ad

कांग्रेसमा नेतृत्व बहस : नेतापुत्र कि वंश विरासत ?

नारायण अर्याल
शुक्रबार​, आषाढ ११ २०७८
image

काठमाडौं : मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको चौधौं महाधिवेशन शुरु हुन अब करिव दुई महिना बाँकी छ । पटक पटक महाधिवेशनको मिति सार्दै आइरहेको कांग्रेसलाई भदौ भित्र महाधिवेशन गर्न संविधान नै बाध्यकारी छ ।

हालै बसेको केन्द्रीय समिति बैठकले आगामी भदौ १६–१९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । कांग्रेसलाई अब मिति सार्ने छुट छैन । संविधानले दिएको सहुलियतको समयसमेत पार गरिसकेको कांग्रेसलाई आफ्नो वैधानिकता बचाउन पनि भदौमा महाधिवेशन गर्नु अपरिहार्य छ ।

महाधिवेशनको मिति नजिकिँदैै गर्र्दा भावी नेतृत्वका लागि दौडधुप शुरु भएको छ । सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा इच्छा व्यक्त गरेपछि अन्य नेताहरु देउवालाई कसरी रोक्न सकिन्छ र नेतृत्वमा पुग्न सकिन्छ भनेर जोडघटाउमा लागि परेका छन् ।

तेह्रौं महाधिवेशनमा देउवासँगै रामचन्द्र पौडेल र कृष्ण सिटौला नेतृत्वको होडमा थिए । दोश्रो चरणको मतदानमा सिटौलाले देउवालाई समर्थन गरे अनि देउवा नै सभापतिमा निर्वाचित भए । अघिल्लो महाधिवेशनमा नै सभापतिको उम्मेदवार रहेका पौडेल यसपाली पनि चुनावी तयारीमा लागेका छन् । तेश्रो धारको नेतृत्व गरेको बताउने सिटौलाले औपचारिक रुपमा मुख नखोले पनि उनी पनि भित्र भित्रै चुनावी जोडघटाउमा व्यस्त छन् ।

अघिल्लो महाधिवेशनको भन्दा आगामी महाधिवेशनको समीकरण केही फेरिने संकेत देखिएको छ । खासगरी कोइराला परिवार भित्रका तीन नेता महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य सुजाता कोइराला वंश विरासत स्थापित गर्ने दाउमा छन् भने बिपी पुत्र डा. कोइरालासहित महेन्द्रनारायण निधि पुत्र उपसभापति विमलेन्द्र निधि र गणेशमान पुत्र प्रकाशमान सिंहबीचको भलाकुसारीले तीनमध्ये एक नेता पुत्र नेतृत्वमा पुग्ने प्रयास आरम्भ भएको देखिएको छ ।

नेतापुत्रको मोह

कांग्रेसको स्थापनासँगै नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको योगदान अग्रभागमा आउँछ । यी समकालिन नेताहरुका परिवार नै राजनीतिमा होमिएको छ । अहिले पनि कांग्रेसका विभिन्न तहमा कोइराला, सिंह र निधिको परिवारका सदस्य छन् । बिपीपुत्र शशांक तेह्रौं महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् भने विमलेन्द्र वर्तमान कार्य समितिकै उपसभापति हुन् । गणेशमान पुत्र प्रकाशमान यसअघि नै महामन्त्री र उपसभापति भइसकेका नेता हुन् ।

कांग्रेसले महाधिवेशनको मिति तय गरेपछि पछिल्लो एक हप्तामा मात्रै डा. शशांक, प्रकाशमान र विमलेन्द्रबीच दुई पटक छलफल भइसकेको छ । तीनै जना नेताहरुले आगामी महाधिवेशनमा मिलेर जाने र एक जना सभापतिको उम्मेदवार बन्ने बताएका छन् । आफूहरुको पारिवारिक योगदान र पार्टीमा आफूहरु स्वयम्ले निर्वाह गरेको भूमिकालाई आधार बनाएर यी तीनै जनाले नेतृत्वमा दाबेदारी पेश गरेका छन् ।

