ad

आउँदो एप्रिलसम्म गोर्खा समस्या समाधान हुने आशा छ ः राजदूत रेग्मी

आइतबार​, आश्वीन २४ २०७८
image

लण्डन : बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले आउँदो एप्रिल महिनासम्ममा भूतपूर्व  गोर्खा सैनिकको समस्या समाधान हुने आशा व्यक्त गरेका छन् । सन् २०२२ को अप्रिलसम्म बेलायतमा रहेका गोर्खा सैनिकका  जति पनि समस्या छन् ब्रिटिश सरकारसंग वार्ता गरी ती सबै समाधान गर्ने तयारी रहेको उनले बताए ।

नेपाल पत्रकार महासंघ युकेद्वारा शुक्रबार दूतावासमै आयोजित  विदाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत रेग्मीले भियना कन्भिन्सन र नेपालको कानुन अनुसार राजदूतले गर्ने काममा आफूले नतिजा आउने गरी काम गरेको जनाए  ।

नेपाल र संयुक्त अधिराज्यको सम्बन्धलाई समकालीन मुद्दामा एकीकृत भएर दुवै देशको हित अनुकूल अगाडि बढ्दै नयाँ संस्करणमा लैजानुपर्ने राजदूत रेग्मीको धारणा छ । ‘ भूतपूर्व गोर्खा सैनिकहरुको विषयलाई जहिले पनि समस्याको रुपमा राखिनु  हुँदैन । गोर्खा सैनिकको सुविधाको विषयलाई यसरी विवादको रुपमा राखिनु हुँदैन’, उनले भने। अब कहिल्यै पनि यो समस्या  उठाउन नपर्नेगरी काम थालिएको उनले दाबी गरे ।

गोर्खा सत्याग्रहसंग आबद्ध तीन जना गोर्खा अभियन्ताहरुले गत अगष्ट महिनामा आमरण अनशन शुरु गरे पछि ब्रिटिश सरकारले उनीहरुका माग बारे छलफल गर्न वार्तामा बस्न सहमति जनाएको छ।  उक्त समितिले डिसेम्बर २०२१ देखि नेपाल सरकार र भूतपूर्व गोर्खा सैनिकहरुका प्रतिनिधिहरुसंग वार्ता थाल्ने सहमति भएको छ। 

राजदूत रेग्मीले आफ्नो छोटो कार्यकालमा  बेलायतको डिफेन्स पलिसी, गोर्खा सैनिकको योगदान, जलवायु परिवर्तन, दुई देशबीच व्यापार तथा लगानी वृद्धि गरी  दुवै देशले लाभ प्राप्त गर्ने विषयमा छलफल गरिएको बताए  । ‘एउटाले लिने, अर्कोले लिने भन्ने हुँदैन । बेलायत सरकारले नेपालबाट धेरै सहयोग प्राप्त गर्न सक्ने विषय छन् । क्लाइमेट चेन्ज अग्रिमेन्ट, ग्लोबल वार्मिङ हटाउन नेपालले गरेको जल विद्युत विकासबाट कार्बन व्यापारद्वारा बेलायत सरकारले  लाभ लिन सक्ने छ  ।’

विकास र समृद्धिका लागि सहकार्य

नेपालले बेलायतसँग विकास र समृद्धिका लागि सहकार्य गर्नु पर्ने राजदूत रेग्मीले बताए । ब्रिटिश सहयोगमा निर्मित धरान-धनकुटा राजमार्ग हुदै  यात्रा गर्ने हरेकले अझै पनि बेलायती सहयोग  सम्झिने गरेको उदाहरण सुनाउँदै उनले अझै २ सय किमी थप बाटो बेलायतले बनाइदिनुपर्ने आग्रह गरे । त्यसैगरी बेलायतका प्रधानमन्त्रीलाई नेपालको भ्रमण गराउन आफ़ुले प्रयास गरेको उनले सुनाए ।

‘काठमाडौं र लण्डनबीच रोकिएको हवाई उडान पुनः सञ्चालनमा ल्याउन र जल विद्युत वा सिंचाईको क्षेत्रमा नेपालमा कुनै आयोजनामा सहयोग गर्न  बेलायत सरकारलाई आग्रह गरेको पनि उनले बताए । ‘बेलायतमा रहेका  बैंक तथा  वित्तिय संस्थाहरुका शाखा नेपालमा खोल्न पनि हामीले अनुरोध गरेका छौं,"  उनले भने।

कूटनीतिक क्षेत्रमा काम गर्ने व्यक्तिले एकचोटी शब्द निकाल्दा आठपटक जिब्रो टोक्नुपर्ने उखान सुनाउँदै उनले धेरै काम गरेर मात्र नतिजा निस्कने बताए ।

त्यसैगरी बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगीले नेपाल निकै संवेदनशील भूराजनीतिक अवस्थामा रहेको बताए । उनले परराष्ट्रनीतिमा स्थिरता आवश्यक पर्ने बताउंदै कूटनीतिक संयन्त्रलाई  पटकपटक चलाउन नहुने सुझाव दिए ।

‘अमेरिकी राजनीतिशास्त्रीले लियो इ रोजले लेखेका छन्, संसारका धेरै मुलुकहरुको परराष्ट्र नीति तिनको आन्तरिक गृह नीतिले निर्देशित गर्ने गर्छ । तर नेपालको सन्दर्भमा छिमेको मुलुकहरुसंग नेपालको सम्बन्धले धेरै हदसम्म उसको आन्तरिक नीतिलाई निर्देशित गर्ने गरेको छ।  त्यसैले  परराष्ट्र नीति र यसको कार्यान्वयनमा खेलांची गरिनु हुंदैन,” योगीले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुब राज अर्याल तथा पूर्व अध्यक्ष चिरन शर्माले पत्रकारहरु र दूतावासबीच निकट सम्बन्ध रहनु पर्ने बताएका थिए। 

नेपाल सरकारले 'राजनीतिक नियुक्ति' गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने भन्ने निर्णय गरे पछि  गत मार्च महिनामा कार्यभार सम्हालेका राजदूत रेग्मी यही अक्टोबर महिनाको अन्तिम साता नेपाल फर्कन लागेका छन्।  

ad
ad
ad