ad

पूर्व मुख्यसचिव पौड्यालका सूत्र : ‘यसरी गर्न सकिन्छ महामारी नियन्त्रण’

नारायण अर्याल
बुधबार, बैशाख २२ २०७८
image

काठमाडौं : नेपालमा कोभिड १९ महामारीको दोश्रो लहरले रौद्र रुप लिइरहेका बेला स्वास्थ तथा जनसंख्या मन्त्रालयले १७ बैशाखमा “स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालले शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ” भन्दै सावधानी अपनाउन सर्वसाधारण नागरिकहरुलाई नै अपिल गर्‍यो । यसले जनतामा असुरक्षा र थप भय सिर्जना गरेको छ।

बढ्दो संक्रमण र मृत्यु दरमा आएको बढोत्तरीसँगै महामारी नियन्त्रणका लागि सरकारले क्षमता प्रदर्शन गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

संक्रामक रोग विशेषज्ञ, वरिष्ठ चिकित्सक तथा जनस्वास्थ्यका जानकारहरुले दिएको सुझाव  पनि सरकारले सुनेको पाइदैन। समयमै पूर्वतयारी गर्न नसक्नु र भएको जनशक्ति तथा संयन्त्रलाई समेत उचित रुपमा सदुपयोग गर्न सरकार असफल भइरहेको धेरैको बुझाइ छ ।

यस्तै बुझाइ छ, पूर्व मुख्यसचिव एवम् गणतन्त्र चीनका लागि पूर्व नेपाली राजदूत लिलामणि पौड्यालको ।

गलत बुझाइ, प्राथमिकतामा परेन

२०७२ सालको महाभूकम्पको बेला मुख्य सचिव रहेका पौड्यालले राहत, उद्धार तथा व्यवस्थापनको नेतृत्व गरेका थिए । आवश्यकताको पहिचान र प्राथमिकता तय गरेर विपत्तिको सामना गर्नुपर्ने उनको सूत्र छ ।

‘तर, वर्तमान महामारीमा सरकारको बुझाइ नै गलत रहेको छ,’ ग्लोबल नेप्लिजसँग कुरा गर्दै पौड्यालले भने।  ‘बुझाइ नै गलत भएपछि त्यस विरूद्धमा अपनाइएका उपायहरू प्रभावकारी हुने कुरै भएन ।’

‘कोभिड महामारी नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद र सार्वजनिक सभामा पटकपटक दिएका हल्का टिप्पणी र अझ खानपान तथा जीवनशैलीका कारण सामान्य घरायसी उपायबाट कोरोना भगाउन दिएको सल्लाहबाट उहाँ कति संबेदनशील हुनुहुन्थ्यो भन्ने पुष्टि हुन्छ। यो वा त्यो गरियो भनेर गरिएका वकालत या त उहाँको अन्य अभिव्यक्तिसंग बाझिन्छन् या गलत छन्,’ पौड्यालले भने । सरकार जसरी अगाडि बढ्न सक्थ्यो, त्यसरी अगाडि नबढेको उनको बुझाइ छ ।

'प्रधानमन्त्रीको ‘माइन्डसेट’ नै बेग्लै छ,' उनले भने।  'यति भयावह अवस्था आउँदासमेत उहाँको मानसिकतामा परिवर्तन देखिएन, थोरै पनि बुझाइमा कमी रह्यो भन्ने महशुस गरेको देखिएन ।'

महामारीले उकालो चढ्दै गर्दा प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका नाममा गरेको सम्बोधन र त्यहाँ समावेश गरिएका कतिपय विषय पनि सान्दर्भिक नरहेको उनको बुझाइ छ । उपचार गर्ने समयमा चिकित्सकहरुको दरबन्दी थप्ने र दरवन्दीमा नयाँ भर्ना गर्ने प्रक्रिया संभव नहुने उनको भनाइ छ ।  उनी भन्छन्, ‘कतिपय चिकित्साकर्मी विगत एक वर्षदेखि दरवन्दीमा भएर पनि काम नदिएर त्यसै तलव खाएर बसेका छन्।’