कोइराला, सिंह र निधि तीनै जना सभापतिका आकांक्षी हुन र उनीहरु आबद्ध गुट (समूह) पनि फरक छ । फरक फरक गुटमा रहेका यी त्रयनेता पुत्रबीच सहमतिको दरिलो संभावना नदेखिए पनि उनीहरुको सक्रियताले एक खाले अर्थ भने राखेको छ ।

वंश विरासतको चिन्ता

कांग्रेसको आन्तरिक राजनीतिमा कोइराला परिवारको छुट्टै पहिचान छ । झण्डै आठ दशक लामो राजनीतिक इतिहास रहेको नेपाली कांग्रेसमा पार्टीको इतिहास जति लामो छ, कोइराला परिवारको सहभागिता र नेतृत्व पनि उति नै लामो छ ।

कोइराला परिवारबाट बिपीले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरेका थिए । यसमा वंश परम्पराको पनि हात रहेको थियो । कोइराला परिवार भन्दा बाहिर अहिलेसम्म सुवर्ण समशेर राणा, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व सम्हालेका छन् । उनीहरु वरिष्ठताका आधारमा नेतृत्वमा पुगेका हुन् ।

सुशील कोइरालाको निधनपछि कांग्रेसको नेतृत्व कोइराला परिवारबाट देउवामा सर्यो । चौधौं महाधिवेशनको सरगर्मी हुँदै गर्दा अहिले फेरि कोइराला परिवारबाटै नेतृत्व सम्हाल्ने तयारी शुरु भएको छ । त्यसको तयारीमा छन्, बिपी पुत्र डा. शशांक, केशव पुत्र डा. शेखर र गिरिजापुत्री सुजाता ।

कृष्णप्रसाद कोइरालाका पाँच छोरा मातृकाप्रसाद, विश्वेश्वरप्रसाद, केशवप्रसाद, तारिणीप्रसाद र गिरिजाप्रसाद कोइराला मध्ये अहिले तीन छोराका सन्तान राजनीतिमा सक्रिय छन् । डा. शेखर कृष्णप्रसाद कोइरालाका साइला पुत्र केशवप्रसादका कान्छा छोरा हुन् । सुजाता गिरिजाप्रसादकी छोरी हुन् भने बीपीका कान्छा छोरा हुन् डा. शशांक ।

कोइराला परिवारका तेस्रो पुस्ताका सदस्य डा. शेखर, सुजाता र डा. शशांकबीच पार्टीको आगामी नेतृत्वका बारेमा पटक पटक छलफल भएको छ । वंश परम्परा पछ्याउँदै नेतृत्व लिने संकेत पनि कोइरालात्रयले दिइसकेका छन् ।

पारिवारिक इतिहास रहे पनि यी तीनबीच को अगाडि बढ्नेमा भने एकमत भइसकेको छैन । कोइराला परिवारको ‘लिगेसी’लाई आधार बनाएर अगाडि बढेका शशांक, सुजाता र शेखरबीच व्यक्तिगत प्रतिस्पर्धा कायमै छ । तीनमध्ये एक जना उम्मेदवार बन्ने भनेर संकेत गरेपनि एकले अर्कोलाई समर्थन गरेको सन्देश भने दिन सकेका छैनन् ।

कांग्रेस कार्यकर्तामाझ तुलनात्मक रुपमा शेखर लोकप्रिय रहेपनि शशांक र सुजाताले ‘पार्टी पोर्टफोलियो’मा आफू ‘सिनियर’ रहेको बताउने गरेका छन् ।

गुटमै अन्यौल

नेतृत्वमा जान प्रयासरत निधि सभापति देउवाको समूहमा छन् भने प्रकाशमान र कोइराला त्रय पौडेल समूहमा छन् ।

