ad

सबै जान्ने नेपाली

आइतबार​, चैत्र १ २०७७
image

-डा. निर्मल कंडेल

नेपालका गाउं, शहर वा विदेशमा वस्ने सुविधा संपन्न नेपालीहरुको यस्तो समूह छ, जसका सदस्यहरुमा एक विशेष लक्षण हुन्छ- उनीहरु मानिसहरुबीच घुलमिल हुन र जुनसुकै विषयमा पनि आफ्नो विशेषज्ञ राय दिन मन पराउंछन् । यी विचित्र विशेषज्ञहरुको अर्को एक विशेषता पनि छ-  यी सबै जान्नेहरु मुख्यत: पुरुष नै हुन्छन्, जुन नेपालको पितृसत्तात्मक समाजको प्रतिविम्व पनि हो। यी पुरुषहरु आफ्नो स्वघोषित विशेषज्ञताको दिनभर गुड्डी हांक्न थाक्दैनन् । कहांबाट आएका हुन्, अहिले कहां बसोबास गरी रहेछन् र सामयिक राजनैतिक चर्चाको विषय के हो, सो मात्रै फरक हुन्छ।

उदाहरणका निम्ति गाउंका “हरि काका” नै लिउं। उनी विहान उठ्छन्, एक कप दुध र मरिच हालेको गुलियो तातो चिया फुक्दै पिउंछन्, आफ्नो दैनिकी सिद्ध्याउंछन् र आफ्नी पत्नीलाई देउरालीमा मिटिंगमा जानुछ भन्दै निस्किन्छन्। त्यस्तै यता काठमाण्डौमा “हरि सर” विहान उठछन्, तौल घटाउन धुलो भरिएको बाटोमा मर्निंग वाकमा निस्कन्छन्,  घर फर्की अखबार पढ्दै हरियो चिया पिउंछन्। आफ्नी श्रीमती शकुन्तलालाई अफिसमा धेरै काम छ, म व्यस्त हुन्छु आज  भनेर घरबाट निस्किन्छन्। अफिस पुग्ने वित्तिकै हाजीर ठोक्छन, क्यान्टिनमा चिया पिउंदै  गफमा मिसिन पुगी हाल्छन् । यो त कार्यालयको कामको एक अभिन्न अंग भएको छ उनका निम्ति। उता अर्को हरि डिभि परेर अमेरिका पुग्छन् र केही महिनामै उनले आफुलाई ह्यारी भन्दै परिचय गराउन थाल्दछन् । म्यानह्याटनको छेउमा उनले विहानै कफीको गिलास समाई हतार हतारमा विहानको खाना पोको पार्छन् र सुती रहेकी आफ्नी श्रीमतीलाई “डार्लिंग,  हर्खवहादुरकहां आज पार्टी छ, खानपीन उतै हुन्छ,  मलाई अलि ढिलो हुन्छ” सुनाउंदै  फटाफट निस्किन्छन्।

हरेक विषयका ज्ञाता

यी “सबै जान्ने”हरु जम्मा हुन चिया पसल, क्यान्टिन, भट्टी र रंगीन पार्टीहरुमा छिर्छन् र आफु सबै विषयकाे जानकार भएको सोंच्दछन्। हामीले यस्ता छलफललाई “चिया पसलको गफ” भन्ने गर्दछौं। नाका अड्डा अव त अलि विस्तार पनि भएका छन् । आजकल त  ट्विटर, फेसबुक जस्ता भर्चुएल संसार यिनीहरुका भेटघाट र गफगाफका निम्ति पूर्वनिर्धारित अड्डा पनि बनिसकेका छन्।  कसैले मागोस् नमागोस् आफ्नो अति मह्त्वपूर्ण दृष्टिकोण, परामर्श र विशेषज्ञता फुटी कौडी नलिइकनै उपलव्ध गराउन कुनै मौका वा मंच छोड्दैनन यिनीहरु। 

हरि  काका एक कृषक हुन्, तर उनले कृषिवारे आफ्नो अनुभवबाट प्राप्त ज्ञान र सीपवारे  कहिल्यै बोल्दैनन्। “गाउं विकास समिति अध्यक्षले विकास निर्माणका निम्ति  किन कुनै काम गर्न सकेनन् वा बाटाघाटा, विद्यालय, स्वास्थ्य चौकी बनाउन सुधार्न किन सकेनन् ? अध्यक्ष भ्रष्ट भएकोले नै यो भएको हो” भन्नेमा उनी दृढ छन् र मौका मिल्नासाथ यो तत्व ज्ञान बांड्न चुक्दैनन् । हरि सर शिक्षा मंत्रालयका शाखा अधिकृत  हुन्, तर शाखा प्रमुख कसरी प्रभावकारी हुन सक्दछन् भन्ने कुरो उनी कहिल्यै चर्चा गर्दैनन्। तर उनलाई राम्रोसंग थाहा छ: स्वास्थ्य मंत्रीले राम्रो काम किन गरेनन्, डाक्टर र नर्सहरुको सुपरिवेक्षण किन गर्दैनन्, किन डाक्टरहरुलाई ग्रामीण क्षेत्रमा खटाउन सक्दैनन् । उता अमेरिकामा वस्ने ह्यारी सब-वेमा काम गर्छन् । तर भान्सा कसरी सफा गर्ने, वातावरण स्वस्थ कसरी राख्ने भन्ने वारे आफ्नो अनुभववारे चुइंक्क पनि बोल्दैनन् । तर उनी किन हाम्रो सरकार असफल भै राख्याछ, नयां विमानस्थल किन बनी रहेका छैनन्,  मंत्रीहरुलाई राम्रोसंग अंग्रेजी पनि बोल्न आउंदैन भन्ने विषयमा आफुलाई राम्रो दखल भएको ठान्दछन् र मौका पाउनासाथ व्यक्त गर्न कहिले पनि छुटाउंदैनन् ।

