ad

‘रिङ ब्याक टोन’ले बचाएको नेपालको संगीत उद्योग

नारायण अर्याल
मङ्गलबार, बैशाख १४ २०७८
image

काठमाडौं : मुलुकमा माओवादी द्वन्द्व चढ्दो थियो । शहर र गाउँबीचको दूरी बढ्दो थियो । आर्थिक विकासको गति ओरालो लाग्दो थियो ।

प्रसंग २०५८-०५९ तिरको हो ।

२०५२ सालबाट शुरु भएको माओवादी सशस्त्र विद्रोहले २०५८ सालपछि नै आफ्नो ताकत देखाएको थियो । संकटकाल, कर्फ्यु, सर्च अपरेशन, भिडन्त समाचार यस्तैै यस्तै थिए । द्वन्द्वले चारैतर्फ असर गरिरहेको थियो । केही असर देखिने, सुनिने, पढिने र तत्कालै बुझिने थिए त केही असर नदेखिने गरी भित्र भित्रै फैलिएको थियो ।

हो, त्यही समयमा अदृश्य असरले घेरिएको थियो, नेपालको संगीत क्षेत्र । विशेषगरी संगीत उद्योग नजानिँदो तवरले धराशायी बनिरहेको थियो ।

..........

शहर होस् या  गाउँ । नेपाली गीत बजिरहेकै थिए । रेडियोमा, टेलिभिजनमा, सवारी साधनमा, मोबाइलमा अनि घरघरमा हुने टेप रेकर्डर र सिडी प्लेयरमा । टेप रेकर्डरमै क्यासेट राखेर गीत घन्काउँदै हिड्ने चलन पनि उस्तै थियो ।

गीत बजिरहेका हुन्थे । तर, क्यासेट बिक्न छाडेका थिए । संगीत उद्योगहरुले उत्पादन गर्ने गीति क्यासेटहरु बजारका पसलमै थुपारिन्थे । मान्छेका घर घरमा भने नयाँ नयाँ गीत घन्किन्थे । अचम्म थियो ।

नेपालमा सबैभन्दा बढी क्यासेट उत्पादन गर्ने म्युजिक नेपाललाई पनि अचम्म नलाग्ने कुरै भएन । क्यासेट बिक्री हुन थालेपछि कारण खोज्न थालियो । शुरुमै ठानियो, माओवादी द्वन्द्वको असर । मान्छेहरु शहर आउन पाएनन्, क्यासेट किन्न पाएनन् । त्यसैले क्यासेट बिक्री हुन छाड्यो ।

तर, जब अनुसन्धान तीव्र पारियो, खास कारण यो रहेनछ । ‘नेपालको संगीत त ‘डिजिटल’ क्षेत्रमा प्रवेश गरिसकेको रहेछ’ म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्माले त्यतिबेलाको कथा सुनाए ।

 म्युजिक नेपालको ‘इन्ट्री’

कुनै जमाना थियो, रेडियो नेपालमा मात्रै गीत रेकर्ड गरिन्थ्यो । नयाँ प्रतिभाहरुलाई रेडियो नेपालले स्वर परीक्षा लिने र प्रमाणपत्र दिने चलन त पछि सम्मै थियो । रेडियो रेकर्ड गर्थ्यो  र आफैँ बजाउँथ्यो ।

क्यासेट बनाउने र बिक्री गर्ने कम्पनीका रुपमा रत्न रेकर्डिङ स्थापना भयो । उसको व्यापार पनि खासै थिएन । नेपालमा नेपाली गीतका क्यासेट खासै बिक्री हुँदैनथ्यो । नेपाली गीति क्यासेटको बजार थियो, भारत । नेपाली मूलका भारतीयहरुले क्यासेट किन्थे र नेपाली गीत सुन्थे । सरकारले नै वर्षेनी बीस लाख अनुदान दिन्थ्यो । भएको एउटा कम्पनी नै बाँच्ने अवस्थामा थिएन ।   

No description available.

भएको एउटै कम्पनी पनि सरकारी अनुदानमा बाच्नु पर्ने अवस्थामा सरकारलाई उल्टै कर तिर्ने गरी स्थापना भयो, म्युजिक नेपाल । २०३९ सालमा त्रिपुरेश्वरका सन्तोष शर्माले गीत संगीतको क्यासेट उत्पादन गर्ने कम्पनी खोल्छु भन्दा धेरैले पत्याएनन् । ‘शुरुमा त मलाई केही मान्छेले पागल नै भने’ सन्तोषले त्यतिबेलाको अनुभव सुनाए, ‘मेरै परिवारले पनि मानेको थिएन ।’

