ad

‘एनआरएनएले आफ्नो क्षमता आफैले बुझेन, कस्तुरीले बिनाको गन्ध खोजे जस्तो भयो’

बिहीबार, चैत्र २६ २०७७
image

काठमाडौं : विकास र पूर्वाधार निर्माण क्षेत्रका विज्ञ डा. सूर्यराज आचार्य नेपाल भित्र मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चित छन् । जापानको टोक्यो विश्वविद्यालयबाट पूर्वाधार तथा क्षेत्रीय विकास विषयमा विद्यावारिधी गरेका डा. आचार्य पछिल्लो समयमा नेपालमा पूर्वाधार निर्माण क्षेत्रमा निरन्तर रुपमा बहस तथा पैरवीमा सक्रिय छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालको आरम्भमा घोषणा गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अभियानको प्रशंसक आचार्य सरकारको तीन वर्षे कार्यकालप्रति सन्तुष्ट छैनन् । त्यस्तै, एनआरएनका गतिविधिप्रति पनि उनको चित्त बुझेको छैन । लगानीका लागि अपार संभावना रहेपनि एनआरएन ‘बहकिएको’ उनको टिप्पणी छ । प्रस्तुत छ, एनआरएनद्वारा स्थापित ‘इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड’ र ‘एनआरएन डेभलपमेन्ट फण्ड’ ले नेपालको पूर्वाधार निर्माण र विकास निर्माणका क्षेत्रमा गर्न सक्ने लगानी र संभावनाका बारेमा डा.आचार्यसँग ग्लोबल नेप्लिजका लागि नारायण अर्यालले गरेको कुराकानी :

गैरआवासीय नेपालीहरुको प्रत्यक्ष सहभागिता र लगानीमा स्थापित एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न चार वटा जलविद्युत आयोजनामा लगानी गरिसकेको छ । यो कम्पनीमार्फत गैरआवासीय नेपालीहरुले पूर्वाधारका अन्य कुन कुन क्षेत्रमा लगानी गर्न सक्लान् ? 

पूर्वाधारमा निजी लगानीको पूर्वशर्त भनेको नाफामूलक हुनै पर्छ भन्ने हो । अर्को पूर्वाधारका क्षेत्रमा जुन सार्वजनिक निजी लगानी (पीपीपी) भन्छौं, यसमा एनआरएनको कुरा ज्ञान, सीप र व्यवस्थापकीय कौशललाई लिएर पनि महत्वपूर्ण हुन्छ । वित्तीय नाफाका कारण तत्कालको आकर्षण हाइड्रोमा छ । अरु आयोजनामा लगानी गर्दा नाफा नहुने र भए पनि ढिलो हुन्छ भन्ने जोखिम रहन्छ । नेपाल जस्तो विकासशील देशमा सडक, रेल, एयरपोर्टमा गरिएको लगानीबाट सन्चालन खर्च उठाउन पनि मुस्किल छ । सरकारले पूँजीगत अनुदान (भिजिएफ) दिएर या आम्दानिको ग्यारेन्टी गरेर यस्ता आयोजनालाई निजि लागानिका लागि नाफामुलक बनाउन सकिन्छ, तर यस्ता विधि अधिकांश देशबाट फेजआउट भइसकेका छन् । 

त्यसैले केही केबलकारहरुमा लगानी गर्न सकिन्छ, यो नाफामूलक हुन सक्छ । शहरी पूर्वाधारमा पनि एनआरएन समुदायले लगानी गर्न सक्छन् । विशेषगरी काठमाडौं भित्रै र बाहिर पनि आवासहरु निर्माण, हाउजिङमा लगानी गर्न सकिन्छ । विदेशमा बस्ने नेपालीहरुले त्यहाँका घरहरु कसरी बनेका छन्, थोरै जग्गामा धेरैको आवास कसरी व्यवस्थापन भइरहेको छ भन्ने देखेका छन् । रियल स्टेटमा गरेको लगानीले शहरी व्यवस्थापनमा सहयोग पुर्याउँछ भने नाफा पनि कमाउन सकिन्छ । 

