ad

महामारीका उत्प्रेरक : कुम्भ मेला, बिस्केट जात्रा र सीताराम रथयात्रा

ग्लोबल नेप्लिज संवाददाता
सोमबार, बैशाख २० २०७८
image

काठमाडौं : भारतको हरिद्वारमा चलेको कुम्भमेलामा दर्शन भर्न गएका स्याङ्जा वालिङका तीर्थालु बैशाख पहिलो साता फर्किए । उनीहरु फर्किए लगत्तै उनीहरुमध्ये केही र उनीहरुको परिवारमा कोरोना भाइरस लागेपछि हुने केही लक्षण देखिन थाल्यो ।

केही परीक्षण गर्न अस्पताल पुगे । केही परीक्षण नै नगरी खुल्लमखुल्ला  नियमित काममा लागे । आलोचना भएपछि नगरपालिका समेतको पहलमा परीक्षण शुरु भयो । जब परीक्षण शुरु गरियो, अधिकांशमा कोभिड–१९ पोजिटिभ देखिन थाल्यो ।

पछिल्लो एक हप्तामा मात्रै वालिङ नगरपालिकामा १२६ जना संक्रमित भेटिएका छन् । जिल्लामै २१२ सक्रिय संक्रमित रहँदा वालिङ नगरपालिकामा मात्रै १२६ जना रहेका छन् । सोही नगरपालिकामा पर्ने कल्लेरी गाउँमा मात्रै ३५ जना संक्रमित छन् ।

संक्रमण फैलिन थालेपछि नगरपालिका क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । त्यस्तै गल्याङ र चापाकोट नगरपालिकामा पनि निषेधाज्ञा लगाइएको छ ।

कुम्भमेलामा वालिङ नगरपालिकाका करिव दुई सय तीर्थालु सहभागी भएको अनुमान छ ।

.........................

कुम्भ मेलामा प्रमुख अतिथिका रुपमा सहभागी भएका पूर्वराजा राजा ज्ञानेन्द्र शाह बैशाख ५ मा काठमाडौं फर्किए । उनीसँगै पूर्वरानी कोमल पनि थिइन् । केही दिनपछि उनीहरुको स्वास्थ्यमा समस्या देखियो ।

परीक्षण गर्दा पत्ता लाग्यो, उनीहरु संक्रमित भइसकेछन् । ज्ञानेन्द्र र कोमलसँगै पूर्वअधिराजकुमारी प्रेरणामा पनि संक्रमण फैलिए छ । अहिले उनीहरु उपचारका क्रममा अस्पतालमा छन् ।

...................

कुम्भ मेलामा कति नेपाली तीर्थालु सहभागी भए भन्ने यकीन  छैन । तर, स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँगको समन्वयमा करिब  एक लाख नेपाली मेलामा सहभागी अनुमान गरेको छ ।

जब कुम्भ मेलाका सहभागी स्वदेश फर्किए, तब कोभिड संक्रमण फैलिन थाल्यो । मेलाकै कारण राजधानीसहित विभिन्न जिल्लामा संक्रमण फैलिएको अनुमानमा परीक्षण थालियो । स्वास्थ्य मन्त्रालयको अनुमान सत्य सावित भयो ।

‘हाम्रो अनुमान जे थियो, परीक्षणले त्यही देखाएको छ,’ मन्त्रालयका एक अधिकारीले भने ।

कुम्भमेलाका सहभागीहरु फर्किनुपूर्व पनि कोरोनाको त्रास कायमै थियो ।

नयाँ वर्षको दिन, बैशाख १ गते, भक्तपुरमा नयाँ वर्षसँगै बिस्केट जात्रा मनाइन्छ । सुदूरपश्चिममा बिसु पर्व । स्वास्थ्य मन्त्रालयले त्यसको झण्डै एक साताअघि नै ती पर्व मनाउँदा संक्रमण फैलिनसक्ने भन्दै परिवारमा सीमित गर्न आग्रह गरेको थियो ।

स्वास्थ्यको आग्रह कसैले मानेन । भक्तपुरको बिस्केट जात्रामा हजारौं सहभागी भए । जात्रा सकिएको तेश्रो दिनबाट भक्तपुरमा संक्रमितको संख्या थपिन थाल्यो । सर्वसाधारणको अटेरी स्वभावले संक्रमणलाई निम्त्याइदियो ।

