ad

अहं पठामि संस्कृतम्

आइतबार​, भाद्र ६ २०७८
image

-डा. अजय रिसाल

विषय प्रवेश

“देवभाषा संस्कृतम्
मातृभाषा संस्कृतम् ।
विश्वमूल संस्कृतम्
अहं पठामि संस्कृतम् ।।”

उपर्युक्त मधुर गीत सानैदेखि विद्यालयमा गाएर हुर्किएकाले पनि होला अनि घर, मामाघर सबैतिर बा, काका, मातामह आदि सब संस्कृतज्ञ विद्वान् हुनुको प्रभावले पनि हुन सक्दछ, फेरि समय–समयमा सप्ताह–पुराण आदिका वक्ताका रूपमा अनि दैनिक नै सत्सङ्ग परिवारजस्ता अनेकौँ संस्थामा, अझ घरैमा पनि व्यासासनमा बसी श्रीमद्भागवद्, श्रीमद्भगवद्गीता, रामायण, महाभारत, आदिका पाठ–कथा सुनाई जीवनै व्यतीत गर्नुभएका पिताजीको आनुवंशीक गुण सौभाग्यवश सरेको पनि हो कि ? मलाई संस्कृत विषय जान्नैपर्ने विषय अनि संस्कृत भाषा बुझ्नैपर्ने भाषा, संस्कृत श्लोक घोक्नैपर्ने ज्ञानराशिझैँ नै लाग्दथ्यो सानैदेखि नै । प्रारब्धवश मेरो अध्ययनको विषय अनि ‘पेट पाल्ने पेसा’ भने अर्कै नै हुन पुग्यो तर पनि संस्कृत जान्ने, पढ्ने, बुझ्ने हुटहुटी घटेको भने छैन, बरु झनै बढेको छ ।

प्राध्यापन पेसामा आफ्नो क्षेत्र मनोचिकित्साको विषयमा जति जति गहिराइमा पुग्न खोज्दछु अनि मानसिक समस्याले ग्रस्त रोगीहरूको मनोवैज्ञानिक, भावनात्मक तथा आत्मिक तहमा जति जति चिहाउन खोज्दछु, उति उति नै आफूले जानेको विद्या, आफ्ना सिप अनि ज्ञान अधुरो एवं अपुरोझैँ नै पाउँछु । त्यस्तो बेला श्रीमद्भगवद्गीताका योगमार्गहरूले तान्दछन् मलाई । आत्मिक शान्तिका लागि गीता, भागवद् अनि महाभारत नै खोज्दछु म अनि नै त संस्कृतको पूर्ण ज्ञान नभएकोमा थक्कथक्क लाग्दछ मलाई ।

भनिएको नै छ –

“जानाति विविधाः भाषाः जानाति विविधाः कला ।
आत्मानं नैव जानाति यो न जानाति संस्कृतम् ।।”
अर्थात् विभिन्न भाषा जानेको, अनेकौँ कला सिकेको मान्छेले पनि संस्कृत बुझ्न सकेन भने उसले ’आत्मा’लाई नै चिन्न सक्तैन । सत्य हो यो कथन ।

त्यही अतृप्ति शान्त्यर्थ संस्कृत विषयका अनौपचारिक प्रशिक्षण कार्यक्रमहरू अनि औपचारिक सम्मेलनहरूमा खोजी-खोजी भाग लिन थालेको हुँ मैले । बन्दाबन्दीका समयको उपयोग गरी सपरिवार नै संस्कृत विषयका युट्युबे कक्षाहरूमा भाग पनि लियौँ । एउटा चिकित्सक पेसामा लागेको व्यक्तिले खोजी-खोजी संस्कृत सिक्ने जमर्को गरेको, आफ्नी दुई कक्षा पढ्ने छोरीलाई समेत संस्कृतमै सम्बोधन गर्न प्रोत्साहित गर्ने गरेको देख्दा धेरैले अचम्म मानेका पनि हुन् । कत्ति चिकित्सक साथीहरूले त “कर्मकाण्डलाई अतिरिक्त पेसा बनाउन खोजेको त हैन ?” भन्ने प्रश्न पनि गरे मलाई । कसैले भने “साधु बन्न लागेको” या “सन्यास ग्रहण गर्ने दिशा पक्रेको” आदि शङ्का पनि गरे । “आत्मसन्तुष्टि अनि साँचो ज्ञान प्राप्त गर्ने एकमात्र साधन नै संस्कृत हो” भन्ने चेतना जागेर नै “मैले त्यसरी संस्कृत विषयको अध्ययन अन्वेषण गर्न खोजेको” तर्फ भने कसैले पनि दृष्टि दिन सकेनन् । त्यही चेतना प्रसारणको प्रयोजनले नै यो लेख लेख्ने जमर्को गरेको हुँ मैले ।

