ad

वर्ष २०७७ : आधा वर्ष बन्दाबन्दीमा बित्यो, आधा बित्यो गन्जागोलमा

नारायण अर्याल
बुधबार, बैशाख १ २०७८
image

काठमाडौं : बुधबार बिहानको सूर्योदयसँगै आम नेपालीको नयाँ वर्ष विक्रम सम्वत् २०७८ आरम्भ भएको छ । सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गरी संसारभर रहेका नेपालीहरुले नयाँ वर्षको स्वागत गरिरहेका छन् ।

खासगरी विक्रम सम्वतमा  आधारित पात्रो (पाञ्चाङ्ग पात्रो) अनुसार, हरेक वर्ष बैशाख १ बाट नयाँ वर्ष आरम्भ हुन्छ । विक्रम सम्वत् नेपालको सरकारी पात्रो पनि हो । नेपालभित्र मात्रै नभई भारतसहित दक्षिण एसियाका केही मुलुकमा रहने हिन्दू धर्मावलम्बीहरुले पनि बैशाख १ लाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

भनिन्छ नि, मानिस परिस्थितिको दास हो । तर, जसले परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्छ, उसले कहिल्यै हार खेप्नु पर्दैन । परिस्थितिसँग मुकाविला गर्न नसक्नेले दोष पनि समयलाई दिने प्रचलन छ । यथार्थ के हो भने भविष्य सपार्न वर्तमानमा मेहनत गर्नुपर्छ र विगतबाट शिक्षा लिनुपर्छ । भर्खरै बिदा लिएको वर्ष २०७७ ले भने आम नेपालीमाझ  नराम्रो छाप छाडेर गएको छ, जुन छाप मेट्न अझ वर्षौ मेहनत गर्नुपर्ने भएको छ ।

महामारीको वर्ष

संयोग यस्तो रह्यो कि, वर्ष २०७७ बन्दाबन्दी (लकडाउन) बाट शुरु भयो र अन्त्य पनि बन्दाबन्दीकै चर्चासँगै भयो । ११ चैत २०७६बाट शुरु भएको बन्दाबन्दीले आधा वर्ष खायो । आम मानिस उकुसमुकुसका बीच समय बिताउन वाध्य भए ।

लकडाउनले मान्छेलाई घरभित्र मात्रै थुनेन, मानिसका आशा, योजना र अपेक्षालाई पनि मनभित्रै थुनिदियो । बनाइएका अनेकन योजना देखिन, देखाउन, हेर्न, हेराउन, सुन्न र सुनाउनसमेत नपाई बिलाए ।

कोरोइना भाइरस अर्थात कोभिड १९ महामारीको चपेटामा नेपाल नराम्ररी पिल्सियो । २०७२ सालको महाभूकम्पले दिएको पीडा बिस्तारै भुल्दै जाँदा कोभिड महामारीले मानिसलाई यसरी थला पारिदियो कि उठ्न वर्षौं लाग्ने बनाइदियो ।

नेपालमा वर्ष २०७७ मा कोभिड महामारीले उत्कर्ष रुप धारण गर्यो । ३ हजार भन्दा बढी मानिसको इहलिला समाप्त पारिदियो भने हजारौं परिवारलाई कहिल्यै भुल्न नसकिने पीडा दियो । वर्ष २०७८ शुरु हुँदै गर्दा फेरि टाउको उठाएको महामारीले आम मानिसमा नयाँ वर्ष पनि पीडादायी हुने हो कि भन्ने त्रास थपिदिएको छ ।

हजारौं उद्योग बन्द भए । उद्योग नै बन्द भएपछि त्यसका कामदारको हातमुख जोड्ने बाटो खुला हुने कुरै भएन । आर्थिक विकासतर्फ बामे सर्दै गरेको मुलुकले खर्बौं बराबरको क्षति ब्यहोर्नु पर्यो । विस्तारै निम्न मध्यम वर्गाीय समाजमा उक्लिँदै गरेका हजारौं परिवार फेरि गरिबीको रेखामुनी खस्न बाध्य भए । अवस्था यस्तोसम्म आयो कि एक छाक खाना खान नपाएर राजधानी नजिकैको कीर्तिपुरमा गरिखाने मजदुरको ज्यान गयो ।

वैदेशिक रोजगारीमा गएका लाखौं युवा रित्तो हात फर्किए । उनीहरु रित्तै फर्किएपछि आश्रित परिवारको अनुहारमा हाँसो होइन, आँखाबाट आँशु निस्किए ।

उपचार नपाउनु र पाए पनि महंगो शूल्क तिर्न पर्नु नेपालीको वाध्यता नै हो । वर्ष २०७७ ले यसलाई पुनः पुष्टि गरिदियो । स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो र सेवा दिनु राज्यको दायित्व हो भन्ने तथ्य यसै वर्ष मिथ्या जस्तै भयो ।

