ad

प्रकाशको अभियान : पैसा चिन्दै पैसा चिनाउँदै

नारायण अर्याल
सोमबार, बैशाख २० २०७८
image

काठमाडौं : विश्वका अर्बपतिहरुको सूचीमा सूचीकृत नेपाली धनाढ्य बिनोद चौधरीले चार महिनाअघि एउटा कार्यक्रममा भनेका थिए,' पैसा साधन हो, साध्य होइन । पैसाले धेरै काम गर्न सकिएला तर, सबै काम गर्न सकिँदैन ।' उनले थपे, ‘पैसा एउटा नम्बर मात्र हो ।’

यत्ति मात्रै उल्लेख गर्दा उनको भनाइको पूरै अर्थ आउँदैन । चौधरीले त्यसैमा थपेका छन्, ‘कति कमाउँछु भन्ने होइन, कमाएको पैसा कति जोगाउँछु र कसरी सदुपयोग गर्छु भन्ने कुरा महत्वपूर्ण हो ।’

चौधरी धनाढ्य छन् । उनीसँग धेरै धनराशी छ । उनी धनी हुनुमा एउटै कारण छ, उनले पैसा के हो भन्ने चिनेका छन् र त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने पनि जानेका छन् ।

No description available.

तर, लाखौं नेपालीहरुमा अझै पनि पैसाबारे एकाङ्गी  बुझाइ छ । पैसा कमाउने हो, कमाए अनुसार खर्च गर्ने हो, नपुगेपछि फेरि कमाउने हो भन्ने मानसिकता छ । के यो ठीक हो ? वित्तीय साक्षरताका युवा अभियन्ता प्रकाश कोइरालाको बुझाइमा यो सरासर गलत हो । पैसा कमाउनु एउटा महत्वपूर्ण पक्ष हो भने त्यो भन्दा महत्वपूर्ण पक्ष बचत गर्नु हो । उनले यही कुरा बुझाउन झण्डै पाँच वर्ष खर्चिए । पैसाको महत्व (उपयोग) सिकाउँदै गर्दा प्रकाश यतिबेला विश्वका प्रभावशाली युवाहरुको सूचीमा सूचीकृत भएका छन् ।

विश्वप्रसिद्ध ‘फोर्ब्स  म्यागेजिन’ ले १९ अप्रिल २०२१ मा सार्वजनिक गरेको ‘फाइनान्स एण्ड भेञ्चर’ विधातर्फ प्रकाशको नाम एसियामा ३० वर्ष मुनिका ३० जना प्रभावशाली व्यक्तिको सूचीमा परेको हो ।

No description available.

दोलखाको मध्यम वर्गाीय परिवारका सदस्य प्रकाश आफैलाई पैसाको खासै खाँचो परेन । पैसा नभएर गर्न सकिएन भन्ने त्यस्तो कुनै विषय छैन । तर, पनि उनलाई पैसाको महत्व जगाउन पाए हुन्थ्यो भन्ने चेतना भित्रैबाट आयो । छिमेकी घरमा भएको एउटा सामान्य झगडाले उनको मन मस्तिष्क नै परिवर्तन गरिदियो ।

छिमेकी घरको त्यो झगडा

 दोलखाको पोबटीस्थित गाउँमा आठ कक्षासम्म पढेका प्रकाश राम्रो स्कुलमा पढ्ने भन्दै सदरमुकाम हानिए । पण्डित निलप्रसादका नाति प्रकाशलाई शिक्षक बुवा पर्शुराम र स्थानीय स्वास्थ्यकर्मी आमा मुना कोइरालाको भरपूर साथ दियो । चरिकोटस्थित कालिन्चोक माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनी उच्च शिक्षाका लागि भने काठमाडौं आए ।

काठमाडौं र दोलखाको दूरी धेरै छैन । चाडपर्व र बेला मौकामा उनी घर गइरहन्थे ।

दशैंको बेला थियो ।

कोलम्बस कलेजबाट ‘म्यानेजमेन्ट’मा प्लस टु गरी शंकरदेव क्याम्पसमा बिबिएस गर्दै थिए । दशैं मनाउन पोबटी पुगेका उनको नित्यकर्म अन्तर्गत ‘चण्डीपाठ’ पनि थियो । नवरात्रीमा दैनिक चण्डीपाठ गर्ने कोइराला परिवारको पुरानो परम्परा हो ।