देवभाषा संस्कृत

‘संस्कृत’ शब्दको व्युत्पत्ति गर्दा ‘संस्+कृत’ दुई शब्दबाट यो शब्द बनेको देखिन्छ । अर्थात् ‘श्वासबाट निर्मित’, या ‘स्वयं कृत’, अर्थात् ‘आफैँ उत्पत्ति भएको’ भाषा । हुन पनि हो, अति प्राचीनतम भाषा हो यो । संसारभरका करिब ६९०० जति भाषाहरूमध्ये प्रायः सबै भाषाहरूको निश्चित कालगणना भए तापनि यो संस्कृत भाषाको भने उत्पत्ति कहिले भएको हो भन्ने यकिन छैन । कोही भन्छन् ५००० वर्षअघि तर त्योभन्दा पनि धेरै अघि शुरु भएको हो प्राचीन समयमा देवताहरूबीचको सञ्चार सम्पर्कको माध्यमको रूपमा मानिएको यो देवभाषा संस्कृत ।

ब्रह्माण्डीय संगीतद्वारा निर्मित भनेर मानिने यो भाषालाई हाम्रा आदिपुर्खा ऋषिवर्गले ध्यान गरेर धर्तीमा ल्याएका हुन् भन्ने पनि ठानिन्छ । पाणिनि, कात्यायन अनि पतञ्जलिजस्ता अनेक योगीहरूको यस भाषाको श्रीसंवृद्धिमा ठूलो योगदान रहेको छ ।

परिष्कृत संस्कृत वर्णमाला

सूर्यको एक दिशाबाट ९ रश्मि निस्किन्छन् । तसर्थ सूर्यका चारैतिरबाट आउने ३६ रश्मिहरूका ध्वनिले ३६ स्वरवर्ण बने संस्कृतको । त्यस्तै ती ९ रश्मिहरू ८ वसुसँग ठोक्किएर निस्कने ध्वनिले ७२ व्यञ्जनवर्ण बने संस्कृतको । यसरी बनेको शुद्ध सङ्गीतमय ध्वनि नै वेदका ऋचाहरूका रूपमा अवतरित भए । अतः ब्रह्माण्डीय गति या ध्वनिका रूपमा उत्पन्न भएका ३६ स्वर अनि ७२ व्यञ्जन वर्णहरूले नै परिपूर्ण सुसंस्कारित संस्कृत भाषाको १०८ वर्णमाला तयार भएको हो ।

संवृद्ध संस्कृत व्याकरण

संस्कृत व्याकरणमा जुनसुकै शब्द बनाउने मूल रूपलाई ‘धातु’ भनिन्छ, जम्मा १७०० धातुरूप छन् यस भाषा व्याकरणमा । ती धातुहरूमा उपसर्ग या प्रत्यय लागेर विभिन्न शब्दहरू बन्दछन् । एउटा धातुबाट मात्रै ९० प्रकारका क्रियापदहरू अनि २१ प्रकारका नाम–सर्वनामका अनेक रूपहरू बन्दछन् । संस्कृत व्याकरणमा ८० किसिमका उपसर्ग अनि ७० किसिमका प्रत्यय पाइएका छन् । धातु, उपसर्ग अनि प्रत्ययहरूको योगबाट २७ लाख २० हजार शब्द बन्दछन् । तिनमा सामासिक शब्दहरूसमेत जोडिँदा ७६९ करोड शब्दहरू बन्न सक्ने देखिएको छ । सर्वोत्तम शब्द–विन्यास भएको यस भाषामा खरबभन्दा बढी (१०२ अरब ७५ करोड ५० लाख) को शब्द भण्डार रहेको छ । यति संवृद्ध छ यो भाषा ।