कोभिड महामारीले नछोएको जीवनको कुनै पनि पक्ष छैन । मानवका हरेक पक्षलाई एकसाथ प्रभावित पार्ने यस्तो महामारी अब कहिल्यै पनि देख्न र भोग्न नपरोस् भन्ने आम मानिसको अपेक्षा छ ।

जब मुलुकका नागरिक कुनै पनि महामारीबाट आक्रान्त हुन्छन्, उनीहरुको आशा सरकारप्रति रहन्छ । अन्तिम अभिभावक सरकार नै हो भन्ने अपेक्षा हुन्छ । तर, सरकार भने आफैं बिरामी बन्यो ।

मुलुक कोभिड महामारीले रन्थनिइरहेका बेला सरकार भने आफै भित्रको रोगले छट्पटाइरह्यो । सत्तारुढ नेकपामा सल्केको विवादको आगोले सिंगो मुलुकको राजनीतिमा  नै डेढेलो लगाइदियो ।

दाउपेचको राजनीति

अस्थिर राजनीति नेपालको पुरानो रोग नै हो । त्यसैले नयाँ संविधानले स्थिरताको कल्पना गर्यो । संविधानको यो कल्पनालाई २०७४ को निर्वाचनले साथ दियो । अझ दरिलो साथ त तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणले दियो । चुनावमै गठबन्धन गरेका यी दुई दलबीच चुनावपछि एकीकरण भयो र नयाँ दल बन्यो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

संसदमा झण्डै दुई तिहाई सिट संख्या रहेको यो दलसंग  पाँच वर्ष आफूखुसी शासन गर्ने म्याण्डेट थियो । तर, वर्ष २०७७ शुरु भएसँगै नेकपामा विवादको आगो सल्क्यो । २०७७ बैशाखमा सरकारले जारी गरेको राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेशले सर्वशक्तिमान नेकपालाई झण्डै झण्डै गलाइसकेको थियो । तीव्र विवादका कारण दुवै अध्यादेश फिर्ता भएपछि नेकपामा फैलिन लागेको विवादको आगो मत्थर भयो ।

त्यतिबेलाको विवादको आगो मत्थर त भयो, तर, निभेको रहेनछ । २०७७ मंसिरमा फेरि नेकपामा विवादको आगो दन्किन थाल्यो । नेकपा भित्रै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कमजोर देखिन थाले । अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका मुख्य नेताहरुले ओलीमाथि निरन्तर प्रहार गरिरहे । ओली पनि के कम ? आफूविरुद्ध उठेका आवाजलाई सम्बोधन गर्नुको सट्टा ओली आफ्नै पारामा अगाडि बढ्न थाले । जब विवाद उत्कर्षमा पुग्यो, ओलीले ५ पुसमा प्रतिनिधिसभा नै विघटन गरिदिए ।

ओलीको यो कदमले नेकपा विभाजित अवस्थामा मात्रै पुगेन, राजनीतिक स्थिरताको कल्पना गरेको संविधानमाथि नै प्रहार भयो । नेकपामा कारबाही र निष्काशनको खेल भइरहेको थियो, ११ फागुनमा सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभालाई पुनर्स्थापित गरिदियो ।

प्रतिनिधिसभा विघटन नै मुलुकका लागि एउटा अकल्पनीय संकट थियो, जब प्रतिनिधिसभा पुनर्स्थापना भयो समाधानको सट्टा अर्को समस्या उत्पन्न भयो । ओलीले सत्ता छोड्दै नछोड्ने, उनकै सहयात्रीहरुले उनलाई सत्तामा देख्नै नसक्ने अवस्था सिर्जना भयो ।

नेकपामा को बलियो भन्ने रस्साकस्सी चलिरहेकै थियो, को आधिकारिक भन्ने गणितीय खेल भइरहेको थियो, ठीक त्यसैबेला २३ फागुनमा सर्वोच्च अदालतले अर्को अप्रत्याशित फैसला गरिदियो– नेकपा एकता नै बदर । सत्ता र शक्तिका लागि भिडन्त गरिरहेका नेकपाका नेताहरुलाई अदालतले पुरानै एमाले र माओवादीमा फर्काइदियो । शक्तिशाली पार्टी नेकपा नै रहेन । नेकपा नै नरहेपछि सत्ता राजनीतिको ‘कोर्ष’ पनि बदलियो ।

संसदको ठूलो दल एमाले । अध्यक्ष छन् ओली । ओलीले आफ्नै नेताहरुमाथि भटाभट कैंची चलाइरहेका छन् । ओलीले नै नेतृत्व गरेको दल एमाले यतिबेला तीन चिरामा विभाजित अवस्थामा छ । प्रभावशाली मानिने माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायतका नेताहरु समानान्तर संरचना निर्माणमा व्यस्त छन्। उपाध्यक्ष बामदेव छुट्टै धारको नेतृत्व गरिरहेका छन् । नयाँ सत्तासमीकरणको प्रक्रियालाई एमाले भित्रको विवादले पनि नराम्ररी गाँजेको छ ।

