काठमाडौँ। मंगलबार राति सुत्नुअघि मोबाइल साइलेन्स मोडमा राखेँ । वाईफाई पनि बन्द गरेँ । बुधबार बिहान उठेपछि वाईफाई खोल्दै मोबाइल हेरेँ । केही साथीहरुले फोन गरेका रहेछन् । विदेशमा बस्ने साथीहरुले इमेल र मेसेन्जरमा केही म्यासेज लेखेका रहेछन् । कसैले सोधेका थिए, कसैले समाचारको लिंक नै पठाएका थिए ।
ओछ्यान नछोड्दै झसंग भएँ । आएका फोन फर्काउनुभन्दा पहिले एक दुई कल गरेँ । अनि केही आशा पलायो, मन विस्तारै ढुक्क हुन थाल्यो ।
फेसबुक र ट्विटर लगइन गरेँ । मंगलबार राति फैलिएको अपुष्ट हल्लामा आधारित भएर लेखिएका समाचारलाई आधार मानेर केही साथीहरुले आ आफ्नो वाल र टाइमलाइनमा ‘आदरणीय नवीन्द्रराज जोशी दाईलाई श्रद्धान्जली’ भन्दै लेखेका रहेछन् । यसरी लेख्नेमा नेपाली कांग्रेसकै केही नेता र केही सञ्चारकर्मी पनि थिए ।
नजिकै छ, नर्भिक अस्पताल । कुपण्डोलबाट थापाथली पुग्न पाँचै मिनेट भन्दा बढी समय लाग्दैन । बिहान अस्पताल पुग्दा कांग्रेसका केही नेता तथा कार्यकर्ता र नवीन्द्र दाईका परिवार तथा आफन्तजन थिए । कसैले डाक्टरहरुलाई सोध्दै थिए, कसैले परिवारजनलाई सहानुभूति दिइरहेका थिए । नवीन्द्र दाईले भेन्टिलेटरको सहारामा श्वास लिइरहेको जानकारी पाएपछि धेरै समय त्यहाँ बस्न लागेन ।
....................
नवीन्द्र दाईसँग भेटघाट र कुराकानी नभएको करिव पाँच वर्ष भइसके छ । विशेषगरी २०६२-०६३ को जनआन्दोलनदेखि उहाँसँग निकटता बढेको हो । त्यसपछि उहाँसँग निरन्तर सम्पर्क र भेटघाट भइरहन्थ्यो । संविधानसभाका दुवै निर्वाचन, त्यसैबीचमा परेका कांग्रेसका महाधिवेशन र विभिन्न राजनीतिक कार्यक्रम भेटघाटका बहाना बन्थे ।
२०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयर नवीन्द्रराज जोशीको नाम उतिबेला रेडियोमा सुनिन्थ्यो । २७ वर्षको उमेरमा उपमेयर बनेकै कारण पनि नवीन्द्र दाईको नाम चर्चित नै थियो । त्यसपछिका राजनीतिक गतिविधिले पनि नवीन्द्रराज जोशीको नाम चर्चामा नै रहिरह्यो । २०६२ र ०६३ को काठमाडौं केन्द्रीत आन्दोलनले यसलाई थप उचाइमा पुर्यायो ।
सरल जीवन र सहज उपस्थिति नवीन्द्र दाईका मुख्य थिए । काठमाडौंका रैथाने वासिन्दा भएका कारण पनि उहाँलाई काठमाडौंमा राजनीति गर्न सहज थियो । पहिले काठमाडौंको उपमेयर हुँदा होस् वा लोकतन्त्र बहालीपछि भएका दुई वटै संविधानसभा सदस्य निर्वाचनमा उहाँले प्राप्त गरेको विजय त्यसैको परिणाम थियो । सञ्चारकर्मीको नाताले जुनसुकै बेला उहाँसँग कुरा गर्नुपर्ने हुन्थ्यो । बिहान सबेरै होस् वा राति अबेर उहाँसँग कुरा गर्न कुनै समस्या थिएन । सोधेको कुरा भनिहाल्ने र बोलाएको ठाउँमा पुगिहाल्ने बानीले नवीन्द्रराज जोशी आम सञ्चारकर्मीको लागि प्रिय नाम थियो ।
गत पुस २१ गते । मोबाइलको कन्ट्याक्ट लिस्ट हेरेँ । उहाँको नम्बर सेभ नै थियो । छोटो समय उद्योग मन्त्री बन्नु भएका नवीन्द्र दाईले त्यस समयमा गर्नु भएको कामको बारेमा म बाहिरै भएपनि विभिन्न सञ्चारमाध्यमबाट अवगत नै थिएँ । तिनै विषयमा कुरा गरौं भनेर मैले फोन गरेँ । उहाँले सोधिहाल्नु भयो, कता हराएको ?
