ad

निरन्तर लागिरहे सफल भइन्छ, व्यवसायमा आत्तिनु हुँदैन : निर्वाण चौधरी

ग्लोबल नेप्लिज संवाददाता
बुधबार, चैत्र ११ २०७७
image

काठमाडौं : औद्योगिक नेपालको चर्चा हुँदा स्वभावतः सबैको मुखमा आउने नाम हो चौधरी ग्रुप । र झट्ट सुन्दा वाईवाई ब्राण्ड, चौधरी ग्रुप र विनोद चौधरी धेरै नेपालीका लागि पर्याय जस्तै लाग्छन् । विश्वले विनोदलाई चौधरी ग्रुपको मालिक भनेर चिन्छ र अधिकांश नेपालीले चौधरी ग्रुपलाई वाईवाई ग्रुप भनेर चिन्छन् ।

जसरी उत्पादनदेखि सेवा क्षेत्रसम्म विभिन्न आयाममा फैलिएको विशाल चौधरी ग्रुप वाईवाईमा सीमित छैन, यसै गरी यसको 'ड्राइभिङ सिट'मा पनि विनोद चौधरी एक्ला छैनन् । उनकै छोरा निर्वाण चौधरी बुबाको पदचाप पछ्याउँदै युवा जाँगर र शिल्पसहित ग्रुपको प्रबन्ध निर्देशकका रूपमा सहयात्री बन्न आइपुगेका छन् ।

May be an image of 1 person

काठमाडौंमा जन्म, विद्यालय शिक्षा भारतमा अनि बेलायतबाट उच्च शिक्षा ! निर्वाण चौधरीको जीवन सुरुदेखि नै अन्तर्राष्ट्रिय प्रभाव र अनुभव भोग्दै हुर्कियो ।

जतिबेला निर्वाण लण्डन पुगे, नेपालमा राजनीतिक द्वन्द्व उत्कर्षमा पुग्दै थियो । उनी जस्तै अधिकांश युवाहरु विदेश पलायन भइरहेका थिए, फरक थियो त बहाना र कारण ।

उनी अर्थात निर्वाण चौधरी, नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीका छोरा । विनोदले नेतृत्व गरेको चौधरी ग्रुपले विश्व बजार चहारिरहँदा उनकै छोरा निर्वाण भने पढ्नका लागि लण्डन थिए ।

धेरैलाई सधैँका लागि रोक्ने लण्डनले निर्वाणलाई भने लामो समय रोकिराख्न सकेन, न त नेपालमा चर्किँदो सशस्त्र द्वन्द्वले नै उनलाई छेक्यो । प्लस टु सकेलगत्तै निर्वाण काठमाडौं फर्किए र बुवा विनोदलाई सघाउन थाले ।

May be an image of 4 people and people smiling

यतिबेला विनोदका तीन भाइ छोराहरुले व्यवसाय सञ्चालनमा एकएक वटा भूमिका निर्वाह गरिरहेका छन् । अहिले आफ्ना भाइहरु  राहुल र वरुणसँगै यो औद्योगिक विरासतलाई  काँधमा बोकी रहेका छन्  निर्वाणले ।

"वाईजीएल"मा निर्वाणको छनौट

निर्वाण चौधरी गतसाता मात्रै 'वर्ल्ड इकोनोमिक फोरम' अन्तर्गतको 'योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ ' का लागि छनोट भए । यो उनका लागि मात्रै नभएर देशकै युवा व्यवसायीहरूका लागि गर्वको विषय थियो ।

आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल तिलस्मी युवाहरूलाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि विश्वभरबाट 'योङ ग्लोबल लिडर्स फोरम'मा गोलबन्द गर्दै आएको छ ।

सन् २००४ मा स्थापित यो फोरममा १२० भन्दा बढी मुलुकका १,४०० सदस्य/पूर्वसदस्य छन् । यीमध्ये कतिपय सदस्य विभिन्न देशका सरकार प्रमुख, विश्वकै उत्कृष्ट मानिने ‘फर्च्यून ५०० कम्पनी’का कार्यकारी, नोबेल र ओस्कार विजेता, राष्ट्रसंघका सद्भावना दूत आदि छन् । हरेक वर्ष विश्वभरबाट चुनिने हजारौं उम्मेदवारमध्ये छनोट समितिले क्षमता र समावेशिताका आधारमा १ सयदेखि १५० नयाँ सदस्य छनोट गर्छ । यो वर्ष १० हजार उम्मेदवारबाट ५६ मुलुकका ११२ नयाँ सदस्य छानिएका छन् । ४० वर्षमुनि उमेर समूहका उद्यमीलाई चयन गरिने यो फोरममा नेपालबाट कुनै पनि उद्योगपति चयन भएको यो पहिलो पटक हो ।

'यसले ममा अझै जिम्मेवारी थपेको छ', ग्लोबल नेप्लिजसंग कुरा गर्दै उनले भने, 'समाजप्रति अझ बढी योगदान दिन यसले मलाई प्रेरित गर्नेछ ।'