उनको योजनालाई अन्य दुई जना साथीले पनि साथ दिए । आफूसहित तीन जनाले जनही एक लाख रुपैयाँ लगानी लगानी गरेर म्युजिक नेपालको स्थापना गरेको सुनाउँदा सन्तोष खुसी देखिन्थे ।

नेपालकै पहिलो (निजी क्षेत्रको) संगीत उद्योग म्युजिक नेपालले झण्डै चार दशक पार गर्न लागेको छ । म्युजिक नेपालको इतिहास जति लामो छ, त्यो भन्दा लामो छ, यसका संस्थापक सन्तोष शर्माको व्यावसायिक यात्रा ।

अनि लागे संगीत उद्योगमा

पृथ्वीनारायण शाहले कान्तिपुर कब्जा गरेपछि गोरखाको राजधानीलाई कान्तिपुरमै सारे ।

राजासहित दरबारका सबै अंग कान्तिपुर सर्यो । सन्तोषले आफ्नो थर शर्मा लेखे पनि उनी ‘खनाल’ परिवारका हुन् । पृथ्वीनारायण शाहको दरबारमा गोरखाका खनालहरु राजगुरु, पुरोहित थिए । केही राजगुरु राजासँगै कान्तिपुर सरे । शाह वंशीय राजाहरुसँग खनालहरुको सम्बन्ध निकै पुरानो छ । द्रव्य शाहले गोरखाको गद्दी सम्हाल्दा एक सहयोगी थिए, सर्वेश्वर खनाल । सन्तोष पनि गोरखाली खनालकै सन्तति हुन् ।

No description available.

तत्कालिन राणा प्रधानमन्त्री जंगबहादुरसँग विवाद बढेपछि सन्तोषका जिजुबुवाले दरबार छोडे । नेपाल पनि छाडे । उनको परिवार भारतको लखनउ बस्न थाल्यो र व्यापारमा हात हाल्यो । व्यापार नेपालसम्म फैलियो । व्यापारमा लाग्ने शृंखला हजुरबुवा, बुवा हुँदै सन्तोषसम्म कायमै रह्यो । यो परिवार फेरि काठमाडौं फर्कियो ।

२००९ सालमा जन्मेका सन्तोषले तेह्र वर्षको उमेरमा त्रिपुरेश्वरको विश्व निकेतन  स्कुलबाट एसएलसी पास गरे । पढाइमा  तीक्ष्ण सन्तोषले लगत्तै आइएस्सी र बिएस्सी गरे । स्नातकोत्तरका लागि भने नयाँ दिल्ली हानिए ।

२३ वर्षको उमेरमा ‘मास्टर्स’ गरेका सन्तोषले एक वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाए । ‘कान्छा प्राध्यापक’ सन्तोषले पढाउने कक्षामा केही विद्यार्थी उनकै साथी पनि थिए ।

अवसर पाउँदा पाउँदै पनि उनी त्रिविमा अल्झिएनन् । उनको मनमा ठूलो उद्योगपति वा प्रतिष्ठित व्यवसायी बन्ने हुटहुटी थियो । अनेक क्षेत्रमा हात हाल्ने प्रयास गरे । कतै सरकारको नीतिमा नपर्ने, कतै कर्मचारीले साथ नदिने ।

त्यही क्रमोमोा भेटिएका एक जना साथीले क्यासेट उत्पादनको ‘आइडिया’ दियो । यो आइडियाले उनको दिमाग छोयो । त्यही आइडियालाई उनले ‘म्युजिक नेपाल’ बनाए । ‘मलाई जसरी पनि उद्योग चलाउनुपर्ने थियो, त्यो चाहना म्युजिक नेपालले पूरा गरिदियो’ शर्मा सम्झनछन्  । संगीत यात्रामा उनले नभोगेको कुनै विषय छैन, नगरेको कुनै क्षेत्र छैन ।

म्युजिक नेपालका ती एल्बम

झण्डै चार दशक लामो संगीत यात्रामा म्युजिक नेपालले हजारौं प्रतिभा जन्माएको छ । गायक हुन् वा वाद्यवादक अथवा रचनाकार नै किन नहुन्, म्युजिक नेपालसँग नजोडिएका प्रतिभा शायदै होलान् ।

करिव तीन हजार एम्बम उत्पादन भए म्युजिक नेपालबाट । ‘सबैभन्दा सन्तुष्टि त स्वरसम्राट नारायण गोपालको गीति यात्राबाट मिलेको छ,’ सन्तोषको सन्तुष्टि देखियो ।

‘पानको पात’ आम नेपालीको जिब्रोमा झुण्डिएको गीत हो । यो गीतको एल्बम म्युजिक नेपालले नै निकालेको थियो । ‘जब पानको पात एल्बम निस्कियो, त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन’ सन्तोषले भने ।

No description available.

