ad

हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री देउवा

शनिबार, आश्वीन ९ २०७८
image

काठमाडौं : नेपालले हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभा अन्तर्गत उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका हुन् ।

दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा अति महत्वपूर्ण भएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यसनिमित्त पेरिस सम्झौता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

दिगो विकासको सातौँ लक्ष्य प्राप्तिमा मिश्रित एवं असमान ढङ्गले प्रगति भएको वास्तविकता प्रस्तुत गर्दै उनले छरिएका बस्ती, कठिन भौगोलिक भूभाग र न्यून आम्दानी भएका नेपालजस्ता देशमा कोरोनाको महमारीले अतिरिक्त चुनौती थपिएको बताए । यस्ता जटिल परिस्थितिको सामाना गर्दै हामीले स्वच्छ ऊर्जा उत्पादनको लक्ष्यलाई निरन्तर अघि बढाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

जलस्रोत र नवीकरणीय ऊर्जाको उपयोग गर्दै जलवायु परिवर्तन प्रतिरोधी विकासको पथमा अग्रसर हुने तथा वायु प्रदूषण शून्यमा झार्ने नेपालको प्रतिबद्धता पनि देउवाले व्यक्त गरेका छन् ।

उच्चस्तरीय संवादलाई धेरै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री, सांसद तथा राष्ट्रसङ्घका उच्च अधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको नियोगले जनाएको छ ।

ad
ad
ad