ad

उज्यालो संपद सहकारीले सदस्य शिक्षा कार्यक्रम आयोजना गर्ने

मङ्गलबार, फागुन २५ २०७७
image

काठमाडौं : उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । उज्यालो संपद सहकारीले यही फागुन २९ गते आफ्नो स्थापना दिवसको अवसरमा नगरकोटमा एक दिने सदस्य शिक्षा कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा वृहत रक्तदान एवं सदस्यहरुलाई सहकारी शिक्षा पनि दिइने संस्थाका अध्यक्ष रमेश प्रसाद तिमिल्सिनाले जानकारी दिए । हाल संस्थामा २४ सय ५३ जना सदस्यहरु रहेका छन् । यी मध्ये नियमित मासिक बचत गर्ने १३ सय सक्रिय बचतकर्ता रहेका छन् । सदस्य शिक्षा कार्यक्रममा सदस्यहरुलाई सहकारी सम्बन्धी जानकारी, सहकारी संस्था सञ्चालनको प्रक्रिया, विधि र यसको आवश्यकताका बारेमा जानकारी दिन यस्तो कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

उज्यालो संपद बचत तथा ऋण सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकरुपमा रक्त्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ । यसको अलावा संस्थाले सदस्यहरुलाई विभिन्न किसिमका राहत कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

जस अन्तर्गत आफ्ना सदस्यको मृत्यु भएमा राहत वापत रु. १० हजार सहयोग उपलब्ध गराउँदै आएको छ भने एकाघरको सदस्यको मृत्यु भएमा रु. ५ हजार, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई वार्षिक रु. २ हजार, महिला सदस्यहरुलाई सुत्केरी भएमा रु. २ हजार र सदस्यहरु स्थाई अशक्त भएमा वा प्राणघातक रोग लागेमा सदस्य सहुलियतका लागि रु. १० हजार प्रदान गर्ने गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नविन नेपाल बताउँछन् ।

साविकको उल्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेड र माकलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्था एकीकरण पछि पहिलो पटक सदस्य शिक्षा कायक्रम आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । चाबहीलमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको जोरपाटीको नारायणटार र माकलबारीमा सदस्य सेवा केन्द्र संचालन हुँदै आएको छ ।

ad
ad ad