ad

‘एनआरएनए त्रिभुवन विश्वविद्यालय जस्तो भयो - सुध्रिँदैन, तर रहिरहन्छ’

आइतबार​, भाद्र २७ २०७८
image

गैर आवासीय नेपाली संघमा चुनाव आउने बेला भयो भने ‘एनआरएनए : भिजन २०२० एण्ड बियोंड' भन्ने दस्तावेजको चर्चा हुन्छ। तत्कालिन अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको उक्त दस्तावेजका लेखक हुन् सुजीव शाक्य। काठमाडौँस्थित बीद म्यानेजमेन्टका संस्थापक सीइओ शाक्य नेपाल आर्थिक मन्चका अध्यक्ष हुन्।  उनी एकजना स्तम्भकार तथा Unleashing Nepal लगायत पांच ओटा पुस्तकका लेखक पनि हुन्।  उनीसँगको कुराकानीको सम्पादित अंश:   

एनआरएनए अहिले असी भन्दा बढी देशमा फैलिएको छ, कसरी हेर्नु भएको छ ?

विश्वका राम्रा अभ्यासहरुलाई अंगीकार गर्दै नेपाल लैजाने भन्दा  एनआरएनए त नेपालको राजनीति, इगो, तथा नकारात्मक कुरा संसार भर फैलाउने माध्यम बनेको छ ।

यो एउटा भोट बैंक हो धेरै राजनीतिक दलका लागि । राजनीतिक दलहरुकै संलग्नतामा चुनाव नै हुने ठाउँमा के के हुन्छ भन्ने ? त्यसको सचिवालय पनि बलियो बन्न सकेन । व्यक्तिगत रुपमा अगाडि बढ्न थाल्यो । र अब जति पनि नेपालको रोगहरु, सामाजिक अभ्यास छ, जस्तो नेपालका कार्यक्रममा आसन ग्रहण गर्नेदेखि लिएर माला लगाउनेसम्मका कुराहरु एनआरएनएले त्यसलाई मजाले संसारभरी फैलाएको छ ।

सबैल नेतृत्वमा जान चाहन्छन् । भाषणै दिने । त्यति हुन थालेपछि कतिसम्म योङ जेनेरेसनले त्यसलाई अँगाल्छ भन्ने कुरा हो । यो त्रिभुवन विश्वविद्यालय जस्तो हो । यो एक्जिस्ट हुन्छ, रहिरहन्छ । त्यसलाई सुधार गर्न गाह्रै हुन्छ । अब यो संगठन सुधार हुनसक्छ भन्ने मलाई एकदमै कम मात्र आशा छ । किनभने यसमा कस्तो संस्कार बसेको छ भन्ने देखिसकिएको छ । व्यक्ति व्यक्ति मिलेर सोसाइटी बन्ने हो ।

तपाईंले ‘एनआरएनए भिजन २०२० एण्ड वियोण्ड’ दस्तावेज तयार गरेर संघलाई बुझाउनु भयो । त्यसका मुख्य मुख्य सिफारिसहरु के थिए ?

त्यो रिपोर्ट एनआरएनएको वेवसाइटमै छ । १२ पृष्ठको रिपोर्टमा सांगठनिक ढाँचा र स्वरुपसहित संस्थाले गर्नुपर्ने कामहरु समेटिएको छ । सचिवालयलाई बलियो र प्रभावकारी रुपमा सञ्चालन गर्नेदेखि डायस्पोरालाई नेपालसँग जोड्ने तरिका उल्लेख छ ।

नेपाल बाहिर फस्टाउँदै गएको नेपाली डायस्पोरा, विदेशमा रहेका नेपाली कामदार र नयाँ जेनेरेशनलाई कसरी समावेश गर्न सकिन्छ भन्ने अवधारणा हो । एनआरएनएको माध्यमबाट वैदेशिक लगानीलाई नेपाल भित्र्याउने र त्यसबाट नेपालको पूर्वाधार र सामाजिक विकासमा ध्यान दिने, नेपालको पर्यटन तथा संस्कृतिको प्रबर्द्धन गर्ने, पूँजीसँगै ज्ञान र सीपलाई पनि नेपालको विकासमा उपयोग गर्ने विषयलाई पनि उक्त रिपोर्टले समेटेको छ ।

https://nrna.org/wp-content/uploads/2021/02/Vision-2020final-report.pdf 

त्यसपछि बनेका कार्य समितिहरुले ती सुझावहरु कत्तिको लागू गरेको पाउनु भयो ?

