ad

‘मुटु त सधैं नेपालमै छ’

(जीएनएन)
बिहीबार, पौष १ २०७८
image

हङकङमा मात्रै नभई संसारभर छरिएर बसेका नेपाली  माझ  त्रिलोक गुरुङका नामले चिनिन्छन् यमकुमार गुरुङ । लमजुङको एउटा विकट गाउँसँग मात्रै होइन, नेपालसँगै मनमुटु जोडिएका गुरुङका बुवा हङकङमा कार्यरत रहँदा उनी त्यहीं जन्मेका थिए । गुरुङ परिवारमा जन्मेका उनका बुवा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । हङकङमा  जन्मे पनि उनका बुवाले उनलाई  मलेसियाको एउटा  किन्डरगार्डेनमा भर्ना गरि दिएका थिए ।

No photo description available.

राजा महेन्द्र बितेकै वर्ष सन् १९७२ मा उनी बुवा, आमासँगै लमजुङको गाउँ कल्याङमै फर्के । त्यतिबेला उनी सानै थिए । त्यसपछि उनको बाल्यकाल, किशोरावस्था नेपालमै बित्यो । ६ महिना लमजुङको कर्पुटार, चिसंकुमा पढे पछि पोखराको गण्डकी बोर्डिङ स्कुलमा पुर्‍याइएका त्रिलोकले २०३५ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरे । राम्रो नम्बर लिएर त्यसबेलाको फलामे ढोका (एसएलसी) पास गरेका उनकाे घर परिवारको र उनको रोजाइ इन्जिनियरिङ थियो । उनी त्यस बेलाको चर्चित अमृत साइन्स क्याम्पसमा भर्ना भए।  

स्कुले जीवनमा साहित्यतिर रुचि थियो । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा भाग लिँदै कविता लेख्थे । फुटबल, बास्केटबल, पौडी पनि उनका मनपर्ने विषय हुन् । वीरेन्द्र रनिङ शील्ड प्रतियोगितामा भाग लिएको उनले अझै बिर्सेका छैनन् । 

कलेज जीवन 

अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भएका उनी पढाइमा तेज थिए । त्यतिबेलै भर्खर पञ्चायतविरुद्ध विद्यार्थी आन्दोलन चर्किदै थियो । उनी पनि त्यसबाट अछुतो रहने कुरै भएन । ‘पढाइभन्दा धेरै जिन्दावाद, मुर्दावाद गरियो । जुलुसमा जाँदैन भन्न नमिल्ने । हामीले साथ नदिए हुँदैन भन्ने थियो,’ त्रिलोक सम्झन्छन्, ‘कलेजका सिनियरहरुले क्लासमा आएर आह्वान गर्थे । विद्यार्थी आन्दोलनको अग्र पंक्तिमा अस्कल क्याम्पस  थियो । प्रहरी दमनमा कति साथी हराए । ’ क्याम्पसमा सेन्ट जेभिएर, एभिएम जाउलाखेल, गण्डकी बोर्डिङ पढेर आएकाहरु निकै शक्तिशाली मानिन्थे । दिनहुँ आन्दोलनमा प्रहरीबाट विद्यार्थीहरु गिरफ्तार हुँदा घर परिवार डराए । आमाले पनि ब्रिटिश सेनामा भर्ती हुने सल्लाह दिनुभयो,’ त्रिलोक सम्झंदै भन्छन्। 

No description available.

सैनिक जीवन 

पहिले त उनले मानेका थिएनन् । कति साथी हराउँदा, अंगभंग हुँदा आफ्नो सुरक्षाका लागि घरको एक्लो छोरो भनेर कर गरेपछि उनले पनि विदेशिने सल्लाहलाई स्वीकारे । आइएस्सी सकेर उनी बुबाकै बाटो पछ्याउँदै ब्रिटिश सेनामा भर्ती भए । ब्रुनाई, हङकङ, कोरिया, युकेमा ‘टुर अफ ड्युटी’ मा पुगे । तर उनलाई आफ्नै देशमा केही गर्ने व्यग्र इच्छा थियो । नेपाल फर्कने हुटहुटीले उनले १२ वर्षमै ‘अर्ली रिटायरमेन्ट’ लिए र ब्रिटिश आर्मीको जागिर छोडे ।