बैशाख ७ मा प्रधानमन्त्री निवास बालुवाटारमा ठूलै भिडभाड भयो । राम र सीताको मूर्ति राखिएको थियो । एउटा धार्मिक अनुष्ठान नै आयोजना गरियो । कैयौं मानिस भेला भए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मूर्तिको पूजा गरिसकेपछि दुवै मूर्तिलाई चितवनको ठोरी पठाइयो । सीतारामको मूर्तिलाई रथयात्रासहित चितवनको ठोरी पुर्‍याउने कार्यक्रम थियो । भगवान रामको जन्म चितवनको ठोरी  (अयोध्यापुर) मा भएको प्रधानमन्त्रीको दावी अनुसार त्यहाँ राम र सीताको मूर्ति प्रतिष्थापन गर्ने कार्यक्रम प्रधानमन्त्रीबाटै तय गरिएको थियो ।

दुई दिनपछि रथयात्रा चितवन पुग्यो । त्यसको नेतृत्व गरेका थिए, पर्यटन तथा संस्कृतिमन्त्री भानुभक्त ढकालले । ढकाल पूर्व स्वास्थ्यमन्त्रीसमेत हुन् ।

जतिबेला सीतारामको रथयात्रा गरियो, त्यसअगावै स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नपाइनेसहित विभिन्न नियम जारी गरेको थियो । प्रधानमन्त्री निवासबाटै त्यो नियमको उल्लंघनको भयो ।

दुई दिनअघि मन्त्री ढकाल नै कोरोना संक्रमित भएका छन् ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले विभिन्न निर्देशन जारी गरिरहेकै बेला बैशाख ११ मा पुनःनिर्मित धरहराको उद्घाटन कार्यक्रमको आयोजना गरियो । प्रमुख अतिथि थिए, प्रधानमन्त्री केपी शर्मा ओली । निर्माण सम्पन्न नै नभई हतारमा गरिएको उद्घाटन समारोहमा पनि थुप्रै मानिस सहभागी भए । ती मध्ये अधिकांश सरकारकै उच्च पदस्थ अधिकारीहरु थिए ।

घटनाक्रम यस्तो देखियो कि सबैभन्दा बढी नियम उल्लंघन सरकारबाटै भयो । स्वास्थ्य मन्त्रालय कराइरह्यो, अरु निकायले सुने नसुन्यै गरे । अन्ततः मुलुकभर संक्रमण यति धेरै फैलियो कि संक्रमितहरुले अस्पतालमा उपचारसमेत पाउन नसक्ने अवस्था आयो ।

संक्रमण उच्च विन्दुमा  

‍स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हिजोआज दैनिक संक्रमणदर चालीस प्रतिशतको हाराहारीमा रहेको छ ।

कोरोना भाइरस संक्रमणको पहिलो लहरको तुलनामा यसपटक संक्रमण दर मात्रै बढेको छैन, मृत्युदर पनि बढेको छ । संक्रमित र मृतकको उमेर समूह पनि फेरिएको छ ।

'अहिलेको संक्रमणले युवा र बालबालिकालाई पनि नराम्ररी असर गरेको छ,' प्रवक्ता गौतमले भने ।

अझै केही समय यो क्रम नरोकिने स्वास्थ्य मन्त्रालयको विश्लेषण छ । संक्रमण फैलिने क्रम बढ्दै गएकाले कति समय भित्र नियन्त्रणमा आउँछ भन्ने अनुमान लगाउन गाह्रो छ ।

छिमेकी भारतमा देखिएको महामारीको जस्तै अवस्था नेपालमा अहिले देखिएको छ । भारतमा भयावह अवस्था देखिएको एक महिना नाघिसकेको छ ।

एक महिनामा नेपालमा असर

 स्वास्थ्य मन्त्रालयले चैतको पहिलो साता नै भारतमा जस्तै महामारी नेपालमा पनि आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको थियो ।

विद्यालय तथा शिक्षण संस्था बन्द गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न बारम्बार आग्रह गरिरहेको थियो । तर, स्वास्थ्यको आग्रहलाई मन्त्रिपरिषदले स्वीकार गरेन ।

‘हाम्रो बानी व्यवहोरामा सुधार गरिएन भने नेपालमा एक महिनापछि भारतको जस्तै भयावह अवस्था आउने छ,’ डा. अर्चना थापाले भनेकि थिइन् ।

ठीक एक महिनापछि त्यस्तै अवस्था आयो । स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था देखियो । सीमानामा अपनाउनुपर्ने सतर्कता र व्यक्तिगत रुपमा अपनाउनुपर्ने सावधानी अपनाउन नसक्दा नेपाल ‘आफैले निम्त्याएको संकट’मा फसिरहेको छ । यो संकटबाट उन्मुक्ति पाउन अझै केही महिना पर्खिनुपर्ने छ भने त्यतिन्जेलसम्म नेपालले जनधनको ठूलो क्षति व्यहोरिसकेको हुने छ ।

ad
ad ad