ad

सोनाम लामाको ‘अमेरिकी सपना’: मुस्ताङदेखि न्यूयोर्कसम्म

नारायण अर्याल
बिहीबार, चैत्र १२ २०७७
image

काठमाडौं : हिन्दूहरुको पवित्र तीर्थस्थल मुक्तिनाथ । हिमाल पारीको जिल्ला मुस्ताङ यही तीर्थस्थलका कारण विश्वभरका हिन्दूहरुका माझ प्रख्यात छ । हिमाली जिल्ला, उत्तरतर्फ चीन (तिब्बत) सँग जोडिएको यो जिल्ला प्राकृतिक रुपमा सुन्दर भएपनि भौगोलिक रुपमा भने विकट छ, दुर्गम छ । 

हिन्दू धर्म अनुसारका चार ‘नाथ’ अर्थात विश्वनाथ, पशुपतिनाथ, केदारनाथ र मुक्तिनाथ । यी चारै नाथ दाजुभाइ भएको मान्यता छ र ती मध्ये सबैभन्दा जेठा मानिन्छन , मुक्तिनाथ । त्यसैले मुक्तिनाथको दर्शन नगरेसम्म चार नाथको दर्शन पूरा हुँदैन । खासगरी दशैंको टीकाको दिनमा मुक्तिनाथ दर्शन गर्नेहरुले अन्य तीन नाथको दर्शन पनि सँगै दर्शन पाउने विश्वास छ । किनभने दशैंको टीका थाप्न अन्य तीन नाथहरु मुक्तिनाथ पुग्ने जनविश्वास रहेको छ ।

हिन्दूहरुको लागि मात्रै होइन, बौद्ध धर्मावलम्बीहरुका लागि पनि मुक्तिनाथको महिमा ठूलो छ । बौद्धमार्गीहरुले पनि मुक्तिनाथलाई आफ्नो देवता मानेर पूजा र दर्शन गर्ने गर्छन् । त्यसैले मुक्तिनाथ हिन्दू र बौद्धमार्गीका साझा देवता हुन् । 

No description available.

मुक्तिनाथ नजिकै छ, पुराङ गाउँ । गुरुङ (लामा) हरुको वस्ती हो यो । यहाँका वासिन्दाको प्रमुख व्यवसाय नै व्यापार हो । नेपालकै कम धान उत्पादन हुने मुस्ताङमा कृषि प्रणालीमा अझै सुधार भएको छैन । पचास साठी वर्ष अघिको त कुरै गर्नु परेन ।

त्यही गाउँमा जन्मिएका थिए, सोनाम लामा । स्थानीय व्यापारी दोर्जे गुरुङका छोरा सोनाम अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष छन् । सन् १९६१ अप्रिलमा जन्मिएका सोनामलाई आफूजस्तै व्यापारी बनाउने दोर्जेको सपना थियो । सोनाम व्यापारी त भए । तर, बाबु  दोर्जे जस्तो होइन, अन्तर्राष्ट्रिय व्यापारी । 

स्थानीयदेखि अन्तर्राष्ट्रिय व्यापारीसम्म 

सोनाम जन्मेका बेला पुराङ गाउँमा मात्रै होइन, वरपर नै कुनै विद्यालय थिएनन् । केहीले ‘तल’ पोखरा झारेर आफ्ना छोराछोरी पढाउँथे । नपढाउनेलाई कुनै कर थिएन । किनभने त्यतिबेला पढाइको खासै महत्व नै थिएन । ‘म आठ वर्षको हुँदा नजिकै एउटा प्राथमिक विद्यालय खुल्यो,’ आफूले गाउँमा नै पढ्न पाएको खुसी व्यक्त गरे । मन्दिरका पूजारी शिक्षक थिए । 

गाउँमै पाँच कक्षासम्म त सोनामले पढे । अब के गर्ने ? ‘हाम्रो गाउँमा सोह्र वर्ष पुगेपछि पढ्नै पर्दैन भन्ने थियो,’ उनले सुनाए । अब पालो आयो बुवाको व्यापारमा सघाउने । 