सबैभन्दा बढी बिक्री भएको एल्बम भने ‘वारि जमुना पारि जमुना’ हो । लोक गीत, दोहोरी गीत, आधुनिक गीत सबै विधाका गीति एल्बम निकालेको म्युजिक नेपालसँग चर्चित सयौ एल्बमको सूची छ ।

डिल्लीबजारको एउटा सानो कोठाबाट शुरु भएको म्युजिक नेपाल यतिबेला अनामनगरस्थित भव्य महलमा छ । थुप्रै कोठा ‘अर्काइभ’ बनेका छन् । नयाँ प्रतिभा स्थापित मात्रै भएका छैनन्, नेपालका मौलिक भाकाले पहिचान पाएका छन् । कैयौंले रोजगारी पाएका छन् ।

तर, एकाएक यसको व्यापार सुक्दै जान थाल्यो । गीत बज्छन्, तर, क्यासेट बिक्दैनन् । संगीत उद्योगको शिखरमा पुगेको म्युजिक नेपालको कारोबार ओरालो लाग्न थाल्यो ।

अरु साना कम्पनीहरु पनि थिए । कतिपय त ढोका बन्द गर्ने अवस्थामा पुगेका थिए । क्यासेट बिक्री नहुनुको कारण  मसिनो गरी नियालेका सन्तोषले जुक्ति निकाले । यूरोप र अमेरिकाको सगीत उद्योगका बारेमा राम्ररी ज्ञान भएका सन्तोषले सुक्दै गएको नेपाली संगीत उद्योगमा प्राण भर्ने अभियान शुरु गरे ।

त्यतिबेला नेपालमा नेपाल टेलिकमले मोबाइल सेवा भित्र्याउँदै थियो  । टेलिकमका प्रमुख थिए, सुगतरत्न कंसाकार ।

‘मोबाइल प्रविधिसँगै रिङ ब्याक टोन (आरबीटी) पनि राख्न मैले सुगतरत्न कंसाकारलाई अनुरोध गरेँ, उहाँले मान्नु भयो, त्यसले नै नेपालको संगीत उद्योगलाई जीवित राख्यो’ सन्तोषले लामो सास फेरे ।   

 यसरी भयो ‘डिजिटलाइज्ड’

 यूरोप र अमेरिकामा संगीत उद्योग कसरी अगाडि बढिरहेको छ भनेर अध्ययन गरिरहेका सन्तोषले आरबिटीको माध्यमबाट नेपाली संगीत उद्योगलाई बचाउने काम त गरे । तर, यो मात्रै पूर्ण थिएन ।

अब त सिंगो उद्योगलाई नै ‘डिजिटल प्लाटफर्म’ मा लैजानुपर्ने दबाब भयो, उनले भने, 'प्रविधिको विकासलाई त कसैले रोक्न सक्दैन नि ।'

समाज अगाडि बढिसकेको थियो । तर, नेपाली संगीत उद्योगसँग त्यस्तो प्रविधि थिएन । ‘पहिले हजारौं डलर खर्चेर ल्याएका मसिन कामै नलाग्ने भए’ उनले भने, अब फेरि नयाँ मसिन चाहिने भयो ।

अहिले दुनिया इन्टरनेटमा छ । मोबाइलमा छ । कम्युटरमा छ । टेलिभिजनमा छ । संगीतलाई पनि त्यही लैजानुपर्ने भयो, सन्तोषले ती ठाउँमा जाने बाटो खोजे ।

यूट्युबमा गीत हाल्न थाले । निकै चल्यो । म्युजिक नेपालको युट्यव च्यानल साठी लाख भन्दा बढीले सब्स्क्राइब गरेका छन्। अब युट्युवबाट पनि पैसा आउन थाल्यो । थला पर्नै लागेको म्युजिक नेपाललाई युट्युबले बचायो ।

सामाजिक सञ्जालको भरपुर सदुपयोग गरिरहेको म्युजिक नेपालले यतिबेला ‘एप’ मार्फत आफ्नो गीतको बजारीकरण गरिरहेको छ ।

‘मोमो’ मा नेपाली संगीत 

सबै नेपालीको जिब्रोमा झुण्डिएको खाजा हो, मोमो । रेस्टुरेन्टमा प्लेटमा पाइने मोमोको स्वाद जति मीठो हुन्छ, त्यति नै मिठो छ नेपाली संगीत ।

म्युजिक नेपालले हालै लन्च गरेको एप्सको नाम हो, मोमो ।

आइओएस र एन्ड्रोइड दुवैमा पाइने यो एपमार्फत म्युजिक नेपालले आम नेपाली र नेपाली संगीत प्रेमीलाई सांगीतिक खाजा पस्किरहेको छ ।

