ad

'योग विज्ञान' नबुझे जीवन बुझिन्न

सोमबार, आषाढ ७ २०७८
image

शाब्दिक अर्थमा योगको परिभाषा जोड्नु वा एकता गर्नु हो । अणुहरुको मिलनले पदार्थको निर्माण भए झै यिङ्ग र याङ्ग वा शिव  र शक्ति  ( गुणसूत्र  - Chromosome) को मिलनले मानव जीवनको सुरुवात हुन्छ । प्रकृतिको गतिमान लयमा व्यवधान नगरी कृयाशील हुन सिकाउने कलालाई योग भनिन्छ भने शरीर, मन र आत्माको एकता गरेर अभिब्यक्त गर्न सक्ने कलालाई यौगिक कृया भनेर बुझिन्छ ।

आज संसारले आधुनिक विकासको जुन उंचाइ प्राप्त गरेको छ त्यसको जग योग विज्ञाननै हो । हिजो जसरी नाडी छामेर मानिसको शरीरको विकार थाहा हुन्थ्यो आज त्यही काम स्टेथसकोप, इसिजी मेसिनले गर्छन् । पानीको भाडोमा सूर्य वा चन्द्रमा हेरेर अथवा रुखको छायाँ नापेर हुने समय र मौसम मापनको काम आज घडी र अनेमोमिटरले गरी रहेकोछ । हामीलाई घडी, अनेमोमिटर र स्टेथसकोपमा बानी परेकोले पुराना विधि अव्यावहारिक अवैज्ञानिक लागे पनि त्यस भित्रको गुणवत्तालाई बिर्सनु मुर्खता हुन्छ ।

मानव जातिले ब्यहोरी रहेको कोरोना संकटले हामीलाई ब्रहमान्डको प्राकृतिक गति (Cosmic Law) लाई पछ्याउने कि मृत्‍युको बाटो रोज्ने यथार्थको बोध गराइदिएको छ । आजको समाजले जति आधुनिक आविस्कारको गुणगान गाए पनि फेसबुक, ट्वीटरले खाएको समय भन्दा परिवार, आफन्त र प्रकृतिसँग बिताएको समयको महत्व अधिक रहेछ भन्ने महसुस गरेको छ । योगाभ्यासले शरीर, श्वास (प्राणायाम) ले मन र ध्यानले आत्मालाई शुद्ध र स्वस्थ बनाउन र एकताको डोरीमा बांधेर जीवनलाई आनन्दमय र सफल बनाउन सकिन्छ ।

खाद्य पदार्थलाई लामो समय सम्म ताजा देखाउन र छिटो र धेरै उत्पादन गर्न प्रयोग गरिने रसायनले मानिसको शरीरलाई बिषाक्त बनाउने र त्यो नै रोगको प्रमुख कारण हुने चिकित्सकहरुको भनाइ छ । आधुनिक जीवनशैलीमा ब्यहोर्नु पर्ने वायु प्रदूषण, ध्वनि  प्रदूषण लगायतले पनि मानसिक र शारीरिक स्वास्थ्यलाई विकारयुक्त बनाइ रहेका हुन्छन् ।

साधारण भाषामा सबैले बुझ्ने गरी भन्दा शरीरमा जम्मा भएको विकार (toxin) लाई निस्कासन गरेर शरीरमा जीवनदायक उर्जा प्रवाह गराउन गरिने एक किसिमको ब्यायामलाई योगासन भनिन्छ । शरीर र मनलाई ताजा बनाउन श्वासको प्रवाहलाई फैलाएर वा नियन्त्रणमा राखेर गरिने कृयालाई प्राणायाम भनिन्छ । शान्त, स्थिर र सचेत अवस्थामा उल्लासपूर्ण रहनुलाई ध्यान भनिन्छ । एउटा साधक वा योगीले यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधिका आठ चरण पार गर्नु पर्छ । त्यसलाई नै अष्टाङ्ग योग भनिएको हो ।