त्यति बेलासम्म उनले पोखराबाट सात आठ दिन लगाएर सामान पुराङ पुर्याउने र वर्षैभर बिक्री गर्ने विधि सिकिसकेका थिए । त्यसैबेला पोखरामा गाउँ सचिवको तालिमका लागि छनौट हुँदै गरेको उनले थाहा पाए । ‘तँ त सानै छस् भनेर मलाई छानेनन्, बरु पढ्नका लागि छात्रवृत्ति मिलाइदिन्छौं पो भन्न थाले,’ त्यतिबेलाको सम्झना उनले सुनाए । 

तालिममा छनौट नभएपछि उनी लागे भारत । दिमागमा व्यापार र पैसा मात्रै घुसेको थियो । पञ्जाबमा ऊनका सामान किन्ने अनि आसामदेखि तिब्बतसम्म पठाउने काम गर्न थाले । गाउँको व्यापारमा भन्दा उनले यो व्यापारमा पो बढी पैसा कमाउन थाले । भारतबाट गाउँ फर्किदाँ पोखराबाट वर्षैभरका लागि पुग्ने दाल, चालम, नुन, तेल लिएर पुगे पुराङ । 

No description available.

पोखराबाट मात्रै नभई काठमाडौं, तातोपानी नाकाबाट चिनियाँ सामान पनि गाउँमा भित्र्याउन थाले । काठमाडौंबाट तिब्बतको बाटो हुँदै मुस्ताङ पुग्न करिव आठ नौ महिना लाग्थ्यो । यो व्यापारको अनुभव पनि सँगाले । यही क्रममा उनको काठमाडौं आउजाउ बढ्यो । उनलाई काठमाडौंले तान्यो ।

काठमाडौंमा के गर्ने त ? उपाय निकाले । उनको उपाय थियो, नेपालका सामान विदेश पठाउने, विदेशका सामान नेपाल ल्याउने । 'शुरु शुरुमा बैंककबाट इलेक्ट्रोनिक सामान ल्याउन थालेँ,' आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यापारबारे सुनाए । 'विदेशमा नेपाली कार्पेट (गलैंचा) को माग बढी छ भन्ने थाहा पाएँ, त्यसपछि त्यतातिर पनि हात हालेँ,' उनले भने, 'कार्पेट व्यवसाय राम्रै चल्यो ।'

हङकङ, सिंगापुर, जर्मनी, पेरिस हुँदै उनको गलैंचा क्यानडासम्म पुग्यो । 'काठमाडौंमा हामीले कार्पेट फ्याक्ट्री राख्यौं,' उनले सफलताका कथा सुनाए । ‘दुई सय जति त काम गर्ने मान्छे थिए’ पुराङका खुद्रा व्यापारी सोनाम यतिबेलासम्म काठमाडौंका नामुद उद्योगी भइसकेका थिए ।

सोनामको बसाइ अब नेपालमा भन्दा विदेशमा बढी हुन थाल्यो । कारखानाबाट पहिले जस्तो गुणस्तरीय कार्पेट बन्न छाडे, विदेशमा माग पनि कमी हुन थाल्यो । त्यसपछि भने उनलाई दबाब पर्न थाल्यो, नयाँ व्यापार र नयाँ ठाउँ ।

अनि पुगे अमेरिका 

क्रिष्टोफर कोलम्बसले समुद्रै समुद्र चाहार्दै जाँदा नयाँ ठाउँ खोज्ने क्रममा अमेरिका फेला पारे झैं सोनामले व्यापारका लागि नयाँ ठाउँ खोज्ने क्रममा त्यही अमेरिका फेला पारेका थिए । ‘चलिरहेको बिजनेस सुक्न थालेपछि अमेरिका पुगेको हुँ,’ आफू अमेरिका पुग्नुको कारण उनले सुनाए ।

सन् १९९४ मा एक्लै न्यूयोर्क पुग्दा पनि उनलाई खासै अप्ठेरो परेन । थुप्रै नेपाली भेटे, कोही चिनेका त कोही नचिनेका । तर, सबै सहयोगी थिए । अर्गानिक सुपर मार्केट पुगे । अब भने उनको गन्तव्य भेटियो सधैंका लागि ।

