ad

यसकारण रोकियो नागरिकता विधेयक सदन बाहिरै

ग्लोबल नेप्लिज संवाददाता
सोमबार, चैत्र ३० २०७७
image

काठमाडौं : सरकारले नेपाली नागरिकता ऐन संशोधनमा ढिलाई गर्दा विदेशमा रहेका लाखौं नेपालीहरु अधिकार प्रयोग गर्नबाट वन्चित भएको भन्दै गैरआवासीय नेपालीहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेकपा एमाले निकट प्रवासी नेपाली एकता मन्चले गरेको ‘नागरिकताको निरन्तरता र प्रस्तावित गैरआवासीय नेपाली ऐन’ विषयक वृहत् अन्तरक्रिया’ का सहभागीहरुले नागरिकता ऐन संशोधनमा ढिलाइ हुँदा नेपालको संविधानले दिएको अधिकारसमेत प्रयोग गर्न नपाइएको बताए ।

नेपालको संविधान २०७२ को धारा १४ मा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको छ । तर, सरकारले आवश्यक ऐन र निर्देशिका बनाउन नसक्दा गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकेका छैनन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाली नागरिकता ऐन २०६४ लाई विस्थापन गर्न बनेको विधेयक समग्र नागरिकतासँग सम्बन्धित विधेयक हो भन्दै त्यसमा रहेका केही विषयमा सहमति जुटाउन समय लागेकाले केही ढिला भएको बताए । उनले संसदको बजेट अधिवेशनमा नागरिकता विधेयक प्रस्तुत हुने र दुवै सदनले पारित गर्ने अपेक्षा व्यक्त गरे ।

गैरआवासीय नेपालीहरुको माग बमोजिमका केही प्रावधान छुटेको भए संशोधन गर्न सकिने उनको भनाइ थियो ।

त्यस्तै, पूर्व कानुनमन्त्री एवम् प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले संविधानमा गैरआवासीय नागरिकताको विषय समावेश हुनु नै सबैभन्दा ठूलो उपलब्धी हो भन्दै अब कानुन बनेपछि कार्यान्वयनमा जाने बताए । गैरआवासीय नेपालीहरुलाई मताधिकार पनि दिने विषयमा छलफल चलिरहेको भन्दै उनले चुनिने होइन, चुन्नेसम्मको अधिकार दिने भन्ने विषयमा छलफल चलेको बताए ।

‘आगामी बजेट अधिवेशनमा पेश हुने’

त्यस्तै, संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘बुहारी’लाई दिइने नागरिकताको प्रावधानबारे विवादले गर्दा नागरिकता विधेयक पारित हुन समय लागेको बताए । समितिबाट विधेयक पारित भइसकेको र आगामी बजेट अधिवेशनमा संसदमा पेश हुने जानकारी दिँदै पोखरेलले अब सदनबाट पारित गरी कार्यान्वयनमा आउने जटिलता हेर्नुपर्ने बताए । सांसद पोखरेलले एक पटकको नेपाली सधैंको नेपाली हुन पाउने कुरा सबैका लागि गौरवको कुरा हो भन्दै नागरिकता लिने र दिने जस्तो परिस्थिति बन्नु दुःखद हो भने ।

पहिलेको तुलनामा आम नेपालीहरुको सोचाइ परिवर्तन भएको भन्दै पोखरेलले अब गैरआवासीय नेपालीहरुले पनि राजनीतिक अधिकार बाहेकका सबै अधिकार प्राप्त गर्ने स्पष्ट पारे । ‘नागरिक अधिकारलाई बाहिर राखेर आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्रयोग गर्न सकिँदैन, नागरिक अधिकार सँगै आउँछ,’ उनले भने । 

सांसद पोखरेलले तीन पुस्तापछिको चिन्ता नगर्न सुझाव दिँदै भने, ‘पहिले यही विषय सुन्न कोही तयार थिएनन्, अहिले चेतनाको स्तर बढेको छ, अब केही वर्ष भित्रै चेतनाको थप विकास हुने छ र संवोधन हुनुपर्छ भन्ने चेतना स्वतः आउँछ ।‘

कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले अहिलेको व्यवस्थाले तीन पुस्तासम्मलाई मात्रै सम्बोधन गरेको भन्दै त्यसपछि के हुन्छ भन्ने अन्यौल थपेको बताए । उनले आर्थिक अधिकार उपयोगमा पनि केही समस्या रहेको भन्दै ती समस्यालाई सम्बोधन गर्ने गरी नयाँ ऐन आउनुपर्ने माग गरे ।

कार्यक्रममा यति नेपाली एसोसिएसनका अध्यक्ष ध्रुव केसी तथा पूर्व अध्यक्ष डा राघव धितालले “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने नारालाई सार्थक बनाउनुपर्ने बताए । एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले पर्वतारोही निर्मल पूर्जा र नेपाललाई पौडी स्वर्ण पदक दिलाउने खेलाडी गौरिका सिंहलाई सम्झंदै नेपालले प्रवासमा बसेका नेपालीहरुलाई समेट्न आग्रह गरिन्  ।

त्यस्तै, एनआरएन युकेका सल्लाहकार शिवजी श्रेष्ठले नागरिकता विधेयक पारित गर्न सुविधाजनक अवस्थामा रहेको सरकारले विगतका तीन वर्ष उपयोग गर्न नसकेको बताए । उनले विदेशमा रहेका नेपालीहरुको मुद्दा संसदको आगामी अधिवेशनबाट पारित हुने आशा व्यक्त गरे ।

भर्चुएल कार्यक्रममा यूरोप, अमेरिका, अष्ट्रेलिया तथा मध्यपूर्व तथा पूर्वी एशियाका विभिन्न देशमा कार्यरत मन्चमा आबद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ad
ad ad