ad

गोर्खा सैनिक समस्या समाधान गर्न पहल गर्छु : ज्ञानचन्द्र आचार्य

सोमबार, मङ्सिर २० २०७८
image

काठमाडौँ : बेलायतका लागि नेपालको राजदूतमा प्रस्तावित पूर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले गोर्खा सैनिक समस्या समाधान गर्न पहल गर्ने जनाएका छन् ।

सोमबार भएको संसदीय सुनुवाइमा बोल्दै उनले  नेपालको बेलायतसँगको सम्बन्ध ब्रिटिश गोर्खाले पनि जोडेको बताए । उनले सन् १९९७ भन्दा पहिले ब्रिटिश सेनाबाट सेवा निवृत्त  ब्रिटिश गोर्खा सैनिकहरुको समान तलब र पेन्सनका लागि नेपाल सरकारले पहल गरिरहेको जनाए  ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि तथा अल्प विकसित मुलुकहरुका लागि राष्ट्र संघीय उप महासचिवको रुपमा पनि काम गरीसकेका वरिष्ठ कूटनीतिज्ञ आचार्यले नेपालका प्रधानमन्त्रीहरुले बेलायतकाे भ्रमण गरेको उल्लेख गर्दै बेलायतका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नेपाल भ्रमण गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

बेलायतका राष्ट्र प्रमुखले नेपालको भ्रमण गरेपनि सरकार प्रमुखले हालसम्म भ्रमण गरेका छैनन् । 

बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण

दुई देशको सम्बन्धलाई अझै सुदृढ बनाउन सरकार प्रमुखको रुपमा बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण गराउन उपयुक्त हुने उनले बताए । 

प्रस्तावित राजदूत आचार्यले नेपालमा लगानी भित्र्याउन पनि आफूले अधिकतम कोसिस गर्ने बताए ।

उनले पर्यटनमा पनि नेपाल र बेलायतबीच सहकार्य हुनुपर्ने बताउँदै त्यसका लागि आफुले पहल गर्ने बताए । बेलायतमा पढ्न गएका विद्यार्थीले दुःख पाएको बताउँदै प्रस्तावित राजदूत आचार्यले त्यसलाई निराकरण गर्न आफु प्रतिबद्ध रहेको बताए । 

क्षेत्रीय, विश्व राजनीति हेरेर नेपालको हित हुनेगरी राष्ट्रिय समुन्नतिका कुरामा सहयोगी भूमिका खेल्न चाहेको उनको भनाइ थियो ।

संसदीय सुनुवाइ समितिले बेलायतका लागि प्रस्तावित राजदूत आचार्यसहित भारतका लागि प्रस्तावित राजदूत डा। शंकर प्रसाद शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत प्रा, श्रीधर खत्रीलाई सर्वसम्मतिले  अनुमोदन गरिसकेको छ ।

ad
ad
ad