आश्रम र सन्यास आश्रम । यसको समुचित क्रमिक अभ्यास बिना के कतै कसैले आत्मज्ञानको नाममा अनावश्यक हाम्फाल्न मिल्छ र ? शंकराचार्य, मध्वाचार्य, बुद्ध, कबीर, विवेकानन्द आदिले हाम्फाले भन्दैमा के त्यो सबैका लागि स्वीकार्य हुनसक्छ र ? सनातन जीवनदर्शन र चिन्तन अनुसार सहज यात्रा गर्दै गर्दै क्रमशः अन्त्यमा आत्मज्ञानमा समाहित हुनुपर्ने ठाउँमा कर्तव्य पालन नगरी बस्न मिल्छ र? अचानक आमाबुवालाई, परिवारलाई छाडेर समाजप्रतिको आफ्नो दायित्व छाडेर ध्यानका नाममा, साधनाका नाममा वा कुनै गुरुसँग कबुल गरेको छु भन्ने नाममा, माला लगाएको छु भन्ने नाममा एकाकी जीवन, विमुख जीवन, बिताउन मिल्छ र ? अतिवादको साधनामा लागेर पनि अध्यात्मवादको उँचाइमा पुग्न सकिन्छ र? "हँसिबा खेलिबा धरिबा ध्यानं" को महान् गोरख सूत्र भुल्न मिल्छ र?

सम्प्रदाय

सम्प्रदायहरुले मूलतः भन्ने हो भने हाम्रो सनातन धर्मलाई अभिसिञ्चनको काम गरेका छन्। हाम्रो सनातन धर्म दर्शनलाई अत्यन्तै विस्तृत र अनन्ततातर्फ डोर्याउनका लागि साह्रै ठूलो भूमिका निर्वाह गरेका छन्। सम्प्रदायहरूको विकास नभएको भए शायद धेरै ग्रन्थहरू, दर्शनहरु अवतारहरू, पद्धतिहरुको पनि विकास हुने थिएन। तर यहाँनेर बुझ्नुपर्ने के छ भने अहिले कालान्तरमा आएर सम्प्रदायका नाममा जुन प्रकारले स-साना पन्थहरू विकसित भएका छन् तिनले हाम्रो सनातन धर्म र दर्शनलाई, सनातन जीवनधारालाई कमजोर बनाए। वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोन आदि सम्प्रदायका आआफ्ना ठाउँमा आफ्ना सुन्दर महिमा र विशेषता छन् त्यसलाई हामी स्वीकार गर्दछौँ, सम्मान गर्दछौं र आआफ्नो ठाउँमा आ-आफ्नो तरिकाले अभ्यास पनि गर्दछौं।

तर केही मूलभूत प्रश्न अहिले उठेको पनि देखिन्छ--

- कुनै विशेष आचार्य बिना, विशेष दर्शन, विशेष ग्रन्थ र विशेष सूत्र बिना पनि के सम्प्रदायको विकास गर्न मिल्छ र ?

- जब कुनै नयाँ चिन्तन दर्शन नै दिन सकिन्न, द्वैतवाद, अद्वैतवाद वा द्वैताद्वैतविलक्षणवाद जस्तो, के त्यो बेलामा पनि नयाँ सम्प्रदाय वा धर्म भनी आफै फलाक्न मिल्छ र ?

- जब कुनै विशेष ग्रन्थ (ब्रह्मसूत्र, त्रिपिटक, आगम सूत्र, गोरखबानी आदि जस्तो) दिन सकिन्न भने त्यत्तिकै नयाँ सम्प्रदाय सुरु गर्न मिल्छ र ?

- सम्प्रदाय भनेको नयाँ चिन्तन, नयाँ दर्शन, नयाँ सिद्धान्त नयाँ सूत्र हो? वा केवल नयाँ लकेट, नयाँ माला, नयाँ फोटो र नयाँ आवरण मात्रै हो ?

- अहिले चलेका स-साना उप सम्प्रदायहरुले, धार्मिक समूहहरुले समग्रमा समाजलाई जोड्नका लागि बल पुर्याएका छन् त? सनातन जीवन धारालाई, दर्शनलाई, वृक्षलाई सम्मानित बनाएका छन् वा अपमानित? सनातन जीवन वृक्षसँग अलग्गिएर आफ्नै अहंकार र स्वार्थमा

प्रेरित भएर व्यवसायिक रुपले खोक्रो बनाएका छन् वा छैनन्?