मातृभाषा संस्कृत

संस्कृत भाषा अन्य भाषाहरूको स्रोत हो । अन्य भाषाहरूबाट अपभ्रंश भएर बनेका होइनन् संस्कृत शब्दहरू । बरु अन्य भाषाका शब्दहरू भने संस्कृत शब्दहरूबाट अपभ्रंश भई बनेका पाइन्छन् । उदाहरणका लागि आमा बुझाउने संस्कृत शब्द ‘मातरः’ ग्रीकमा ‘मातेर’ अनि अङ्ग्रेजीमा ‘मदर’ । सिंहाली, बर्मेली, मलेसियन जस्ता भाषहरूले पनि आफ्ना शब्दभण्डार विकासका लागि संस्कृत शब्दभण्डारबाट नै सापटी लिने गर्दछन् । ग्रीक, हिब्रू, ल्याटिन शब्दहरूमा समेत संस्कृत भाषाकै प्रभाव देखिन्छ । ‘संस्कृत’को ज्ञानले अन्य भाषाहरूसमेत सिक्न, जान्न अनि बुझ्न सहयोगी हुने मैले व्यक्तिगत तवरमा नै अनुभव गरेको तथ्य हो । संस्कृतको अर्धज्ञानको भरमा नै पनि भारतको कर्णाटक राज्यको भाषा ‘कन्नडा’ सिक्न मलाई सुलभ भएको थियो, अध्ययनार्थ तीन वर्ष त्यस ठाउँमा बस्दा । हाम्रो देशको नेपाली, मैथिली, भोजपुरी त भइ नै हाले, उत्तर भारतका हिन्दी, बङ्गाली, गुजराती, मराठी, पञ्जाबी भाषा, अनि दक्षिण भारतका तेलुगु, मलायालम अनि कन्नडा भाषासमेत संस्कृत भाषाका सन्तान मान्न सकिन्छ । त्यसैले मातृभाषा हो संस्कृत ।

उत्कृष्ट संस्कृत लिपि देवनागरी

संस्कृत लिपि देवनागरी लेख्न अनि बुझ्नमा त सजिलो भइ नै हाल्यो, यसको लेखान कार्य गर्दा मस्तिष्कका विभिन्न भागहरू चलायमान भई व्यायाम भएसरह हुने अध्ययनहरूले देखाएका छन् । देवनागरी लिपिमा व्यञ्जन वर्णहरू बायाँबाट दायाँतिर लेखिने अनि स्वर वर्णहरू तलमाथि या व्यञ्जनको दायाँबायाँ लेखिने गरिन्छ । अतः लेखाइमा स्वर पहिले आउने भए तापनि बोलाइमा भने स्वरको उच्चारण व्यञ्जन पछि हुने गर्दछ । त्यसकारण संस्कृत शब्दलाई देवनागरी लिपिमा पढ्दा, बोल्दा या लेख्दा मस्तिष्कका दायाँ अनि बायाँ दुवै भाग क्रियाशील हुने गर्दछन् । यस्तो विशेषता छ देवनागरी लिपिको ।

सनातन भाषा संस्कृत

आदिकालदेखि नै प्रचलित यो भाषामा आजसम्म कुनै पनि रूपमा, ध्वनि प्रवर्तनमा, सारसुरमा केही पनि परिवर्तन आएको छैन । अङ्ग्रेजी भाषाको इतिहास नै हेर्दा सेक्सपियरको समयको अनि अहिलेको अङ्ग्रेजी भाषामा, त्यस्तै नेपालीमा नै पृथ्वीनारायण शाहको या भानुभक्तको समयको अनि अहिलेको प्रचलित नेपाली भाषाका बीच कति धेरै परिवर्तन आइसक्यो ? तर संस्कृत भाषा अझै पनि त्रुटिरहित, शास्वत, अनि सनातन रूपमा नै यथावत् चलिरहेको छ ।

