ad

टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने 

मङ्गलबार, आषाढ २९ २०७८
image

टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा गौरिका सिंहले बोक्ने भएकी छिन् । पौडी खेलाडी गौरिकाले यो पटकको टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

'टोकियो ओलम्पिकको नेपाल यात्रा' कार्यक्रममा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरिएको हो । गौरिकाले लण्डनमै ओलम्पिकको तयारी गरिरहेकी थिइन् । उतैबाट उनी जापान गएकी हुन् ।

परिवारसहित लण्डनमै बस्दै आएकी गौरिकाले १३ औं सागमा चार स्वर्ण र २ रजत पदक जित्दै सञ्चारमाध्यमबाट ‘जलपरी’को नाम पनि पाएकी थिइन् । यसपटकको ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउँदैछन् । यस्तै प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहित २६ जनाको टिम जाने भएको छ । 

जसमा पौडी, जुडो, शुटिङ, एथ्लेटिक्स रहेका छन् । पौडीमा दुई खेलाडीले प्रतिस्पर्धा गर्दा बाँकी तीन खेलमा एक, एक खेलाडीले खेल्नेछन् । नेपालबाट जाने टिममा चार खेलका चार प्रशिक्षक, चार म्यानेजर, सेफ दी मिसन एक, एटाचीमा एक, नेपाली टिमको प्रशासन र कोभिड नियम हेर्ने एक जना टिममा जाने छन् । यस्तै टिमको चिकित्सकको रुपमा एक जना रहेका छन् । 

ओलम्पिकका लागि पौडीको टिम जापान गइसकेको छ । उनीहरु त्यहाँ नै प्रशिक्षण गर्ने भनेर गइसकेका छन् । बाँकी नेपालबाट टिम जुलाईको १९ तारिखसम्म जाने तयारी भइरहेको छ । 

कोभिडका कारण यसपटक खेलाडीलाई भिलेज र खेल स्थल भन्दा बाहिर जान नपाउने नियम बनाइएको छ भने टोकियो जानु भन्दा अगाडी दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने र त्यहाँ पुगेपछि चार दिनको क्वारेन्टिन बस्नुपर्ने बताइएको छ ।

साथै ओलम्पिकको नोटबुकमा कुनैपनि खेलका खेलाडी आफ्नो प्रतिस्पर्धा सकिए लगत्तै फर्किनुपर्ने भनिएको छ । जुलाई २३ बाट अगष्ट आठ तारिखसम्म हुने ओलम्पिकमा विभिन्न देशका १५ हजार भन्दा बढी खेलाडीको सहभागिता हुनेछ ।  
 

ad
ad
ad