ad

एनआरएनएमा सार्थक वार्ताले मात्र निकास दिन सक्छ

आइतबार​, मङ्सिर २६ २०७८
image

 ब्रह्माण्ड विज्ञान (Cosmology) ब्रह्माण्डको कालक्रमको अध्ययनसंग सम्बन्धित खगोल विज्ञानको एक शाखा हो। भौतिक ब्रह्माण्ड विज्ञान ब्रह्माण्डको उत्पत्ति, यसको ठूला-ठूला संरचनाहरू र त्यसको गति तथा यी क्षेत्रहरूलाई संचालन गर्ने भौतिक विज्ञानका नियमहरू सहित ब्रह्माण्डको उत्पत्तिका कारण देखि अन्त्य हुने प्रक्रियाहरुको अध्ययन हो। ब्रह्माण्ड सदैब गतिशील छ र यो आफ्नै भौतिकी नियमहरुको प्रक्रियाले संचालित छ। यसको संचालनमा पनि अणुहरुको सम्बन्ध र बिच्छेद, न्युट्रोन र प्रोटोनको द्वन्द्वमा न्युक्लियस चक्रको निर्माण, आकर्षण र विकर्षण, उत्पत्ति र विनास, नकारात्मक र सकारात्मक उर्जा तथा पदार्थ जस्ता विपरित प्रवृत्तिगत द्वन्द्वको महत्वपुर्ण योगदान रहेको हुन्छ। यिनै भौतिक रासायनिक प्रक्रियाले गर्दा एक वस्तुले अर्कोमा आफ्नो रुप बदल्छ। वस्तु शक्तिमा र शक्ति वस्तुमा रुपान्तरित भै रहेको हुन्छ ।  

ब्रह्माण्डमा विपरित चरित्रका पदार्थ तथा शक्तिको बिचमा उत्पत्तिकाल देखि नै खिचातानी चलिरहेको छ। ति दुई विपरित चरित्रका पदार्थ तथा शक्ति बिच हुने संघर्ष नै सृष्टिका हरेक कुराको उत्पत्ति, विकास,रुपान्तरण र विनासका कारण हुन्। कस्मिक क्रान्तिमा सुपर्नोभा एक त्यस्तो ब्रह्माण्डीय प्रक्रिया हो जसले निहारिका अथवा आकाश गङ्गाहरुको सृजना गर्छ। त्यस प्रक्रियामा हजारौं वा लाखौँ ताराहरुको निर्माण हुन्छ। कस्मिक हुण्डरीको बिचबाटै सृजित गुरुत्व आकर्षण तरंगद्वारा ग्याँस बादलको केन्द्रीकरण सुरु हुन्छ र त्यसको घनत्वले क्रमश: ताप र प्रकासको सृजना गर्छ। जसबाट निश्चित आकारमा ताराहरु निर्माण हुन पुग्दछन। ग्याँसको बादलले आँफ्नो रुप फेरेर ताप र प्रकासयुक्त ताराको रुप लिन्छ। त्यसैले ग्याँस बादल नै ताराको कच्चा पदार्थ हो।  

तर तिनै ताराहरु र ग्याँसको बिच एक असिमित गुरुत्वबल र शक्ति भएको विध्वंसक कालो चक्रपात पनि हुन्छ। त्यसले सृष्टिका हरेक निर्माणलाई समाप्त पार्दछ। प्रकाश समेत त्यहाँबाट उम्कन सक्दैन।  त्यहाँ समय चक्र रोकिन्छ। त्यसलाई वैज्ञानिकहरुले 'ब्ल्याक होल' नाम दिएका छन्। त्यसैले ब्रह्माण्डको शुरुवात देखि नै यसका हरेक आयामहरुमा सृजना र विनासको चक्र चलिरहेको छ। 