लिलामणि पौड्याल | Ratopati

‘शैया छैनन् थपौं, सेवानिवृत्तलाई सेवामा लिउँ’

स्वास्थ्य मन्त्रालयले राजधानीसहित विभिन्न जिल्लामा कोभिड १९ संक्रमितको उपचारका लागि अस्पतालमा शैया नभएको बताए पनि त्यस्तो अवस्था आइनसकेको पौड्यालले बताए ।

‘शैया अभाव पनि हुन सक्छ तर, त्यसको विवरण सरकारसँग हुनु पर्दछ’ उनले भने, ‘शैयाको वितरण एकद्वार प्रणालीबाट गरिनुपर्छ ।‘ त्यसो नगरिए पहुँचवालाले मात्रै उपचार पाउने अवस्था सिर्जना हुने उनले बताए ।

नागरिकको उपचार गर्न सक्दिनँ भनेर कुनै पनि जिम्मेवार र जनउत्तरदायी सरकारले भन्न नसक्ने कुरा वर्तमान सरकारले भनेको उनले बताए । ‘लोकतान्त्रिक सरकारबाट त यस्तो कल्पनासमेत गर्न सकिँदैन,’ उनको भनाइ छ । 

बिरामीको उपचारका लागि जनशक्तिको पनि अभाव नहुने उनको विश्लेषण छ ।

जसरी युद्धको बेला घरघरमा गएर युवालाई सेनामा भर्ना गरिन्छ त्यसैगरी बजारमा उपलब्ध चिकित्साकर्मीलाई भर्ना गर्न सकिने उनले बताए । ‘त्यसले नपुगे स्वास्थ्य शिक्षा लिइरहेका अन्तिम वर्षका इन्टर्न वा इन्टर्नमा जान तयार जनशक्तिलाई भर्ना गर्ने र स्वयमसेवा गर्न चाहनेको सूची बनाई छोटो तालिम दिएर जनशक्ति ब्यवस्थापन गर्न सकिन्छ।’ उनले थपे  ‘दरबन्दी सिर्जना र पूर्तिको प्रशासनिक संजाल पूरा गरेर अहिले जनशक्ति आपूर्ति हुन सक्दैन। अझ लोकसेवा समेत खाली छ। दरबन्दी कहाँ कहिले कति चाहिने हो, त्यो खोज्दाखोज्दै समय बित्छ। नेपालगंजमा मान्छे चाहियो भने पुगेसम्म त्यही वरिपरिबाट तीन श्रोत (पूर्वकर्मचारी, बजार र एड्भान्स तहको विद्यार्थी) बाट पूर्ति गर्छ, नपुगे केन्द्रमा माग गर्छ, केन्द्रले त्यही तीनै श्रोतबाट सूचीमा राखेर पूर्ति गर्छ।’

समुदायस्तरमै पनि स्वयम्सेवकहरु परिचालन गरी काम गर्न सकिने उनले बताए । ‘आवश्यक परे म आफै पनि कम्तीमा एक सय घरको जिम्मा लिन सक्छु,’ उनले भने।  ‘हरेक समुदायमा स्वयम्सेवक परिचालन गरी संक्रमितको शुरूमै पहिचान, समुदाय तहमै हेरचाह, आवश्यक सहयोग र जरूरी परे उपचारको समेत व्यवस्था गर्न सकिन्छ ।

'क्षमता छ, स्वास्थ्य संकटकाल लगाउन सकिन्छ'

अहिले बढ्दो महामारीलाई हालकै संरचनाबाट पनि कम क्षतिमा नियन्त्रण गर्न सकिने पौड्यालले  बताए ।