एक दिन प्रकाश चण्डीपाठ गर्दै थिए, छिमेकी घरमा झगडा भएको सुने । झगडाको कारण थाहा थिएन, भोलिपल्ट मात्रै खुल्यो । पँधेरोमा भेटिएका छिमेकी भाइसँग उनले सोधे ।

‘झगडाको कारण त पैसा रहेछ’ हाल क्यानडामा रहेका उनले ग्लोबल नेप्लिजसँगको कुराकानीमा भने, ‘जब कारण थाहा पाएँ, खिन्न भएँ ।’ श्रीमतीले तरकारी नमिठो पकाएको भन्दैै जड्याहा श्रीमानले  श्रीमतीलाई गाली गरेका रहेछन् । ‘त्यो परिवार आर्थिक रुपमा त्यति कमजोर थिएन जसले झगडा गराओस्’ उनले भने, ‘कमजोरी त पैसाको सदुपयोग गर्न नसक्नु थियो । छिमेकमै यस्तो देखेका प्रकाश बेचैन हुँदै काठमाडौं फर्किए ।

No description available.

बेचैन हुँदै चैनपुरको यात्रा

सन् २०१५ को मार्च महिनाको एक दिन । गुरु रवि शंकरले स्थापना गरेको ‘आर्ट अफ लिभिङ’ का एक अनुयायी थिए प्रकाश । काठमाडौंको नयाँ बानेश्वरस्थित आश्रममा हुने सत्सङगका सहभागी पनि थिए । सत्सङगकै लागि आश्रम पुगेका उनले त्यहाँबाट एउटा टोली सत्सङगकै लागि बझाङ जिल्लाको चैनपुर जान लागेको थाहा पाए ।

‘मलाई पनि जान मन लाग्यो’ उनले भने, ‘मेरो प्रस्ताव स्वीकृत भयो, टोलीमा पनि परेँ ।’

त्यसअगावै उनले पैसाको महत्व सिकाउने उपायका बारेमा अध्ययन गर्न थालिसकेका थिए । आफ्नो अध्ययनलाई चैनपुर पुगेर प्रयोग गर्ने उनको योजना थियो ।

सत्सङ टिमसँगै प्रकाश पनि पुगे चैनपुर । वरपरको वातावरण हेरे, मानिसहरुको आनिबानी नियाले । बालबालिकाको क्रियाकलाप बुझे । बिहान हुन्थ्यो सत्सङग  । दिउसो र साँझ उनलाई फुर्सद नै थियो । त्यही फुर्सदको समयलाई उनले सदुपयोग गरे । उनले समयको सदुपयोग गर्दै त्यहाँका बालबालिकालाई पैसाको सदुपयोग गर्ने तरिका सिकाउन थाले । अभिभावकहरु पनि थपिए । उनको यही अभियान हो ‘वित्तीय साक्षरता’ ।

 बझाङमा वित्तीय साक्षरता

चैनपुर सदरमुकाम भएपनि शहरी सुविधा भने खासै थिएन । पसलहरु थिए । पसलका ग्राहकहरु बालबालिका पनि थिए । बालबालिका चाउचाउ, बिस्कुट, चकलेट किन्थे । भएजति पैसा खर्चिन्थे । काम गर्न सक्नेहरु प्रायः भारत जान्थे, पैसा कमाउथे, ल्याउँथे । मासु र मदिरामा धेरै पैसा खर्चिन्थे । केटाकेटी भुलाउन पैसा दिन्थे ।

तिनैै बालबालिका र उनीहरुका अभिभावकलाई जम्मा गरेर प्रकाशले पैसाको उपयोग कसरी गर्ने भनेर सिकाउन थाले ।

शुरुका केही दिन उनले बालबालिकालाई मात्रै सिकाउन थाले । उनको अभियानमा २१ जना बालबालिका सहभागी भए । पैसा जोगाउन उनीहरु सहमत भए । प्रत्येकलाई एक-एक वटा खुत्रुके पनि दिए । मिठाइ खान पाएको पैसा बालबालिकाले खुत्रुकेमा राख्न थाले ।

