ad

भारतमा जन्ती जाँदाको अनुभूति

आइतबार​, जेष्ठ ९ २०७८
image

मधेश समुदायका लालविहारी गुप्ताको दशगजा पारि शोहरतगढ जन्ती जाने बिहेमा सामेल हुन पर्ने भयो । दुलहा लालविहारी, हुन त मेरा साथी थिएनन् । त्यस अघिसम्म चिनेको पनि थिइन । हाम्रा गाउँमा कपडा बेच्न आउने विश्वनाथ साहुका एक छोरा छन् भन्ने थाहा थियो । बुवाको र विश्वनाथको गहिरो दोस्ति थियो । एसएलसी परीक्षा दिएर घर बसेको फुरसदको समयमा विवाहको रमझमका साथै बनिया समुदायको रहनसहन देख्ने र बुझ्ने मौका जुर्यो ।

घरबाट साइकल चढेर गुडुरूङ खोलाको पानीमा साइकल तारेँ । अरू बाटो कतै खेतका मोटा आलीमा साइकलका टायर सजिलै अटाउँथे । कतै भने काठे चक्काका लडिया (गोरूगाडा) ले दक्षिण  तर्फ गहिरो पार्दै धुलो थुपारेको छेउँछाउँमा मान्छेका पाइलाले टेक्दा चिल्लो परेका भागमा मेरा साइकलका दुई पाङ्ग्रा गुड्दै जान्थे । रफ्तार भने पाइडलमा मैले जति जोडले दबाब दिन्थेँ त्यत्ति बढि हुन्थ्यो । खोला नगिच पुग्दाको ओरालोमा साइकलको गति बढि भएर नियन्त्रण गर्न बाँया हातले ब्रेक थिचेरै गति घटाउन पर्यो । खोलो तरेपछिको उकालोमा पाइडल थिच्ने मेरो तागतले नभेट्ने भएपछि साइकल डोराएरै ढिकमाथि उक्लिएँ ।

दुलहाको घर महाराजगञ्ज जाँदा भन्दा त्यही बाटो भएर घर फर्कँदा मन भित्रैबाट म गमक्क परेको थिएँ । जन्ती मध्येको महत्वपूर्ण पात्र, दुलहाको भाइ बन्ने अवसरले कल्पना गरेभन्दा बढि त्यो संप्रदायलाई  बुझ्ने मौका जुरेको थियो । पहाडिया समुदायमा दुलहाका भाइको खासै महत्व हुँदैन । उही विदाइका बेला दुलही पट्टिकाले खोजिनिधि गर्ने मात्र हो । कित दुलही तिरका केटीहरूले आँखा लाउने र जिस्काउने मात्र हो । जन्तितिरका केटी त उही आफ्नै नातागोताका हुन्छन् । भाउ दिने कोही हुँदैनन् । तर, मधेश समुदायमा दुलहाका भाइको ठूलो महत्व हुने रहेछ । एक्लो सन्तान लालविहारीको विहेमा ‘नभइ नहुने भाइ’ को भूमिका निभाउन म नियुक्त भएको थिएँ ।

विवाहका हरेक कर्मकाण्डमा दुलहासंगै दुलहाका भाइ पनि सरिक हुने चलन रहेछ । विवाह मण्डपमा बस्दा समेत भाइलाई  संगै राख्नपर्ने हुनाले खोजिएको भाइको आवस्यकता परेको रहेछ । जन्ती जाँदा र फर्कँदा पनि दुलहासंगै बस्न पर्ने । अझ विवाह सम्पन्न भएर जन्तीसहित दुलही विदाइ गर्ने चरणमा मलाई  झन धेरै महत्व दिएको भान भयो । दुलहीका माइतीका सवै महिलाहरूले टिका लगाएर दुलहासंगै मलाइ पनि कपडामा बेरेर दक्षीणा र उपहार दिए । पछि फर्किएपछि खोल्दा त पानी भरिने घैँटाका खपटालाई  सिक्काका आकार परेका थैला पनि रहेछन् । धेरै त सिक्काकै थैला थिए । पछि थाहा पाएँ, दुलहीका साथी तथा बैनीहरूले दुलहाका भाइलाई  खपटा दिएर झुक्याउने पनि, जिस्काउने प्रथा मध्येकै एउटा चलन रहेछ ।