- "त्यागेनैकेsमृतत्वमानशुः" भनी वेदहरुमा उल्लेख गरिए अनुसार मात्र त्याग नै अमरताको, मुक्तिको आधार हो भन्ने कुरालाई चटक्कै भुली ठूलाठूला आश्रम, मन्दिर, गुम्बा, विहार, धार्मिक केन्द्र आदि बनाउने होडबाजीले व्यावसायिकता बढायो वा आध्यात्मिकता बढायो ?

यसरी सरसर्ती हेर्दा सम्प्रदायहरुमा बढ्दै गएको व्यावसायिकताले सनातन धर्मलाई कमजोर बनाउँछ, समाजलाई अध्यात्मबाट झन् बिमुख बनाउँछ, नास्तिक बनाउँछ । झन् त्यसमा पनि सम्प्रदाय भन्दा पनि तल गिरेर अहिले चलेका धार्मिक समूहहरुले त लकेट र फोटोहरुकै बढी व्यापार गरेको हेर्दा अनौठो लाग्छ। सदस्यताकै माध्यमबाट मेरो समूह ठूलो हो, मेरो गुरु ठूलो हो भन्ने प्रचार गरेको हेर्दा कुनै पार्टीको प्रचार हो वा कुनै कम्पनीको प्रचार हो भनी चिन्ता गर्नुपर्ने अवस्था पनि देखिन्छ ।

साधना विधिहरु

साधनाका विधिहरु धेरै प्रकारका छन् । 'यो विधि मात्रै राम्रो हो वा त्यो विधि नराम्रो हो' भनी तोक्न कदापि मिल्दैन । देश काल परिस्थिति अनुसार त्यही विधि पनि कहिले बढी उपयुक्त हुन सक्छ भने कहिले त्यही अनुपयुक्त हुन पनि सक्छ ।

गीतामा भगवान् श्रीकृष्णलाई अर्जुनले मनको नियन्त्रण गर्न सकिन्न (असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्) भनी आफ्नो चिन्ता र जिज्ञासा व्यक्त गर्दा भगवान् श्रीकृष्णले अत्यन्तै उत्कृष्ट दार्शनिक उत्तर दिएका थिए- अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते । अर्थात् अभ्यासद्वारा एवं वैराग्यद्वारा मनको नियन्त्रण गर्न सकिन्छ । यहाँनेर गहिरो बुझ्नुपर्ने दार्शनिक सूत्र के छ भने भगवान् श्रीकृष्णले पनि अर्जुनलाई  यही नै सर्वोत्तम साधना हो, सर्वोत्तम विधि हो वा अभ्यास हो, यसको मात्रै परिपालन गर भनेर कुनै निश्चित सीमामा, सूत्रमा बाँध्नुभएन। कति महान् सन्देश! यसले के सिद्ध गर्छ भने अनेकौं प्रकारका साधनाका विधिहरू मध्येमा साधकले आफ्नो स्वभाव, रुचि र क्षमता अनुसार आफ्नो लागि कुन विधि उपयुक्त हो भनेर अन्त्यमा स्वयं  निर्णय गर्नुपर्ने हुन्छ।

अहिले साधनाका क्षेत्रमा देखिएका यस्ता खालका अलमलले साधकहरूलाई विचलित बनाएको पनि देखिन्छ । एउटै लट्ठीले सबै गाईगोरुलाई हांक्न सकिन्न भनेको जस्तै एउटै साधना विधिले सबैलाई  जगाउन सकिन्छ वा सकिन्न भनेर उदारतापूर्वक चिन्तन र निर्णय गर्नु आजका लागि अति नै आवश्यक छ । समयमै साधनाका विधिबारे उदारता अपनाउन सकिएन भने गुरुहरुका बिचमा पनि प्रतिस्पर्धा बढ्दै जानेछ तथा साधकहरू अन्योलमा, अन्धकारमा फस्दै जाने डरलाग्दो समस्या पनि बढ्दै जानेछ । साथै धार्मिक उपनिवेशवादको खतरा पनि झन् झन् बढ्दै जानेछ। त्यसैले साधनाका सम्बन्धमा केही बुँदाहरुलाई विषयगत रुपमा चिन्तन गर्नुपर्ने अत्यन्तै आवश्यक देखिन्छ, जस्तै --

क- कुनै गहन साधनामा लाग्ने बेलामा आफ्नो उमेर, आवश्यकता र स्वभावलाई गहिरिएर हेर्ने वा नहेर्ने ?

