ad

एमाले अर्थात् ओमाले, मामाले र बामाले

नारायण अर्याल
आइतबार​, चैत्र २२ २०७७
image

काठमाडौं : नेपाली राजनीतिमा एउटा भनाइ छ, अरु पार्टी फुटे दुई चिरा, कम्युनिष्ट फुटे तीन चिरा । अहिले मुलुककै सबैभन्दा ठूलो दल नेकपा एमालेमा आएको विभाजोन्मुख विवादले यसलाई पुष्टि गरेको छ ।

झण्डै तीन वर्षपछि ब्युँतिएको एमाले यतिबेला राजनीतिक चर्चा र सरगर्मीको केन्द्रमा छ । समकालिन राजनीतिक दलहरुमध्ये पार्टीको नेतृत्व गरिसकेका सबैभन्दा बढी नेताहरु रहेको दल हो एमाले । त्यतिमात्रै होइन, प्रधानमन्त्री र दुई दुई जना पूर्वप्रधानमन्त्री सम्मिलित दल पनि हो एमाले ।

पुरानो पृष्ठभूमि

जतिबेला नेकपा एमाले बन्यो, पार्टीमा त्यति बेलादेखि नै विवाद थियो । तत्कालिन मार्क्सवादी  र मार्क्सवादी -लेलिनवादीबीच एकता भई बनेको एमाले शुरुका केही वर्ष साच्चिकै एकीकृत रहे पनि मदन भण्डारी र मनमोहन अधिकारीको निधनपछि एमाले आन्तरिक रुपमा एकीकृत रहन सकेन ।

महाकाली सन्धिको निहुँमा यसअघि नै विभाजित भइसकेको भएपनि बामदेव गौतमसहितका नेताहरु पुनः एमालेमै फर्किएपछि एमालेले आफूलाई एकीकृत दल नै ठानीरह्यो । राधाकृष्ण तथा सीपी मैनाली जस्ता हस्ती नेताहरु बाहिरै हुँदा पनि मूलधारको ठूलो कम्युनिष्ट पार्टीको दावी  उसको रहिरह्यो ।

पार्टीका समकालिन नेताहरुमध्ये नेतृत्वका हिसाबले माधवकुमार नेपाल लामो समय सबैभन्दा शक्तिशाली नेताका रुपमा रहे । त्यसअगावै पार्टीको नेतृत्व गरिसकेका झलनाथ खनाल शक्ति संघर्ष र जोडघटाउकै क्रममा थिए । तर, जब महाकाली सन्धि  भयो, केपी शर्मा ओली पार्टीमा एकाएक शक्तिशाली नेताको रुपमा उदाउन थाले । नवौं महाधिवेशनमा अध्यक्ष निर्वाचित भएपछि ओलीको शक्ति यसरी चुलियो कि उनी भन्दा अगाडि नै नेतृत्व गरिसकेका नेपाल र खनाल छायाँमा पर्न थाले । ओलीले आन्तरिक र राष्ट्रिय राजनीतिको शक्ति मात्रै आफूमा समाहित गरेनन, नेपालको राजनीतिमा गहिरो प्रभाव राख्ने छिमेकीको सद्भाव पनि प्राप्त गर्न सफल भए  ।

ओलीको शक्ति चुलिँदैै गएकै बेला २०७५ जेठ ३ मा दुई ठूला कम्युनिष्ट घटक (तत्कालिन एमाले र माओवादी केन्द्र) बीच एकीकरण भयो । एकीकरणले अन्य नेताहरुको तुलनामा ओलीकै शक्ति थप गर्यो । संसदमा झण्डै दुई तिहाई, पार्टीमा सर्वेसर्वा ओलीका लागि कतै अवरोध रहेन । ओलीमा रहेको शक्ति सन्तुलन गर्न अर्का अध्यक्ष पुष्पकमल दाहालले पटक पटक प्रयास गरे, तर सफल हुन सकेनन् । जब माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमहरुले दाहाललाई साथ दिए, ओलीले आफ्नै शक्ति परीक्षण गर्ने अवसर पाए ।

पछिल्लो पृष्ठभूमि

ओली पार्टीमा कमजोर हुँदै गएको अनुमान गरिएकै बेला गत ५ पुसमा उनले संसद (संघीय सदन अन्तर्गत प्रतिनिधिसभा) नै भंग गरिदिए । ओलीको उक्त कदमसँगै नेकपा दुई चिरा बन्यो । पार्टी भित्रै ओली अल्पमतमा देखिए । केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ ओलीको शक्ति संकुचित बन्यो ।

