प्रत्येक क्रिशमसको लामो विदा हुने दिन शिक्षक कर्मचारीहरु सबै बाहिर आएर विद्यार्थीहरुलाई बिदाई गर्ने चलन रहेछ । करिब तीन बर्ष अगाडी यो विद्यालयमा मैले काम थालेको केहि हप्ता पछाडि नै यो रमाइलो दृश्य हेर्न र सामेल हुने अवसर मिल्यो । सबैले हातमा घण्टी लिएर विभिन्न क्रिशमसका पोशाक लगाएको प्रायः सबै शिक्षक शिक्षिकाहरु लाईन लागेर हात हल्लाएको दृश्य अति मनोरञ्जक लागेको थियो । बस, मिनी बस भित्र बसेका विद्यार्थीहरु पनि मच्चीमच्ची ठुलोठुलो स्वरमा ‘मेरी क्रिशमस’ भन्दै हात हल्लाउदै जान्थे । विशेषत बस चलाउने ड्राईभरहरु हर्न बजाएर बहुतै रमाइलो गर्थे । लाग्थ्यो यो अति राम्रो चलन हो । पछिल्ला दुईवर्ष मेरो काम गर्ने पालो नहुंदा के के मिस गरे जस्तो लागि रहन्थ्यो ।
आज पनि अनिश्चितकालिन् विद्यालय बन्द हुने दिनमा बिदाइ भयो । विश्वभरि फैलिएको कोरोना भाईरस फैलिनबाट रोक्न सरकारले आउदो सोमबार देखि बन्द गर्ने निर्णय गर्यो । यो अन्तरराष्ट्रिय विद्यालय भएको हुँदा धेरै देशका विद्यार्थीहरु अध्ययन गर्दछन् । हिजो शुक्रबार पढाई सकिए पछि क्रिशमसमा झै बिदाईका लागि सबैजना लाइनमा उभियौ । तर यो खुशीको बिदाई थिएन । सवैका मलिन अनुहार थिए । मन नलागी नलागी फेरी भेटौला भन्दै हात हल्लाई रहेका थिए । प्राय आँखाहरु रसाएका थिए, शिर झुकेका थिए । कोही त हिक्हिकाउँदै पनि थिए । बस, मिनी बस भित्रका विद्यार्थीहरु पनि खासै उत्साहित थिएनन् भोलिदेखि स्कुल आउन नपरेकोमा । धेरै जसोले बस भित्रबाट मुन्टो नउठाएर हात मात्रै हल्लाई रहेका थिए ।
हामी सबैले सबैलाई आफ्नो राम्रो हेरचाह गरौँ, फेरि भेटौंला भनि रह्यौं । ड्राईभरहरुसंग हेडमास्टरले लामो समय नलाग्ला छिट्टै भेट्न पर्छ भन्दै थिए । म पनि छिटै भेटौं भन्दै रहें । गाडी चालकहरु महिला पुरुषहरु बराबर छन् । तर उमेर धेरै भएकाहरु पनि छन् । प्रत्येक दिन छुट्टिंदा भोलि भेटौंला भन्ने चलन नै छ । करिब चालिस जना चालकहरुमध्ये एकजना अलि बढी उमेर पुगेकाले जहिले पनि फेरी भेटौला भन्यो कि हाँस्ने गर्दथ्यो । कहिले भोलि बिहान उठियो भने भेटिन्छ भन्थे, कहिले के ठेगान भयो र? भन्थे ,कहिले पक्का हो ? भोलि भेटिन्छ र ? भन्ने जस्ता भाव व्यक्त गर्ने गर्दथे । मलाई उनको भनाइले भोलि कहिल्यै आउंदैन, आज नै बाँच्ने हो भन्ने यथार्थले झकझकाइ रहन्थ्यो । कसलाई के थाहा र आज गुडनाइट भनेर सुत्दा भोलि गुडमर्निङ्ग भन्न पाइएला कि नपाइएला !
एकजना महिला चालक थिइन्, साह्रै रमाइलो स्वभावकी मेरै हाराहारिकी ! जहिल्यै देख्ने बित्तिकै साहैं खुसी भएर सबैसँग हाई हल्लो भनि हाल्थिन् । एकछिन गाडी रोकेर भएपनि सबैसँग बोल्ने गर्थीन् । आज भोली उनलाई देख्न छाडेको धेरै भयो । मैले अरु साथीहरुलाई सोधे, विचरा उनको दिमागको अपरेशन गरेको कारण अब गाडी चलाउन नपाइने भइछन् । उनको त्यो हँसीलो चम्किलो अनुहार सम्झना भिज्नेगरी उनीइरहे ।
कोरोना महामारीले गर्दा कसलाई कतिबेला कति बेला रोग लाग्ने हो चिन्ताको विषय बनेको छ । विशेषतः युरोपका प्राय सबै देशमा यो रोगले पिरोली रहेको छ । दिनानुदिन धेरै संख्यामा मृत्यु हुनेहरुको संख्या बढी रहेको छ । विद्यालय खुले पछि यी हल्लाइएका कति हातहरु देख्न नपाइन पनि सक्नेछ । त्यहि गाडी चलाउने उही ड्राइभर पनि नहुन सक्छ । विशेषत: स्वास्थ्य अवस्था कम्जोर भएकाहरुले फेरि यो विद्यालय देख्न नपाइने पनि हुनसक्छ। यी र यस्तै विविध सोचले घर बनाउँन थाले । बिदाइको हुने जमघट साह्रै असहज महशुस हुन थाल्यो । अन्तिम बिदाइमा ककसले कसलाई हात हल्लाइ रहेको जस्तो, भोलि भेटौंला भने पनि अब कहिल्यै भेट हुन नसक्ने पक्का भए जस्तो । कतै आफैले पनि यो दृश्य फेरि देख्न नपाइने हो कि ? यी र यस्तै तर्कना सहित हल्लाइएका हातहरु अनायासै बन्द भए । बेग्लै भावनाले निकै भावुक बनायो । धेरैबेर सम्म खिन्न भइरहे । मर्नु बाँच्नु त खै कस्को रहर होला ? जे भएपनि सहनै परयो भोग्नै पर्यो । आफ्नै बिदाइमा हल्लाइएका ति हातहरु, खुलेर हास्न नसकेका ति मुहारहरु फेरि अर्काे क्रिशमसमा खुशी साथ छुटिने रहर जागि रह्यो । कसैलाई पनि यो रोगले हामीबाट नछुटावोस् । मान्छे हुनुको नियति र गर्न सक्ने कामना बाहेक म सँग केही थिएनन् । मैले पनि उसैगरी सबैलाई बिदा गरे । फेरि आउने भोलि लाई साँचेर । भोलि पछि आउने अर्को भोलि सम्झेर ।
(अधिवक्ता श्रेष्ठ बेलायतमा बसोबास गर्छन् । )