त्यस्तै, संरचना सञ्चालन र व्यवस्थापकीय क्षेत्रमा पनि एनआरएनले हात हाल्न सक्छन् । नेपालका सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुको भवन निर्माण या व्यवस्थापनमा पनि एनआरएनको सहभागिता हुन सक्छ । 

निर्माण कम्पनी लगानीको अर्को क्षेत्र हुनसक्छ । नेपालमा धेरै ठूला निर्माण कम्पनी छैनन् । अन्तर्राष्ट्रिय कम्पनी छैनन् । एनआरएनहरूले नै अन्तर्राष्ट्रिय स्तरको निर्माण कम्पनी स्थापना गर्न सक्छन्, जुन कम्पनीले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि काम गर्न सक्छ । परम्परागत पूर्वाधारको क्षेत्रमा मात्रै नलागी अन्तर्राष्ट्रिय अनुभवका आधारमा पूर्वाधारका नयाँ क्षेत्रहरुको खोजी गर्नु उपयुक्त हुन्छ । 

एनआरएनले पर्यटन क्षेत्रमा पनि लगानी गर्न सक्छन् ? 

हो, एनआरएनले पर्यटन क्षेत्रमा पनि लगानी गर्न सक्छ । नेपालमा स्थानीय व्यवसायीहरुले पर्यटनमा काम गरिरहेका छन् । तर, नेपाल आउने पर्यटकहरु रहेको देशमा रहेका नेपालीहरुले ती देशका पर्यटकले के चाहन्छन् भन्ने कुरा यहाँकाले भन्दा विदेशमा बस्ने नेपालीहरुले नै जान्दछन् । जस्तो, जापानीहरुले के चाहन्छन् भन्ने कुरा जापान बसेका नेपालीहरुले नै राम्ररी बुझेका छन् । जापान बसेका नेपालीहरुले यहाँ जापानीलाई लक्षित गरी रिसोर्ट, होटलहरु सन्चालन गरे भने त्यसको छुट्टै आकर्षण हुन्छ । स्थानीय पर्यटन व्यवसायीहरुले गर्न नसकेको कुरा एनआरएनहरुले गर्न सक्छन् । पर्यटक ल्याउन पनि उनीहरु नै सक्षम हुन्छन् । 

गैरआवासीय नेपालीहरुले लगानी गर्ने वातावरण अझै बनिसकेको छैन भन्ने गुनासो पनि सुनिन्छ । यसलाई कसरी सुधार्न सकिन्छ ?

वैदेशिक लगानीको कुरा गर्दा नेपाल जस्तो ‘क्यापिटल एकाउन्ट लिवरलाइज’ नभएको विकासशील मुलुकमा स्वदेशबाट पुँजि विदेश लग्न सरकारी नियन्त्रण हुन्छ। प्रत्यक्ष वैदेशिक लगानीबाट आर्जन गरेको मुनाफा भने लगानि कर्तालाई सामान्यता: विदेश लाने उनुमति हुन्छ। त्यसैले प्रत्यक्ष वैदेशिक लगानी सवै क्षेत्रका लागि खुला हुँदैन। निर्यातजन्य उत्पादन या आयात प्रतिस्थापन गर्न सक्ने वैदेशिक लगानि मात्र सरकारको प्राथमिकतामा पर्दछ। घरेलु उपभोगको वस्तु या सेवा उत्पादनका क्षेत्रमा घरेलु उत्पादकसँग प्रतिस्पर्धा गर्ने वैदेशिक लगानिलाई सामान्यत: खुला गरिँदैन। गैर आवासीय नेपालीले विदेशी सरह प्रत्यक्ष वैदेशिक लगानी गर्न सक्दछन्। अथवा विदेशी लगानी कर्ताको साझेदारीमा पनि लगानि गर्न सक्दछन्। गैरआवासीय नेपालीसँग साझेदारी गर्दा विदेशी लगानिकर्ताले जोखिन न्युनिकरणको लाभ लिन सक्छन्। त्यसैले एनआरएनमार्फत विदेशी लगानीकर्ता आउँछन् भने स्वागत गर्नुपर्छ । तर लगानिका शर्त प्रत्यक्ष वैदेशिक लगानी सरह हुनुपर्दछ।

