ad

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, गण्डकी सरकार ढल्यो

बिहीबार, जेष्ठ २७ २०७८
image

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । बिहीबार प्रदेशसभामा गुरुङले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ ।

मतदानमा कूल ६० जना प्रदेश सभा सदस्यमध्ये सभामुखबाहेक ५७ सांसद मतदानमा सहभागी भएका थिए । विश्वासको मत प्राप्त नभएसँगै संविधान बमोजिम गुरुङ स्वतः पदमुक्त भएका छन् ।

यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि राजीनामा दिएका गुरुङ प्रदेशसभामा ठूलो दलको प्रदेशसभा संसदीय दलको नेताका हैसियतमा संविधानको धारा १६८ उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

अब प्रदेश प्रमुखले धारा १६८ उपधारा ५ अनुसार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

सरकार बनाउनका लागि बहुमत ३१ सांसदको समर्थन चाहिन्छ । प्रदेश सभामा एमालेका २७ सांसद छन् । कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जनता समाजवादी पार्टी (जसपा) का २, राष्ट्रिय जनमोर्चाका ३ र दीपक मनाङे स्वतन्त्र सांसद छन् ।

ad
ad ad