ad

जर्मनीमा ३२ औं नेपाल दिवस सम्पन्न

बुधबार, मङ्सिर २२ २०७८
image

काठमाडौँ - जर्मनीमा ३२ औं नेपाल दिवस सम्पन्न भएको छ ।

जर्मन-नेपाल मैत्री संघद्वारा  आइतबार आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत, राम काजी खड्का , ले ६३ वर्ष पहिले नेपाल तथा जर्मनी बीच दौत्य सम्बन्ध कायम भए यता नेपालको विकासमा जर्मनीले लगातार सहयोग गरिरहेको बताए।  भूकम्प पछि नेपालमा पुनर्निर्माण गर्न र कोभीड महामारीसंग जुध्न जर्मन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए।  यसै गरी उनले २०१५ को भूकम्प पछि जर्मनीबाट नेपालका लागि सहयोग परिचालन गर्न  जर्मन-नेपाल मैत्री संघले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गरे। 

नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफेन रसेकले बांकी विश्व जस्तै कोभिड १९ का कारण नेपालको अर्थतन्त्र पनि प्रभावित भएको तर सुधारका संकेतहरु देखिन थालेको बताए।  उनले जलवायु परिवर्तनका कारण नेपाल निकै प्रभावित भएको भन्दै नेपालको कृषि प्रणाली पनि परिवर्तन गर्नु पर्ने आवश्यकता देखिएको उनले जनाए।  उनले नेपाललाई विश्वमै प्रतिस्पर्द्धा गर्ने अर्थतन्त्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिए। 

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामीछानेले संघ अहिले संसारका ८५ मुलुकमा विस्तार भै सकेको जनाए।  उनले गैर आवासीय नेपाली संघले प्रवासमा रहेको नेपालीहरुसंग रहेको सीप, ज्ञान र पूँजी नेपालको विकासमा परिचालन गरिरहेको पनि जनाए।  उनले विभिन्न साझेदारहरुका बीच सहकार्य गरेर मात्रै मुलुकलाइ उत्थानको बाटोमा लग्न सकिने भन्दै त्यसका लागि सहकार्य गर्न संघ तयार रहेको बताए।

'उत्थानशील नेपाल' नाम दिइएको सम्मेलनमा डा. कार्ल हेंज क्रेमर र प्रा. डा. मलख लाल श्रेष्ठले  नेपालको राजनीतिको बारेमा, डा. आर्ने ड्र्युसले महामारीका कारण नेपालको स्वास्थ्य प्रणालीमा परेको असरका बारेमा, प्रा. डा. निल्स गस्चोले नेपालको वास्तुकलाको बारेमा र प्रह्लाद थापाले सीप स्थानान्तरण मार्फत नेपालमा सशक्तिकरण विषयमा प्रस्तुति दिएका थिए । 

त्यस्तै पत्रकार राजेन्द्र बानियांले मिरकोट देखि यक्ष प्रश्न सम्मको यात्राका बारेमा,  विनायक शाहले दुबइस्थित नेपाल प्याभिलियनको बारेमा र पत्रकार सबीना कार्कीले जलवायु परिवर्तनका कारण नेपालमा परेको असरका बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा गोर्खा जिल्लाको धार्चे ग्रामीण नगरपालिकाको बारेमा एउटा वृत्तचित्र प्रयोग गरिएको थियो भने गोर्खा जिल्लाको धार्चे ग्रामीण नगरपालिकाका मेयर सन्त बहादुर गुरुङ तथा उपमेयर फूलमाया गुरुङ पनि सहभागी भएका थिए ।

आयोजक जर्मन-नेपाल मैत्री संघका अध्यक्ष राम प्रताप थापाले कोभिड १९ का कारण यो वर्ष भर्चुएल माध्यमबाट नेपाल दिवस आयोजना गरिएको बताए। मे १९९० मा पहिलोपटक जर्मनीको कोल्न शहरमा आयोजना गरिएको उक्त कार्यक्रम जर्मनी र नेपाललाई जोड्ने एक भरपर्दो सेतु भएको जर्मनीका लागि नेपाली महावाणिज्यदूत पनि रहेका थापाले बताए।

ad
ad
ad