ख- गृहस्थ धर्मको समग्र परिपालन गर्न नसक्नेहरुले झन् कुनै गहन साधनामा वा कठोर साधनामा लाग्न उचित हुने वा नहुने?

ग- गृहस्थ जीवनका आवश्यक कर्तव्यहरुको समुचित परिपालन छाडी श्रीमान वा श्रीमतीको आपसी सहमति बिना नै एक्लै कुनै कठोर साधना गर्दा त्यसले परिवारलाई जोड्नमा सहयोग पुर्याउँछ त?

घ- हाम्रा पुर्खाहरुका जुन उपदेशहरु थिए- तीर्थ गर्दा श्रीमान्-श्रीमती संगै जानु, विशेष पूजा अनुष्ठान गर्दा श्रीमान् श्रीमती दुबैले मिलेर गर्नु, कुनै विशेष दान व्रत अनुष्ठान आदि गर्दा पनि श्रीमान श्रीमतीले सँगै मिलेर गर्नु आदि - यस्ता अनुभवजन्य सिद्ध सन्देशहरुलाई छाडेर कुनै गुरुविशेषको पछि लागी अचानक कुनै कठोर साधनामा होमिंदा समुचित सन्तुलित रूपले अघि बढ्न सकिन्छ वा सकिन्न?

ङ- साधना मूलतः व्यक्तिविशेषका लागि हो, व्यक्तिविशेषको समुन्नति र कल्याणका लागि हो

तर के व्यक्ति परिवारसँग, समाजसँग , पुर्खाहरुसँग र राष्ट्रसँग जोडिएको छैन र ? यस्तो उज्यालो यथार्थलाई हठात् भुली साधना गर्नु सहज हुन्छ वा बोझ हुन्छ? भन्ने बारेमा सोच्नु पर्दैन र ?

च- आफ्नै साधनामा गहन रुपले पारंगत नभएका गुरुहरूले पनि साधनाका नाममा सिकारु साधकहरुको कल्याणको, मुक्तिको ठेक्का लिएर आशीर्वाद दिनु के साँचिकै उपयुक्त हुन्छ र ?

छ- असल गुरुहरुले पनि 'मैले तिमीलाई मार्गदर्शन गर्ने त यहाँ सम्म मात्रै हो, योभन्दा अगाडिको मार्गदर्शन त फलानो गुरुले गर्ने हो' भन्ने खालका हाम्रा सनातन परम्पराका दृष्टान्तहरूलाई चटक्कै भुली 'म नै तिम्रो अन्तिम द्वार हुं, मैले सिकाएको कुराको मात्र अनुसरण गर, अभ्यास गर' भनेर कुनै निश्चित मालामा, फोटोमा, मन्त्रमा खुम्चाइदिनाले साधकको अनन्त चेतना यात्रामा अवरोध पुग्दैन र?

ज- श्रीमानले श्रीमतीको वा श्रीमतीले श्रीमानको सहज सहमतिबिना नै कुनै कठोर ध्यान साधना व्रत, अनुष्ठान गर्दै जाँदा परिवारको विखण्डन हुने सम्भावना बढ्दैन र ?

झ- सनातनकालीन पुर्ख्यौली आदेश उपदेश अनुसार नै समग्रमा सहज श्रद्धाभावेन गृहस्थ धर्मको परिपालन मात्र गर्दा पनि  आत्मज्ञान र कल्याण हुँदै जाने र अन्त्यमा वानप्रस्थ आश्रम र सन्यास आश्रमको पनि मार्ग प्रशस्त हुँदै जाने हाम्रो अनुभवसिद्ध परिपाटी हुँदाहुँदै पनि अचानक जम्प गरेर कुनै कठोर साधना गर्दा साधक घरको न घाटको हुँदैन र ?

