ad

कोभिड महामारी : मुलुकले थेग्न नसकेको मानवीय संकट

ग्लोबल नेप्लिज संवाददाता
बिहीबार, बैशाख ३० २०७८
image

काठमाडौं : अस्पतालहरुमा शैयाको अभाव त छँदै थियो, प्राणवायु अक्सिजनको पनि अभाव भएपछि देशभरका प्रायःजसो अस्पतालले नयाँ बिरामी भर्ना नलिने घोषणा गरेका छन् । कतिपयले उपचाररत बिरामीलाई समेत अक्सिजन नभएको भन्दै ‘डिस्चार्र्ज’ गरिरहेका छन् ।

पछिल्लो दुई दिनमा मात्रै अक्सिजनको अभावका कारणले मात्रै चौध जना बिरामीले ज्यान गुमाएका छन् । केही बिरामी अस्पताल खोज्दा खोज्दै प्राण त्याग्न बाध्य भएका छन् ।

२०७२ सालको महाभूकम्पपछि नेपालले भोगेको यो सबैभन्दा ठूलो संकट हो । भूकम्पको असर केही दिनमा कम भएपनि कोभिड १९ को महामारी कहिलेसम्म रहने भन्ने निश्चित छैन । एक वर्ष अघि नै शुरु भएको महामारीका कारण उत्पन्न संकट गहिरिँदै जाँदा न सरकारले व्यवस्थापन गर्न सकेको छ, न त्यसका लागि आवश्यक कार्ययोजना नै बनाउन सकेको छ ।

सरकारले अवस्था नियन्त्रणमा नै छ भने पनि परिस्थिति त्यस्तो छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले नेपालमा कोभिड महामारीका कारण उत्पन्न समस्या नेपालको नियन्त्रणमा नरहेको टिप्पणी गरिरहेका छन् । अमेरिकी संसदमा नेपालको अवस्थाबारे छलफल भएको छ भने एक अन्तर्राष्ट्रिय संस्थाले नेपालको अवस्था थप ‘भयावह’ हुनसक्ने चेतावनी दिएको छ ।

यसबीचमा गैरआवासीय नेपाली संघ(एनआरएनए)को नेतृत्वमा केही मुलुकबाट अक्सिजन सिलिण्डर ल्याउने पहल थालिएपनि मागको चाप थेग्ने कुनै संकेत छैन ।

महामारी नियन्त्रण र संकट व्यवस्थापनका लागि सरकारले भरपर्दो कार्ययोजना नबनाएपछि पूर्वप्रशासक तथा पूर्व कुटनीतिज्ञहरुले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रह गर्न सरकारलाई सुझाब दिएका छन् ।

पूर्वराजदूतका ५ सुझाब

देशमा उपलब्ध अक्सिजनले माग धान्न नसकेपछि सरकारले यसबीचमा चीनबाट केही थान अक्सिजन सिलिण्डर ल्याउने बाहेक कुनै काम गरेको छैन । सरकारले त्यसरी ल्याएको अक्सिजन पनि मागको चाप थेग्न पर्याप्त छैन । अन्य वस्तुगत तथा मानवीय सहयोगका लागि सरकारले अहिलेसम्म औपचारिक रुपमा कुनै पहल थालेको छैन ।

पूर्वराजदूत मधुरमण आचार्यले संकट व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्नु पर्ने भन्दै सरकारलाई पाँच वटा सुझाब दिएका छन् ।

परराष्ट्रमन्त्रीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत पूर्वराजदूत आचार्यले भनेका छन्, ‘मानवीय संकट घोषणा गर्नुस्, मित्र राष्ट्रहरुबाट के कति सहयोग चाहिएको हो सूची तयार गर्नुस्, सहयोगका लागि सरकार प्रमुख तहमा पत्र पठाउनुस्, नेपालस्थित विदेशी नियोग प्रमुखहरु डाकेर ब्रिफिङ गर्नुस् र आफ्ना राजदूतहरु पनि परिचालन गर्नुस् ।’

कोभिड महामारीको दोश्रो लहर शुरु भएयता सरकारले ठाउँ विशेष निषेधाज्ञा जारी गर्ने बाहेक अन्य कुनै काम गर्न सकेको छैन ।

खोपको आपूर्ति रोकिएको छ भने तत्काल कुनै पनि देशबाट खोप आउने संभावना पनि देखिएको छैन ।

कोभिशिल्डको उत्पादक भारतको सेरम इन्स्टिच्युटको पुरानै जवाफ देखाइरहेको सरकारले चीन, रुस लगायतका देशबाट खोप ल्याउने प्रक्रिया पनि थालेको छैन ।

नेपाल सरकारका पूर्व मुख्य सचिव एवम् चीनका लागि पूर्व राजदूत लिलामणि पौड्यालले जनताको जीवन भन्दा महत्वपूर्ण अरु केही हुन नसक्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसको एकमात्र समाधान खोप हो र अहिले खोप दिन सक्ने चीन मात्रै हो ।’ उनले सरकारलाई क्षमता प्रदर्शन गर्न पनि आग्रह गरेका छन् ।