विशाल कस्मिक चक्रपातको बिनास बाहेक ग्याँस बादलका गुम्बजभित्र हुने साना भुमरीहरु सृजनात्मक हुन्छन। छरिएका बादलहरुलाई गुरुत्व तरंगको सहायताले बटुलेर सघन ग्यासको गोला बनाउने कार्यबाट नै ताराहरुको निर्माण भएको हो। त्यसमा पनि वस्तुको पुरानो स्वरुपको रुपान्तरण हुन्छ। पुरानो भौतिक स्वभाव र प्रक्रिया रुपान्तरण गर्ने मुख्य माध्यम बस्तुहरुबिच हुने बिपरित स्वभावको अन्तरक्रियात्मक संघर्ष हो। अन्तरक्रियात्मक संघर्ष सानो परिणाममा रहुन्जेल सृजनात्मक र नियन्त्रित हुन्छ। तर त्यो बिपरित बिचको संघर्षले असिमित रुप धारण गर्यो भने त्यसको नियन्त्रण हुन असम्भव हुन्छ। त्यो विधिको असिमितताले सृष्टिका सबै सृजना खान थाल्दछ। त्यसले सृजनात्मक रुप बदलेर बिनासको रुप लिन्छ। 

समाज विकासमा पनि धेरै हदसम्म त्यहि भौतिक नियम लागु हुन्छ। स्वयम् ब्यक्ति,परिवार वा मानवले सृजना गरेको समाजभित्र पनि खगोलको त्यहि भौतिकी नियम लागु हुन्छ। हाम्रा सबै शारीरिक तत्वहरु खगोलिय तत्वबाट निर्माण भएका हुन्। खगोलीय परिघटनाका गुण दोष, प्रकृयात्मक चक्र र भौतिक स्वभावमा अन्तर्निहित सृजनात्मक  तथा विध्वंशात्मक रुझान स्वयं हामीभित्र हुनु स्वाभाविक हो।

सृजनात्मक शक्तिले कला र सुन्दरताको साथ सकारात्मक रचनामा आफ्नो उर्जा खर्च गर्छ भने विनाशक शक्तिले हरेक रचनाको विलय गराउंदै प्रलयको घोषणा गर्दछ। त्यस अर्थमा सृष्टिको सुन्दरतालाई बचाउने,सामाजिक बिकासमा जैविक एकताको लागि प्रतेकले हरेकको सम्मान गर्ने र प्राकृतिक सन्तुलनको लागि निरन्तर लागि रहने प्रेरणा नै हामि भित्र भएको सकारात्मक उर्जाको स्रोत हो। जसलाई हामीले पहिचान गरेर पनि लागु गर्न सकिरहेका हुँदैनौं। 

भौतिक पदार्थ र उर्जाका दुई भिन्न स्वरुपलाई मानव संचालित सामाजिक प्रणाली मार्फत पनि बुझ्ने प्रयास गरिएको छ। मानव समाजमा विद्यमान प्रवृत्तिको कुरा गर्दा 'ब्ल्याक होल' जस्तो आत्मकेन्द्रित प्रवृत्तिलाई समाज ब्यवस्थाको एक नियमले प्रतिनिधित्व गरेको हुन्छ।  जसलाई एकात्मक पूंजीवादी आर्थिक प्रणाली भित्रको ब्यक्तिवादी सामाजिक ब्यवस्था भनिन्छ। त्यस्तै मानिसमा आफ्नो हितलाई केन्द्रमा राख्ने प्रवृत्तिको विरुद्ध अर्को प्रतिक्रियात्मक तरंग पनि छ। संघर्ष एकता र रुपान्तरणको प्रक्रियाबाट त्यहि अभ्यासले सुन्दर ताराहरुको सृजना गर्छ। समाज ब्यबस्थामा त्यो नियम बढी मानवतावादी र सृष्टि सापेक्ष हुन्छ। त्यो समाज विकासमा समुदायको हित सापेक्ष हुन्छ। त्यसलाई अर्को एक आर्थिक सामाजिक प्रणालीले प्रतिनिधित्व गर्छ जसलाई समाजवादी प्रणाली भनिन्छ।