त्यसो त दुलही तिरकाले मात्र महत्व दिएका होइनन्, दुलहाका घर तिरबाट पनि मलाई  निकै महत्व दिइएको थियो । आफ्नै समुदायका भाइभतिजाबाट दुलहाको भाइ नछानेर अर्को समुदायको केटोलाई  भाइ बनाउनुका पछाडि विश्वनाथको इगोले भूमिका खेलेको थियो भन्ने अनुमान गर्छु । त्यसबेलासम्म तराइमा पहाडबाट धेरै मान्छे झरेका थिएनन् । अलि हुने खानेहरूले तराइमा जिमिदारी जोरेका हुन्थे । जिमिदारसंगको हेलमेल देखाएर आफ्नो बनिया समुदायमा रवाफ देखाउन पनि उनले त्यो चाल चालेहोलान जस्तो लाग्छ । औलोबाट बच्न गर्मी महिनामा पहाड बस्ने जाडो याममा तराइ झरेर खेती स्याहार्ने चलन थियो । औलोको औषधि पाइन थालेपछि र हरेक घरमा सरकारले निशुल्क डीडीटी छर्न थालेपछि पहाडको कठीन जीवनबाट सहज जीवन खोज्न तराइ झर्ने क्रम बढेको हो । त्यतिखेर तराइको समाज रूपान्तरित हुन शुरू गरेको मात्र थियो ।

हुलाकी सडक चलनचल्तीमा हुँदासम्म कपिलवस्तुको महाराजगञ्ज चल्तीको बजार थियो । महेन्द्र राजमार्ग बनेसंगै सुक्दै गएर बजार बाट ठूलो गाउँका रूपमा परिणत भएको हो । त्यहाँबाट रिजर्ब गरिएका जिपमा दुलहा र म समेत केही जना थियौँ । केही जन्ती गोरूगाडा र साइकलमा हिँडेका थिए । तौलिहवामा जम्मा भएपछि सवै जना जिपमा गयौँ । त्यसबेलासम्म कपिलबस्तुमा सुठौली भन्सारदेखि तौलिहवासम्म पिच सडक थियो । उता भारतको भागमा पिच गरेको सडक थियो नै । तर, दशगजाको भाग भने पिच भएको रहेनछ । कच्ची सडक थियो नेपाल तिरको १० गज र भारत तिरको १० गज गरेर २० गज भूमि । महेन्द्रराजमार्ग बन्ने भएपछि भारतबाट सामान ल्याउन पर्ने भएर होला कृष्णनगरदेखि सिउपुर–बेलौतेसम्म बाटो पिच थियो । कपिलवस्तुमा अरू कतै पनि पिच बाटो थिएन । राजमार्ग बन्दै गरेको धुलो बाटो भएपनि हिउँद महिनामा बस कृष्णनगरबाट बुटवल चल्थ्यो ।

पाँच दिनको विवाह संस्कार

जन्ती जाने दिन, फर्कने दिनसमेत गर्दा पाँच दिनको विवाह संस्कार हुँदोरहेछ । जन्तीलाई  तीन दिन दुलहीपट्टीले सत्कार गरेर विदा गर्नेरहेछन् । हाम्रो समुदायमा करिब सवै विवाह रातिमा हुन्थे । हाम्रातिर एक रातमा विवाह सकिने हुनाले मेरा लागि त्यो विवाह अनौठो रह्यो । जन्ति गयो, रातभरिमा विवाह सकेर फर्कँदा जन्तिबाख्रो खाएपछि हाम्रो विवाह सकिने चलन थियो । पुजा र जग्गे पद्दति भने उस्तै थियो । सप्तपदीका दिन भने अघिअघि विजुलीको झिलिमिलीसंगै ब्याण्ड बाजाका तालमा पछिपछि भाडामा ल्याइएको सिङ्गारिएको घोँडीमा दुलहा थिए । अरू जन्ति नाच्दै र रमाउँदै दुलहीका घर पुग्यौँ ।

नेपालबाट भारत पुगेको दुई  देशबीचको विवाह थियो । पुग्दाका दिन दुलही घरकाले भाडामा लिइएको सत्कारगृहमा जन्ती राखियो । जन्तिमा करिब साठी जना जति थियौँ । जन्ती सत्कारका लागि पर्याप्त सेवक थिए । धेरै जसो दुलहीकै नातागोता र उनीहरूका घरका कामदारहरू थिए । नपुगेको जनशक्तिको लागि अरू मानिस पनि भाडामा थपिएका रहेछन् । छोरीको विवाहमा जन्तिको सत्कारमा इज्जत धान्न नातागोता र टोलछिमेकी सवै जुटेका थिए ।

