ad

गैरआवासीय नेपाली संघ :  मातृभूमि र कर्मभूमि जोड्ने सुन्दर सेतु

शुक्रबार​, भाद्र ४ २०७८
image

विश्वभरि छरिएका करिब ७० लाख गैरआवासीय नेपाली जहाँ रहेपनि आफ्नो देश मातृभूमिकै चिन्तनमा हुन्छन् । हामी छातीभरि विशाल देश र शिरमा सगरमाथा बोकेर विश्वभरि पाइला सारिरहेका छौं । यसर्थ मैले भन्ने गरेको छु, अब देशको सीमा भौतिक रुपमा मेची महाकालीमा मात्र सिमित रहेन, हाम्रो देश यी तमाम गैरआवासीय नेपालीले विश्वभर फैलाएर हिँडेका छन्।   

भनिन्छ टाढाबाट हरेक चिजको पूरा दृश्य देखिन्छ। गैर आवासीय नेपाली संघको अभियानमा प्रवासी नेपालीको सेवा गर्ने क्रममा विश्वका विभिन्न देशहरुमा जाँदा मैले राष्ट्र,  राष्ट्रियता, भाषा र संस्कृतिप्रति प्रवासीको अगाध स्नेह र माया देखेको छु। मातृभूमिबाट विविध कारण या परिस्थितिले प्रवासी जीवन विताउन बाध्य भएकाहरूको मातृभूमिप्रतिको अगाध स्नेह देख्दा नेपालमै बस्ने नेपालीले भन्दा प्रवासमा बस्ने नेपालीहरूले धेरै माया गर्छन् कि जस्तो पनि अनुभूति हुनेगर्छ। 

बेलायत गोर्खा दाजुभाईहरूको कर्मथलो जहाँ उहाँहरूले आफ्नो बहादुरी र इमान्दारिताको एउटा इतिहास रच्नु भएको छ । उहांहरूका सन्तति र बसोबासले प्रवर्द्धन गरेको भाषा, संस्कृति,  नेपालीपनले एउटा सानो नेपाल त्यहीं रहेको महसुस हुन्छ। वर्षेनी हुने नेपाली मेला, गोर्खा कप, बुद्ध जयन्ती जस्ता कार्यक्रम अनि हाम्रा उत्साहजनक उत्सवहरूले विश्वभर मातृभूमि उत्सव नै मनाइरहेको महसुस हुनेगर्छ। चाडपर्वहरू मनाइरहँदा नेपाललाई अगाध स्मरण गरिरहेका हुन्छौं। 

आज प्रवासमा छरिएर रहेका तमाम नेपाली दिदी-वहिनी दाजुभाईले विश्वका कुना-कन्दरामा रहेर आफ्नो मातृभूमिलाई प्रवर्द्धन गर्दै हिँडिरहेका छन्। नेपाली खाना, भाषा, संस्कृतिलाई प्रवर्द्धन गर्न हरदम लागिरहेका हुन्छन्। छातीभरि विशाल धर्ती र शिरमा सगरमाथा बोकेर विश्वका जुनसुकै कुना-कन्दरामा पुगे पनि गर्व साथ नेपाली भन्दा हामीलाई जुन आनन्द महसुस हुनेगर्छ सायद त्यो अनुभव मातृभूमिमा बसेर अलिक कम नै हुनसक्ला।  

चाहे २०१५ सालको भूकम्पको पीडा होस् चाहे वर्षेनी आउने बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोप। आपत्- विपतका यी घडीहरूमा मातृभूमिमा बस्नेहरूको भन्दा धेरै हामी प्रवासीको मन दुख्ने गर्दछ। जव मैले २०१५ को भूकम्पको खबर सुनेँ, म भावविव्हल भएर मातृभूमि र प्रत्येक आफन्त, परिवार अनि सारा नेपालीलाई सम्झेर केही गर्न सकिन्छ कि भन्ने पहलमा लागेँ।  नेपाली क्रिकेट टिमलाई हामीले बेलायतको लर्ड्स मैदानमा पुर्‌याएर खेल हेर्दा होस् या नेपालका हरेक प्रगति र उन्नतिका खबरहरूमा हामी उत्सव मनाउने गर्छौं। मातृभूमिलाई दु:ख पर्दा, हामीलाई छिमेकीले हेप्दा हाम्रो मन दुख्ने गर्छ। हामीले नेपालमाथि लगाइएको त्यो ‘अघोषित नाकाबन्दी’का बेला बेलायतमा विरोध प्रदर्शन गरेका थियौं। हामी हाम्रो मातृभूमि र हरेक नेपालीका दु:ख-सुखका साथी हौँ।

मातृभूमिका ‘कर्मी माहुरी’

देश आर्थिक संकटमा परेका बेला प्रवासमा श्रम बेचेर रेमिट्यान्स पठाई अर्थतन्त्रलाई बचाउने भूमिका होस् या प्रवासमा सिकेका प्रविधि, सिप अनि ज्ञान। ती सबलाई मातृभूमिमा लैजाने ‘कर्मी माहुरी’हरूको रुपमा विश्वका विभिन्न देशमा कार्यरत नेपाली ‘कर्मी-माहुरी’ हुन्। जसरी ‘कर्मी-माहुरी’ले वनजंगल अनि बगैंचामा गएर फूलको मीठो रस लिएर घारमा मह बनाउँछन्,  त्यसरी नै प्रवासी नेपाली पनि रेमिट्यान्स, सिप र ज्ञान भित्र्याउने माहुरी हुन्।

