ad

सोने युकेद्वारा नविकरणीय ऊर्जा सम्बन्धि वेबिनार आयोजना

सोमबार, पौष २६ २०७८
image

लन्डन : युकेमा रहेका नेपाली इन्जिनियरहरुको संस्था Society of Nepali Engineers in UK (सोने युके) ले गत शनिबार "ऊर्जा परिदृश्य: नविकरणीय ऊर्जा एवं दिगोपन" शीर्षकमा एउटा वेबिनार सफलतापूर्वक सम्पन्न गरेको छ | उक्त वेबिनारमा युके, नेपाल र अमेरिकाका गरी ४५ भन्दा बढि इन्जिनियर र व्यवस्थापकहरूको सक्रिय सहभागिता रहेको थियो। वेबिनारमा साउदी अरेबियाको NEOM कम्पनिमा ग्रिड प्लानिङ एण्ड रिन्युएबल इन्टिग्रेशनका प्रमुख प्लानिङ इन्जिनियर डा रोशन भट्टराईको प्रस्तुति रहेको थियो। डा भट्टराई सोने युके का सचिव तथा सामाजिक तथा मनोरञ्जन उपसमितिको संयोजक हुनुहुन्छ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका महासचिव डा विदुर घिमिरेले सबै सहभागीहरुलाई स्वागत गर्नुका साथै वेबिनारको एजेन्डा  प्रस्तुत गरेका थिए । वेबिनारको समन्वय सोने युकेका कार्यकारी समिति सदस्य प्रबिन लिम्बुले गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष रश्मि सिंह राणाले सहभागी सामु वक्ता डा रोशन भट्टराईको संक्षिप्त परिचय गराएकी  थिइन  ।

वेबिनारमा डा भट्टराईले भविष्यको ऊर्जाको बारेमा चर्चा गर्दै कसरी कार्बन-शुन्य उर्जाले दीगोपन ल्याउन सक्छ भन्ने कुरामा  प्रकाश पारे।  डा भट्टराईले भविष्यको Renewable Grid, Energy Storage, Green Hydrogen र Micro-grid Management आदिको संयोजन मार्फत उच्चस्तरको नविकरणीय उत्पादनको साथ विद्युत आपूर्ति र माग सन्तुलनको लागि आवश्यक विद्युतीय प्रणालीको लचिलोपन कसरी हासिल गर्न सकिन्छ भन्ने जानकारी दिए । डा भट्टराईले Flexible Energy Market का चुनौती, अवसर र आगामी दिनमा त्यसको दिगोपनका बारेमा पनि चर्चा गरेका थिए ।

प्रश्नोत्तर सत्रको समयमा प्रस्तुत विषयको बारेमा थप अन्वेषण गर्न सहभागीहरू उत्साहजनक र सक्रिय रूपमा संलग्न थिए। संस्थाका वरिष्ठ सदस्यहरू लगायत सबै सहभागीहरूले वेबिनारको सामग्री र प्रस्तुतिको प्रशंसा गरे | डा भट्टराईले स्वच्छ र वातावरणीय रूपमा सुरक्षित नविकरणीय ऊर्जा कसरी एक आशाजनक वैकल्पिक समाधान हो भन्ने  दर्शौदै साउदी अरेबियाको NEOM द्वारा पहिलो संज्ञानात्मक (Cognitive) र स्मार्ट शहरको अवधारणाको लागि नविकरणीय ऊर्जालाई कसरी ऊर्जा स्रोतको रूपमा लिइएको छ भनेर प्रष्ट पारे ।

कार्यक्रममा सोने युकेका उपाध्यक्ष  नारद भण्डारीले वक्ता र सहभागीहरूलाई धन्यवाद दिएका थिए भने अध्यक्ष संयुक्त श्रेष्ठले संस्थाका गतिविधिहरु बारे जानकारी गराएका थिए।  

ad
ad
ad