उनले अन्तर्राष्ट्रिय 'एक्सपोजर' र अवार्ड पाएको यो पहिलो भने होइन । झण्डै दुई वर्षअघि पनि उनलाई योङ प्रेसिडेन्ट अर्गनाइजेसनले 'सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेविलिटी अवार्ड' दिएको थियो । चौधरी ग्रुपको प्रवन्ध निर्देशकको जिम्मेवारी सम्हालेपछि उनको सक्रियतामा समाजमा गरेको योगदानका आधारमा निर्वाण एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय चर्चाको सिँढी उक्लिँदै छन् ।

निर्वाणको नेतृत्व यात्रा

भारतमा पढ्दा होस् वा लण्डन, निर्वाण बिदामा नेपाल आइरहन्थे । घरमा प्रायः व्यापार, उद्योग र लगानीका बारेमा कुरा भइरहन्थ्यो । बच्चैदेखि चासोका साथ सुन्थे उनले । ‘परिवारमा सधैं व्यापार र लगानीका बारेमा कुरा भइरहन्थ्यो, मैले त्यो सबै सुन्थेँ’, उनले पारिवारिक वातावरण र अनुभव सुनाए ।

May be an image of 1 person

निर्वाण बेलाबेला अफिस पनि पुग्थे । त्यहाँको सबै कुरा बुझ्थे अनि बुवा विनोदको कार्यशैली पनि राम्ररी नियाल्थे ।

‘मेरो चाहना सङ्गीत र खेलकुदमा थियो, त्यो अझै पनि मरेको छैन’ नेपालकै सबैभन्दा ठूलो औद्योगिक घराना चौधरी ग्रुपको नेतृत्व सम्हालेका निर्वाणले आफ्नो रुचि सुनाए । तर, चासो त व्यवसायमा नै थियो, जुन उनको करिअर नै बन्यो ।

विश्वका ३४ देशमा फैलिएको छ, चौधरी ग्रुपको लगानी । १४ देशमा त चौधरी ग्रुपका कार्यालय नै छन् । नेपालदेखि विदेशसम्म गरी १५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । निर्वाण यो सञ्जाल अझ विस्तार हुनेमा विश्वस्त छन् । पहिले सामान्य कपडाको व्यापारबाट शुरु भएको यो घरानाको व्यवसाय र लगानी अहिले बहुराष्ट्रिय भएको छ ।

भूरामल दासको नेपाल यात्रा

उन्नाइसौं शताब्दीको अन्ततिर भारतबाट नेपाल आएका भूरामलदास चौधरीका पनाति हुन् निर्वाण चौधरी । यसको अर्थ उनी चौथो पुस्ताका उद्योगी हुन् । काठमाडौं आएका भूरामलदासले कपडाको व्यापार थाले । उनका छोरा लुनकरणदास चौधरीले त्यसलाई विस्तार गरे । कपडाको व्यापारसँगै निर्माण क्षेत्रमा पनि लुनकरणले पाइला चाले । चौधरी ग्रुपको जन्मदाता उनै लुनकरण हुन् ।

बुवा लुनकरणदास बिरामी पर्न थालेपछि विनोदले बुवाको जिम्मेवारी सम्हाल्न थाले । व्यापारमा चलाख विनोदले अन्तर्राष्ट्रिय व्यापार र लगानीका बारेमा सोच्न थाले । नेपालमा प्रख्यात चाउचाउ ‘वाईवाई’ त्यसैको एउटा उदाहरण हो ।

फराकिलो सोच र योजनाबद्ध कामले गर्दा विनोद चौधरीलाई संसारले चिन्ने अवस्था सिर्जना भयो । विसं २०६९ मा फोर्ब्स म्यागेजिनले विश्वका अर्वपतिहरुको सूचीमा विनोदको नाम पनि समावेश गर्यो । सन् २०१९ मा सार्वजनिक सूचीमा विनोद विश्वका अर्बपतिहरुको सूचीको १३४९औं नम्बरमा छन् ।

आफूभन्दा अघिल्ला तीन पुस्ताले निर्माण गरेको मैदान थप फराकिलो पार्ने योजनामा छन् निर्वाण । ‘मैले यसलाई निरन्तरता दिए मात्रै पनि बुवाको साख जोगिने छ', अर्बपति बुवाको छोराको रुपमा उनले भने, ‘तर, दायित्व त्यतिमा मात्रै सीमित राख्नु हुँदैन, संभावना खोजिरहनु पर्छ।’

सँगसँगै समाजसेवा

केही दिनअघि मात्रै ३९औं जन्मदिन मनाएका निर्वाण चौधरी र उनको व्यावसायिक घराना चौधरी ग्रुप सामाजिक कार्यमा पनि उत्तिकै संलग्न छन्  ।