दोस्रो दिन खानपिन र रमाइलोमा वित्यो । जन्तिको समय रमाइलो गराउन दुलही तर्फकाले प्रबचन दिन एक ब्यक्तिको ब्यवस्था गरेका रहेछन् । भित्रि मर्ममा धार्मिक प्रबचनकर्ता भए पनि उनको कथनबाट त्यस्ता जन्तिको मनोरञ्जनका लागि कस्ता ब्यवस्था गरिएका हुँदा रहेछन् भन्ने पनि थाहा पाएँ । त्यस्ता धार्मिक प्रबचनको ब्यवस्था विरलै गरिँदोरहेछ भन्ने पनि बुझेँ । जे होस, उनको प्रस्तुतिकला भने निकै राम्रो थियो । जन्ति सत्कारमा समाजले चारित्रिक रूपले हिनभाव दर्शाएका महिलाहरू निम्त्याइने रहेछ भन्ने पनि उनकै कथनबाट थाहा भयो । त्यस्ता नृत्यलाई  'वेश्या नृत्य' भनेर परिचय गराइने रहेछ ।

उक्त जन्ती सहभागिताकै दौरान शोहरतगढको गान्धी आश्रम जाँदा देखेको खादी भण्डारबाट भारतको स्वतन्त्रता संग्रामको मर्मका बारेमा थप बुझ्ने मौका मिल्यो । स्वदेशी उत्पादनमा जोड दिने र फिरङ्गीको वस्त्र  ब्यापारमा दख्खल दिने चर्खा आन्दोलनसंग खादी भण्डारको तार जोडिएको हुन्छ । भारत स्वतन्त्रता संघर्षको कथा उक्त गान्धी आश्रमले दर्साइरहेको थियो । रूकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, बाग्लुङ, गुल्मीका लाहुरेहरूको रेल चढ्ने नाका थियो, शोहरतगढ   । हाम्रा गाउँका थारूहरू त विवाह जस्ता समारोहकोलागि धेरै किनमेल गर्न पर्दा बजार पुग्ने बजार पनि हो । अहिले भने त्यो रूट हराएर ब्यापार केन्द्रहरू फेरिएका छन् । शोहरतगढको त्यो ब्यापारिक महत्व पनि घटेको छ । त्यो रेल स्टेशनको चहलपहल र महत्व पनि एकदमै घटेको छ ।

रेलवे स्टेशनको नगिचको कलेजमा नेपालबाट थुप्रै विद्यार्थी ले पढाइ सम्पन्न गरेर प्रमाणपत्र पनि हासिल गरेका छन् । मेरै थुप्रै दौँतरीहरू पनि त्यो समुहमा पर्छन् । हाम्रा गाउँका कतिपय गाउँलेले त घर बनाउँदा छड र सिमेन्ट समेत गोरू गाडामा शोहरतगढबाटै ल्याएका थिए । उनिहरूका बीचमा शोहरतगढको पुरानो नाम चनापहाड प्रचलनमा थियो । पञ्चायत ब्यवस्थाको अन्तिम समय तिर हाम्रो गाउँको स्कूलका हेड मास्टर शोहरतगढ कै फूलचन्द जैसवाल थिए । उनले नेपाली नागरिकता पाएर नेपालको सरकारी जागिर खान्थे तर मेरै गाउँको भोजवा थारूको जग्गाधनी पुर्जा नभएकोले नेपाली नागरिकता नै बनेको थिएन । जबकि भोजवाका पुर्खाले नै जङ्गल फाँडेर बसाइएको बस्ती हो हाम्रो गाउँ । अर्थात उनी त्यहाँका आदिवासी हुन । तर ती हेडसरका पुरखा पनि सिमाना पारिकै हुन, सन्तान पनि उतैका छन्, परिवार पनि उतै बस्थ्यो । उनको जागिर र कमाइ मात्र नेपाली थियो । उनी स्कूल छुट्टी हुनासाथ सिमाना पारि जान्थे । स्कूल खुल्दा मात्र आउँथे कमाएर उतै जान्थे ।

विश्वनाथ हरेक वर्ष घोँडामा कपडाका थानहरू बोकाएर हाम्रो गाउँमा आउँथे । कुनै थारूको गाइको गोठमा भारी फुकाएर कपडाको पसल खुला गर्थे । उनको चिटिक्क पारिएको सानो कपडा पसलमा उनीसंग म पनि बेलाबखत बसेको हुन्थे । प्राय हिउँद महिनामा उनले दुकान  त्यहाँ ल्याउँथे । गाउँलेहरूले लेहगाँ, खर्की, धोती, चोली, सर्ट आदिका लागि कपडा किन्थे । गज (मिटर) ले नापेर कैचीले टुप्पु काटेपछि, थानबाट च्यातेर छुट्याएको टुक्रा ग्राहकलाई  उनले दिन्थे ।