यसका अलावा गैरआवासीय नेपालीका लागि घरेलु लगानिकर्ता सरह जुनसुकै क्षेत्रमा पनि लगानि गर्न सक्ने गरि अर्को ढोका पनि खुला राखिनु पर्दछ। यस्तो केसमा लगानिबाट आर्जेको मुनाफा भने विदेश लग्न नमिल्ने हुन्छ। तर गैरनेपाली नागरिकलाई नेपाल मै सम्पत्ति राख्ने, किनबेच गर्ने अधिकार भएकोले मुनाफा विदेश लान नपाईने प्रतिबन्ध अनुचित होईन।

संक्षेपमा भन्दा गैरआवासीय नेपालीले विदेशी सरह र घरेलु लगानीकर्ता सरह छुट्टा छुट्टै शर्तमा नेपालमा लगानी गर्न सक्ने बाटो खुला राख्नु पर्दछ।

एनआरएनलाई माध्यम बनाएर वैदेशिक लगानीकर्तालाई भित्र्याउन सकिन्छ कि सकिँदैन ? 

माथि भनें झैं एनआरएनमार्फत विदेशी लगानीकर्ता आउँछन् भने स्वागत गर्नुपर्छ । त्यसका लागि एनआरएनले पहल पनि गर्न सक्छ । एनआरएनले त्यसरी लगानी ल्याउन सक्यो भने त झनै राम्रो हुन्छ । उनीहरुको माध्यमबाट आउन सक्ने वैदेशिक लगानीलाई बढाउन लगानीका क्षेत्र र शर्तहरुमा नेपाल सरकार सकभर लचिलो हुनुपर्यो । दोश्रो यदि गैरआवासीय नेपालीले घरेलु लगानिकर्ता सरह नेपालमा लगानी गर्ने हो भने नाफा कमाएर बाहिर लैजाने होइन, हामीले यहाँ कमाएर यहीँ राख्छौं भन्नेमा एनआरएन प्रष्ट हुनुपर्यो । 

एनआरएनले हालै दश अर्बको एनआरएन विकास कोष नामक कम्पनी स्थापना गरेको छ । पहिलो पूर्वाधार क्षेत्रको र अहिले स्थापना भएको विकास क्षेत्रको कम्पनी गरी दुवै कम्पनीहरुले कसरी काम गर्न सक्लान् ? 

पहिलो त स्पष्ट पूर्वाधार क्षेत्रको कम्पनी भयो । दोश्रो अलि फरक होला । दोश्रो कम्पनीले सीप, प्रविधि, नवप्रवर्तन तथा ज्ञानको क्षेत्रमा लगानी गर्नु राम्रो होला । अहिलेसम्म यहाँका कम्पनीहरुले लगानी नगरेका क्षेत्र पहिचान गर्नु र त्यसैमा लगानी गर्नु उचित देखिन्छ । जस्तो, नेपालका जडिबुटी औषधि उत्पादनका लागि भारत लगिन्छ । ती जडिबुटी नेपालमै प्रशोधन गरी औषधि उत्पादन गर्नेतर्फ सोच्यो भने पक्कै पनि फलदायी हुन्छ । 