मैले आफ्नो बारेमा केही जानकारी गराएपछि भनेँ, अहिले काठमाडौंमा नै छु । ‘त्यसो भए भोलि दिउसो साढे १ बजे भृकुटीमण्डपस्थित गणेशमान अध्ययन प्रतिष्ठानमा भेटौं है’ उहाँले भेटका लागि निम्तो दिनुभयो ।
काठमाडौंमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको थियो । काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषित शहर बन्दै गएको रिपोर्टहरु आइरहेको थियो । नवीन्द्र दाईले प्रदूषण हटाउन र यसको असरबाट जोगिन अपनाउनुपर्ने उपायका बारेमा विषयगत विज्ञहरुसँग छलफल गरिरहनु भएको रहेछ । त्यसबारेमा पनि केही कुरा सुनाउनुभयो । भोलि भेटेरै थप कुरा गर्ने गरी फोन संवाद टुंगियो ।
भोलिपल्ट अर्थात पुस २२ ंगते बिहानै म पारिवारिक कामले कहीँ अन्तै व्यस्त हुनुपर्ने भयो । दिउसो एक बजिसकेको थियो । मैले झट्ट सम्झिएँ । अनि मोबाइल निकालेर नवीन्द्र दाईलाई मेसेज लेखेँ, ‘म आज पारिवारिक काममा व्यस्त भएँ, अर्को दिन भेटौंला दाजु, आजका लागि सरी ।’
उहाँले तुरुन्तै जवाफ फर्काउनुभयो ‘ओके’ ।
…………………
विश्वभर फैलिएको कोभिड १९ को महामारीले नेपाललाई पनि छोयो । सरकारले लकडाउन गर्यो । कोही कतै निस्किन सक्ने अवस्था थिएन । सबै आ आफ्नै घरमा थिए । अत्यावश्यक कामका लागि पनि अनुमति पत्र लिएर निस्किनुपर्ने अवस्था थियो ।
राजनीतिक नेता तथा सामाजिक कार्यकर्ता सबैले आआफ्नै सामाजिक सञ्जालमा लेख्ने बाहेक खासै गर्न सक्ने काम थिएन । महामारी रोकथामका लागि सरकारले चालेको कदम सुस्त हुँदै गएको थियो । काठमाडौंमा संक्रमितको संख्या दिन प्रतिदिन थपिँदै थियो । मृतकको संख्या बढ्दै थियो ।
यस्तो अवस्थाले काठमाडौंका नेता नवीन्द्रराज जोशीको पेट नपोल्ने कुरै भएन । सर्वसाधारण आफैले सावधानी नअपनाउनु र सचेतना फैलाउन सरकारले प्रभावकारी उपाय अवलम्बन गर्न नसक्नु यसका मुख्य कारण थिए । उहाँले गणेशमान सिंह एकेडेमीको तर्फबाट विज्ञहरुलाई बोलाएर नियमित रुपमा भर्चुएल माध्यमबाट बहस चलाउनु भयो, सरकारलाई खबरदारी गर्नु भयो। जब लकडाउन खुकुलो हुँदै गयो, नवीन्द्रराज जोशीलाई घरमा बस्न मन लागेन । मास्क, स्यानिटाइजर र केही पर्चा बोकेर आफ्ना मतदाताका घरघरमा पुग्ने योजना बन्यो । यस्तो योजनासहित मतदाताको घरघरमा पुग्ने कमै नेताहरुको सूचीमा आउँछ, नवीन्द्रराज जोशीको नाम । नवीन्द्रराज जोशीको यो कर्म आफै अस्पतालको शैयामा पुग्नु भन्दा केही समय अघिसम्म जारी नै रह्यो ।