‘पचास रुपैयाँमा एक महिनाभर गीत सुन्न र डाउनलोड गरेर अफलाइन सुन्न र हेर्न पनि पाइने छ,’ सन्तोषले भने, यही एपबाट नेपाली सिनेमा पनि हेर्न पाउने व्यवस्था मिलाइएको छ ।

सामाजिक सञ्जाल, एप हुँदै आइपी टेलिभिजनसम्म म्युजिक नेपाललाई विस्तार गरेका सन्तोषलाई अझै  एक दुई वटा काम भने गर्नै परेको छ ।

प्रतिलिपिको संरक्षण र सम्मान

संगीत क्षेत्रमा लाग्नेहरुका लागि प्रतिलिपि अधिकारको ज्ञान हुनु आवश्यक छ । नेपालको संगीत क्षेत्रमा यसको पैरवी गर्नेमा सन्तोष एक मुख्य पात्र हुन् । उनकै योजनामा ‘कपिराइट प्रोटेक्सन सोसाइटी अफ नेपाल’ नामक संस्था बन्यो । त्यतिबेला उनी महासचिव थिए, अहिले अध्यक्ष छन् ।

यही संस्थाको पहलमा नै सरकारले २०५९ सालमा प्रतिलिपि संरक्षण ऐन ल्यायो । जुन ऐनले सर्जकहरुलाई ठूलै राहत प्रदान गर्यो । एकातिर आर्थिक राहत अर्कातिर सिर्जनाको सम्मान, यही अभियानले नेपालमा प्रतिलिपि अधिकारलाई  स्थापित गरिदियो ।

सांगीतिक क्षेत्रमा सन्तोषको योगदान सन्तोषजनक भन्दा अलि माथि छ । संगीत विद्यालयमा देखिएको उनको लगावले नेपाली सांगीतिक दुनियाँकै शिर उच्च  बनाएको छ । आँटेपछि गरिहाल्ने र नगरेसम्म पछि नहट्ने उनको स्वभाव सिंगो संगीत क्षेत्रलाई नै दरिलो आड बनेको छ ।

सन्तोष यत्तिमा अल्मलाएका छैनन् । ‘आर्ट अफ लिभिङ’ का एक असल अनुयायी उनी रोटरी क्लब मार्फत पनि समाजसेवामा सक्रिय छन् ।

अबको धोको

डिजिटल प्ल्याटफर्ममा प्रवेश गरेको म्युजिक नेपाललाई आत्मनिर्भर बनाउने उनको योजना सफलतातर्फ उन्मुख छ ।

तर, उनले नै शुरु गरेको संगीत विद्यालयले भने चाहे जसरी सफलता हासिल गर्न सकेको छैन । त्यसका लागि उनले सरकारी पक्षबाट अपेक्षाकृत सहयोग पनि पाएका छैनन् ।

‘गीत संगीतले देशलाई चिनाउने हो, संगीतले नै देशलाई धनी बनाउन सकिन्छ,’ उनको अभियान छ । सरकारले पाठ्यक्रम स्वीकृत गरिदिएपनि संगीत अध्यापनमा सहयोग गरेको छैन ।

आफ्नै बलबुतामा संगीत विद्यालय चलेको छ । उनी स्नातकसम्म संगीत कक्षा सन्चालन गर्ने योजनामा छन् । 'मैले म्युजिक नेपाल छोडेपनि म्युजिक स्कुल छोड्दिन,' उनले भने ।

संगीतका परिभाषा भिन्न भिन्न छन् । दार्शनिक रुपमा संगीतको परिभाषा दिने विज्ञहरुको कमी छैन समाजमा । सन्तोषले भने संगीतलाई व्यावहारिक रुपमा बुझेका छन् ।

चलनचल्तीका भनाइ भन्दा उनको बुझाइ बेग्लै छ । जीवनको सबैभन्दा महत्वपूर्ण समय संगीत उद्योगमा बिताएका सन्तोषले संगीतलाई नै कसरी बुझेका छन् त ? आखिर संगीत के रहेछ ? संगीतमै लागेर संसार घुमेका र धेरै परिभाषा पढेका उनले भने, ‘मान्छे एउटा भएपनि शरीर दुईटा हुन्छ । एउटा भौतिक शरीर, अर्को आध्यात्मिक । भौतिक शरीरले के खान्छ, सबैलाई थाहा छ । आध्यात्मिक शरीरले के खान्छ ? आध्यात्मिक शरीरको खाजा हो,संगीत ।’

ad
ad ad