यी दुवै प्रणालीमा आर्थिक ढाँचा पनि सोहि अनुसार विकास गरिएको हुन्छ। पुूंजीवादमा नाफालाई मानवीय मूल्य भन्दा माथि राखिएको हुन्छ भने समाजवादी आर्थिक प्रणालीमा उपयोगिताको आधारमा गरिने समान वितरण प्रणालीलाई सबैभन्दा माथि राखिएको हुन्छ। एउटा पक्ष उपभोगको निजी स्वतन्त्रतालाई नियन्त्रण गर्नु हुँदैन भन्छ भने समाजवादी पक्षले जीवन जगतमा एक ब्यक्तिले खाना बढी भएर फ्याँक्छ र अर्को ब्यक्ति खान नपाएर भोकले मर्दछ भने त्यसलाई मानवीय अपराधको रुपमा स्वीकार्छ। समाजवादी ब्यवस्थामा एउटा ब्यक्तिले  बैंकमा अथाह दौलत थुपारेको छ र अर्को ब्यक्ति आर्थिक अभावमा उपचार नपाएर मर्छ भने त्यसलाई सामाजिक तथा मानवीय अपराधको रुपमा स्वीकारिन्छ। यो सबै सोचको स्रोत मानसिक मात्र हैन भन्नेमा वैज्ञानिकहरुले समेत बहस गर्ने गरेका छन्। 

त्यसैले सामाजीक संस्था वा राजनैतिक पार्टी भित्र पनि एक प्रवृत्ति सकारात्मक एकताको पक्षमा हुन्छ भने अर्को पक्ष सामाजिक नियतको विपक्षमा हुन्छ।

उदाहरणकाे रुपमा अहिले विवादको चरम संकटबाट गुज्रीरहेको एनआरएनए संस्थालाई लिन सकिन्छ। सन् २००३ मा स्थापित एनआरएनए निर्माण त्यति बेलाको आबस्यकताले बनाउनु पर्ने अबस्था सृजना भयो। रसियामा राजनैतिक परिघटना र त्यसले निम्त्याएको आर्थिक मन्दीबाट पूर्व सोभियत संघमा बसोबास गरेका केहि नेपाली व्यापारीहरुकोबीच कारोबारको लागि बाध्यता वा रहर जेले भन्नुस, संजालको आबस्यकता जन्मियो। भनिन्छ, त्यतिबेला ति ब्यापारीहरुको लागि सामाजिक स्वार्थ गौण थियो। पछि जब बेलायतबाट राष्ट्रिय समन्वय परिषदको बिस्तार हुन थाल्यो। त्यसपछि मात्र एनआरएनए अभियानले मानबिय संवेदना,सामाजिक मानसिकता र मुलुकसंग जोडिनको लागि राष्ट्रिय सम्बेदनशिलताका तरंगहरुलाई आफु भित्र समाहित गर्न थालेको हो।

तर पनि एनआरएनए भित्रको मूल प्रवृत्ति सामाजिक भन्दा व्यापारिक, मानवीय भन्दा नाफामुखी र केन्द्रिकृत नै रहन गयो। यो सामाजिक व्यापारिक संस्थाको अहिलेसम्मको अबस्था हेर्दा पनि अवस्था झन्डै झन्डै त्यहि नै देखिन्छ। आफ्नो नेतृत्वको आदर्श पक्ष,सामाजिक र उच्च लोकतान्त्रिक मान्यता भन्दा आफ्नो व्यापारिक मिसन स्वार्थलाई नेतृत्वका केहिले कुनै हालतमा आफ्नो नियन्त्रण बाहिर जान दिने पक्षमा छैनन्। भनिन्छ,अहिलेको नेतृत्वको नियन्त्रण जसले गरिरहेका छन् उनिहरुको पाइपलाइनमा झन्डै दर्जन कम्पनीहरुको चाङ्ग छ। कोरोना महामारी,अनुकूल राज्य संयन्त्रको अभाव र च्यानलको अभावमा ति कम्पनीले पूर्णता पाउन नसकिरहेको वर्तमान अवस्थामा दृश्य अदृश्य नेतृत्व गरेकाहरुले एनआरएनए अझै आफ्नो नियन्त्रणमै राख्न चाहेका हुन्। समस्या यहि आर्थिक स्वार्थको वरिपरि नै देखिन्छ। अहिलेको दुई पक्षीय द्वन्द्वको चुरो कुरा आन्तरिक रुपमा यसैको वरिपरि जेलिएको छ।