 

चेतना यात्रा

अहिलेको बदलिँदो परिस्थितिमा अनेक कारणले मानिस व्यस्त भइरहेको सन्दर्भमा समग्रमा चेतना यात्रा कसरी गर्न सकिन्छ त ? आध्यात्मिकता, नैतिकता, सकारात्मकता, समन्वय, सद्भाव र समृद्धि सहित कसरी जीवन यापन गर्न सकिन्छ त?  भनेर गहिरो रुपमा सोच्नुपर्ने बेला आएको छ। लेखकले स्वयं पनि अमेरिका युरोप अस्ट्रेलिया आदि मुलुकको निरन्तर भ्रमण गरेको करिब करिब ३० वर्षको अनुभवको आधारमा, साथै आमाबुबा गुरु लगायत मान्यजनहरूको आशीर्वाद सहित संस्कृतको अध्ययन गरेको आधारमा तथा विद्यापीठहरु, गुरुकुलहरु, आश्रमहरु, अनाथालयहरु, बालगृहहरु, सेवा केन्द्रहरुको करीब ४० वर्षदेखि सञ्चालन गरी प्राप्त अनुभवको आधारमा भन्नुपर्दा सन्तुलित, सहज, सकारात्मक यात्रा नै चेतना यात्रा हो र त्यो नै अहिले हामी प्रत्येक मानवको, प्रत्येक नेपालीको र प्रत्येक सनातनीको मूल आवश्यकता हो भन्नुपर्छ।

समग्रमा सनातन जीवन दर्शन अनुसार आफ्नो जीवनको परिपालन गर्न सनातनरुपी महान् ज्ञानसागरबाट आफ्नो अनुकूलता, क्षमता, स्वभाव र प्रवृत्ति अनुसार कति पानी चाहिएको छ उति लिएर पान गरेर, स्नान गरेर कर्तव्यको पालन गर्दै जाने र आनन्दमा रम्दै जाने । केवल बाल्टीमा वा लोटामा खुम्चिएर नबस्ने।  गुरुहरुले पनि केवल लोटामा, बाल्टीमा वा ड्रममा डुबाइदिएर 'यो नै तेरो संसार हो' भनेर निजको अनन्त यात्रामा छाप लगाइदिएर यात्रा अबरुद्ध नगराइदिने ।

यसैगरी समग्रमा नेपाली भएर नेपाल र नेपालीका लागि सम्मानपूर्ण सस्नेहपूर्ण यात्रा गर्ने। जाति, समुदाय, सम्प्रदाय, क्षेत्र, पार्टी, जिल्ला आदिका नाममा नटुक्रिने, नखुम्चिने । जो जहाँ बसे पनि नेपाल आमाको जय भन्ने। हामी सबै नेपाली हौं भन्ने भावका साथ एकले अर्कालाई सहयोग गर्ने, सम्मान गर्ने, स्वीकार गर्ने । उपनिषदमा "सह नाववतु सह नौ भुनक्तु... भनेको पनि यही हो। बुद्धले "संघं शरणं गच्छामि" भनेको पनि यही हो।

यसैगरी समग्रमा मानवीय मूल्यमान्यताको विकास गर्ने । मानवताको गहिरो अनुभूति सहित जीवनलाई उत्प्रेरित गर्दै जाने । अभेदभावेन विश्वका सबै धर्मलाई, सम्प्रदायहरुलाई,  आचार्यहरुलाई, अवतारहरुलाई सम्मान गर्दै आफ्नो मूल परम्परा, कुल परम्परा, माटो परम्परा, मष्टो परम्परा र समग्रमा ओमकार परम्परालाई बचाउने, बढाउने।

यसैगरी चेतना यात्रा भनेको शारीरिक , बौद्धिक, मानसिक, भावनात्मक प्रगति सहित आध्यात्मिक प्रगति गर्ने हो । सहज सन्तुलित निरन्तर यात्रा गर्ने हो । न कतै अनावश्यक निषेध छ न त कतै अनावश्यक अनुरोध छ । न आग्रह, न कुनै पूर्वाग्रह, निरन्तर यात्रा गर्दै जाने, चरैवेति चरैवेति भनेको जस्तै ।

चेतना यात्रा भनेको यात्रा प्रतिको पूर्ण समर्पण हो , गन्तव्य प्रतिको धेरै चिन्ता होइन । गुरु गोरखनाथले 'सहजै रहिबा' भनेको जस्तै सहजरुपले चेतना यात्रा गर्दै जाने। मूलतः यात्रामै समर्पण छ, संकल्प छ भने गन्तव्यमा जुन दिन जहिले जसरी पुग्ने हो पुगिहालिन्छ नि । त्यसको बारेमा धेरै चिन्ता किन? समग्र ध्यान, समग्र समर्पण मात्र यात्रामा राख्ने । चेतना यात्रा भनेको परिवारसँग, समाजसँग वा कुनै सम्प्रदाय आदिसँग उछिट्टिएर गर्ने एकाकीपनको यात्रा होइन। मंगलभाव सहित एकताको यात्रा हो ।

