ad

महामारीको एक वर्ष : विदेशमा ३५२ नेपालीको ज्यान गयो, ६७ हजार संक्रमित

ग्लोबल नेप्लिज संवाददाता 
मङ्गलबार, बैशाख ७ २०७८
image

काठमाडौं : कोभिड महामारीका कारण एक वर्षमा नेपाल बाहिर रहेका ३५३ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघद्वारा गठित स्वास्थ्य समितिले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा ३५२ जना नेपालीहरुको मृत्यु भएको जनाइएको हो । मृत्यु भएका मध्ये दुई सय बयालीस जना मध्यपूर्वका रहेका छन् ।

त्यस्तै, यही बीचमा ६६ हजार नेपाली कोभिड-१९ बाट संक्रमित भएका छन् । नेपाल बाहिर असी लाखको हाराहारीमा नेपालीहरु रहेको एनआरएनको अनुमान रहेको छ ।

वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले महामारीका दौरान २५० जना डाक्टर र नर्सहरु परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार, नेपाल बाहिर करिब पाँच हजार डाक्टर र पन्ध्र हजारको हाराहारीमा नर्सहरु रहेका छन् । ती सबै स्वास्थ्यकर्मीहरुलाई एनआरएनमा जोड्न आवश्यक रहेको डा. सापकोटाले बताए ।

डा. सापकोटाले विश्वभर रहेका नेपालीहरुलाई स्वास्थ्य सेवा र जानकारी गराउन भिन्न भिन्न क्षेत्रमा भिन्न भिन्न टोली गठन गरिएको जानकारी दिए । उनले सोही समयमा नै ‘कम्प्रिहेन्सिभ ग्लोबल टेलिहेल्थ प्रोग्राम’ शुरु गरेर औषधि र उपचारका बारेमा जानकारी गराएको बताए । उनले विदेशमा रहेका नेपालीहरुलाई कोभिड महामारी र त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराउन नेपाली भाषामा नै निर्देशिका प्रकाशन गरिएको पनि जानकारी गराए । telehealth@nrna.org  मा इमेल पठाएर परामर्श लिन सकिने एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।

सोही पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले महामारीको समयमा वास्तवमै ‘नेपालीका लागि नेपाली’ भन्ने नारा प्रमाणित भएको बताए ।

महासचिव शर्माले महामारीको दौरान ५० देशका तीन सय शहरमा पच्चीस सय स्वयम्सेवक परिचालन गरी सेवा प्रदान गरिएको जानकारी दिए । उनका अनुसार एनआरएनमार्फत एक लाख सत्तरी हजारलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गरिएको थियो ।

त्यस्तै, संघका संरक्षक एवम् पूर्व अध्यक्ष जीवा लामिछानेले विगतका अन्य विपद्मा जस्तै कोभिड महामारीका बेला पनि एनआरएनले नेपालीलाई सघाएको बताए ।  उनले संसारभर छरिएका स्वास्थ्यकर्मीले सामूहिक रुपमा सीमित श्रोत साधनबाट काम गरेको भन्दै प्रशंसा गरे ।

कोभिड महामारीविरुद्ध खोप प्रचलनमा आइसकेपनि चुनौतिहरु भने कायमै रहेको संलग्न चिकित्सकहरुले बताएका छन् ।

सँगसँगै मानसिक समस्या

कोभिड महामारीसँगै विश्वभर छरिएका नेपालीहरुमा मानसिक समस्याहरू देखिएको चिकित्सकहरुले बताएका छन् ।

समिति संयोजक डा. सापकोटासहित पत्रकार सम्मेलनमा विभिन्न देशबाट भर्चुएल माध्यमबाट सहभागी चिकित्सकहरुले मानसिक रोगको अवस्था चिन्ताजनक रुपमा देखिएको बताए । महामारीका कारण व्यापार व्यवसाय बन्द हुने, संक्रमित हुने तथा परिवारमै मृत्यु हुने, रोजगारी गुम्ने लगायतका समस्याले मानसिक समस्या बढ्दै गएको उनीहरूले बताए ।

मानसिक समस्या समाधानका लागि स्वास्थ्य समितिले तालिम सन्चालन गरेको समितिका संयोजक सापकोटाले जानकारी दिए । त्यस्तै, आत्महत्या रोकथामका लागि पनि कार्यक्रम सन्चालन गरिएको उनले जानकारी दिए । समितिमा नेपाल तथा विश्वका विभिन्न मुलुकहरुमा कार्यरत नेपाली चिकित्सकहरु रहेका छन्।

ad
ad ad