ad

खोप ढुवानीका लागि मुस्ताङमा ट्र्याक्टर प्रयोग !

बिहीबार, श्रावण ७ २०७८
image

वर्षासँगै खोला र खहेरमा बाढी आउन थालेपछि हिमालपारिको जिल्ला मुस्ताङमा कोरोनाभाइरसविरुद्धको खोप ढुवानीमा समस्या भएको छ । बाढीका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गरिएको छ ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा भेरोसेल खोप ढुवानी गरेर ज्येष्ठ नागरिकहरूलाई दोस्रो डोज लगाएको छ । २९ असारमा सदरमुकाम जोमसोमबाट लोमान्थाङ भेरोसेल खोप ढुवानी गर्दा कागबेनी नजिकै पाण्डाखोलामा बाढी आएको थियो ।

लोमान्थाङबाट जोमसोमका लागि पठाइएको एम्बुलेन्स कागबेनी नजिकै रहेको माण्डा खोलामा रोकिएपछि ट्र्याक्टरमा ढुवानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए । “यहाँबाट गएको एम्बुलेन्स तर्न सकेन । दुई दिन रोकिएर ट्र्याक्टरमा खोला तारेपछि एम्बुलेन्समा लोमान्थाङ ल्याइयो,”भण्डारीले भने ।

कोरोना भाइरसविरुद्धको खोप सुरक्षाका लागि लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नोर्बु गुरुङ ट्र्याक्टरमै गएका थिए । “माथिल्लो मुस्ताङमा समस्या छैन, कागबेनी आसपास हुँदै बग्ने खोलानालाले दुःख दिइरहेका छन् । अनेक विकल्प गरी गाउँमा खोप पुर्‍याएका छौँ,”गुरुङले भने ।

खोलामा पुल नरहेको र वर्षा भइरहेकाले बाढी आउँदा साना सवारी आवतजावत अवरुद्ध हुँदै आएको छ । यसअघि पनि मुस्ताङमा खोला बढेका कारण खोप तार्न कठिन भएपछि काठको सहायताले स्वास्थ्यकर्मीले खोप वारपार बनाएको तस्बिर ‘भाइरल’ भएको थियो ।

देशभर खोप अभियान चलिरहेका बेला ढुवानीको समस्याका कारण मुस्ताङमा तोकिएको दिनभन्दा एक दुईदिन तलमाथि पारेर खोप अभियान सञ्चालन हुने गरेको छ । रासस

ad
ad
ad