‘अहिले क्षमता नभएर भन्दा पनि एकीकृत सूचना, समग्र योजना, रणनीति र केन्द्रिकृत प्रतिकार्य रणनीतिको सर्वथा अभाव छ, सरकार पूरै प्रतिकृयात्मक छ र सुझाव दिंदा आलोचना भन्दै प्रतिरक्षामा उत्रिन्छ। त्यसैले यो अवस्था आएको हो, सरकारले सबै गर्छ, गर्न सक्छ भन्ने होइन तर, पूरै सामर्थ्य जनताको जीउधन सुरक्षामा लगायो लगाएन, बुद्धिमत्तापूर्ण प्राथमिकीकरण गर्यो गरेन, जिम्मेवार भयो भएन त्यो महत्वपूर्ण हो।’

बाँकेमा कोरोना: चौबिस घण्टामा ७ सय २३ जना संक्रमित, २ सय ४४ डिस्चार्ज |  Nagarik News - Nepal Republic Media

‘हाम्रै क्षमता अनुसार पनि यो भन्दा कम क्षतिमा व्यवस्थापन गर्न सकिन्थ्यो,’ उनले भने, ‘सरकारले चाहने हो भने अझै पनि संभव छ ।‘ स्वास्थ्य मन्त्रालयले अझै पनि कतिपय दक्ष चिकित्सकहरुलाई काममा लगाउन नसकेको बताए । ‘राजनीतिक आस्थाका आधारमा केही चिकित्सकहरुलाई जिम्मेवारी नै नदिइएको अवस्था छ, संक्रमणको बेलामा सबैको  (शत्रुको समेत) सहयोग लिनुपर्नेमा आफ्नै कर्मचारीलाई विश्वासमा लिन नसक्नु, नलिनु यो सरकारको बदनियतपूर्ण काम हो ।’

संक्रमण बढी फैलिएको क्षेत्रलाई लक्षित गरी स्वास्थ्य संकटकाल लगाउन सकिने र महामारी नियन्त्रणका लागि शक्ति केन्द्रित गर्न सकिने उनको सुझाव  छ । ‘बढी संक्रमण फैलिएको उपत्यका, वीरगन्ज, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रमा स्वास्थ्य संकटकाल लगाउन सकिने उनले सुझाव  दिए ।

‘अहिलेको निषेधाज्ञा (लकडाउन) ले मात्रै यदि परीक्षण सुलभ बनाई संक्रमितलाई छुट्टाउन र उपचार गर्न सकिएन भने खुलेपछि स्थिति उही हुनेछ, खुल्नासाथ फेरि फैलिन्छ, उनले भने । संक्रमणको ‘चेन ब्रेक’ गर्ने अन्य उपायबारे सरकारले ध्यान नै नदिएको उनले बताए ।

'कन्ट्याक्ट ट्रेसिङ गरौं, स्थानीय तह परिचालन गरौं'

सरकारले परीक्षणको मात्रा बढाएपनि पर्याप्त नभएको पौड्यालको बुझाइ छ  । 'संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ नै हुन सकेको छैन,' उनले भने, 'कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमितलाई नछुट्याएसम्म संक्रमण फैलिने क्रम नै रोकिँदैन ।'

त्यसका लागि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्वयमसेवक परिचालन गर्न सकिने उपाय उनले सुझाए । ‘स्वयमसेवकका बहानामा पैसा तिरेर पार्टी कार्यकर्ता भर्ना गरेमा त्यो महामारी माथिको ठूलो अक्षम्य घात हुनेछ। अहिले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी भूमिकाविहीन भएका छन्, उनीहरुलाई परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङको काम समुदाय तहमै प्रारम्भिक चरणमा ब्यवस्थापन गर्न सकिन्छ,’ उनले भने ।

परीक्षणलाई पनि बढाउनुपर्ने उनको सुझाव  छ । सरकारले सके निःशूल्क र नसके कम शूल्कमा शतप्रतिशत नागरिकको परीक्षण गर्नुपर्छ, उनले भने ।