एनआरएनएको संभाव्य योगदानलाई हेर्नुपर्छ, एउटा पूँजी र अर्को व्यवस्थापकीय कला (क्षमता) । नेपालमा प्रयोगमा नआएको व्यवस्थापकीय क्षमता तथा विदेशमा बस्ने नेपालीले देखेका छन् नि । लगानीका पारम्परिक सोंच भन्दा बाहिर गएर हेर्नुपर्ने हुन्छ, जुन यहाँका मानिसले सोंचेकै छैनन् । व्यापारिक क्षेत्रमा पनि लगानी गर्न सकिन्छ । अन्तर्राष्ट्रिय शैलीका शपिङ सेन्टरहरु पनि सन्चालन गर्न सकिन्छ । यसले व्यापार त हुन्छ नै, नयाँ पन पनि देखिन्छ । विदेशमा थुप्रै नेपाली युवा वैज्ञानिकहरु कार्यरत छन् । ती वैज्ञानिकहरुलाई नेपालमा ल्याई नयाँ सिर्जना गर्न सकिन्छ । 

तर, अझै पनि एनआरएनएले पुरानै विधिबाट सोचिरहेको छ । एनआरएनएले आफ्नै क्षमता अझै बुझेको छैन कि जस्तो देखिन्छ । कस्तुरीले आफ्नो बिनाको गन्ध थाहा नपाएर भौंतारिए जस्तो एनआरएनए पनि त्यसरी नै भौतारिएको छ । एनआरएनहरुसँग ज्ञान छ, नयाँ सोंच छ, व्यवस्थापकीय क्षमता छ । सेवा क्षेत्रमा हुनसक्छ, उद्योग धन्दामा हुनसक्छ एनआरएनहरूले लगानी गर्न सक्छन् । नेपालको शिक्षा क्षेत्र पनि अर्को संभाव्य आकर्षणको क्षेत्र हो । विद्यालयदेखि विश्वविद्यालयसम्मको संरचना निर्माण तथा संस्थागत व्यवस्थापन सम्हाल्ने योजना ल्याउन सकिन्छ । महावीर पुनको आविष्कार केन्द्रमा पनि एनआरएनले लगानी गर्न सक्छन् । आविष्कार  केन्द्रलाई विदेशका विश्वविद्यालयहरुसँग सहकार्य गराउन सक्छ । युवा वैज्ञानिक उत्पादनमा पनि त सहयोग पुर्‍याउन सकिन्छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई यहीँ स्वरोजगारमूलक काममा लगाउन सक्ने संभावना छ कि छैन ?

विल्कुल संभावना छ । हाम्रो समस्या पूँजीको मात्रै होइन । चिन्तनको पनि हो, व्यवस्थापनको पनि हो । ससानो विषयमा हाम्रो ध्यानै पुगेको छैन । जस्तै चितवनका किसानहरुले दूध उत्पादन गरिरहेका छन् । कहिलेकाहीँ बिक्री नभएर सडकमा पोख्ने काम पनि भइरहेको छ । त्यही दूध प्रयोग गरेर चकलेट उत्पादन गर्न सकिँदैन ? स्वीट्जरल्यान्डमा उत्पादित चकलेट विक्री गर्न हुने, नेपालमै चकलेट उत्पादन गर्न किन नहुने ? एनआरएनहरुले त बाहिरको प्रविधि देखेका छन् नि । उताको प्रविधि ल्याएर यहाँ चकलेट, कुकिज उत्पादन गर्न सकिन्छ । विदेशीले नेपालबाट लाने उपहारका रुपमा नेपाली चकलेट प्रयोग गर्न सकिन्छ । विदेशका विमानस्थलका ड्युटी फ्रि शपमा स्थानीय उत्पादन राखिएका हुन्छन् । नेपालको विमानस्थलमा नेपाली चकलेट राख्न सकिँदैन र ? नेपाली युवाहरुलाई यस्तै काममा लगाउन सकिन्छ । त्यसको पहल एनआरएनएले गर्न सक्छ । एनआरएनएले पूँजी, ज्ञान र त्यसको व्यवस्थापन गर्न सक्छ । 