संकट नियन्त्रण बाहिर गईसक्दा पनि सरकारले न नेपालस्थित विदेशी नियोगका प्रमुखहरुलाई अवस्थाबारे जानकारी गराएको छ न बाहिर रहेका नेपाली राजदूतहरुलाई सक्रिय बनाएको छ ।

सरकारको दाबी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संकट व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने विषयमा सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउन र विदेशमा रहेका राजदूतहरुलाई क्रियाशील बनाउन नसकेको भन्दै आलोचना भएपछि उनले तत्काल अक्सिजनसहितका स्वास्थ्य उपकरण कसरी नेपाल ल्याउन सकिन्छ भनेर राजदूतहरुसँग छलफल भइरहेको बताएका हुन् ।

बिहीबार बिहान बसेको एमाले स्थायी समितिको बैठकमा पनि महामारी नियन्त्रण तथा संकट व्यवस्थापनका बारेमा छलफल भएको भन्दै मित्र राष्ट्रहरुबाट आवश्यक सहायता जुटाउन थप कुटनीतिक पहल गर्ने निर्णय भएको बताएका छन् ।

एमाले स्थायी समिति सदस्यसमेत रहेका ज्ञवालीद्वारा जारी विज्ञप्तिको चौथो बुँदामा लेखिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले कोभिड महामारीको पछिल्लो जटिल अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमहरुका सन्दर्भमा बैठकलाई जानकारी गराउनु भयो । बैठकले अक्सिजनको पर्याप्त, प्रभावकारी र नियमित आपूर्ति, खोप लगायत जीवन रक्षक औषधिहरुको प्रवन्ध, अस्पतालहरुको पूर्वाधार विसतार लगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालित गर्न र मित्र राष्ट्रहरुबाट आवश्यक सहायता जुटाउन थप कुटनीतिक पहल गर्न सरकारलाई सुझाब दिएको छ ।’

पार्टीको बैठकमा छलफल भएपनि मन्त्रिपरिषदमा भने अहिलेसम्म गम्भीर छलफल नै हुन सकेको छैन । बरु पहल गर्नुपर्ने मन्त्रालयहरु नै एक अर्कालाई दोषारोपण गर्न व्यस्त छन् ।

स्वास्थ्यको असन्तुष्टि

महामारीका कारण सबैभन्दा आलोचित मन्त्रालय हो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।

मुलुकको सम्पूर्ण स्वास्थ्य प्रणालीको नेतृत्व गरिरहेको स्वास्थ्य मन्त्रालय कहिले आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिने गरेको छ भने कहिले आफ्नै संयन्त्रको परिचालन गर्न नसकेर आलोचनामा पर्ने गरेको छ ।

मध्य बैशाखमा ‘बिरामीलाई अस्पतालमा शैया उपलब्ध गराउन नसकिने’ भनेर विवादमा आएको स्वास्थ्य मन्त्रालयले अहिले भने आफ्ना सिफारिस समयमै कार्यान्वयन नगरिदिएकाले समस्या आएको बताउन थालेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. लक्ष्मण लम्सालले स्वास्थ्य मन्त्रालयका सिफारिस मन्त्रिपरिषदले कार्यान्वयन नगरेकाले समस्या बढेको दाबी गरेका छन् ।

उनले ‘सिफारिस अनुसार दश दिन पहिले विद्यालय बन्द गरिदिएको भए र एक साताअघि निषेधाज्ञा गर्न पाएको भए परिस्थिति नियन्त्रण भित्रै हुन्थ्यो’ भने ।

आगामी असार अन्त्यसम्म पुग्न सक्ने आँकलन गरिएको संक्रमणको दर अहिल्यै देखिएको र सोही कारण परिस्थिति सम्हालिनसक्नु भएको पनि दाबी गरे ।

खोप खरिदमा देखिएको विवाद र विचौलिया प्रकरण तथा स्वास्थ्यकर्मी परिचालनमा देखिएको कमजोरीका बारेमा भने उनले मुख खोलेनन् ।

कोभिड १९ को दोश्रो लहर शुरु भएको एक महिना नबित्दै नेपालमा दैनिक संक्रमण दर विश्वमै दोश्रो स्थानमा देखिएको छ भने सक्रिय संक्रमितको हिसाबले नेपाल सार्क राष्ट्रमा दोश्रो स्थानमा रहेको मन्त्रालयले जनाएको छ । ९ हजारको हाराहारीमा दैनिक संक्रमित थपिनु र मृतकको संख्या दैनिक २२५ सम्म पुगेपछि कतिपयले स्वास्थ्य संकटकाल घोषणा गरेर अगाडि बढ्न सरकारलाई सुझाब दिएका छन् ।

सरकारले जुनसुकै रुपमा व्याख्या र तर्क गरेपनि कोभिड महामारी सरकारको नियन्त्रण बाहिर पुगिसकेको छ । वर्तमानकै श्रोत, साधन र कार्यशैलीले अवस्थामा सुधार आउने कुनै संकेत देखिँदैन ।

ad
ad ad