‘बच्चाहरु त सहमत भए तर, अभिभावकहरु अझै सहमत भएका थिएनन्’ उनले त्यतिबेलाको अनुभव सुनाए । एक दिन अभिभावकहरु जम्मा पारेर उनले भने ‘तपाईं हाम्रो यस्तै व्यवहारले धनी झन् धनी भइरहेका छन् र हामी झन गरिब भइरहेका छौं । अब के गर्ने आफैँ सोच्नुस्,’ प्रकाशले यत्ति भनेपछि भने अभिभावकहरु पनि सहमत भए र फजुल खर्च नगर्ने प्रतिबद्धता जनाए ।

 प्रकाशका सूत्र
 
नेपालका अधिकांश ग्रामीण क्षेत्र अझै पनि बैंङ्गकिङ पहुँच भन्दा बाहिर छन् । सरकारले हरेक पालिकामा कम्तीमा एउटा बैंक हुनैपर्ने वाध्यकारी नीति बनाएपछि बल्लतल्ल अहिले पालिकाहरुमा बैंक पुगेका छन् । बैंकमा पैसा जम्मा गर्नुपर्छ, ऋण चाहिए बैंकले नै दिन्छ भन्ने ज्ञान पनि अझै धेरैमा पुगेको छैन ।

६ वर्षअघिको कुरा त झनै फरक थियो । उनले बैंकको प्रयोगका बारेमा सर्वसाधारणलाई सिकाउनुअघि घरमै पैसा जोगाउन र खर्च तथा आम्दानीको विवरण राख्न सिकाउन थाले ।

खुत्रुके (पिग्गी बैंक), वित्तीय डायरी (फिनान्सियल डायरी) र अभिभावक प्रशिक्षण (प्यारेन्ट्स कोचिङ) लाई उनले सूत्र बनाए । ‘त्यसपछि त अभिभावकदेखि बालबालिकासम्मले डायरी बनाउन थाले, खुत्रुकेमा पैसा जम्मा गर्न थाले र महिनैपिच्छे खर्च र बचतको हिसाब निकाल्न थाले ।

No description available.

एक महिनाको  चैनपुर बसाइमा प्रकाशले बालबालिका र अभिभावकहरुमा आएको परिवर्तन प्रत्यक्ष देखे । ‘यो मेरो परीक्षण पनि थियो’ उनले भने, ‘त्यसबाट म सन्तुष्ट भएँ ।

उनको परीक्षण चैनपुरमा सफल भयो । ख्याति बढ्दै गयो । सुदूरपश्चिमको एक पहाडी जिल्लाको सानो ठाउँमा उनले गरेको प्रयोगको चर्चा देशव्यापी बन्यो । यो चर्चा नेपालमा मात्रै सीमित रहेन, यूरोपसम्म फैलियो ।

 पहिलो अन्तर्राष्ट्रिय अवार्ड
 
सन् २०१५ को डिसेम्बर । नेदरल्याण्ड्सको ‘चाइल्ड एण्ड युथ फिनान्स इन्टरनेशनल’ नामक संस्थाले ‘युथ फिनान्सियल एजुकेसन अवयरनेस अवार्ड’ का लागि विश्वव्यापी आवेदन आह्वान गर्यो ।

No description available.

बेलायतको संसद भवनमा कार्यक्रम गरी पुरस्कार वितरण गर्ने कार्यक्रम थियो । अन्तर्राष्ट्रिय पुरस्कार र पुरस्कार वितरण गर्ने ठाउँको नामले उनलाई लोभ्यायो । उनले पनि आवेदन दिए । तर, आशा झिनो थियो । आठ हजार निवेदन परेको रहेछ ।

आयोजक संस्थाले उनलाई लण्डन बोलायो । विकसित देशहरुको उनको त्यो पहिलो भ्रमण थियो । उत्साहित हुँदै गए तर, अवार्ड पाउँछु भन्नेमा ढुक्क थिएनन् । अन्तिम तीन फिनालिस्टको घोषणा भयो । एउटा नाम थियो, प्रकाश कोइराला ।

तीन दिने कार्यक्रम सकेर अवार्ड बोकेर प्रकाश काठमाडौं फर्किए । त्यसपछि उनको भविष्य प्रकाश जस्तै उज्यालो बन्यो । ‘मेरो लागि यही अवार्ड टर्निङ प्वाइन्ट बन्यो, त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुृ परेन’ उनले सुनाए ।

