सरकारले विहीबार आसन्न संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको छ ।
त्यसका लागि विहीबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाइएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकले आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्न उपयुक्त हुने सहमति गरेको थियो ।
गठबन्धनको समझदारीअनुसार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति बिहीबार घोषणा गर्दैछ । उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्मै प्रतिनिधिसभा जीवित राख्न पनि सत्ता गठबन्धन दलले समझदारी गरेको बुझिएको छ ।
निर्वाचन आयोगले मंसिर २ मा एकै चरणमा आम निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । निर्वाचनको तयारी गर्न न्यूनतम १ सय २० दिन चाहिने भन्दै आयोगले सरकारलाई मिति घोषणाका लागि ताकेता पनि गर्दै आएको थियो ।
संविधानमा प्रतिनिधिसभा विघटन गर्ने प्रावधान नभएकाका कारण उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म कार्यकाल कायम राख्ने विषयमा प्रमुख प्रतिपक्ष एमालेसमेत सकारात्मक रहेको बताइएको छ ।