ad

विकासे कार्यकर्ता र  किसुनजी

शनिबार, फागुन २२ २०७७
image

-नारायण कडेल 

कुरा २०४७ साल पछिको हो । कृष्ण प्रसाद भट्टराई नेपालका प्रधानमन्त्री थिए । त्यही बेला पश्चिम नेपालको एउटा जिल्लाबाट करिब दुई दर्जन जति विकासे कार्यकर्ता र काँग्रेसीहरु प्रधानमन्त्री कहा डेलिगेसन आएछन् । गण्डकीमा जोडिएको एउटा खोलामा पुलको योजना पार्न आएका ति मानिसहरु विहानै प्रथम पहरमै बालुवाटार छिरे । प्रधानमन्त्री भट्टराईले आदरपूर्वक तिनीहरुलाई स्वागत गरेछन् । सबैलाई एकसे एक अभिवादन, सन्चो विसन्चो, तवियत, पानी सब सोधखोज गरे पछि सबैलाइ आ-आफनो आसनमा बसाएछन् । 

अब पालो डेलीगेसन आएकाहरुको आयो । उनीहरुले प्रधानमन्त्रीलाई जिल्लाको विभिन्न पर्यटकीय क्षेत्रबारे बताएछन् । “उता उत्तर पट्टि हिमाल देखिने, दक्षिणपूर्व गण्डकी, उता अर्को तिर उहिले बाजेले भैरम पुजेको भैरमे ढुङ्गो, बस पुल मात्र बनोस् बांकी तुरुन्तै पर्यटकीय कायापलट । यी गोरेहरु काठमाण्डौको गौचरन एरपोट झरेर सोझै भैरमे ढुङ्गो हेर्न उतै हानीन्छन् हजुर,” एकजना पाका विकासेले प्रधानमन्त्रीलाई बताएछन् । 

प्रधानमन्त्रीले रमाई रमाई कुरा सुनेको देखे पछि अर्का विकासे कार्यकर्तालाई प्रधानमन्त्री सामु आफनो कृषि विकासको ज्ञानको भण्डार फुकाउन मन लागे होला । उनले फेरी कुरा सुरु गरेछन्, "पर्यटन होइन हजुर कृषिको भण्डारका बारेमा धेरैलाई थाहै छैन । त्यहाको बारीको डिलाँ लाउने त्यो गहतको मात्रै प्रचार प्रसार भयो भने बस काण्ड पुग्यो । गाउमा डलरका डलर । त्यहाको गहत अन्तको जस्तो होइन हजुर । कर्मिले जातो ढिकी कुन्दा त्यही गहत झोल हाल्छन । कुरो बुझेका मान्छेले गहतको झोल हालेर ढुङ्गो फुटाउछन् । अगी तिन सरकारले ढुङ्गामा नाग कुदेर पुजा गर्ने मनसाय देखाए पछि त्यही हाम्रो गहतको झोलले गण्डकीको ढुङ्गो गालेर महाराजलाई ढुङ्गे नाग बनाइएर पठाएको हो रे । यता काठमाण्डौमा मान्छेहरु पिसावका नली नलीमा स्टोन पालेर अस्पतालमा लाईन लाउदा रहेछन् । गण्डकीको कडा ढुङ्गो गाल्ने हाम्रो गहतले जावो पिसाव नलिको ढुङ्गो कसो नगाल्ला ? लौ हेर्नुहास त हजुर यो पुल बनेर त्यो गहत काठमाण्डौ मात्र छिर्यो भने के होला ? जव यो कुरो विदेशीले बुझे भने बस सकियो कुरा । यो हाम्रो राष्ट्र बैकको काम गहत बेचेर नेपालले कमाएको डलर राख्ने मात्र हुनेछ । डलर गन्ने कर्मचारी मात्रै थप ७ सय जति चाहिन्छन् ।"

प्रधानमन्त्री झन् खुसी भएर मख्खै । यस्तो देखे पछि अर्का एकजना नेता बोलेछन्, "प्रधानमन्त्रीज्यू, मैले त पुलको नाम के राख्ने भनेर समेत सोचिसकेको छु । कृष्ण प्रसाद प्रजातन्त्र पुल नाम राख्ने भनेर अस्ती जिल्ला समितीमा निर्णय समेत गराएको छु ।“ प्रधानमन्त्री झन् खुसी । यो देखेर हौसीएका अर्का नेता बोलेछन्, “हुन्न हजुर यो नाम ठिक छैन यसमा मेरो आपत्ती छ । कस्तो मलाइ नसोधी यस्तो निर्णय गरिसकेका होलान । यो पुलको नाम कृष्ण प्रसाद होईन कृष्ण प्रसाद भट्टराई प्रजातन्त्र पुल राख्नु पर्छ । भट्टराई नभएको कृष्ण प्रसाद राख्दा गिरिजाका बा कृष्ण प्रसाद भन्ने अर्थ लाग्न सक्छ । त्यसैले हुंदैन किसुनजी त्यो हुंदैहुदैन । पुलको नाम त कृष्ण प्रसाद भट्टराई प्रजातन्त्र पुल नै राख्नु पर्छ ।" प्रधानमन्त्री झन खुसी हुंदै भनेछन् - क्या बात । 

