ad

'मिसेस श्रीलंका' प्रतियोगितामा मञ्चमै भयो झगडा, प्रहरीले छानविन गर्दै

बुधबार, चैत्र २५ २०७७
image

एजेन्सीहरू : श्रीलंकाको एक सौन्दर्य प्रतियोगितामा मञ्चमै झगडा भएको छ । प्रतियोगिताको मञ्चमा झगडा हुँदा शीर्ष उपाधि विजेताको टाउकोमा चोट लागेको छ ।

आइतबार साँझ कोलम्बोमा भएको ‘मिसेस श्रीलंका’मा पुष्पिका डी सिल्वा विजेता घोषित भएकी थिइन् । उक्त समारोहलाई श्रीलंकाको सरकारी टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।

तर मञ्चमा उपस्थित अघिल्लो वर्षकी विजेता केरोलाइन जुरीले पुष्पिका 'डिभोर्सी महिला' भएको भन्दै ताज खोसेपछि हंगामा भएको थियो । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सो समारोहमा प्रतियोगिताको नियममा उपाधि 'डिभोर्सी महिला'लाई दिन नमिल्ने बताउँदै जुरीले उक्त ताज दोस्रो नम्बरकी प्रतियोगीलाई दिने बताएकी थिइन् ।

त्यसपश्चात उनले डी सिल्वाको शीरको ताज निकालेर उनको छेउमै बसेकी दोस्रो नम्बरकी प्रतियोगीलाई लगाइदिइन् । यो घटनापछि सिल्वा रुँदै मञ्चबाट बाहिरिएकी थिइन् ।

सिल्वाले आयोजकलाई आफू डिभोर्सी नभएको तर श्रीमानसँग अलग बसेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

यो घटनाको दुई दिनपछि सिल्वाको डिभोर्स नभएको पुष्टि भएको भन्दै आयोजकले उनको उपाधि फिर्ता गरेर उनीसँग माफी मागेको थियो ।

कानूनी उपचार खोज्ने

सिल्वाले फेसबुकमा पोस्ट गर्दै यो घटनापछि शीरको चोटको उपचारका लागि अस्पताल गएको उल्लेख गरेकी छन् । उनले आफूमाथि भएको अनुचित र अपमानजनक व्यवहारविरुद्ध कानूनी उपचार खोज्ने समेत जनाएकी छन् ।

उनले आफूले पाएको ताज एकल आमाप्रति समर्पित गर्ने बताएकी छन् । ‘आज श्रीलंकामा म जस्ता धेरै एकल महिला छन्, जो पीडित छन् । यो जीत ती महिलाहरु, ती एकल आमाप्रति समर्पित छ, जो आफ्नो बच्चालाई एक्लै पालनपोषणका अलावा यी सबै झेलिरहेका छन्,’ उनले भनेकी छन् ।

यसैबीच प्रहरीले सो घटनाको छानविन भइरहेको जनाएको छ । सो क्रममा प्रहरीले जुरीसँग सोधपुछ गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

ad
ad ad