व्यापारसँगै सामाजिक काम 

नेपालीहरुले सपनाको देश भन्छन् अमेरिकालाई । विपनामै अमेरिका पुगेका सोनामले भिसा थपे । एक वर्षे विजनेस भिसा पाए । त्यसैबेला ग्रिनकार्डका लागि आवेदन पनि दिए, पाए । अब उनको अमेरिका बसाइ सहज हुन थाल्यो । 

'मैले श्रीमतीको लागि पनि कार्ड बनाउन निवेदन दिएँ,' उनले अमेरिमा आफ्नो परिवार ‘सेटल’ गर्दाको अवस्था सुनाए, ’श्रीमती अमेरिका आइन्, छोराछोरी खर्साङ्गमा  पढ्थे, उनीहरुलाई पनि अमेरिका बोलाएँ ।’

परिवारका दृष्टिले सोनाम अमेरिकामा  पूर्ण भइसकेका थिए । आफ्नो पुरानो व्यापारसँगै नयाँ व्यवसायमा पनि हात हाल्न थाले । व्यापार फस्टाउँदै गयो, डलर पनि कमाउँदै गए । छोराछोरीले राम्रो पढे । दुई छोरी फार्मेसिस्ट अनि छोरा इन्जिनीयर छन् । 

त्यतिबेलासम्म अमेरिका पुग्ने मुस्ताङ्गीहरुको संख्या बढीसकेको थियो । मुस्ताङ्गीहरुले बनाए मुस्ताङ चमु अर्थात् ‘मुस्ताङ समाज’ । यही मुस्ताङ समाजको पहिलो उपाध्यक्ष भएर समाजसेवामा हात हाले । ‘पछि बुद्धिस्ट कम्युनिटी र हिमाली कम्युनिटी पनि बनाइयो,’ उनले जानकारी दिए । बुद्धिस्ट कम्युनिटीबाट न्यूयोर्कमा दलाई लामालाई स्वागत र सम्मान गरेको उनी अझै झलझली सम्झिन्छन् । 

बुद्धिस्ट कम्युनिटीले नेपालमा गुम्बाहरुलाई सहयोग पठाउन थाल्यो । शेर्पा समाजले अमेरिकामा नै गुम्बा बनायो । सोनामले त्यसको समन्वय गर्न थाले । अमेरिकामा समाजमा रहेर काम गर्दा गर्दै उनी विश्वभरका नेपालीहरु सम्मिलित ठूलो समाजमा मिसिए, त्यसो ठूलो समाज थियो, गैरआवासीय नेपाली संघ ।

आइसिसी सदस्यदेखि उपाध्यक्षसम्म 

सोनाम अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष छन् । तर, यो यात्रा उनले सन् २००९ मा आइसीसी सदस्यबाट शुरु गरेका हुन् । 

त्यतिबेला अध्यक्ष थिए देवमान हिराचन । 'देवमान दाईले अब यता लागेर काम गर्नुपर्छ भयो,' उनले एनआरएन यात्राबारे बताए । पदीय हिसाबले उनले धेरै चरण पार गरिसकेका छन् । 

दुई कार्यकाल आइसीसी सदस्य रहेका सोनाम अमेरिका क्षेत्रको क्षेत्रीय उपसंयोजक, संयोजक हुँदै पदाधिकारी बनेका हुन् ।

'लागेपछि निरन्तर काम गरिरहेको छु,' काठमाडौंस्थित एनआरएनए कार्यालयमा भेटिएका लामाले भने, संस्थामा पसेपछि काम गर्ने हो, संस्थाको उद्देश्य पूरा गर्नमै सक्रिय रहने हो । संस्थामा योगदान गर्न नसक्नेले पद समात्नुको अर्थ छैन,' उनले भने । 

नेपाल बस्ने पदाधिकारी

सोनाम झण्डै एक वर्षदेखि नेपालमा छन् । विश्वव्यापी कोरोना महामारीका बेला नेपाल बच्ने कुरै भएन । विदेशमा रहेका नेपालीहरुले महामारी नियन्त्रणका लागि नेपाल सरकार र विभिन्न संस्थाहरुलाई सहयोग गर्ने क्रम जारी नै छ । संघका पदाधिकारीहरु विदेशमै अड्किएका बेला समन्वय गर्ने दायित्व सोनाममाथि  थपियो ।

