ad

एनआरएनएमा महिला सहभागिता बढाउन माग

शनिबार, आश्वीन ९ २०७८
image

कोपनहेगन : गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) मा आरक्षणबाटै भएपनि महिलाहरुको सहभागिता बढाउन माग गरेका छन् ।

एनआरएनकी केन्द्रीय महिला  संयोजक भोमादेवी लिम्बुले आरक्षण कोटाबाटै भएपनि महिलालाई कार्य समितिमा ल्याउनुपर्ने बताइन् । नेपाल पत्रकार महासंघ युरोप शाखाले गरेको बहस कार्यक्रममा लिम्बुले अन्य संघ संस्थाको तुलनामा एनआरएनएमा महिलाको सहभागिता अत्यन्तै न्यून भएकाले बढाउन माग गरिन् ।

नेपालको राजनीतिक दलसम्बन्धी कानुनमा कुनै पनि दल, भातृ संघ, संगठनमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ । कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसकेको लिम्बुले बताइन् । यही दशौं महाधिवेशनमा सचिव पदकी प्रत्यासीसमेत रहेकी लिम्बुले एनआरएनएमा महिलाहरुलाई पन्छाउन खोजिएको टिप्पणी गरिन् ।

१ सय ३७ जनाको एनआरएनए केन्द्रीय समितिमा जम्मा २० जना महिला छन् । एनआरएनए, आइसीसीमा ७ महिलासहित २१ जना मनोनित गर्ने व्यवस्था छ । मनोनयनमा बढीभन्दा बढी महिला सहभागी गराउनुपर्ने माग गर्दै महाधिवेशन प्रतिनिधिमा समेत महिलाहरुलाई मात्र मनोनित गर्न अध्यक्ष कुमार पन्तलाई सचेत गराएका छन् ।

महाधिवेशन प्रतिनिधिमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइएस) को सिफारिसमा अध्यक्षले संसारभरबाट १५ जना मनोनित गर्न पाउने व्यवस्था छ । करिब १ लाख ६ हजार साधारण सदस्य रहेको एनआरएनएमा करिब २१ हजार महिला छन् ।

कार्यसमितिमा महिलाको संख्या निकै न्यून हो । महिलाहरुप्रति गरिने हेपाहा प्रवृत्ति, राजनीतिक किचलो, महिलाहरुलाई कमजोर ठान्ने सोचाइका कारण एनआरएनएमा आउन नचाहेको उनको भनाई छ ।‘महिलाहरुको सहभागिता बढाउन हेपाहा हैन प्रोत्साहन हुने व्यवहार, उम्मेदवारी मनोनयन शुल्कमा ५० प्रतिशत छुट, मनोनयन र आरक्षणमा विशेष जोड दिनुपर्छ’ उनले भनिन् । 

कार्यक्रममा एनआरएनए अष्ट्रियाकी अध्यक्ष भवानी तिवारीले अगाडि बढ्न खोज्ने महिलाहरुलाई नकारात्मक दृष्टिकोणले हेरिने बताइन् । नेतृत्वको व्यवहारले गर्दा महिलाहरुसमेत समितिमा आउन नचाहने उनको भनाई छ । ‘महिलाहरुलाई सम्मानजनक व्यवहार गरिए उनीहरुको सहभागिता बढ्नेछ,’ उनले भनिन् ।

समितिभित्र महिलाको संख्या कम भएकाले आफ्ना आवाज ओझेलमा परेको भन्दै मध्यपूर्व र युरोपमा महिलामाथि भएको घट्नामा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न मागसमेत गरे ।  

नेपाल पत्रकार महासंघ युरोप शाखाकी अध्यक्ष सरस्वती कार्कीले अन्तरक्रिया संचालन गरेकी थिइन्।

अन्तरक्रियाको भिडियो यहाँ हेर्न सकिन्छ :

ad
ad
ad