ad

साफ यु–२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

बुधबार, श्रावण ११ २०७९
image

काठमाडौं : नेपालले साफ यु–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपाल प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।

नेपाललाई जित दिलाउन कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे ।

नेपालले पहिलो हाफ भने गोलरहित बराबरी खेलेका थियो । ४४ औं मिनेटमा कप्तान आयुष घलानको लामो फ्रिकिकमा सुगम सुवालको हेडर पोस्टभन्दा थोरै बाहिर गयो । खेल दौरान कालिंगा रंगशालामा पटक पटक फ्लड लाइट बन्द हुँदा खेल रोकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि नेपालले मनग्य नकर्मीलाई दोस्रो हाफमा मैदान प्रवेश गराएको थियो ।

दोस्रो हाफमा गोल निकाल्दा नेपालका लागि ५८ औं मिनेटमा आयुष घलानले गोल गर्दै खाता खोलेका थिए । अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीमार्फत गोल गरे ।

त्यसपछि ६५ औं मिनेटमा कृतिस रत्न छुन्जुले गोल गर्दै अग्रता दोब्बर बनाए । कप्तान आयुषले मिलाएको सर्ट पासलाई कृतिसले टप कर्नरमा उत्कृष्ट गोल गरे ।

श्रीलंकाविरुद्ध हावी भएको नेपालले ८४ औं मिनेटमा तेस्रो गोल गरेका थियो । सुगम सुवालको पासमा जनग्या नकर्मीले गोल गरेपछि नेपाल ३–० गोल अन्तरले विजयी भयो ।

जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंकालाई बंगलादेशले १–० गोल अन्तरले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । नेपालले अब तेस्रो खेलमा भारतसँग आइतबार खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

बुधबार नै भएको खेलमा बंगलादेशले भारतलाई २–१ ले पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको थियो । बंगलादेशलाई महत्वपूर्ण जित दिलाउन मोहम्मद अहमत नोभाले २ गोल गरेका थिए । भारतका लागि हिमांशु झांग्राले गोल गरेका थिए । नोभाले २९ औं मिनेटमा पहिलो गोल गरेका थिए । उनले गोलरक्षक र डिफेन्सको समन्वयको कमजोरीको फाइदा उठाउँदै अग्रता दिलाएका थिए ।

भारतका लागि हिमांशुले ३५ औं मिनेटमा बराबरी गोल गरेका थिए । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको दुई मिनेटमा नै हिमांशुले बराबरी गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा नोभाले अर्को गोल गर्दै बंगलादेशको जितको आधार तयार पारेका थिए । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।

ad
ad
ad