‘अरुलाई त लकडाउन भयो, मलाई त यहाँ भ्याइनभ्याइ पो भयो त,’ नेपालमा सक्रिय हुनुपर्नाको कारण र अवस्थाबारे उनले जानकारी गराए । अरु पदाधिकारीहरु नेपाल आउन संभव थिएन । त्यसैले एनआरएनहरुले विदेशबाट पठाउने सहयोग सामग्री सरकारलाई हस्तान्तरण गर्नेदेखि समन्वयको काम उनकै रह्यो । 

झण्डै एक वर्ष त सोनाम नेपाल सरकार र एनआरएनका सेतु नै बने । ‘अध्यक्षको काम पनि मैले नै गर्नुपर्ने भयो’, आफुले निर्वाह गरेको भूमिकाबारे उनले बताए । लकडाउन खुकुलो भएपछि भने उनलाई केही राहत मिलेको छ । कोरोना महामारी र लकडाउनका कारण भोग्नु परेको सास्ती हटेपनि उनलाई कामको चाप भने अझै घटेको छैन ।

लाप्राक पारियोजना

२०७२ सालको महाभूकम्पपछि एनआरएनएले थालेको एउटा महत्वाकांक्षी परियोजना हो, लाप्राक नमुना वस्ती निर्माण । ६ वर्ष बित्न लाग्दा पनि लाप्राकमा  नमुना वस्ती निर्माण कार्य अझै पूरा हुन सकेको छैन ।

वस्ती निर्माण परियोजनाका संयोजक छन्, उपाध्यक्ष लामा । भूकम्पको केन्द्र विन्दु गोरखा बारपाक नजिकैको लाप्राकमा संघले ५७३ वटा घरसहितको नमुना वस्ती निर्माण गरिरहेको छ । 

भौगोलिक विकटता र मौसमको प्रतिकूलताका कारण अझै वस्ती निर्माण पूरा भएको छैन  । 'अब अन्तिम चरणमा छौं,' उनले भने, 'अब केही दिनभित्रै सबै काम सकिन्छ ।'

'काम गर्ने मजदुर पाउन गाह्रो, सामान लजान उत्तिकै समस्या,' उनले त्यहाँको अवस्थाबारे बेलिविस्तार लगाए, ‘बालुवा त गोरखाबाट लैजानुपर्ने अवस्था छ।’ तै पनि सरकार र विशेषगरी नेपाली सेनाको सहयोगमा काम सम्पन्न हुन लागेकोमा उनले सन्तोष व्यक्त गरे । 

'घर बनाएर मात्रै त भएन नि, त्यहाँ सबै सुविधा हुनुपर्छ,' उनले भने, 'हामीले सम्पूर्ण सुविधासहितको घर हस्तान्तरण गर्ने छौं ।' एनआरएनएको सिको गर्दै स्थानीय गाउँपालिकाले पनि २९ घर बनाएको र ती सबै घर १२ बैशाखमा हस्तान्तरण गर्ने तयारी भइरहेको उनले बताए ।

मंगलबार काठमाडौंमा भेटिएका सोनाम बुधबार बिहान उज्यालो हुन नपाउँदै लाप्राक हानिए । स्थानीय पालिका अध्यक्ष तथा वडाध्यक्षसहित स्थानीय वासिन्दासँग छलफल गरेका सोनामले भूकम्प दिवसकै दिन वस्ती हस्तान्तरण गर्ने तयारी गरिरहेका छन् । 

अध्यक्ष कुमार पन्तको कार्यसमितिमा रहेका मध्ये सोनाम सबैभन्दा बढी सक्रिय पदाधिकारीमा पर्छन् । तर उनी चाहीं टिम वर्कमा विश्वास गर्छन।  

‘टिम महत्वपूर्ण हुन्छ’

