ad

खेलकुदको महाकुम्भ टोक्यो ओलम्पिक शुरु, गौरिका र एलेक्जान्डरले बोके नेपालको झण्डा

शुक्रबार​, श्रावण ८ २०७८
image

काठमाडौं : टोक्यो ओलम्पिक २०२० शुक्रबार औपचारिकरुपमा शुरु भएको छ । धेरै सहभागी हुने खेलहरु दुई दिन अघि नै शुरु भए पनि औपचारिक उद्घाटन शुक्रबार भएको छ ।

विश्व खेलकुदको महाकुम्भ भनेर चिनिने ओलम्पिकको उद्घाटन यसअघिको भन्दै ठिक फरक रह्यो । विगतमा निकै तामझामका साथ शुरुहुने ओलम्पिक यस पटक भने बन्द रंगशालामा त्यो पनि सिमित खेलाडीको मार्चपासमा सिमित भएको थियो ।

कोरोना महामारीका कारण एक वर्ष ढिला गरि शुरु भएको ओलम्पिक अहिलेपनि यसको प्रभावबाट मुक्त भने रहन सकेन । अहिले पनि कोरोना महामारीका कारण अधिकांश देशहरु खुल्ला हुन नसकिरहेका बेला जापानकै नागरिकहरु पनि ओलम्पिकको विपक्षमा रहेका थिए । 

'युनाइटेड बाई इमोसन' भन्ने मूल नारा रहेको यसपटकको ओलम्पिकमा समर्थकको उपस्थिति थिएन । 

भिडियो देखाएर उद्घाटन

कोभिडका बेलापनि विश्व भर खेलाडीको अवस्थाबारे तयार पारिएको भिडियो देखाएर उद्घाटन शुरु भएको थियो । उद्घाटनको शुरुवातमा जापानी बक्सर एरिसा सुबाटा ट्रेडमिलमा दौडिएको देखाइएको थियो । उनको वरिपरि नर्सहरुलाई पनि राखिएको थियो । यसको अर्थ कोभिडका बेला विरामीलाई कसरी उपचार गरियो भन्ने संकेत गरिएको थियो । 

योही टानेडाले डिजाइन गरेको ओलम्पिकको उद्घाटन समारोहमा शुई र जापानको माउन्ट फुजीलाई प्रतिनिधित्व गरेर बनाइएको थियो । उद्घाटन समारोहमा आयोजक, प्रायोजक, विशिष्ट ब्यक्तित्व र पत्रकारलाई भने प्रवेश गराइएको थियो । 

विश्वमा कोभिडले पारेको असरबाट बाहिर निस्कनका लागि सबै एकजुट हुनुपर्छ भन्ने उद्घाटनको थिम रहेको थियो । रंगशाला भित्र उद्घाटन समारोह चलिरहेका बेला बाहिर भने ओलम्पिक हुनुहुँदैन भनेर नारावाजी पनि गरेका थिए ।

उद्घाटन समारोहमा ओलम्पिक शुरु भएको देश ग्रीसको टिमबाट मार्च पास भएको थियो । त्यसपछि ओलम्पिकको झण्डामुनि खेल्ने शरणार्थी टिमले प्रवेश गरेका थिए । सबै देशले आफ्नो परम्परा झल्किने ड्रेस लगाएका थिए । मार्च पासको अन्तिममा अर्को संस्करणको आयोेजक देश फ्रान्सले प्रवेश गरेको थियो । उद्घाटन समारोहमा अमेरिकी  प्रथम महिला जील बाइडेनको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा कोरोनाको संभावित संक्रमणलाई कम गर्नका लागि निकै कममात्र विशिष्ट ब्यक्तिलाई निम्तो दिइएको थियो । उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले बोकेका थिए । जसमा खेलाडीका रुपमा गौरीका र एलेक्सले मात्र भाग लिएका थिए । बाँकी सबै पदाधिकारी रहेका थिए । मार्च पासमा नेपालबाट आठ जनाको सहभागिता रहेको थियो ।

ad
ad
ad