व्यवसायीक कृषिमा एनआरएनको लगानी र व्यवस्थापन मार्फत ठूलो रोजागरी सिर्जना गर्ने संभावना देखिन्छ । निर्माण उद्योगमा लगानी मार्फत निर्माणको क्षेत्रमा पनि एनआरएनएले युवाहरूलाई रोजगारी सिर्जना गर्न सक्दछ ।

गैरआवासीय नेपाली संघले झण्डै दुई दशक पार गर्दै छ । यसको कार्यशैलीलाई कसरी समीक्षा गर्नुहुन्छ ? 

गैरआवासीय नेपाली संघप्रति शुरुमा जुन अपेक्षा गरिएको थियो, त्यो अलि घटेको हो कि जस्तो लागेको छ । त्यसका दुई तीन वटा कारण छन् । एउटा नेपाली समाज र सरकारले पनि अलि धेरै अपेक्षा गर्यो । दोश्रो, संघले पनि आफूले दिन सक्ने योगदान भन्दा धेरै प्रतिबद्धता व्यक्त गरेर सरकारको महत्वाकांक्षा बढाइदियो । तेश्रो पछिल्लो चरणमा संघमा चरम राजनीतिकरण भयो । पार्टीका भ्रातृ संगठन जस्तो गरेर प्यानल बनाएर चुनाव लड्ने प्रवृत्ति देखियो । 

नेपालको विकास निर्माणको लागि एउटा सिर्जनात्मक योगदान दिने जुन संभावना छ, त्यो भन्दा अलि बहकिएर चुनाव जित्ने, जितेपछि कुनै न कुनै पार्टीको नाममा नेता हुने र यहाँका प्रधानमन्त्री, राष्ट्रपति र दलका नेताहरुसँग मिल्ने र आफ्नो हैसियत स्थापित गरेर व्यक्तिगत विजनेस चलाउने गरी बरालिएको हो कि भन्ने देखिएको छ । यो सुखद प्रवृत्ति होइन । यसले नेपाल र संघ दुवैलाई हित गर्दैन । यसले संघको वैधतामा पनि समस्या पैदा गर्न सक्छ । 

गैरआवासीय नेपाली संघले यहाँ आएर अरब र खरबका कुरा गर्दै महत्वकांक्षा जगाउने जुन काम गरिएको छ, त्यसरी जान जरुरी थिएन । अन्य देशका गैरआवासीय संगठनहरुले राष्ट्र निर्माणमा ठूलो योगदान गरेका छन् । उनीहरुले पैसाबाट मात्रै योगदान दिएका होइनन् । खासमा उनीहरुले पैसासँगै ज्ञान र सीप देशमा भित्र्याएर राष्ट्र निर्माणमा सघाएका हुन् । अब एनआरएनएले आफूले पनि आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । एनआरएनए भित्र पनि पटक पटक विवाद देखिएको छ । म आफै विदेशमा बस्दा पनि एनआरएनएलाई नजिकबाट हेरेको छु । अब एकपटक एनआरएनएका अगुवाहरुले यसले के गर्न सक्छ, के गर्न सक्दैन भनेर सोच्नुपर्ने बेला आएको छ । 

एनआरएन अभियानको महत्वपूर्ण उपलब्धि भनेको राजनीतिक अधिकार बाहेकको एनआरएन नागरिकता पाउने विषय हो । जुन संविधानमा पनि लेखिएको छ । यसका अगुवाहरुकै कारण यो उपलब्धि प्राप्त भएको हो । अब एनआरएनएले आफूलाई पुनर्परिभाषित गर्नुपर्ने छ । साँच्चै नेपालमा के गर्न सकिन्छ भन्ने निर्क्यौल गर्नुपर्छ । एनआरएनएले आफ्नो विश्वासमा कमी आउन दिनु हुँदैन ।

नेपाल सरकारले पूर्वाधारका क्षेत्रमा गरेको लगानीका बारेमा पनि कुरा गरौं न । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा र सरकारले तीन वर्षमा गरेको कामलाई कसरी हेर्नु हुन्छ ? 