गैरआवासीय नेपाली संघको नियमित विश्व सम्मेलन आगामी अक्टोबरमा हुने छ । तर, उक्त सम्मेलनबाट चुनिने नयाँ नेतृत्वलाई लिएर चर्चा भने शुरु भइसकेको छ । अचेल सोनामलाई केही साथीहरुले अब ‘अध्यक्ष बन्नुपर्छ’ भनेर भन्न थालेका छन् । 

सोनाम भने त्यसका लागि अझै तयार भइसकेका छैनन् । ‘म मात्रै तयार भएर हुने होइन, टिम मिल्नुपर्छ, योगदान दिन सक्ने साथीहरु एक ठाउँ हुनुपर्छ, भनेर मात्रै संस्था चल्दैन, पहिले सल्लाह गरौं’ उनले शुभचिन्तकहरुलाई यसै भन्ने गरेका छन् । 

'समय दिन सक्नेले मात्रै चाहना राख्नुपर्छ,' उनको सिधा सूत्र छ । उनका अनुसार अहिले संस्था घाटामा छ । लाप्राक वस्तीले झनै दायित्व बढाएको छ । संस्थाको दायित्व कसरी चुक्ता गर्ने भन्नेतर्फ पहिले सोच्नु आवश्यक रहेको उनले बताए । 'यो योगदान गर्ने ठाउँ हो, कमाउने ठाउँ होइन,' उनले भने । 

व्यापार र संगठनका क्रममा देश विदेश घुमेका सोनामको साठी वर्षे जीवनमा अनेकन भोगाइ र उपलब्धि छन् । केही घटना रोचक पनि छन् । 

पासपोर्ट पाउने पहिलो मुस्ताङ्गी 

अहिलेसम्म ८३ देशमा एनआरएनए पुगेको छ । ती मध्ये आधा आधीमा पुगेका छन्, सोनाम । आफ्नै व्यापार र एनआरएनए उनको विदेश घुमाइका कारण हुन् । 

विदेश जान पासपोर्ट चाहिन्छ अनि त्यसमा भिसा । सँगै स्पष्ट उद्देश्य पनि । १९ वर्षको उमेरमा काठमाडौं छिरेका सोनाममा जब विदेशबाट सामान ल्याउने र विक्री गर्ने मन जाग्यो, चाहियो पासपोर्ट (राहदानी) ।

त्यतिबेला सर्वसाधारणले पासपोर्ट पाउन सहज थिएन । जिल्लाको सिफारिस अनि परराष्ट्रय मन्त्रालयको स्वीकृति । काठमाडौंमा चिनजानेका केही मान्छे थिए । १९७९ मा परराष्ट्र मन्त्रालयबाट पासपोर्ट निकाले । उनलाई गर्व छ, उनी पासपोर्ट पाउने पहिलो मुस्ताङ्गी थिए । त्यो पासपोर्टको नम्बर सम्झना छ ? त्यो त भुलेँ, हाँसेर जवाफ दिए ।

उतिबेला नेपाली पासपोर्टको ठूलो सम्मान थियो । जापान, बैंकक, यूरोप, सिंगापुर जताततै 'अनअराइभल भिसा' थियो । 'कोरिया र जापानले त माउण्ट एभरेष्टको देशबाट आएको भनेर सम्मान पनि गर्थे,' उनले उतिबेला नेपाली राहदानी बाहकले पाउने सम्मानबारे खुलस्त पारे । 

'पछि त नेपालीहरु जहाँ गयो, त्यही हराउने र लुक्ने गर्न थाले, त्यसपछि भिसामा कडाइ भएको हो,' उनले भने । हरियो पासपोर्टबाटै कैयौं मुलुक घुमेका सोनाम लामालाई अचेल नेपाली पासपोर्टलाई गरिने मूल्यांकनले भने चित्त दुखाएको छ । 'यो सबै हाम्रै कारणले भएको हो,' उनले भने ।

अन्तिममा उनलाई प्रश्न थियो, अहिले हरियो पासपोर्टमा यात्रा गर्नुहुन्छ कि रातो पासपोर्टमा ? उनले खिस्स हाँस्दै जवाफ दिए, ‘गैरआवासीय नेपाली पासपोर्टमा ।’

ad
ad ad