आर्मीको जागिर छोडेपछि सन् १९९१ मा काठमाडौं फर्केर पर्यटन व्यवसायमा हात हाल्ने उनले निर्णय गरे । पहिले ठमेलमा सिन्ड्रेला रेष्टुरेन्ट एण्ड बार खोले । उनी नेपालको थिति र व्यवसायमा रमाउन सकेनन् । आफूले सिकेको ज्ञान, सिप फस्टाउने भन्दा अनावश्यक झण्झट भोग्नुपर्‍यो । १० बजे रेष्टुरेन्ट बन्द गर्नुपर्ने, कर तिर्दाको झण्झट, चाहिने सामान नपाइने हुँदा उनी निरुत्साहित बने। ३ वर्षजति रेष्टुरेन्ट चलाएर बेचेर ओमन पुगे । तर सुल्तानको कम्पनीमा प्रशासन प्रमुखमा जागिर पाएका उनी त्यहाँको वातावरणमा घुलमिल हुन गाह्रो भयो । तीन वर्ष पछि सन् १९९६ मा फेरि हङकङ फर्के । फर्कन्न भनेर जागिर छोडेर नेपालमै केही गर्छु भनेर निस्केको युवालाई भाग्यले घुमिफिरि हङकङ पुर्‍यायो । सन् १९९५ मा पोखरा घाचोककी सीमा गुरुङसंग  विवाह गरेका उनका दुई छोरा अध्ययनकै क्रममा छन् । 

No description available.

 

फेरि हङकङ फिर्ता

मनको रहरले मात्रै भएन वाध्यताले हङकङमै फर्कायो त्रिलोकलाई । त्यहाँ पुगेर जिरोबाट करिअर थालेका उनले शुरुमा सेक्युरिटी कम्पनीमा काम गर्न थाले । उनी निर्माण व्यवसायतिर लागे । लजिस्टिक एसिस्टेन्ट म्यानेजर भएर ९ वर्ष निर्माण उद्योगमा काम गरे । त्यसपछि अग्रजको सहयोगमा सन् २००३ मा निर्माण कम्पनी खोले । उनले मानव स्रोत प्रदान गर्थे । सन् २००४ मा मकाउसँग जोडिने मौका पाए । त्यहाँ पनि मानव स्रोत जस्तै वेटर, वेट्रेस, हस्पिटालिटी, हाउस किपिङ स्रोत उपलब्ध गराउँथे । 

हङकङमा उनले सैयौं नेपालीलाई रोजगारको अवसर दिन सक्षम भए । मकाउमा निकै राम्रो मार्केट लिए । नेपालीलाई अवसर दिए । तर, पछिल्लो समयमा कोभिड १९ ले केही असर पुर्‍याएको छ । सन् २००८ मा हङकङमा सेक्युरिटी कम्पनी खोले । हङकङका ठूला युर्निभर्सिटी, कमर्शियल बिल्डिङ, हाइ एण्ड रेसिडेन्सियल बिल्डिङ र कन्स्ट्रक्शन प्रोजेक्टहरुमा उनको कम्पनीले सेक्युरिटी सेवा प्रदान गर्छ।  । त्यसमा प्राय: जसो नेपाली, भारतीय, पाकिस्तानीका साथै चाइनीजहरु पनि काम गर्छन् ।

गुरुङको नेपालमा रिक्रुटमेन्ट कम्पनी र  तालिम इन्स्टिच्स्युट एकता इन्टरनेशनल काठमाडौंमा छन् । विदेश जान इच्छुकलाई पूर्व तयारी तालिम दिइन्छ । मुख्यगरी मकाउ जानेहरुका लागि हो । मकाउमा कुनै विभेद नभएको र महिलालाई पनि सुरक्षित भएकाले ज्ञान, अनुभव, सिप लिने अवसर मान्छन् उनी । राम्रो आम्दानी भएकाले देशमा रेमिट्यान्स भित्राउने पनि उनको लक्ष्य हो ।

नेपालमा पनि गुरुङले लगानी गरेका छन् । पोखरामा बायोग्यांस प्लान्ट खोलेका छन् । मुस्ताङमा रिसोर्टको तयारीमा छन् । उनले नेपालमा
रियल एस्टेट लगायतका क्षेत्रमा करिब १ अर्ब रुपैयाँ लगानी गरेको बताए  । हङकङमा झन्डै  एक सय मिलियन हङकङ डलर बराबरकाे वार्षिक कारोबार गरी २ सय बढीलाई रोजगारी दिन सफल छन् उनी। तर कोभिडका कारण कारोबार केही कम भएको छ । कोभिड अगाडि कन्स्ट्रक्सनमा ५ सय जनालाई रोजगारी दिएका थिए । नेपालमा अझै लगानी गरेर थुप्रैलाई रोजगारी दिने उनको योजना छ ।

एनआरएनमा सक्रियता   

उनले एनआरएनको नाम सन् २००४ मा सुनेका थिए । भर्खर व्यापार थालेका उनले त्यसैबेलादेखि सदस्यको रुपमा प्रवेश गरे । सबै नेपाली मिलेर आफ्नो देशमा स्रोत साधन पुर्‍याउने संस्थाको उद्देश्य सुनेर उनी फुरुङ्ग भएका थिए । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई भेटेपछि हरियो पासपोर्टलाई बलियो बनाउनुपर्छ भन्ने हेतुले संस्थामा आबद्ध भएको उनी बताउँछन् । उनी एनआरएन हङकङमा सन् २००६ मा भएको पहिलो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । सक्रिय र राम्रो काम गरेकाले उनी दोस्रो कार्यकाल पनि दोहोरिए ।

