ad

टोक्यो ओलम्पिक : कल्पनाको राष्ट्रिय कीर्तिमान

शनिबार, श्रावण ९ २०७८
image

काठमाडौं : जापानको राजधानी टोक्योमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । 

परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव आठ अंक बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अंक जोडिन् ।

परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा ६१४ दशमलव पाँच अंक बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियार सागमा चौथो भएकी थिइन् । उनी टोक्यो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहनुका साथै प्रतियोगिताबाट बाहिरिएकी थिइन् । 

परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव नौ अंकका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव सात अंकसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव चार अंकका साथ तेस्रो भइन् ।

ad
ad
ad