 नेपालमै भ्याई नभ्याई

 सन् २०१६ र १७ उनका लागि निकै व्यस्त रहे । विश्वप्रसिद्ध विश्वविद्यालयदेखि बैंकहरुले समेत उनलाई बोलाउन थाले । हार्वर्ड, जेनेभा र क्यानाडा विश्वविद्यालयले त उनलाई कोर्ष अध्ययन गर्ने अफरसहित आमन्त्रण गरे ।

मलेसियाको केन्द्रिय बैंकका गभर्नरले क्वालालाम्पुर बोलाए । नेदरल्याण्ड्सको अर्थ मन्त्रालयले पनि बोलायो । छिमेकी भारतको केन्द्रीय बैंकले पनि प्रकाशले चालेको वित्तीय साक्षरता अभियान बारे जानकारी लिन दिल्ली बोलायो ।

कहिले देश कहिले विदेश, उनको व्यस्तता बढ्यो ।

नेपालमा पनि वित्तीय संस्थाहरुले उनीसँग सहकार्य गर्न खोजे । केन्द्रीय बैंकले पनि उनको योजना मन परायो । तर, त्यसै त काम हुने कुरा भएन । संस्था पनि चाहियो । कामका लागि ‘भिजन’ पनि ।

No description available.

त्यही बीचमा उनले एउटा पुस्तक लेखे । पुस्तकको तयारी गर्दै गर्दा राष्ट्र बैंकसँग पनि समन्वय गरे । गभर्नरदेखि निर्देशकहरुले उनलाई हौसला प्रदान गरे । पुस्तक प्रकाशित भयो, नाम थियो–‘फिन्लिको’ । राष्ट्र बैंकले पाँच सय प्रति किताब किनेर विभिन्न संस्था मा वितरण ग-यो  ।

आखिर काम त गर्नु नै थियो । त्यसका लागि उनले एउटा संस्था बनाए– फिन्लिट नेपाल ।

उनको वित्तीय साक्षरता अभियानमा सघाउने केही मुख्य पात्र पनि छन् । नबिल बैंकका तत्कालिन कार्यकारी शसिन जोशी र एनएमबी बैंकका उपेन्द्र पौडेल । माछापुच्छ्रे बैंकसँगको सहकार्यमा पनि सुदूरपश्चिम क्षेत्रमा ‘शाखारहित बैंक’ अभियान अन्तर्गत सचेतना फैलाउन थाले ।

त्यसैबेला माइक्रोफाइनान्स र सहकारी संस्थाहरुसँग मिलेर पनि उनले काम गरे । त्यही बेला उनले थाहा पाए केही सहकारी संस्थाले वित्तीय साक्षरता नगराई चर्को ब्याजमा ऋण लगानी गर्दा रहेछन् ।

लघुवित्त प्रणाली फस्टाउँदो छ । त्यसबारेमा प्रकाशले लामै अनुसन्धान पनि गरेका छन् । वित्तीय साक्षरता अभियानमा सक्रिय रहँदै गर्दा उनी परिवार निर्माण अभियानमा पनि लागे । चिनजानेकै साथी युगश्री बेल्बासेसँग उनी वैवाहिक जीवनमा बाँधिए ।

फोर्ब्सको पहिलो खबर श्रीमतीलाई

प्रकाशको अभियानमा साथ दिने एक अर्को पात्रको नाम हो, युगश्री बेल्बासे । 'आर्ट अफ लिभिङ' को सत्सङगमा नियमित भेट हुने प्रकाश र युगश्री पहिले साथी थिए । उनीहरुको मित्रता ‘जीवन साथी’मा रुपान्तरण भयो ।

No description available.

सन् २०१८ मा उनीहरुको विवाह भयो । केही समयपछि अध्ययनको शिलशिलामा युगश्री क्यानाडा पुगिन् । प्रकाश काठमाडौंमै थिए । सन् २०१९ को अन्तिमतिर कोभिड महामारी शुरु भयो । प्रकाशका योजनाहरुमा पनि ‘ब्रेक’ लाग्यो । आठ महिनाअघि प्रकाश पनि क्यानाडा हानिए । भौतिक रुपमा केही समय टाढा रहेको यो जोडी फेरि एकै ठाउँ जुट्यो । क्यानडा पुगेपछि प्रकाशले कामसँगै अध्ययन पनि गरिरहेका छन् । यसैवर्षको अन्तसम्ममा उनको पढाइ पूरा हुने छ र उनी फर्किने छन् ।   