प्रधानमन्त्रीका सामु सबैले आफनो खुबी देखाए म पछि परे भन्ने सोचेर होला अर्का विकासे कार्यकर्ता  बोलेछन्, "मैले पुलको डिजाइन पनि गरिसकेको छु । उहांहरु अलिक तल बनाउने भन्नु हुन्छ मैले हुन्न भनेको छु । ठिक्क भैरमे ढुङ्गोलाई ताकेर नदि पार बकाइनाको पोथरो भन्दा तिन वित्ता उता पट्टि पुलको मुख फर्काए पछि बस पुल त कस्तो हो कस्तो बन्छ हजुर । यो धरहराबाट जसरी भिमसेन थापाको नाम अमर रहेको छ । भैरमे ढुङ्गा मुनिको पुलका नामले किसुनजी अमर रहने दिन अब टाढा छैन ।"

यसरी डेलीगेसनमा आउने मानिसहरुले बेलीविस्तार लाए पछि प्रधानमन्त्री बोल्ने पालो आयो । अव किसुनजीबाट के आज्ञा होला ? विकास प्रतिको हाम्रो लगाव  देखेर प्रधानमन्त्रीले हामीलाई के भनेर कति धेरै धन्यवाद देलान् भनेर मख्ख परेका थिए डेलिगेसनवालाहरु । तिनै मानिसहरुतिर हेरेर प्रधानमन्त्रीले भनेछन, “उत्तम, अति उत्तम” । कुरो यत्तीमै रोकेर प्रधानमन्त्रीले बनारस कालिन शैलीमा बालुवाटारको चुलोमा काम गर्ने रसोईलाई बोलाएछन्, "ए रसोइ बाबु । एता आउनुहोस् त उहांहरु सबै जनालाई गाईको दूध हालेर उत्तम प्रकारको चिया खुवाउनुहोस् । इलामबाट अस्ती केवी गुरुङ्गजी ले उपहार ल्याइदिनु भएको चिया पत्ती हालेर चिया बनाउनु होला । उहांहरु प्रधानमन्त्री कहा (बेस्ट क्वालीटी) उत्तम गुणस्तरको चिया खान आउनु भएको हो । पुल बनाउने त बहाना न हो । पुल बनाउन त यहां काठमाण्डौमा मकहां आउनु भन्दा यती धेरै मान्छेले उतै खोलामा ढुङ्गा बोकेको भए आजसम्म पुल बनी सक्ने थियो । कि कसो रसोई बाबु ? ल धमाधम दूधको स्पेशल चिया ।"

भैरमे ढुङ्गाको गहते काइदा

सबैका अनुहार हेर्दै प्रधानमन्त्रीले थपेछन्, "टाढाबाट आउनुभएको तपाई साथीहरुलाई मैले भोजन नै गराउनु पर्ने थियो । तर माफ गर्नु होला यति धेरै मानिसलाई भोजन गराउन मेरो तलबले पुग्दैन । भैरमे ढुङ्गाको गहते काइदाले देशले डलर कमाए पछि सबै भन्दा पहिले प्रधानमन्त्रीको तलब बढाउंछु । अनि तपाईहरुलाई भोजनका लागि बोलाउंछु । यो कृष्ण प्रसादको वचन भयो, ढुक्क हुनुहोस् ।" यत्तिकैमा रसोई फेरी ढोकामा झुल्किएछ । किसुजीले दुध पनि बचाउने कुरा सोचे होलान् । अनि भनेछन्," दूध भन्दा कागती चिया अझै उत्तम । रसोइ बाबु कागतीको चिया बनाउनुहोस ।"

जब चियाको पनि क्वालीटी घट्दै गएको देखेपछि एउटा कार्यकर्ताले म त दूधकै चिया लिन्छु किसुजी भन्न हो कि कुन्नी के भन्न हो हात उठाएका रहेछन् । किसुनजीले उनलाई देखाउदै भनेछन्, "रसोइ बाबु उहांले चिया पिउन्न भन्नु भो, उहालाई तातो पानी दिनुहोला ।" विचरा यो विकासेले तातो पानीमै बालुवाटार यात्रा सकेर फर्केको हो रे । त्यस दिन विकासे डेलीगेट्स लाजले पानी पानी भएर निस्केछन् । 

लेखकले २०६२ साल तिर राजाको शासनकालमा ललितपुरमा थुनामा परेको बेला एकजना पुराना काँग्रेसीबाट यो कहानी सुनेको थियो । सदाबहार, खुसी र रसिक नेता  किसुनजीप्रति  हार्दिक श्रद्धान्जली । 

बालुवाटारमा भोजभतेर गर्ने । वास्तविक विकास गर्न भन्दा यस्तै यस्तै काम कुरा बोकेर शक्ति केन्द्र धाउने कुरा कांग्रेस नेता आदरणीय किसुनजीका लागि पटक्कै स्वीकार्य थिएन । कर्मयोगी नेता किसुनजीले यस्ता ढोंगीहरुको कसरी झ्याको झार्थे र पानी पानी पारेर पठाउंथे भन्ने कुरा एकजना कांग्रेसी कार्यकर्ताले  सुनाएका थिए । यो विवरण  सत्य घटनामा आधारित हो । तर तथ्यहरु  ठाउको नाम, उपस्थित मानिसहरुको नाम, मिति लगायत विस्मृतिमा गैसकेकाले जस्ताको तस्तै लेख्न सकिएन।  मूलभावमा फरक नपर्ने गरि अन्य कुरामा तथ्यलाई कथ्यकरण गरी यहां प्रस्तुत मात्र गरिएको हो --  लेखक  

ad
ad ad