चौधरी फाउण्डेसनका नाममा यो औद्योगिक समूहले समाजसेवाको काम गरिरहेको छ । वार्षिक कति बजेट समाजसेवामा खर्च हुन्छ भन्ने नखुलाए पनि उनले २०७५ को महाभूकम्प र अहिले विद्यमान कोरोना महामारीका बेला गरिरहेको कामको भने खुलेर उल्लेख गरे ।

'भूकम्पपछि हामीले तीन हजार घर निर्माण गर्यौँ,' उनले थपे, 'एक वर्ष भित्र ५५ विद्यालय निर्माण गरेर हस्तान्तरण गर्यौंँ ।' पीडितहरुलाई तत्कालीन अवस्थामा सहयोग र पुनर्स्थापनामा पनि चौधरी फाउण्डेसनको भूमिका उल्लेखनीय थियो ।

कोभिड महामारी शुरु भएपछि पनि चौधरी ग्रुप मास्क र स्यानिटाइजरमा मात्रै अल्झेन । शुरुमै सरकारलाई पीपीई प्रदान गर्ने संस्थाहरुको सूचीमा आउँछ चौधरी ग्रुप । अस्पतालहरुलाई भेन्टिलेटर दिनेदेखि स्वास्थ्यकर्मीहरुलाई तालिम दिनेसम्मका काम पनि गरिएको उनले सुनाए ।

सरकारसँग साझेदारी नगरी सुखै छैन । तर, सरकारी कार्यशैली भने उनलाई पटक्कै चित्त बुझेको छैन ।

वैदेशिक लगानीका संभावना

४० वटा कम्पनीहरु सञ्चालन गरेको चौधरी ग्रुपले हात नहालेको नेपालको कुनै पनि क्षेत्र शायदै होला । उद्योग, व्यापार, पर्यटन, खाद्यान्न, होटल, धार्मिक प्रतिष्ठान गरी विभिन्न क्षेत्रमा चौधरी ग्रुपले लगानी गरेको छ ।

यसको लगानी नेपालमा मात्रै सीमित छैन । दक्षिण एसियाका अधिकांश मुलुकसहित यूरोप र मध्यपूर्वी एसियामा पनि यसको सञ्जाल विस्तार भइसकेको छ ।

May be an image of 2 people and people smiling

तर, नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले गरिरहेको पहल भने पूर्ण नरहेको निर्वाणको बुझाइ छ । सन् २०१९ मा नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रसङ्ग उठाउँदै उनले भने, ‘सरकारले कसरी त्यो सम्मेलन आयोजना गर्यो ? त्यसमा के के भयो ?’ लगानी सम्मेलनको अन्तिम समयमा सहभागी चौधरी ग्रुपले मात्रै ७ मध्ये ६ वटा समझदारीपत्रमा हस्ताक्षर गरेर उक्त सम्मेलनको साख जोगाइदिएको उनको दावी  थियो ।

विदेशी लगानीकर्ताका लागि नेपालमा प्रचुर संभावना रहेपनि सरकारी नीति त्यस अनुकूल नरहेको उनको बुझाइ छ ।

गैरआवासीय नेपाली (एनआरएन) हरुले अन्ततः नेपालमा नै लगानी गर्नुपर्ने उनको भनाइ छ । 'विदेशमा पैसा मात्रै कमाइँदैन, त्यो भन्दा बढी ज्ञान र सीप सिकिन्छ, जुन नेपालका लागि लाभदायक हुन्छ,' उनले भने  ।

युवाका लागि सूत्र

युवा अवस्थामा नै बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपको नेतृत्व सम्हालेका निर्वाण रोजगारी सिर्जनाबाट नै मुलुकले आर्थिक प्रगति गर्ने बताउँछन् ।

'रोजगारीकै लागि विदेश जाने युवाहरुको कुनै दोष छैन, उनीहरुले रोजगारी गरेर पैसा नेपालमै ल्याउने हुन् नि,' उनले भने, त्यसको सदुपयोगमा ध्यान दिनुपर्छ ।

काम सानो वा ठूलो भनेर तुलना गर्नु भन्दा पनि योजना बनाएर अगाडि बढ्नु राम्रो हुने उनको सुझाव छ । निरन्तर लागिरहे सफल भइन्छ, व्यवसायमा आत्तिनु हुँदैन, उनले भने ।

परिवारका अग्रजहरुलाई प्रेरणा मान्ने निर्वाण सिङ्गो नेपाल र यहाँको अवस्था आफ्नो लागि सबै भन्दा ठूलो विद्यालय रहेको बताउँछन् ।

अनि, आफुसंग रहेको सम्पत्तिबाट सन्तुष्ट छन् त निर्वाण? अहँ, छैनन्।  'म अहिले हामीसंग रहेको सम्पत्ति दोब्बर वा त्यो भन्दा पनि बढी होस् भन्ने चाहन्छु," उनले भने।  'त्यसो भयो भने हामीले अरु बढी कल्याणकारी काम गर्न पाउने छौं। "

तस्विरहरू : निर्वाण चौधरीकाे फेसबुकबाट

ad
ad ad