२०७४ को आम निर्वाचनको नतिजा नवीन्द्रराज जोशीका लागि केही भिन्न रह्यो । अघिल्ला दुई निर्वाचनमा विजय प्राप्त गरेका जोशीलाई यसपाली भने धक्का लाग्यो । निर्वाचनमा जित हार त भइहाल्छ नि, उहाँको सहज बुझाइ थियो । त्यही सहज बुझाइले नै महामारीका बेला मतदाताको घरघरमा पुर्याएको थियो उहाँलाई । चुनाव निश्चित समयका लागि हुन्छ तर, राजनीति जीवनभरका लागि, यही थियो उहाँको बुझाइ ।
बिपी कोइराला र गणेशमान सिंह जोशीका आदर्श थिए । बिपीको विचार र गणेशमानको साहसबाट प्रभावित भएरै कांग्रेसको राजनीतिमा लागेका जोशी २२ वर्षको उमेरमा नै नेपाल विद्यार्थी संघको महामन्त्री बन्नु चानचुने कुरा थिएन । सिधा रेखाको राजनीतिबाट निरन्तर अगाडि बढिरहेका जोशीका लागि बीच बीचमा आउने समस्यासँग जुध्न अप्ठेरो थिएन ।
नेता बन्न कुनै तिकडम गर्न पर्दैन, न त छलकपट र बेइमानी नै गर्नुपर्छ । इमान्दारहरु पनि राजनीतिमा स्थापित हुन सक्छन् । आस्था र आदर्शमा अविचलित रहँदै जनताको पीर मर्कामा साथ दिने व्यक्ति नै नेताको रुपमा स्थापित हुन्छ । नवीन्द्रराज जोशीको राजनीतिले यही पुष्टि गर्दछ ।
……………………….
उच्च रक्तचापका विरामी नवीन्द्रराज जोशीलाई फागुन १३ को मध्यरात अभिशाप बनेर आयो । राति सुत्ने बेला अकस्मात असजिलो भएपछि नजिकैको वीर अस्पताल पुर्याइएका जोशीलाई मस्तिष्काघातको आशंकामा फागुन १४ को बिहानै नर्भिक अस्पताल पुर्याइयो ।
सादगी नेता नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक नै छ । चिकित्सकहरु नै निको हुनेमा ढुक्क छैनन् । तै पनि उनीहरुले निरन्तर प्रयास गरिरहेका छन् । शुभेच्छुकहरुले कामना गरिरहेका छन् ।
जन्मपछि मृत्यु शाश्वत छ । मानिस मात्रै नभई प्राणीजगतकै मृत्यु निश्चित छ । तर, सबै मृत्यु उस्तै हुँदैनन् । भनिन्छ नि, कालगतिले मृत्यु भएकोमा चिन्ता लिनु हुँदैन । उमेर, अवस्था र परिस्थितिका कारण मृत्युको फरक फरक व्याख्या गरिन्छ । आशा गरौं, नवीन्द्रराज जोशीको बारेमा यो कुरा गर्ने समय आएकै छैन । कामना गरौं, उहाँ निको हुनुहुने छ र फेरि जनताको सेवामा खटिनु हुने छ ।
अन्त्यमा भन्न मन लाग्यो । नवीन्द्र दाई, तपाईंले भने जस्तो ‘ओके’ भएन । तपाईं निको भएपछि मात्रै ओके हुने छ ।