त्यो रिपोर्ट बुझाएपछि म औपचारिक रुपमा सम्पर्कमा छैन । पहिले शेषजीको समयमा एनआरएनमा आबद्ध भएको हुँ । धेरै वर्ष पनि भइसक्यो । त्यसपछि म कुनै रुपमा पनि सहभागी भएको छैन र मलाई कता कता के लाग्छ भने यो एनआरएन मुभमेन्ट भनेको निकै राजनीतिक संगठन हो । चुनावमा विश्वास राख्ने  यो एकदमै टिपिकल नेपाली संस्था हो ।

मैले पहिले रिपोर्टमा नै लेखेको थिएँ कि दोश्रो, तेश्रो जेनेरेशन नेपालीले त्यसलाई कति अण्डरस्ट्याण्ड गर्न सक्छ, कति त्यो सँग आबद्ध हुन सक्छ, मैले त्यो विषयमा लेख पनि लेख्या छु ।

र, शायद २००३ मा स्थापना हुँदा त्यो त्यतिबेलाका लागि समय सापेक्ष थियो होला । अहिलेको परिवर्तित अवस्थामा लाखौं नेपालीहरु विश्वभरि फैलिएका छन् ।

पहिले शेषजी (पूर्व अध्यक्ष शेष घले) को समयमा एनआरएनमा आबद्ध भएको हुँ । धेरै वर्ष पनि भइसक्यो । त्यसपछि मैले कुनै रुपमा पनि सहभागी भएको छैन र मलाई कता कता के लाग्छ भने यो एनआरएन मुभमेन्ट भनेको यो निकै राजनीतिक संगठन हो ।

वेबसाइट अहिले हेर्यो भने अलि सुधार भएको छ । पहिलेको त ठ्याक्कै नेपाल सरकारको कुनै एउटा निकायको वेबसाइट जस्तै थियो । सबै नेपालीमा भएपछि मलाई अमेरिकामा हुने योङ नेपालीहरुले भन्थे त्यो वेबसाइटमा गएपछि अल्छी लाग्न थाल्छ । त्यसमा केही हुँदैन । सबै नेपालीमा हुन्छ । हामीले पढ्नै सक्दैनौं ।

त्यसो भए एनआरएनए भित्र खास समस्या चाहिं के हो त तपाईंको विचारमा?

हामीले हामी ग्लोबल मानिस हौं, हामीले ग्लोबल्ली प्रतिस्पर्धा गर्नुपर्छ, हामी विदेशमा बसेकाले त्यहाँ पनि हामी अब्बल भएर बस्नुपर्छ भन्ने सोच हुनुपर्छ । अहिले त विदेशमा बस्यो, कुन चाहीँ एउटा संस्थाको अध्यक्ष भयो, त्यतिमै आफ्नो जीवनको उद्देश्य सकिएको छ ।

यो नराम्रो नहोला तर, यसले हामी नेपाली कस्तो छौं भन्ने देखाउँछ । हामीले ग्लोबल्ली सोचेकै छैन, विश्वव्यापी चेत देखाउन सकेनौं । संस्थामा कि त लिडरसिपमा आउने मान्छेहरु परिवर्तन हुने भयो भने सोंच पनि परिवर्तन हुन्छ । लिडरसिपमा आउने मानिसहरुको सोंच पनि त्यस्तै हुन्छ । विविधताको कुरा छ । महिलाहरुको कुरा छ । कार्यक्रममा ब्याज लगाउने सबै पुरुष हुन्छन् । ट्रे बोक्ने चाहीँ महिलाहरु हुन्छन् । यो सोंच चाहिँ एनआरएनले मजासँग विस्तार गरिरहेको छ । डायस्पोराले यसलाई कपि गरिरहेको छ ।

मान्छेले आफू भन्दा संस्थालाई कहिले पनि ठूलो बनाउन खोज्दैन । आफू जहिले पनि संस्था भन्दा ठूलो बन्न खोज्छ । किनभने संस्था बलियो भएपछि त लिडर नै चाहिँदैन नी । यूएसमा भएको चेम्बर अफ कमर्शमा को को छन् भनेर थाहा हुँदैन । तर, त्यसको महासचिवको नाम थाहा भइरहेको हुन्छ ।