आफूले सिकेको सिप, ज्ञान र आर्जन गरेको पूँजी नेपालको बृहत्तर हितको लागि प्रयोग गर्न हामी सधैं लालायित छौं। आफ्नो ठाउँ, घर अनि परिवार छोडेर प्रवासमा काम गरिरहेका नेपाली भावनात्मक रुपले मातृभूमि र परिवारको न्यास्रो महसुस गरिरहेका हुन्छन्। उनीहरूलाई माया र स्नेहको खाँचो हुन्छ। तन प्रवासमा भए पनि मन-मुटु मातृभूमिमा नै हुन्छ। खाडीमा आज कैयौं युवा मानसिक तनाव अनि विभिन्नखाले समस्याले ग्रस्त छन्। प्रवासमा दु:ख बिमार पर्दा रेखदेखको अभाव, उपचार खर्च अभाव, कमाई नहुँदा खान-बस्न कै समस्या पनि हुन्छन्। 

यसपालि कोरोना महामारीले त झन् कैयौं प्रवासी नेपाली कोठाभित्रै छटपटाएर जीवन गुमाउनु परेको थियो। एकातिर खान र बस्नको समस्या अर्कोतिर पैसाको अभाव अनि प्लेन नचल्नेजस्ता विविध समस्या झेलिरहेका नेपालीलाई आवश्यक परेको बखत हामी सबैले अभिभावक ठानेको नेपाल सरकारले केही गरिदेओस् भन्ने आस हुन्छ। त्यसका लागि चुस्त दुरुस्त संयन्त्र बनाई कोषको ब्यवस्था गरी प्रवासीका परिवारका लागि पनि रेखदेख गर्न भूमिका खेल्नुपर्ने देखिन्छ।

संघमा देखिएका चुनौती र अवसरहरू

विश्वका ८० भन्दा बढी देशमा संघको सन्जाल फैलिदैँ गर्दा यसलाई व्यवस्थापन र स्थापित पुराना मान्यता अनि  अभ्यासहरूलाई सुधार गर्नुपर्ने धेरै पाटाहरू छन्। 

संघको पारदर्शिता र नेतृत्व छनोट प्रक्रियामा व्यापक सुधार गर्दै मातृभूमि र कर्मभूमिलाई जोड्ने एउटा गतिलो सेतुको रुपमा यसलाई विकास गर्ने अवसर हामीसंग छ। लगानी प्रवर्द्धन गर्ने, व्यवसाय र सिपको प्रवर्द्धन, भाषा र संस्कृतिको संरक्षण र विकासका लागि यो सन्जालको सामर्थ्य र व्यापकतालाई सबैको हितमा प्रयोग गर्न सके क्षणिक व्यक्तिगत स्वार्थ र लाभका लागि नेतृत्व हत्याउन मरिहत्ते गर्नेहरू आफैं हराएर जानेछन्। 

गैरआवासीय नेपाली साथै उनीहरूका दोस्रो र तेस्रो पुस्तालाई नेपालप्रति आकर्षित गराउन नागरिकता निकै जरुरी देखिन्छ। प्रवासमा लगानी र व्यवसाय गर्न निस्फिक्री वातावरण सिर्जना होस् या आफूले जोडेको सम्पत्तिको रक्षाको प्रत्याभूतिका लागि पनि गैरआवासीय नेपालीलाई नागरिकताको यथाशीघ्र व्यवस्था हुन जरूरी देखिन्छ। 

प्रवासी नेपालीको सामूहिक आवाज र सामूहिक सामर्थ्यलाई संयोजन र प्रभावकारी बनाउने प्रयास स्वरुप मातृभूमि र कर्मभूमिलाई जोड्न एउटा गतिलो पुलको रुपमा गैरआवासीय नेपाली संघको रुपमा हामीले लामो समय देखि अभियान चलाउँदै आएका छौं। प्रवासमा छरिएर रहेका नेपालीलाई एकजुट गर्ने, हरेक नेपालीका समस्यालाई एकत्रित गरेर नेपाल सरकारसामु प्रस्तुत गर्ने र समाधानको पहल गर्नेदेखि स्वयंसेवा, सीप, ज्ञान र लगानी कसरी भित्र्याउने भन्ने सवालमा निरन्तर आफ्ना अभियान चलाई रहेका छौं। 

मातृभूमिलाई आधुनिक प्रविधि, लगानी र  विश्वव्यापीकरणको यात्रामा सामेल गराउन यो संस्थाको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ। "एक पटकको नेपाली सधैंको नेपाली" भन्ने मूल मर्म र भावनालाई अंगीकार गर्दै आवश्यक भूमिका खेल्न मैले यसपालि गैरआवासीय नेपाली संघको नेतृत्व गर्न उम्मेदवारी दिने निधो गरेको हुँ। । 

(बेलायत निवासी व्यवसायी तथा समाजसेवी आचार्य गैरआवासीय नेपाली संघका सल्लाहकार एवं आगामी अक्टोबरमा हुने विश्व सम्मेलनमा  केन्द्रीय अध्यक्ष पदका प्रत्यासी हुन्।) 

ad
ad
ad