महामारी नियन्त्रणका लागि एउटैै केन्द्रबाट रणनीति, परिचालन, निगरानी र अनुगमनको काम हुनुपर्ने उनको सुझाव  छ । ‘त्यो काम विज्ञानसम्मत र विज्ञको सुझावमा हुनुपर्छ। प्रधानमन्त्री नै सबैभन्दा ठूलो विज्ञ भएर नै कुरा बिग्रको हो।’ तर, त्यसका लागि कुनै संयन्त्र नै नबनेको उनले बताए । 'अहिलेको सिसिएमसी विज्ञ कमिटी होइन,' उनले भने, 'गत वर्ष बनाइयो आफू अनुकूल मान्छे राखेर उनीहरुको समेत सल्लाह नलिएपछि सबैले छोडिदिए त्यो कमिटीले एकदुई बैठक बाहेक केही काम गर्न सकेन।'

'राजनीतिक संयन्त्र प्रभावकारी हुन सक्छ'

गत वर्ष नै केही राजनीतिक दलहरुले महामारी नियन्त्रणका लागि सर्वदलीय राजनीतिक संयन्त्र बनाउन माग गरिरहेका थिए । तर, सरकारले त्यसलाई सुनेन ।

सरकार र सरकारको नेतृत्व गरेको दलले अरु दलले राखेको मागलाई वास्ता गरेन । त्यसको परिणाम जनस्तरमा देखियो । महामारी नियन्त्रण र व्यवस्थापनमा पनि दलीय विभाजन देखियो ।

'राजनीतिक संयन्त्र बनाएको भए सबै दलका नेता तथा तिनका कार्यकर्ता एकै ठाउँमा आउने थिए,' पौड्यालले भने, 'सामूहिक रुपमा सामना गर्दै अगाडि बढ्न सकिन्थ्यो । सरकारले आफ्नो सूचना लुकाउने उद्देश्य वा एक्लै जसलिने बाहेक अरूलाई महामारी नियन्त्रणमा सहभागी नगराउनुको कुनै कारण देखिदैन। तलसम्म सर्वदलीय संयन्त्र बनाएर गएको भए सबै दल महमारी नियन्त्रमा सहभागी हुने थिए। यहाँ त सरकारले नै सबैलाई समेट्नु र साझा शक्ति परिचालन गर्नुपर्नेमा जनमत विभाजित गर्यो।'

'सीमा बन्द गरौं, हवाई उडान पनि रोकौं'

पछिल्लो समय महामारीको सबैभन्दा ठूलो चपेटामा छ भारत । तर, त्यही भारतसँग हवाई उडान नरोकेकोमा पौड्यालको चित्त बुझेको छैन ।

नेपालमा रहेका भारतीयलाई र भारतमा रहेका नेपालीलाई विना भेदभाव उपचार गर्ने सहमति गरेर सीमा र उडान बन्द गर्न सकिने उनले बताए । सरकारले बैशाख मसान्तसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय  गरेपनि भारतमा भने हप्ताको दुई वटा दुईतर्फी उडान कायमै राख्ने निणर्य गरेको छ । ‘यो बेतुकको कुरा हो,’ उनले भने ।

भारतसँग आपूर्ति व्यवस्थामा समस्या आउन सक्ला भन्ने डरले यसो गरिएको हुनसक्ने उनले बताए । 'महामारीको बेला कुनै पनि देशले आपूर्ति रोक्न पाउँदैन,' उनले स्पष्ट पारे । चीनका लागि पूर्व नेपाली राजदूत पौड्यालले महामारी व्यवस्थापनको क्षेत्रमा सरकारको कूटनीतिक क्षेत्र पनि असफल देखिएको टिप्पणी गरे ।

खोप हल्ला मात्रै

कोरोना भाइरसविरुद्ध जनतालाई खोप दिने नेपाल सार्कमै भारतपछिको पहिलो मुलुक भनेर गरेको सरकारको दाबीलाई पौड्यालले ‘आत्मरति’ को संज्ञा दिएका छन् ।

'पहिलो डोज लगाएका लाखौं मानिसले दोश्रो डोज कहिले पाउँछन् भन्ने टुंगो छैन, तीन महिना भित्र दोश्रो डोज नपाए पहिलो डोजको पनि अर्थ रहँदैन,' उनले भने, तर, सरकार थप खोप ल्याउन सफल भइरहेको छैन ।