त्यसपछि दुई पटक राष्ट्रिय समन्वय परिषद्मा जोडिए । सन् २०१३ मा एशिया प्यासिफिक संयोजक भएर काम गरे । फेरि सन् २०१३ देखि २०१५ मा एनआरएनएको सल्लाहकार भए ।  सन् २०१५ मा कोषाध्यक्ष पदमा उठे तर हार व्यहोर्नु प-यो  । हाल एनआरएनएको केन्द्रीय सल्लाहकार रहेका गुरुङको भूकम्पपछि गोरखाको लाप्राक बस्ती निर्माण योजना, एनआरएन भवन निर्माणमा पनि ठूलो योगदान छ । भूकम्प पछिको  नाकाबन्दीको समयमा जनकपुर लगायतका अस्पतालमा सहयोग गरे । 

त्यसैगरी कोरोनाकालमा पनि थुप्रै अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटरहरु,  टेस्ट किट्स, मास्क लगायतका सामग्री नेपालका दुर्गम जिल्लाहरुमा व्यक्तिगत रुपमा पनि उनले सहयोग गरे । सन् २०१७ मा नेपालको सर्लाही, सप्तरी लगायतका जिल्लामा बाढीले धनजनको ठूलो क्षति पुराए पछि उनले व्यक्तिगतरुपमा रु ११ लाख सहयोग गरे।  साथै एनआरएनएका अरु साथीहरु सहित गएर  ४,५०० घर परिवारलाई सहयोग पुराए।  ‘यो नेपालीको माया हो । मुटु त सधैं नेपालमै छ । नेपालमा दु:ख पर्दा रातमा निद्रा लाग्दैन,’ उनी भन्छन् । 

एनआरएनमा पछिल्लो विवाद 

गैर आवासीय नेपाली संघमा पछिल्लो पटक निहित स्वार्थपूर्तिको लागि झुक्काउने, झुठ बोल्ने काम भैरहेको उनको निर्क्यौल  छ । गल्ती गरेकाले क्षमा माग्नुपर्ने उनी सुझाउँछन् । कुर्सीको  लोभ नगरी प्रवासी नेपाली र नेपाल आमाको हितलाई आत्मसात गरेर संघको  इमान्दार सिपाही बन्न उनी आग्रह गर्छन् । 

२०२१-२३ का लागि एनआरएनएको उपाध्यक्ष पदमा उम्मदेवारी घोषणा गरेका गुरुङ अहिले संस्थाभित्र  अनियमितता र विधान विपरितका काम भैरहेको बताउँछन् । संस्थालाई गुमराहमा राख्ने प्रवृत्तिको उनले सधैं विरोध गर्दै आएका छन्। 

विदेशमा बसेपनि नेपालका लागि केही गर्ने भावना बोकेका उनी संघर्ष, चुनौतिको सामना गर्दै रोजगारदाता बन्न सफल भएका हुन् । विदेशमा हासिल गरेको सिप, ज्ञान, र पूँजी लगाएर नेपालमा केही गर्न सकिन्छ भन्ने भावना बोकेका गुरुङ एनआरएनएको नाम बोकेर झुक्काउन नहुने बताउँछन् । 

एनआरएनएको उद्देश्य बिर्सेर व्यक्तिगत स्वार्थमा अल्झेकाहरुलाई उनी भन्छन्, ‘हिजोको जस्तो पवित्र एनआरएनए कसरी हस्तान्तरण गर्ने? पवित्र संस्थालाई जोश, जाँगर, सक्षम र नयाँ भिजन भएका दोश्रो पुस्ताका एनआरएनहरुको हातमा हस्तान्तरण गर्ने मेरो सोंच हो।’ एनआरएनभित्र महिला सशक्तिकरण भनिए पनि व्यवहारमा हुन नसकेको, त्यसैले महिलालाई बढी  अवसर दिनुपर्ने उनको भनाइ छ । पछिल्लो समयमा संस्थामा आएको विवादले उनलाई निकै सताएको छ । एनआरएनलाई एकजुट बनाएर अगाडि बढाउने उनको धोको छ । 

'व्यक्तिगत स्वार्थ हैन लाखौं एनआरएनहरु र संस्थाको हितलाई सर्वोपरी राखेर विधानसम्मत हिसाबले अगाडी बढ्नासाथ अहिलेको समस्या हल हुन्छ," उनी भन्छन् । 

(सबै तस्विरहरु: त्रिलोक गुरुङको फेसबुक पेजबाट साभार)

ad
ad
ad