योगको महत्व

योग शास्त्रको पहिलो पुस्तक ऋग्वेदलाई मानिन्छ । महर्षि पतन्जलि, गुरु गोरखनाथ, मत्स्येन्द्रनाथ, स्वात्मराम लगायतका योगीहरुले योगको अनुसन्धान र प्रयोग गरेर मानव जातिलाई योगको महत्व बताउनु भएकोछ । भागवद् गीतामा कृष्ण अर्जुन सम्बादमा योगको विस्तृत वर्णन गरिएको छ ।

वास्तवमा नेपाल देशको आधारशिला योग शास्त्रमा आधारित छ । महाप्रलय बेहोरेको काठमाडौं राज्यलाई बचाउन गुरु गोरखनाथ, मत्स्येन्द्रनाथ असमबाट काठमाडौं आउनु भएको र योग साधनाले अनिकालबाट मुक्त गराएको इतिहास छ । त्यसैले आज मत्स्येन्द्रनाथको भोटो देखाउन राष्ट्रप्रमुख जाने परम्परा छ । सिन्धु घाटिको सभ्यता योग शास्त्रका नीति नियममा आधारित थियो र आज प्रजातान्त्रिक भनिने ब्यबस्था भन्दा बढी मानव कल्याणकारी थियो भन्ने प्रमाण आधुनिक उत्खननमा भेट्टाइन्छ ।

प्रेम, सद्भाव र स्वअनुशासनले चलेको कुनै पनि समाज डिप्रेशनग्रस्त र आत्महत्या गर्नुपर्ने अवस्थाको हुँदैन । आधुनिक वैभवको लागि जुन देशलाई हामी आदर्श मान्छौं तिनै देशमा धेरै आत्महत्या हुने गरेका छन् । खुशी देशको इन्डेक्समा पहिलो नम्बरमा भएको देश डेनमार्क आत्महत्या हुने मुलुकमा पनि पहिलो नम्बरमै पर्छ । कारण के हो त ? अवश्य  पनि विकास र वैभबको गलत परिभाषा भैरहेको छ । ब्यक्तिगत जेट विमान नभए पनि फरक पर्दैन तर प्राण उर्जा चाँही हुनै पर्छ भन्ने सोच सरकार र समाजले स्वीकार्न सकेन भने आज भन्दा विकराल अवस्था मानव जातिले ब्यहोर्नु पर्ने हुन्छ । सिलिन्डरमा भरेको प्राणवायु ( Oxygen ) जीवनको अन्तिम अवस्थामा कति सहयोगी हुंदो रहेछ भनेर भोगेको हाम्रो पुस्ताले प्राकृतिक जीवन उर्जाको महत्व बुझ्न सकेनौं भने हामी र हाम्रो सन्ततिले कष्टकर भययुक्त जीवन बांच्नु पर्ने हुनेछ ।

प्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङ्गले प्राकृतिक लयमा मानव सभ्यतालाई हिंडाउन सकिएन भने पृथ्वीको आयु एक हजार वर्ष मात्र छ भनेका छन् भने आइस्टाइनले इश्वर र धर्म पाखन्ड हो, तर इश्वरीय शक्तिले नै हरेक कृयालाई ब्यबस्थित बनाएको छ  र त्यसको अनुशरण आबस्यक छ भनेका छन् । त्यही इश्वरीय शक्ति अथवा सूर्य र चन्द्रको उर्जाले पल पलको ब्यबस्थापन र जीवन र जगतको सन्चालन गरेको छ जसलाई योग र ध्यानको माध्यमले जान्न र बुझ्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ जस्ता निकायहरुले पनि अब मानव कल्याणको अत्युत्तम उपाय योग र ध्यान हो भनेर त्यसका लागि कार्यक्रमहरु बनाउन थालेका छन् । प्रत्येक वर्ष जुन महिनाको २१ तारिख विश्व योग दिवस संसारभरी मनाउन थालिएको छ । योग गुरु गोरखनाथको नामले संसारभर प्रसिद्ध गोर्खा र बुद्धको देश नेपालले योग ध्यानको अबलम्बन र प्रचारप्रसार गरेर आफु र संसारलाई शान्त र समृद्ध  बनाउन सक्छ । योग दिवसको शुभकामना ।

चारदिशा अनलाइनका सम्पादक तथा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष शर्मा योग प्रशिक्षक पनि हुन् ।  सं.

ad
ad
ad