योगसूत्र संस्कृत

भनिएको छ, संस्कृत शब्दहरूका स्वर अनि व्यञ्जन वर्णको शुद्ध उच्चारण गरेमा हाम्रो शरीरमा रहेका सातमध्ये कुनै न कुनै ऊर्जाचक्र (स्नायुका पुञ्ज) हरू प्रभावित हुन पुग्दछन् । त्यस्तै अनुस्वार (अं) को उच्चारणले भ्रामरी नामक योगक्रिया (नाकद्वारा श्वास फ्याँकी भ्रमराले झैँ गुञ्जन गर्ने कार्य)गरेझैँ फल प्रदान गर्दछ । अनि विसर्ग (अः) को अच्चारणले कपालभाति नामक प्राणायाम (श्वास छिटो-छिटो बाहिर फाल्ने कार्य)को फल दिन्छ । त्यस्तै सन्धिक्रियाद्वारा बनेका शब्दहरूको उच्चारणमा जिभ्राले माथितल गर्ने विशेष प्रयत्न गर्नुपर्दा एक्युप्रेसर गरेझैँ नै अभ्यास हुने गर्दछ । अतः संस्कृत शब्दहरूको शुद्ध वाचन क्रियाले नियमित योगाभ्यास गरेझैँको फाइदा प्राप्ति हुन्छ । तसर्थ संस्कृत भाषालाई योगसूत्र नै मान्न मिल्दैन र ?

आत्मज्ञान बोधक संस्कृत

संस्कृतका प्रत्येक शब्दले २५ रूपहरू बनाउन सकिन्छ । ती २५ रूपहरूले साङ्ख्यदर्शनका २५ तत्त्वहरूलाई जनाउँदछन् । ती हुन् -१ पुरुष (आत्मा), ४ अन्तस्करण (मन, बुद्धि, चित्त, अहङ्कार), ५ ज्ञानेन्द्रिय (नाक, जिभ्रो, आँखा, छाला, कान), ५ कर्मेन्द्रिय (पाद, हस्त, उपस्थ, पायु, वाक् अर्थात् क्रमशः खुट्टा, हात, मलोत्सर्जन गर्ने दुई अङ्ग, मुख), ५ तन्मात्रा (गन्ध, रस, रूप, स्पर्श, शब्द), अनि ५ महाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) । त्यस्तै नाम जनाउने संस्कृतका हरेक शब्दले उक्त वस्तुको सम्पूर्ण लक्षण अनि गुणलाई प्रकट गर्दछ । यी सबै तथ्यहरूको दार्शनिक विवेचना गर्ने हो भने आत्मज्ञानको दिशा देखाउँदैन त संस्कृतले ?

अध्यात्मको स्रोत संस्कृत

हाम्रा आध्यात्मिक स्रोतग्रन्थहरू वेद, उपनिषद्, पुराण आदि सब संस्कृत भाषामा नै लेखिएका छन् । हाम्रा पुर्खा ऋषिमहर्षिहरूले आध्यात्मिक ज्ञानधारा यिनै पौराणिक ग्रन्थहरूमा संस्कृत भाषामा नै पोखेका थिए । हिन्दू वाङ्गमयका साथै बौद्ध, सिख, जैन आदि विचारहरूका प्रवर्तकले पनि संस्कृत भाषामा नै ज्ञान बाँडेका छन् । ती सबै ग्रन्थहरूको स्पष्टतापूर्वक अध्ययन गर्न अनि ज्ञानको पूर्णतामा कटिबद्ध रहन संस्कृतको पूर्णज्ञान अत्यावश्यक नै रहन्छ ।