व्यापारिक स्वार्थ र सामाजिक रुझानबीच द्वन्द्व

देखाउनलाई अनेकथरी कुरा देखाइएको छ तर अहिलेको द्वन्द्वको केन्द्रबिन्दु त्यहि व्यापारिक स्वार्थ र सामाजिक रुझान बीचको हो। पाइप लाइनमा रहेका कम्पनीहरुको दर्ता, एनआरएनएका सदस्यहरुको व्यक्तिगत विवरण प्रयोग र आर्थिक संकलन तथा स्थानान्तरणको प्रक्रिया केहि पुरा हुँदैछन् केहि मध्यम चरण र केहि शुरुवाती चरणमा। कम्पनीका लाइसेन्स बटुल्ने आर्थिक स्वार्थले नेतृत्वको सहज र पारदर्शी हस्तान्तरणलाई मिच्ने अहिलेको अबस्था देखिएको हो।

अहिले जानअन्जानमा राष्ट्रिय समन्वय परिषदहरुलाई अलिक घोच्ने काम भएको छ। अष्ट्रियाका एनआरएनए अध्यक्ष भवानी तिवारीलाई नै कुमार पन्तले मनोनित गरेर प्रतिनिधि बनाउनु पर्ने अवस्था प्रतिनिधि  चयनमा भएको धाँधलीको घिन लाग्दो अवस्था हो। यो देखेर निर्वाचन आयोगका आयुक्तहरु अवाक बने।  लाजको के कुरा गर्नु, जित्नको लागी कति हदसम्म अनियमितता गरिएको रहेछ त्यसको ज्वलन्त उदाहरण हो यो। त्यसैले भनेको राष्ट्रिय समन्वय परिषदलाई केन्द्रका केहि संस्थागत अपराधिहरुले अपमानित गरेका छन।

हामीले सामाजिक संवेदना भएको राष्ट्रिय समन्वय परिषदको स्वायत्ततालाई कम आँक्नु हुदैन। यी परिषद आफ्नै बित्तिय प्रणाली,बैधानिक र कानुनि ब्यवस्थाले संचालित छन्। यिनीहरुसँग केन्द्रले पारपाचुके गर्न सक्ला तर विघटन गर्न उसको औकात पुग्दैन। चाहे कानुनि,सामाजिक वा प्राविधिक रुपले भनौँ,केन्द्रका कुनै माइकालाललाई राष्ट्रिय समन्वय परिषद खारेज गर्ने कुनै प्रकारको हैसियत कदापि पुग्दैन।

भन्नै पर्छ, माथिल्लो तहका व्यापारीहरुको निहित व्यापारिक स्वार्थ र राष्ट्रिय समन्वय परिषदमार्फत आबद्ध भएका हजारौं प्रवासी नेपाली मजदुरहरु बिचको द्वन्द नै एनआरएनए भित्र हुने मुख्य अन्तरसंघर्ष हो। यो संघर्ष मुख्यतया आइसीसी र एनसीसीकाबिचको यस्तै खाले स्वार्थको टकराव हो। नियत र रुचिहरु बिचको छिनाझप्टि हो। यसमा केहि राजनैतिक रुचिहरु पनि छिरेका होलान,त्यो यसको सहायक पक्ष हो।