सर्वोच्च अदालतले ११ फागुनमा ओलीको कदमलाई बदर गरिदिएपछि त उनी साँच्चिकै निरीह  जस्तै भएका थिए । उनकै पार्टीमा आधिकारिकताको विवाद जारी रहेका बेला २३ फागुनमा सर्वोच्चले अर्को मुद्दामा फैसला सुनायो, जुन फैसलाले निरीह बनेका ओलीलाई फेरि शक्तिशाली बनाइदियो ।

झण्डै तीन वर्षअघि दुई कम्युनिष्ट घटकबीच भएको एकता सर्वोच्चले बदर गरिदिएपछि दाहाल आफ्नो पुरानै पार्टी सम्हाल्न पुगे । ओलीले एमाले सम्हाल्न थाले । तर, त्यसअघिका करिब दुई महिनाको विवादमा दाहालसँगै रहेका माधव नेपाल, झलनाथ खनालसहितका नेताहरु भने न यता न उताको अवस्थामा पुगे ।

ओलीले चलाएको कैंची

एकाएक शक्तिशाली बनेका केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनाल तथा उनीहरुको पक्षमा रहेका नेताहरुलाई कारबाही गर्ने मौका खोजिरहेका थिए । एमालेमै फर्किन वाध्य नेपाल–खनाल समूहलाई उनले रिस फेर्ने योजना बनाए । २८ फागुनमा एमाले केन्द्रीय समितिको नाममा गरिएको भनिएको निर्णय त्यसैको आधार थियो । ७ चैतलाई केन्द्रीय समितिको बैठकको मिति तोकेर एक साता अघि नै अर्को समूहका नेताहरुको जिम्मेवारी खोस्ने ओलीको निर्णयले अहिले एमाले तीन चिरामा बाँडिएको छ ।

ओलीले नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिसकेका छन् । चार नेतालाई निलम्बन गर्ने ओलीको निर्णयले नेकपा एमाले अनौपचारिक रुपमा विभाजित भइसकेको र त्यसको औपचारिक घोषणा मात्रै हुन बाँकी रहेको आकलन  गरिएको छ । नेपाल समूहकै नेताहरु अब ओलीसँग एउटै पार्टीमा बस्न नसकिने र त्यसका लागि नयाँ विकल्प खोज्नुपर्ने भन्दै त्यसको तयारीमा लाग्न नेपालसहितका नेताहरुलाई आग्रह गरिरहेका छन् ।

छुट्टै स्थायी समितिको बैठक बसी देशव्यापी रुपमा जाने निर्णय गरेको नेपाल समूहले पार्टीका सबैै निकायमा समानान्तर समिति गठन गर्ने तयारी गरेको छ । यसअघि नै महिला संघ, अनेरास्ववियू र युवा संघमा छुट्टै केन्द्रीय समिति बनाइसकेको नेपाल समूहले अब पार्टीका सबै संरचनामा समानान्तर समिति निर्माणको तयारी थालेको छ । यो तयारी छुट्टैै पार्टीको अभ्यास रहेको कतिपय नेताहरुको भनाइ छ ।

मौन गौतम

ओलीद्वारा जिम्मेवारी खोसिने नेताहरुको सूचीमा बामदेव गौतम पनि छन् । नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम पार्टीमा सबैभन्दा वरिष्ठ उपाध्यक्ष थिए । तर, ओलीले महाधिवेशनको नाममा उनको पनि जिम्मेवारी खोसेका छन् ।

गत महाधिवेशनदेखि पार्टी एकतासम्मको प्रक्रियामा ओलीका एक हस्तीका रुपमा रहेका गौतम विस्तारै ओलीसँग असहमत हुँदै गए । तत्कालिन नेकपामा देखिएको विवादमा दाहाललाई साथ दिएपछि गौतम पनि ओलीको निशानामा परे । ओलीले जिम्मेवारी खोसिदिएपछि गौतम पनि ओलीसँग रुष्ट छन् । उनले केही नेताहरु लिएर तेश्रो धारको नेतृत्व गरिरहेका छन् । ओलीको कदमविरुद्ध नेपालको नजिक रहेपनि उनले नेपाल समूहमा आबद्धता जनाइसकेका छैनन् ।