धार्मिक–सांस्कृतिक उद्बोधनको माध्यम संस्कृत

हाम्रा सांस्कृतिक विधिविधानहरूमा अनि कर्मकाण्डीय क्रियाकलापहरूमा संस्कृत भाषा नै एकमात्र माध्यम रहेको छ । धार्मिक–सांस्कृतिक प्रयोगमा आउने श्लोकहरू, सङ्कल्प, अनि आज्ञावाक्य संस्कृतमा नै रहेको पाइन्छ । नबुझ्ने भनौँ या बुझ्न नचाहने व्यक्तिहरूले संस्कृतको प्रयोग नै कर्मकाण्डका लागि मात्र अनि बाहुनहरूले मात्र प्रयोग गर्ने हुन् भनेर ठान्ने अनि प्रचारप्रसार पनि त्यसरी नै भइरहेको हामी पाउँछौँ तर कर्मकाण्डादि प्रयोजनमा मात्र ५ प्रतिशत ‘संस्कृत’को प्रयोग भएको देखिन्छ ।

संस्कृत भाषाको वैज्ञानिकता

अमेरिकी वैज्ञानिक संस्था नासाले कम्प्युटरका लागि अति उपयोगी भाषा संस्कृत नै रहेको जनाएको छ । सन् १९८५ मा नै भएको एक अध्ययनले कम शब्द सङ्ख्यामा नै महत्त्वपूर्ण डिजिटल सन्देशहरू प्रवाह गर्न सक्ने एक मात्र प्राकृतिक भाषा संस्कृत भएको तथ्य प्रकाशमा ल्याएको थियो । अतः कृत्रिम उपग्रहहरू अनि रोबोट आदिको प्रयोग गरी खगोल अनि अन्तरिक्षको अध्ययनका लागि पनि संस्कृत भाषाकै छनोट गर्नु उपयोगी रहने तर्कहरू पनि अगाडि आइरहेका छन् ।

संस्कृत साहित्यको सम्पन्नता

संस्कृत साहित्यको कुरा गर्दा ‘महाभारत’ को तुलना अरू केसँग पो गर्न सकिएला त ? भनिएको नै छ, “जे संसारमा छ, त्यो महाभारतमा छ । जे महाभारतमा छैन, त्यो अन्त कतै पनि छैन ।” साहित्यका लागि मात्र नभई राजनीति र अर्थशास्त्रको समेत अमूल्य निधिका रूपमा रहेको छ यो काव्य आजपर्यन्त । त्यस्तै संस्कृतका आदिकवि वाल्मीकिको रामायण मानवीय संवेदनाको द्योतकका रूपमा अद्यपि नै छ । महाकवि कालिदासको कुमारसम्भव अनि रघुवंश पनि प्रसिद्ध कृति हुन् । त्यस्तै अमूल्य छ भारवीको किरातार्जुनीय मोक्ष नाटक । वाणभट्टको कादम्बरी, गोधालाको उदयसुन्दरी उपन्यास, सोमदेवको कथाचरित सागर, क्षेमेन्द्रको कलाविलाश र दशावतार चरितम् पनि संस्कृत साहित्यका अमूल्य निधि नै हुन् । साहित्यिक समालोचनाको क्षेत्रमा पनि ‘संस्कृत’को योगदान अतुलनीय छ । भरतको नाट्यशास्त्र, दण्डी एवं भोजजस्ता विद्वान्‌हरूको यस क्षेत्रमा ठूलो प्रयास रहेको पाइन्छ । त्यस्तै नीलकण्ठको मनोवाद एवं व्यङ्ग्य रचना पनि प्रसिद्ध नै छन् । छन्दशास्त्रमा संस्कृतको योगदान त सबै ग्रन्थ–पुराणहरूमा देखिएको सर्वविदितै छ । अतः काव्य, शास्त्र अनि विनोद सबै विधामा संस्कृतको उच्चासनलाई कसैले पनि हल्लाउन सक्तैन ।

दर्शनको क्षेत्रमा संस्कृत सनातन हिन्दू धर्म त भइ नै हाल्यो, अन्य धर्मग्रन्थहरू पनि संस्कृतमा नै रहेको हामी पाउँछौँ । बौद्धधर्मको महायान पन्थका कृतिहरू सुरुमा प्राकृत भाषामा रहेका तर पछि संस्कृत भाषामा नै तिब्बतआदि देशहरूमा विस्तारित हुन पुगेका थिए । सिख धर्मको पवित्र गुरुग्रन्थ साहिब पनि संस्कृतमै लिपिबद्ध भएको थियो । अश्वघोषले लेखेका बुद्धचरित्र बौद्धदर्शनको प्रमुख कृति हो विष्णुशर्माको पञ्चतन्त्रको कथा आजपर्यन्त अनेक भाषमा नीतिकथाका रूपमा अनुदित भइ नै रहेका छन् । त्यस्तै नै योगदान छ भर्तृहरिको नीतिशतकको ।