उनका एक सहयोगी पनि हुन्थे । ती सहयोगीले घोडाको स्याहार गर्नेदेखिका सहयोग गरेका हुन्थे । तिनै सहयोगीका छोरा प्रल्हादले त्यो विवाहमा जाँदा लालविहारी र मलाई  सहयोग गरिरहेका हुन्थे ।

म विश्वनाथको घरमा पुगे पछि पित्तलको थालमा वरिपरि कचौरामा दाल, सुख्खा र झोल तरकारी, प्लेटमा खुर्सानी र करेला भित्र मसला भरिएका भरूवा र आँपको अचार तथा मुरब्बा लगायतको सत्कार गर्दा पनि ती प्रल्हाद नै सक्रिय थिए । कसैका घरमा पनि पाइखाना थिएन, सवै जना लोटा लिएर खेतमा जान्थे । महिलाहरू खास गरी साँझ परेपछि निस्कँदा रहेछन् । पेट गडबड भएर अरू समयमा दिसा गर्न पर्ने भयो भने उनिहरूलाई  पर्ने समस्या अनुमान गर्दा नै मलाइ डर लाग्थ्यो । लालविहारीकी आमालाइ डायविटिज (चीनी) रोग रहेछ । आँखा पनि नदेख्ने भएकी रहिछन् । उनको आँखाको समस्या पनि त्यही डायविटिजले गर्दा भएहोला भनेर अहिले अनुमान गर्ने गर्छु ।

हुन त तराइ समुदायको विवाहमा सामेल भएको यो विवाह पहिलो थिएन । म ६ कक्षामा पढ्दा बुवाका एक कुर्मी जिम्दारको छोराको विवाहमा तौलिहवादेखि करिव तीन किलोमिटर पूर्वको गाउँमा पुगेको थिएँ । उक्त विवाहबाट फर्किएपछि टाइफायड भएर म ६ महिना विरामी भएको थिएँ । त्यहाँको पानी दुषित भएर नै होला । ब्लड कल्चर गरेर जाच्ने पद्धति  सुलभ नभएको हुनाले टाइफाइडका कारण म त्यत्ति लामो विरामी परेको भन्ने अहिले लाग्छ ।

बुवा धार्मिक भावनाका कारण स्वयं पाक्य (अरूले पकाएको नखाने) भएको हुनाले जन्ती जान आफ्नो सट्टा मलाइ नै पठाउनु हुन्थ्यो । बुवा र आमाले आफू दुई  जनाले भन्दा अरूले छोएको दाल भात खानु हुन्थेन । तर, शुद्ध गरी पकाएको रोटी तरकारी भने अरूले पकाएको पनि खानु हुन्थ्यो । आमाले अहिले सम्म पनि त्यो चलन कायम नै राख्नु भएको छ । जस्तो चेतना स्तर, उस्तै विचार हुने हुनाले त्यसै अनुसार भएको ब्यवहारलाइ अन्यथा मान्न सकिन्न । तर, मेरो विचारमा जातभात र छुवाछुतको प्रचलन बसाइएको वेदको श्लोकको गलत ब्याख्या हुनाले यो चलन बसेको हो ।

ब्राह्मणोऽस्य मुखमासीद्बाहू राजन्यः कृतः ।
ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोऽजायतः ॥
(ऋग्वेद संहिता, मण्डल 10, सूक्त 90, ऋचा 12)

मान्छेले अपनाएको पेशाले जात निर्धारण गर्छ भन्ने अर्थ लाग्छ । तर, हाम्रो समाजमा यो श्लोकलाइ 'जन्मबाटै जात निर्धारण हुन्छ' भन्ने ब्याख्या गरेर जात ब्यवस्थाको प्रचलन बसाइएको छ । यो विषयमा मैले संस्कृत ब्याकरण पढेका मित्रसंग पुष्टि पनि गरेको छु । लिपी विकास नहुँदासम्म गुरूबाट सुनेर र कण्ठ पारेर पढिने हुनाले मुखबाटै गरिने पढाइ तथा पण्डित्याइँ काम गर्ने ब्यक्ति बाहुन भन्ने अर्थ लाग्छ । उदाहरणको लागि प्रोफेसरको सन्तान स्वतहः टिचर हुँदैन । ज्ञान हासिल गरेपछि पढाउने पेशा गरे मात्र प्रोफेसर हुने हो । हाम्रो संस्कृतिको जग नै यही श्लोकको गलत ब्याख्यामा अडिएकोले अव भने गल्ति सच्याउने समय भएको छ । ब्याकरणका गुरूहरू इमान्दारीताका साथ सुधारमा जुट्नुहुन अनुरोध छ ।

(अधिवक्ता बेल्वासे बेलायतमा बसोबास गर्छन्)

ad
ad ad