संख्याको हिसावले कमजोर रहेपनि कांग्रेस प्रतिपक्षी दल हो । पहिले ठूलो दल नेकपामा रहेको एउटा समूह (माओवादी) अहिले तेश्रो दलको रुपमा संसदमा उपस्थित छ । कांग्रेस र माअ‍ोवादी मिल्दा पनि नयाँ सरकार गठनका लागि संख्या नपुगेपछि निर्णायक शक्तिका रुपमा उदाएको छ, जनता समाजवादी पार्टी ।

जसपाले अहिले च्याँखे थापिरहँदा ओलीको बहिर्गमन र नयाँ सत्ता समीकरण नै अनिश्चित बनिरहेको छ । चलाख ओली जसपा फकाउने दाउमा लागिरहेका छन् भने कांग्रेस र माअ‍ोवादीले जसपाकै आश गरिरहेका छन् ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा र जसपाले आधिकारिक निर्णय नगर्दा तीन वर्ष अलमलमै बिताएको कांग्रेस रनभूल्ल अवस्थामा छ । 

सदाबहार विवादको घरको रुपमा परिचित कांग्रेसले पछिल्लो चार महिना पनि विवादै विवादका बीच बिताएको छ । संसद पुनर्स्थापना वा निर्वाचन, सरकारमा सहभागी हुने वा नहुने, सरकारको नेतृत्व गर्ने वा नगर्ने कांग्रेस रुमल्लिएका विवाद यिनै हुन् । बल्ल बल्ल वर्षान्ततिर नयाँ सरकारको नेतृत्व लिने निर्णयमा पुगेको कांग्रेस प्रधानमन्त्री ओलीको चलाखीका अगाडि रित्तो हात हुने संभावना बलियो देखिएको छ ।
नाम सहयोग, काम हस्तक्षेप

अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिले वर्ष २०७७ मा नाफा भन्दा घाटा धेरै देखियो । दुई ठूला शक्ति राष्ट्रको बीचमा रहेको नेपाल राजनीतिक रुपमा पनि दुई छिमेकीको चेपुवामा पर्यो । कम्युनिष्ट पार्टीहरुबीचको एकतामा सघाएको उत्तरी छिमेकी चीनले यसैवर्ष देखिनेगरी नेपालको सत्ता राजनीतिमा हस्तक्षेप गर्यो ।

विगतमा आन्तरिक विषय भन्दै पन्छिने चीन यसपटक यसरी नांगियो कि चीनले नेपाललाई अर्को छुट्टै मुलुक भन्दा पनि चिनिया कम्युनिष्ट पार्टीकै एउटा विभागले सन्चालन गरिरहेको मुलुकका रुपमा चित्रित गरिदियो ।

चीनको हस्तक्षेप नियालीरहेको भारतले पनि खेल्न किन बाँकी राख्थ्यो र ? प्रधानमन्त्री ओलीलाई विश्वासमा लिएर उसले काम फत्ते गरिदियो । नेपालको पछिल्लो राजनीतिक अवस्थामा परिवर्तनलाई भारतको खेलको रुपमा बुझिएको छ । यत्ति मात्रै होइन, भारतको सल्लाहमा नै प्रधानमन्त्री ओलीले राजनीतिक कदम चालेको भन्दै ओलीको राष्ट्रवादी चरित्र पनि उदांगो भएको कतिपयको विश्लेषण छ ।

चुच्चे नक्शा जारी गरेर ओलीले कमाएको वाहवाही भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसँगको एउटै भेटले चैट पारिदिएको छ ।  

मुलुक राजनीतिक रुपमा जति गन्जागोल अवस्थामा पुगेको छ, विकास निर्माणको अवस्था पनि उत्तिकै अस्तव्यस्त छ । केही पुराना र वर्षौंदेखि चल्दै आएका आयोजनामा प्रगति देखिएपनि दूरगामी महत्वका कुनै पनि आयोजना आरम्भ हुन सकेका छैनन् । देखाउने भन्दा पनि सुनाउने अभिप्रायले सरकारले केही कामको घोषणा गरेपनि ती  समयमै  पुरा हुनेमा धेरैको आशंका छ  ।

तीतो बिर्सौं : मिठो कल्पौं
 

आर्थिक विकासको दृष्टिले नेपाल संभावनाले भरिएको मुलुक हो । दृढ इच्छाशक्ति हुने हो भने नेपालले तीव्र गतिमा आर्थिक वृद्धिदर हासिल गर्न सक्छ । ‘कालो बादलमा चाँदीको घेरा’ भने झैं यही अस्थिरता र अनिश्चयका बीच पनि संभावनाका ढोका खोल्न सकिने धेरैको विश्वास रहेको छ ।

धेरै दृष्टिले वर्ष २०७७ बिर्सन लायक रह्यो । यो तीतो अनुभवबाट मिठो शिक्षा लिँदै वर्ष २०७८ लाई स्वागत गरौं । नयाँ वर्ष सोंचे जस्तो होस्, शुभ होस्, सबैलाई शुभकामना ।

ad
ad ad