यूएन सुरक्षा परिषदमा को को छन् भन्ने धेरैलाई थाहा हु्ँदैन । तर यूएन महासचिवको नाम त सबैले जानेका हुन्छन् नि । हाम्रो नेपालमा त्यस्तो सिस्टम नै छैन । जुनसुकै एनजिओमा होस्, कुनै पनि सामाजिक संस्थामा होस्, सचिवालय बलियो बनाउने त हाम्रो सोचाइ नै छैन नि । बूढा मान्छेहरुले नेतृत्व गर्ने, उनीहरु अरुलाई डोमिनेट मात्रै गर्न चाहन्छन् । स्मार्ट म्यानपावर हायर गर्न चाहँदैनन् । यो किसिमको प्रवृत्तिले चाहीँ के हुन सक्छ भन्ने चाहीँ मैले बुझ्नै सकेको छैन ।

एनआरएनहरुबाट नेपालले लगानी बाहेक सीप र दक्षता पनि प्राप्त प्राप्त हुने अपेक्षा राखेको देखिन्छ । त्यो अपेक्षा कुन हदसम्म पूरा हुन सकेको छ ?

अवश्य पनि केहि रुपमा होला। संसारका धेरै मुलुकहरुमा यो भै पनि रहेको छ र नेपालमा पनि । तर, एनआरएनए भनेर संस्था नै बोकेर नै किन गर्न पर्ने हुन्छ भन्ने धेरै प्रश्नहरु आउने गर्छन् । स्वतन्त्ररुपमा नेपालमा लगानीद्वारा होस् वा आफ्नो सीपद्वारा नेपालमा केहि गरिरहेकोहरुको जस एनआरएनएले लिन पाउंदैन।  एनआरएनए संजालमा संलग्न नभएर पनि कतिपय व्यक्ति र संस्थाहरुले राम्रो काम गरिरहेका छन्। एनआरएनए उनीहरुसंग 'इन्गेज' हुनु पर्छ, उनीहरु एनआरएनएकै छाता मुनि आउन् भन्ने सोचाई राख्नु हुंदैन।   

अब बन्ने नयाँ नेतृत्वले के के कुरामा ध्यान दिनुपर्ला ?

सांच्चै भन्ने हो भने एनआरएनए भित्र जुन किसिमको भोट ब्यांक छ र जसरी भित्रै सम्म राजनीतिले जरो गाडेर बसेको छ, त्यहाँ रुपान्तरकारी नेतृत्व आउला भन्ने मैले खासै आशा गरेको छैन।  अहिले एनआरएनए भित्र राजनीति हुनुहुंदैन, चुनाव हुनुहुंदैन, सचिवालयलाई बलियो बनाउनु पर्छ भन्दा अलि बढी नै अपेक्षा हुन्छ कि ?

तपाईंले एक परामर्शदाताको रुपमा अफ्रिकी मुलुक रुवाण्डाको विकासलाई नजिकैबाट हेर्नु  भएको छ । नेपालले रुवाण्डाबाट सिक्नुपर्ने कुराहरु के के हुन् ?

रुवाण्डाकै हेर्ने हो भने पनि त्यहाँ संसारका टप मान्छेहरु छन् । विश्वका टप युनिभर्सिटीमा पढेका मान्छे, विजनेसम्यान छन् । पछिल्लो एक वर्षकै कुरा गरौं न । रुवाण्डाले कोभिड नियन्त्रणमा कसरी भूमिका देखायो ? के नेपालले गर्न सक्दैन ? रुवाण्डाले नियम बनाएको छ । नियम सबैलाई बराबर लाग्छ । राष्ट्रपतिदेखि सामान्य नागरिकसम्मले नियमको पालना गर्छन् ।

रुवाण्डा अफ्रिकाकै उदाउँदो राष्ट्र हो । आर्थिक विकासमा यसले ठूलो फड्को मारेको छ । संसारभरका बिजनेसम्यानले रुवाण्डामा लगानी गर्न चाहन्छन् । पर्यटन प्रवर्द्धन भइरहेको छ । एउटा सामान्य कमजोरी भयो भने पनि ठूला लगानीकर्ता आउँदैनन् कि भन्ने चिन्ता त्यहाँको सरकार र जनतालाई छ । नेपालले पनि यस्तो गर्न सक्छ नि ।

ad
ad
ad