सरकारको कार्यशैलीमा सन्तुष्ट हुने ठाउँ नै छैन । प्रधानमन्त्रीले शुरुमा जसरी भन्नुभयो, सबैमा आशा जागेको थियो । विकासका कुरा आउँदा मैले पनि प्रधानमन्त्रीको प्रशंसा नै गरेको थिएँ । तर, यो तीन वर्षमा कुनै पनि ठूला आयोजना शुरु हुन सकेन । कुनै कार्ययोजना बनाइएन । नारा नयाँ तय गरियो तर, कार्यशैली र संरचना पुरानै रह्यो । समृद्ध नेपाल, सुखी नेपाली त भिजन होइन, भाषण मात्रै पो बन्यो । प्रधानमन्त्रीको भाषण मजाकको विषय बन्यो । तर, प्रधानमन्त्रीले आफ्नो ‘भिजन’ को कार्यान्वयनका लागि आवश्यक नीति, योजना, कार्यक्रम र  कार्ययोजनाको कुनै गृहकार्य नै गर्नु भएन, संरचनामा सुधार नै गर्नु भएन । पुरानो संरचना र कार्यशैलीले आम जनताको अपेक्षा पूरा हुन सकेन । अहिले भएको त्यही हो । संक्षेपमा भन्दा सरकारको तीन वर्ष निराशाजनक रह्यो ।

कोभिड महामारी व्यवस्थापनमा आलोचित बनेको सरकारले पछिल्लो समय केही स्वास्थ्य चौकी र केही सडकहरुको एकसाथ शिलान्यास गर्ने काम गर्यो । के विकासको यो विधि ठीक छ ?

स्वास्थ चौकि लगायत कोभिड नियन्त्रणका तयारीमा सामान्य कमजोरी सहित सरकारको कार्यसम्पादन सन्तोषजनक मान्नु पर्दछ । तर प्रधानमन्त्रीले शुरुमा जुन आशा देखाउनु भयो, अब जनताले त्यहि अनुसारको परिणाम खोजिरहेका छन् । प्रधानमन्त्री अहिले दबाबमा हुनुहुन्छ । प्रधानमन्त्रीले देखिने कुरा त खासै केही दिन सक्नु भएन, अब उहाँले सुन्ने कुरा दिँदै हुनुहुन्छ । १६५ वटा सडक शिलान्यास गरेँ भनेर सुनाउँदै हुनुहुन्छ । तीन वर्षमा गरेको भए १६५ वटा चिल्ला सडक बन्न सक्थ्यो । तर, अहिलेसम्म त केही पनि भएन नि । विकास निर्माणको यो सही शैली हुँदै होइन । 

प्रधानमन्त्रीले यसो गर्नु भन्दा यातायात व्यवस्थापनको योजना बनाउनु राम्रो हुन्थ्यो । एउटा गुरुयोजना बनाएर सार्वजनिक गरेको भए कति राम्रो हुन्थ्यो होला ? राष्ट्रिय यातायात सञ्जाल, प्रादेशिक सडकको गुरुयोजना बनाउनु भएको भए मुलुक एउटा बाटोमा अगाडि बढ्थ्यो । यो कुरा अघिल्ला सरकारहरुले नै गर्नुपर्थ्यो, गरेनन् । यो सरकारले गर्न सक्थ्यो, यसले पनि गरेन । प्रधानमन्त्री नक्शा नबनाई घर बनाउने प्रयासमा लाग्नु भयो । यसरी बनाइएका संरचना त बन्छन् । तर, ती संरचना प्रभावकारी हुँदैनन् ।

ad
ad ad