एमाले एउटा पार्टी रहेपनि त्यस भित्र अहिले तीन वटा पार्टीको अभ्यास हुन थालेको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व नेपालले गरेका छन् । त्यस्तै, तेश्रो समूहको नेतृत्व गरेका छन्, गौतमले । पार्टी भित्रै एक समूहले अर्को समूहलाई छुट्टै नामले चिन्ने चिनाउने पनि गर्न थालेका छन् । ओलीले नेतृत्व गरेको एमालेलाई ओमाले, नेपालले नेतृत्व गरेको एमालेलाई मामाले र गौतमले नेतृत्व गरेको एमालेलाई बामाले भन्न थालिएको छ ।

अब के होला ?

तत्कालिन नेकपामा विवाद उत्पन्न गराउने र अहिलेको एमालेमा विवाद उत्पन्न गराउने शक्ति एउटै रहेको विश्लेषकहरुको दावी  छ । जसरी पनि ओलीलाई शक्तिमा राखिरहन चाहने शक्तिले निरन्तर विवाद सिर्जना गरिरहेको हो । नेपालको चुच्चे नक्शा सार्वजनिक गरेर वाहवाही कमाएका ओलीले विशेषगरी भारतीय शक्तिको आडमा  र योजना अनुसार नै आफ्ना कदम चालिरहेको आरोप पनि लाग्ने गरेको छ  ।

संसद विघटन र सर्वोच्चको पछिल्लो फैसलाका कारण दाहाल नेतृत्वको तत्कालिन माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किसकेको छ । माओवादी केन्द्रका केही नेताहरु भने ओलीसँग रहेका छन् । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका माओवादी नेताहरु अहिले एमाले भइसकेका छन् ।

तर, एमालेकै नेताहरु भने एमालेमा अटाउन सकेका छैनन् । ओली नेतृत्वको एमालेमा अटाउन नसकेका नेताहरुले एमालेकै ब्यानरमा सामानान्तर गतिविधि गरिरहेका छन् ।

कतिपय नेताहरुले यो गतिविधिलाई नयाँ पार्टीको अभ्यास भने पनि केही नेताहरुले भोलि पार्टीमा एकताको संभावना देखिएमा शक्ति सञ्चयको प्रयास पनि भनेका छन् । एकताको संभावना देखिए यही शक्तिकै आडमा भागबण्डा गरिने ती नेताहरुको दावी  छ ।

नेपाल समूह तत्कालै नयाँ पार्टी दर्ता गर्ने पक्षमा छैन । यो समूहले तत्कालै विधिवत विभाजनको घोषणा गर्ने तयारी पनि गरेको छैन । पार्टीको औपचारिक विभाजनका लागि संसदीय दल र केन्द्रीय समिति दुवैमा कम्तीमा चालीस प्रतिशत हिस्सा हुनुपर्ने वैधानिक प्रावधानका कारण नेपाल समूह अप्ठेरोमा छ ।

नेपाल समूह साविकको केन्द्रीय समिति (२ जेठ २०७५) मा बहुमत नजिक रहेपनि संसदीय दलमा भने निकै कमजोर अवस्थामा रहेको छ । सांसदहरुको संख्यामा ओली निकै बलिया छन् । तसर्थ संसद रहेसम्म नेपाल समूहलाई दल विभाजन गर्न अप्ठेरो पर्ने देखिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली आफू नेतृत्वको सरकारलाई नै अझै दुई वर्ष टिकाउने प्रयासमा छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा अल्पमतमा पर्ने ओलीले जनता समाजवादी पार्टीसँग सम्बन्ध सुधार गरिरहेका छन् । नेपाल समूह नबाहिरिएसम्म ओलीलाई सरकार टिकाउन जसपा पर्याप्त हुने छ ।

उता, कांग्रेस, माओवादी र जसपाबीच पनि सत्ता समीकरणको संभावना उत्तिकै बलियो छ । यी तीन दलले नयाँ सरकार गठनको सहमति गरी अगाडि बढेमा ओली प्रधानमन्त्रीबाट बाहिरिने छन् । नेपाल पक्षले यही अवस्थाको प्रतीक्षा गरिरहेको छ ।

ad
ad ad