ad

बन्द हुने छैनन् तिम्रा यादहरु ...........’

ग्लोबल नेप्लिज संवाददाता
बिहीबार, बैशाख २३ २०७८
image

काठमाडौं : वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधनसँगै नेपाली सुगम संगीतको एक युगको अन्त्य भएको छ । समकालिन गायक तथा संगीतकार मध्येका पाका प्रधानको निधनले नेपालको सिंगो सांगीतिक आकाशमा फराकिलो रिक्तता थपिएको छ ।

बुढ्यौलीमा समेत युवा जोश र जाँगरका साथ गीत गाउने प्रधानको बिहीबार दिउंसो काठमाडौं सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।

छातीमा समस्या देखिएपछि एक साताअघि अस्पताल भर्ना गरिएका ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको हो ।

विक्रम सम्वत् १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मेका प्रधानले सात सय भन्दा बढी गीतहरुमा स्वर दिएका छन् । सुमधुर स्वरका धनी प्रधानलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

१६ वर्षको उमेरमा नै रेडियो नेपालमा गीत रेकर्ड गराएका प्रधानले  कैयौं कालजयी गीतहरु गाएका छन् । पछिल्लो पुस्ताका गायक तथा संगीतकारहरुका लागि प्रिय प्रेमध्वज प्रधान आगामी पुस्तालाई अजर अमर गीतहरु सुम्पेर परमधामतर्फ प्रस्थान गरेका छन् ।

प्रधानको निधनसँगै संगीत क्षेत्रका अगुवाहरुले नेपाली सांगीतिक क्षेत्रलाई ठूलो क्षति पुगेको बताएका छन् । ‘उनलाई सम्झना गर्ने थुप्रै कारण छन्, प्रमुख कारण उनले गाएका गीतहरु नै हुन्, उनको स्वर नै हो’, कवि तथा गीतकार डा. नवराज लम्सालले भने ।

अपूरणीय क्षति

पछिल्लो पुस्ताका लोकप्रिय गायक प्रमोद खरेलले भने, ‘नेपाली संगीत जगतमा अपूरणीय क्षति......।’  

जीवनकालमा प्रधानले सात सय भन्दा बढी गीतहरुमा स्वर भरे । तीमध्ये 'यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौं' लगायतका दर्जनौं गीत जनजनको मनमा बसेका छन् ।

कोभिड महामारीका बीचमा कर्णप्रिय स्वरका धनी प्रेमध्वजलाई भौतिक रुपमा बिदाइ गरिएको छ । उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेर उनको विदाइ गरियो ।

वरिष्ठ गीतकार राजेन्द्र थापाले उनलाई चढाइएको फूल र उनले गाएको गीतसहित प्रधानलाई श्रद्धान्जली दिए ।

‘पर लैजाउ फूलहरु

छोपीदेउ तारा जुन

बन्द गर गीतहरु

तिम्रा याद आउने सबै चिजहरु....’

अब प्रिय गायक प्रधान कसैलाई आँखा झिम्क्याउन घुम्तीमा आउने छैनन् । यो सत्य हो । तर, उनले भने झै आम नेपालीहरुको यादबाट भने उनि हराउने छैनन् ।

प्रिय गायक प्रेमध्वज प्रधान ! तिम्रा यादहरु बन्द हुने छैनन्......, तिम्रो अभाव खट्किइरहने छ ।

हामी सम्झिइरहने छौं, गुन्गुनाइरहने छौं, तिम्रो याद गरिरहने छौं । 

ad
ad ad