पैसा तिरिसकेको खोप पनि ल्याउन नसकेको भन्दै पौड्यालले सरकारको आलोचना  गरे।

'चीन र रुस जस्ता खोप उत्पादन गरिसकेका देशहरुबाट खोप ल्याउने विषयमा पनि सरकार र कूटनीतिक निकाय सफल देख्दिनँ,' उनले भने, 'कूटनीतिक क्षेत्रलाई प्रभावकारी रुपमा परिचालन गरेको भए यो अवस्था आउने नै थिएन ।'

प्रधानमन्त्री र मन्त्रीहरुको रमाइलो

महामारीले टाउको उठाइसक्दा पनि प्रधानमन्त्री र मन्त्रीहरुले भने खासै चासो देखाएनन् ।

सरकार आफैले जारी गरेको स्वास्थ्य मापदण्ड पनि उनीहरुले पालना गरेनन् । बालुवाटारदेखि चितवनसम्मको सीताराम रथ यात्रा होस् वा धरहराको उद्घाटन होस्, सरकारले नै मापदण्डको धज्जी उडाइरह्यो ।

'के अहिले त्यो आवश्यक थियो त ?' पौड्याल प्रश्न गर्छन् ।

सरकारकै कामका कारण भक्तपुरमा बिस्केट जात्रासमेत रोक्न नसकिएको उनले बताए । ‘सरकार र दलहरुले नैै मान्छे भेला पारेर जुलुस र सभा गरिरहेका बेला कसरी जात्रा नमनाउ भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।

'यसबीचमा बरु सरकारले एउटा नयाँ अस्पताल बनाएको भए धेरै बिरामीले उपचार पाउने थिए,' उनले भने ।

चीनबाट सिकौैं

कोरोना भाइरसको उत्पत्ति स्थल मानिने चीनको वुहानमा त्यहाँको सरकारले केही दिन भित्रै हजारौं मानिसको उपचार गर्न सकिने अस्पताल बनाएर संसारलाई चकित पारिदियो ।

तर, नेपालमा कोराना महामारी प्रवेश गरेको एक वर्ष बितिसक्दा पनि कुनै नयाँ अस्पताल बन्न सकेको छैन ।

‘चीनसँग पाँच सय शैया क्षमताको एउटा अस्पताल बनाइदेऊ भनेर सहयोग मागेको भए उसले केही दिनमैै अस्पताल बनाइदिन सक्थ्यो, त्यो प्रस्ताव सरकारमा बस्नेलाई गत वर्ष नै सुनाएको’ उनले जानकारी दिए । अस्पताल बन्दै गर्दा त्यहाँ खटिने स्वास्थ्य जनशक्ति तयार पार्न सकिन्थ्यो, आखिर नेपाललाई सरुवा रोगको उपचार गर्ने एउटा अस्पताल त चाहिएकै थियो ।'

तर, यस्तो विषयमा सरकारको ध्यान नै नपुगेको उनले टिप्पणी गरे ।

सक्छौं, हिम्मत नहारौं

महामारी बढ्दै गएपनि नियन्त्रण बाहिर भने पुगिनसकेको पौड्यालको बुझाइ छ ।

यसलाई नियन्त्रण गर्ने क्षमता नेपालसँग रहेको बताउँदै पौड्यालले भने, कम क्षतिमा व्यवस्थापन गर्न सकिन्थ्यो, अझै पनि सकिन्छ।

राज्यको ध्यान महामारी नियन्त्रणमा केन्द्रित गर्न सके आगामी दिनमा हुनसक्ने क्षति कम गर्न सकिने र नागरिकलाई सहज रुपमा स्वास्थ्य सुविधा उपलब्ध गराउन सकिने उनको ठम्याइ छ ।

'तर, त्यसका लागि संक्रमित र संक्रमणले नछोएका मानिसलाई छुट्याउन तथा संक्रमितलाई उपचार गर्न सक्नुपर्छ,' उनले भने ।

ad
ad
ad