यी कुराहरु हरि काका, हरि सर वा ह्यारीबारे मात्रै होइनन्, यी त ती सबै आफुलाई “सबै जान्ने” भूत सवार नेपालीहरुको गफ गाफ वारेका कुरा हुन् । अरुका खोट देख्ने, अरुका थाप्लामा दोष थोपर्ने र आफु नै “सबै जान्ने” हरुको चरित्र हो। उनीहरुसंग समाधानका उपायहरु भै हाले पनि चिया गफमा मात्र भन्ने गर्दछन्, उपयुक्त ठाउंमा बोल्दैनन् र ठोस प्रमाण पनि उनीहरुसंग हुंदैन ।  ईन्जिनियरले ग्रामीण क्षेत्रमा डाक्टरहरु कसरी परिचालन गर्नु पर्दछ सो बिषयमा बोल्दछन्, आफुसंग विश्व दृष्टिकोण भएको जिकिर गर्दछन्, तर अस्पतालका पूर्वाधारको विकास कसरी गर्ने सो बारे उनीहरु कुनै सुझाव दिंदैनन् । वकीलहरु जलविद्युत विशेषज्ञ बन्दछन्, तर वातावरणमा यसको प्रभाववारे यिनीहरुलाई थाहै हुंदैन । विमानस्थल निर्माण वातावरण अनुकूल हुंदैन भन्ने राय डाक्टरहरु दिन्छन् ।

यस किसिमका “प्रबुद्ध वर्ग” लाई तीन समूहमा वर्गीकरण गर्न सकिन्छ । पहिलो वर्गमा हरि काका, हरि  सरलाई राख्न सकिन्छ, जो सवै विषयमा आफुलाई राष्ट्रिय स्तरको विशेषज्ञ मान्दछन् । यिनीहरुको विशेषज्ञ परामर्श या यता उती सुनेको भरमा हुन्छ या गुगलबाट पाएको अथवा राजनैतिक प्रभावको आधारमा। दोश्रो वर्ग भित्र “ह्यारी”हरु पर्दछन्, जो देश छोडी विदेशमा गएका छन् र सधै आफुलाई सबै थाहा भएको ठान्दछन् । उनीहरुले सधैं नेपालका जनतालाई वा नेपाल सरकारलाई गाली गरी रहन्छन् । उनीहरु ठान्दछन्, अधिकांश नेपालीहरु मेहेनत गर्दैनन्, गफ गरेर समय बिताउंछन् र राजनीतिले ग्रस्त छन् । यिनीहरु सधैं भन्ने गर्दछन् - नेपालमा जुनसुकै सरकार आए पनि भ्रष्टाचारमा लिप्त हुन्छ,  देश विकासमा ध्यानै दिन्न।

तेश्रो वर्गका “सबै जान्ने” हरु हुन् : बहुराष्ट्रीय कंपनीहरु, अन्तर्राष्ट्रीय संघ संस्था वा विश्वविद्यालयहरुमा काम गर्नेहरु । जुनसुकै विधाको शिक्षा वा विशेषज्ञताको पृष्ठभूमि होस्, यिनीहरुको विशेषज्ञता क्षेत्रको सीमा नै हुंदैन। यिनीहरुसंग अमेरिका र चीनबीचको व्यापार युद्ध तुरुन्त हल गर्न सक्ने क्षमता हुन्छ । अमेरिकाको नयां राष्ट्रपति को हुनेछ भन्ने यिनीहरुलाई थाहा भै सकेको छ । नेपालले चीन र भारतसंग कस्तो संबन्ध राख्नु पर्दछ भन्न विषयमा त यिनीहरुको दख्खल अलौकिक हुन्छ। 

पूर्वाग्रही दृष्टिकोण

यी “जान्नेहरु’को अर्को विशेषता पनि छ। यिनीहरु आफ्नो परामर्श देशमा आउंदा दिंदैनन्, बाहिर भए पनि पठाउंदैनन् । म यहां त्यस्ता जान्नेहरुको समूहबारे भन्दै छु, जसको राय या परामर्श खोजिएको हुंदैन, तिनका राय प्राय: पूर्वाग्रही हुन्छन् । हामीहरु सवै देशमा आर्थिक समृद्धि होस् भन्ने चाहन्छौं । तर यसको अर्थ हामीले जेमा पनि खोट निकाल्ने, नेपालका जनता, संस्था वा सरकारलाई दोष दिने गरेर मात्र त हुंदैन । कुनै ईन्जिनियरले भ्रष्टाचार गर्यो भने यो वर्गले पुरै ईन्जिनियरिंग समुदाय दोषी हुन भन्ठान्छ। यो लेखमा “यसले त मेराबारे पो यसो भन्यो” भन्ने कसैलाई लाग्छ भने हो,  त्यो व्यक्ति निश्चय नै यही समूहभित्र पर्दछ, र म त्यसलाई निशुल्क परामर्श दिन्छु: तपाईले आफ्नो बानी व्यहोरा सुधार्नोस् र व्यावहारिक एवं रचनात्मक हुन थाल्नु होस्। 

डा. कडेल एक मेडिकल एपीडेमियलजिस्ट र मानवशास्त्री  हुन्। उनी नेपाल चिकित्सक संघका सदस्य पनि हुन्।  यहाँ व्यक्त धारणा उनका निजी हुन् । डिसंबर ३०, २०१८ मा 'द काठमाण्डु पोष्ट' मा प्रकाशित यो लेख भेषराज कंडेलले अंग्रेजीबाट नेपालीमा रुपान्तरित गरेका हुन्  । सं.

ad
ad ad