अहिले संसारमा देखिएको फास्ट फुडको चलन जस्तै Fast Blessing, Fast Medication, Fast Happiness जस्ता ब्यावसायिक अभ्यासहरू पनि देखिएका छन् । त्यसबाट सावधान रही आत्मविश्वास, आत्मगौरव सहित निरन्तर यात्रा गर्दै जाने यात्रा हो- चेतना यात्रा।

चिन्ता र चिन्तन -

- अहिले सम्प्रदायहरुमा देखिएको विद्वेष चिन्ताको विषय पो हो कि?

- एक निश्चित ठाउँ , पद्धति परम्परा र चिन्तनमा खुम्चिँदै जाँदा के अन्तमा आध्यात्मिकताको अनुभूति साच्चिकै हुन सक्छ र? यदि सबैले विश्वको कल्याण र मानवताकै संरक्षण सम्वर्धन गर्न चाहेका हुन् भने अहिले आएर सम्प्रदायका नाममा देखिने विद्वेष ठीक हो त?

- ठूला ठूला मन्दिर, गुम्बा, केन्द्र आदि बनाउँदै जाने , करोडौं करोड खर्च गर्न पनि सक्ने तर त्यहीं नजिकै कुनै सानो पाठशाला, मन्दिर, सत्तल वा कुनै सनातन सम्पदा भत्किएको छ, जीर्णशीर्ण अवस्थामा रहेको छ, त्यहाँ मात्र केही हजारको लगानी गरिदिए पनि पुग्छ तर त्यसको दायित्व लिन नचाहने! कसरी धर्मको रक्षा हुन्छ त ?

- नयाँ नयाँ धार्मिक समूहहरुले विभिन्न प्रकारका पद्धतिहरु र प्रविधिहरु अपनाएर आफ्ना सदस्यहरुको संख्या बढाउँदै जाने ! लगानी र प्रतिफलको नीति अनुसार आफ्नो संस्थाको विस्तार गर्दै जाने! यस्तो परिपाटीले आध्यात्मिकताको विकास हुन्छ कि व्यावसायिकताको? ओंकारको विकास हुन्छ कि अहंकारको ?

- स्वयं आफै रुपान्तरण नभएका आत्मज्ञानको प्रत्यक्ष अनुभूति नभएका गुरुहरूले, जोगीहरुले अरुको जिम्मा लिएर 'म तिम्रो कल्याण गराइदिन्छु' भनेर ठोकुवा गर्दा कसैको जीवनमाथि खेलबाड हुंदैन र ?

- गुरु, शास्त्र, संप्रदाय लगायत विभिन्न प्रकारका ध्यान भजनकीर्तन, पाठ आदि भनेका मात्र विधि हुन्, माध्यम हुन्, सहायक हुन् भन्ने कुरा नबुझी वा नबुझाई नयाँ सिकारु साधकलाई आफैमा खुम्चाई राखिदिनाले समग्र चेतनाको विकासमा, अनन्त यात्रामा चोट पुग्दैन र ?

- विश्वव्यापीकरणको नाममा मानवताका नयाँनयाँ  आयामहरु बुझ्ने बुझाउने, सिक्ने सिकाउने नाममा सनातनकालीन आफ्नै मूल परम्परालाई,  कुल परम्परालाई चटक्क भुल्दा पुर्खाप्रतिको अपमान हुँदैन र ?

- आफ्नो सनातन सन्देश भुल्न पाइन्छ र ? धर्मो रक्षति रक्षितः, राष्ट्रो रक्षति रक्षितः लाई अस्वीकार गर्न पाइन्छ र ?