तेह्रौं महाधिवेशनमा उनीहरुले सोही समूह अन्तर्गत प्रतिस्पर्धा गरेका थिए । विगतमा आफूले देउवालाई समर्थन गरेकाले यसपाली देउवाले आफूलाई समर्थन गर्नुपर्ने निधिको तर्क छ । त्यस्तै, कोइरालात्रय र सिंहले पनि विगतमा पौडेललाई आफूहरुले समर्थन गरेकाले यसपटक आफूहरुका लागि पौडेलले ठाउँ छाडिदिनुपर्ने दावी गर्दै आइरहेका छन् ।

सामान्य भेलादेखि महाधिवेशनसम्म गुटगत समूह बनाएर अगाडि बढिरहेका कांग्रेसका नेताहरुलाई महाधिवेशनको मुखमा गुट परिवर्तन गर्न र नयाँ गुट बनाउन त्यति सहज भने छैन । तेह्रौं महाधिवेशनमा तत्कालिन महामन्त्री सिटौलाले छुट्टै गुट निर्माण गरेपनि सिटौला नेतृत्वको गुट त्यति प्रभावकारी देखिएको छैन । युवा नेता गगन थापा सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेकाले तेश्रो शक्तिका रुपमा स्थापित सिटौला पछिल्लो समयमा भने वरिष्ठ नेता रामचन्द्र पौडेलको गुटसँग नजिक देखिएका छन् ।

देउवा र पौडेलको तयारी

सुशील कोइरालाको निधनपछि तेह्रौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले चौधौं महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने संकेत गरिसकेका छन् । देउवाकै समकालिन नेता रामचन्द्र पौडेल यसपटक पनि देउवासँगै सभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

देउवा र पौडेल वरिष्ठताका आधारमा कांग्रेसका दुई शीर्ष नेता हुन् । राजनीतिक जीवनको आरम्भदेखि नै यी दुईबीच प्रतिस्पर्धा चलिरहेको छ । तर, अधिकांश प्रतिस्पर्धामा देउवा अगाडि छन् भने पौडेल पछाडि ।

अन्य नेताहरुले नेतृत्वमा आकांक्षा राखेपनि चौधौं महाधिवेशनमा पनि यिनै दुई नेताबीच प्रतिस्पर्धा हुनसक्ने अधिकांशको अनुमान छ । तेश्रो व्यक्ति नेतृत्वमा स्थापित हुन पनि यिनै नेताहरुको साथ आवश्यक रहन्छ ।

देउवालाई सहज

महाधिवेशन नजिकिँदै जाँदा मुलकको राजनीतिमा देखिएको विकासक्रमले पार्टीको नेतृत्वमा पुनः देउवालाई सहज वातावरण देखिँदैै गएको विश्लेषण गरिएको छ ।

क्रियाशील सदस्यता वितरण र प्रमाणीकरणमा देउवा निकट नेताहरुको सक्रियता, त्यसअघि गठन गरिएका विभाग र मनोनयन, केन्द्रीय सदस्यहरुको मनोनयनमा देउवा हावी भएका छन् । केन्द्रीय समितिदेखि विभागहरुमा बलिया देखिएका देउवालाई मुलुकको पछिल्लो राजनीतिले पनि थप बलियो बनाउँदै लगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक संसद विघटन गरेपछि राष्ट्रिय राजनीतिको केन्द्रमा छन् देउवा । अघिल्लो विघटनपछिको आन्दोलनमा पौडेल सक्रिय र प्रभावकारी देखिएपनि कांग्रेस सभापति र संसदीय दलको नेताको हैसियतले शक्ति देउवाको हातमा पुगेको छ ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएमा देउवा प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ । पार्टीसँगै राज्यसत्ता पनि देउवाको हातमा पुग्दा भदौ तेश्रो साता हुने महाधिवेशनमा उनी नै हावी हुने कतिपयको अनुमान छ । 

ad
ad
ad