अहिलेको चरम द्वन्द्वको अवस्था तात्कालिक रुपमा आएको हैन। यो संस्थाको शुरुवाती काल देखि नै व्यापारिक रुचि प्रधान बनेर आयो भने राष्ट्रिय समन्वय परिषद मार्फत सामाजिक रुचि पनि क्रमश: आएका हुन्। भुकम्प पछि लाप्राक बस्ति निर्माण लगायत राम्रा सामाजिक कार्यहरु भए,डोल्मा बचाउ अभियान स्थानिय दवाव र सहयोगद्वारा गरिएका उदाहरणीय मानवीय कर्महरु हुन् । केहि अन्य सामाजिक काम लगायत कोरोना महामारीमा भए गरेका मानवीय कार्यहरु सामाजिक रुपमा प्रकट भएका थिए। यी सबै कार्य राष्ट्रिय समन्वय परिषदहरुको भावनाले गर्दा भनौं वा दवावले गर्दा सम्भव भएको हो। केन्द्रले त समन्वय गरेजस्तो गरेर खाली जस लिने काम मात्र गरेको हो। थोरै कोरोनाको मानवीय योगदानका केश्रा केश्रा पल्टाएर विश्लेषण गरौँ त त्यो आँफै थाह हुन्छ! जापान,चाइना,अफ्रिका,कोरिया,मध्यपुर्व र युरोप-अमेरिका सबैतिर कसको पहल प्रभावकारी थियो ? राष्ट्रिय समन्वय परिषदको पहल निर्णायक थियो भनेर सजिलै भन्न सकिन्छ नि, कि हैन र  ?

अन्त्यमा, अन्तरसंघर्षको परिणाम सँधै नकारात्मक पनि हुँदैन। सामाजिक रुझानका यी दुवै भिन्न प्रवृत्ति बिचको अन्तरसंघर्षले गर्दा नै समाज विकास अगाडी बढेको हो। अहिले यो संस्थामा देखा परेको अन्तरसंघर्ष यिनै सामाजिक प्रवृत्तिहरुहरुकै निरन्तरता हो।

मानिस चेतनशील प्रणाली भएको हुनाले चलाख बन्नु स्वाभाविक हो। जीव जगतमा सबैभन्दा चलाख हुन खोज्नु मानिसको स्वाभाविक गुण हो। आर्थिक स्वार्थलाई मानवीय आधारले अधिनमा राखुन्जेल हरेक समस्याको समाधान सहजताका साथ हुनु पर्छ र हुन्छ पनि। यदि आफ्ना निजी मिसनहरु,स्वार्थका ब्यक्तिगत इच्छाहरु र अधीर महत्वाकांक्षाले मानिस जब चलाखबाट चुतिया बन्छ,त्यहींबाट सामाजिक बिनास, सभ्यताको बिनास र मानवीय सँस्था बिघटनको शुरुवात हुन्छ। मलाई मेरा एक मित्रले अघिल्लो हप्ता एनआरएनएको अन्तरविरोधको समाधानबारे उपाय सोध्नु भएको थियो। उहाँलाई मैले एक शब्दमै जवाफ दिएको थिएँ, 'इच्छा शक्ति भएमा नेतृत्वले पारदर्शी वार्ताबाटै एनआरएनए भित्रको अन्तरविरोध समाधान गर्न सक्छ। यदि  नेतृत्व संस्थाको एकीकृत गरिमा बचाउने सवालमा सकारात्मक सारको लागि चलाख बन्न सकेन र निजी स्वार्थको कारण चुतिया बन्ने बाटोमा गयो भने 'राम राम' मात्र भन्ने हो, अरु उपाय के छ र ?' 

पत्रकार अम्माई बेल्जियममा बसोबास गर्छन्।  यो लेख जनसवाल दैनिकबाट साभार गरेर प्रकाशित गरिएको हो।  सं.

ad
ad
ad