निष्कर्ष

मूल कुरा के छ भने आध्यात्मिकताको यात्रा स्वतन्त्रताको यात्रा हो, सहज जीवनको, सम्यक् साधनाको यात्रा हो । कुन व्यक्तिमा कति सम्भावनाका बीजहरु लुकेर बसेका छन्?  त्यसको समुचित अध्ययन नगरी गुरुहरुले पनि जहाँ पायो त्यहाँ, जसरी पायो त्यसरी, जसलाई पायो उसलाई आफ्नो सदस्यको संख्या बढाउने क्रममा गहन साधना सूत्रहरु बताउन थाल्यौं भने यसले उल्टै दुष्प्रभाव पनि पार्न सक्छ । हाम्रा पुर्खाहरुले 'गीता पढेपछि बहुलाउँछ' भनेको शायद त्यही भएर होला। भगवान् श्रीकृष्णले पनि यही कुरा बुझेर अर्जुनलाई पनि गीता ज्ञान कुरुक्षेत्रमा मात्र दिएका हुन् । त्योभन्दा पहिले दिए पनि हुन्थ्यो नि कुनै उपयुक्त समय र स्थलमा। तर कुरुक्षेत्र नै किन रोजे त? त्यही समय किन चाहियो त? त्यही परिवेश र वातावरण नै किन चाहियो त? भन्ने कुरा पनि भुल्नु हुँदैन ।

जुमद्वारा सूचना दिन सकिन्छ तर साँचिकै चेतनाको बोध गराउन सकिन्छ त? आधुनिक प्रविधिद्वारा आफ्नो नेटवर्क विस्तार गर्न सकिन्छ तर के साँच्चिकै अनुभूतिको विस्तार गर्न सकिन्छ त ? यस्ता कुरामा हामी सबै गुरुहरु, पण्डितहरु, विज्ञहरु, वाचकहरु समयमै उदार र सचेत बन्नुपर्छ । यसमा अनावश्यक प्रतिस्पर्धा गरेर भक्तहरूको अनि सदस्यहरुको संख्या त बढ्ला तर समग्रमा सनातन धर्मलाई हानि पनि पुग्नेछ भन्ने कुरा हामीले भुल्नु हुँदैन।

भगवान् श्रीकृष्णले पनि गीताको अन्तिम अध्यायमा गएर अर्जुनलाई तिमीलाई जे उचित लाग्छ त्यहि नै गर भनी आदेश दिएका थिए - विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरू। ज्ञानयोग भक्तियोग, कर्मयाग, राजयोग  ध्यानयोग, लययोग आदि सबै सिकाइसकेर पनि यही नै गर नभनी  'यथेच्छसि तथा कुरु' मात्रै भनेका थिए । अब के हामीले यस गुगल युगमा आएर कुनै भक्त पाउनासाथ ग्राहक पाएको जस्तो, कुनै जिज्ञासुले सोध्नासाथ नयाँ मेम्बर पाएको जस्तो झ्याप्प ठप्पा हान्न मिल्छ र? तिम्रो कल्याण मैले नै गर्नेछु भनी टाउकोमा हात राखिदिन मिल्छ र ? के हामीले पनि इसाई मिशनरी जस्तो कसैको गरीबीको वा मजबुरीको गलत फाइदा उठाएर हठात् आफ्नो समूहमा घेर्न मिल्छ र?

त्यसकारण सबैले उदारतापूर्वक आध्यात्मिकताको गहन अनुभूति गर्ने कार्यमा स्वयं बढौं र अरुलाई पनि बढाऔं। यस चेतना यात्रामा स्वयं लागौं र अरुलाई पनि लगाऔं। तर यसमा कुनै शर्त नहोस् , कुनै परिधि नहोस् , कुनै सीमाङ्कन नहोस्। पार्टी चलाएको जस्तो वा कम्पनी चलाएको जस्तो नहोस्। कुनै व्यावसायिक एवं सामाजिक संस्था चलाएको जस्तो पनि नहोस्। धार्मिक यात्रामा पनि सदस्यता वितरण मात्रै गर्दै जाने हो भने, लकेट, फोटो र ब्यानर मात्र बाँड्दै जाने हो भने, समाज धर्मकै नाममा पनि झन् अधर्ममा, अन्धकारमा फस्दै जाला है। अतः सबैलाई विनम्र अनुरोध छ- धर्मको महान् मर्म  बुझौं र बुझाऔं र अनन्त चेतना यात्रालाई बुझौं र बुझाऔं ।

अन्तमा, गुरु गोरखनाथको वाणी सहित यस लेखलाई यहीं विश्राम गर्न चाहन्छु--

हँसिबा खेलिबा धरिबा ध्यानं, अहनिशि कथिबा ब्रह्मगियानं।

खावे पिवे न करे मन भंग, ते निहचल सदा नाथके संग।।

जय शिवगोरख!!!

ललितपुरस्थित हिन्दु विद्यापीठका संस्थापक प्राचार्य डा योगी विश्व ओमकार एकता महाअभियानका संयोजक पनि हुन्।

ad
ad
ad