प्रकाशलाई माया गर्ने एक जना दिदीले उनको नाम फोर्ब्समा दर्ता गरिदिइन् । उनी जस्ता हजारौंको नाम पुगेको थियो फोर्ब्समा ।

उनी भन्छन्, एसियाबाट मात्रै २७ सय जनाको आवेदन परेको रहेछ । अन्तिममा के होला के होला भन्ने थियो ।

१९ अप्रिल २०२१ को दिन । युगश्री र प्रकाश कामबाट घर फर्किँदै थिए । बाटोमा मोबाइलमा प्रकाशले ‘डेटा अन’ गरे । एउटा इमेलको ‘नोटिफिकेसन’ आयो । इमेल खोले । त्यसमा उनी उत्कृष्ट ३० मा छानिएको सन्देश थियो ।

उत्साहित भए । अझ ढुक्क थिएनन् । फोर्ब्सको वेवसाइट लगइन गरे । त्यहाँ उनको नाम थियो । फुरुङग  हुँदै श्रीमती युगश्रीलाई देखाए । पति पत्नी नै दंग । क्यानडामा रहेका प्रकाश केही महिनापछि नेपाल फर्किँदै छन् । नेपाल आएपछि गर्ने कामका केही योजना पनि उनले बनाएका छन् ।

अबको योजना

जुन विषयले उनलाई विश्वचर्चित बनायो, त्यसलाई छाड्ने त कुरै भएन । अब त्यसलाई थप परिस्कृत कसरी गर्न सकिन्छ भनेर केही योजना बनाएको छु, उनले भने ।

उनको पहिलो योजना छ, वित्तीय साक्षरता अभियानलाई डिजिटल बनाउने । त्यसको प्रारुप उनले तयार पारिसकेका छन् । 'एक्लै संभव छैन, उनले भने, यस क्षेत्रमा कार्यरत संघ संस्थाहरुको सहयोगमा यसलाई अगाडि बढाउने छु ।

No description available.

वित्तीय साक्षरता अभियान कुनै एक व्यक्ति तथा एक संस्थाले चाहेर मात्रै सफल हुँदैन भन्ने उनको विश्वास छ । केन्द्रीय बैंकदेखि निजी क्षेत्रका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुकै सहकार्यमा यसलाई प्रभावकारी बनाउन सकिने उनले सुझाए ।

वित्तीय साक्षरता फैलाउन स्थानीय सरकार सबैभन्दा प्रभावकारी हुने उनको बुझाइ छ ।

नवरात्र गज्जबको संयोग

दोलखाको एक आध्यात्मिक परिवारका सदस्य हुन् प्रकाश । बडा दशैं र चैते दशैंको नवरात्रमा उनले चण्डीपाठ  गर्छन् । प्रत्येक सोमबार भगवान शिवजीको व्रत बस्छन् ।

उतिबेला उनको मनमा पैसा चिन्ने र चिनाउने चिन्तन विकसित हुँदा बडादशैंको नवरात्र थियो । त्यतिबेला उनको मनमा उब्जिएको हुटहुटीले उनलाई वित्तीय साक्षरता अभियन्ता बनायो ।

गएको बडादशैंको नवरात्र । त्यही बेला उनको नाम फोर्ब्समा ‘नोमिनेट’ भयो ।

त्यतिमात्रै होइन, जुन दिन फोर्ब्सले सूची सार्वजनिक गर्यो, त्यो दिन चैते दशैंको नवरात्रकै एक दिन थियो । 'म अध्यात्ममा विश्वास गर्छु, शायद त्यसैको परिणाम पनि हुन सक्छ, यो संयोग,' उनले सुनाए ।

पैसाको प्रयोगका आफ्नै सीमा र आयाम छन् । यसको सदुपयोग गर्न सकियो भने जीवन स्वतन्त्र मात्रै होइन, सफल पनि हुन्छ । तर, यसको सदुपयोग गर्न जानिएन भने यसले भएको सारा सम्पत्ति समाप्त पारिदिन्छ । वित्तीय साक्षरताका अभियन्ता प्रकाशले यही कुरा आम नेपालीलाई सिकाउन चाहन्छन् । उनलाई हाम्रो पनि शुभकामना । 

ad
ad ad