संस्कृतका बहुआयामिक पक्ष ५ प्रतिशत कर्मकाण्डलाई छुट्याउँदा ९५ प्रतिशत ‘संस्कृत’ त दर्शन, कानुन, विज्ञान, साहित्य, इतिहास, व्याकरण अनि ध्वनि विज्ञानको आधारस्तम्भ भएर नै रहेको छ । हाम्रो देशमा अवमुल्यन नै भएको देखिरहँदा पनि संस्कृत भाषा अहिले विश्वका २५० विश्वविद्यालयहरूमा अध्ययन–अध्यापन भइरहेका छन् । वैज्ञानिक, प्राविधिक एवं दार्शनिक क्षेत्रमा पतञ्जलिको योगदान कसरी भुलिएला र ? आयुर्वेदको विकासमा तिनको प्रमुख स्थान रहेको सर्वविदित नै छ । त्यस्तै चरक एवं सुश्रुतले स्वास्थ्य क्षेत्रमा स्थान बनाएका थिए । चाणक्य–कौटिल्यको साहित्य, प्रशासन, कुटनीति एवं अर्थशास्त्रजस्ता थुप्रै स्थानमा दख्खल रहेको थियो अनि चार्वाक्, मनु, याज्ञवल्क्य, गार्गी, मैत्रेयी आदि विद्वान्‌विदुषीहरूको विविध क्षेत्रमा रहेको योगदानको प्रमुख माध्यम संस्कृत नै रहेको थियो । गौतम बुद्ध, रामार्जुनाचार्य, रामकृष्ण परमहंस, विवेकानन्द आदि महात्माहरूको स्मरण नगरीकन संस्कृतको बहुआयामिक पक्षको निरूपण कसरी पो होला र ? ज्योतिषविज्ञान, हठयोग, ध्यानयोग एवं वास्तुशास्त्रलाई समेत संस्कृतले नै संवृद्ध बनाएको हो । त्यस्तै नाट्येश्वर शिवको ताण्डव नृत्यको यस विधामा रहने योगदान कसरी बिर्सौंला र ?

उपसंहार

त्यसैले संस्कृत एउटा कोरा भाषामात्र होइन । यो ज्ञानविज्ञान, इतिहास, साहित्य, दर्शन आदि सबै प्रकारको विद्याको पुञ्जी हो । हाम्रा पुर्खा ऋषि महर्षिहरूको साधना एवं परिश्रमले हामीलाई प्राप्त भएको अमूल्य निधि हो । संस्कृतका यावत् विशेषताहरू देख्दादेख्दै अनि बुझ्दाबुझ्दै पनि हामीले यसलाई कर्मकाण्डकै अङ्गका रूपमा या बाहुनहरूकै पेवाका रूपमा मात्र अझै खुम्चाइरहन सुहाउला त ? हामी सबै संस्कृतलाई जान्न बुझ्न अग्रसर बन्न अब ढिलो भएन र ?

काँचो माटासरहको बालमस्तिष्कमा नै संस्कृत भाषाको बीजारोपण गर्नु अत्यावश्यक नै हो । नेपाल सरकारले संस्कृत भाषालाई प्रारम्भिक शिक्षामा प्रवेश गराउन साँच्चै नै खोजेको हो भने त्यस प्रयासको ह्रदयदेखि नै स्वागत छ ।

हामीले आफैँलाई बुझ्न, आफैँलाई जान्न पनि संस्कृत जान्नु अपरिहार्य नै छ । किं बहुना ?

(पाशुपत दर्पण (वर्ष १, अंक ६, पुस–माघ, २०७७ पृष्ठ ४४–४७) बाट साभार ।)

ad
ad
ad