ad

अलविदा, नवीन्द्र दाइ !

शनिबार, चैत्र १४ २०७७
image

-डा. दधि अधिकारी

मृत्यु साश्वत सत्य हो, तर यो यति क्रुर हुन्छ भन्ने महशुस मैले गरेको थिएन । हेटौडाको मनकामना जाने बाटोको उकालोमा हिँड्दै गर्दा खगेन्द्रजी (खगेन्द्र आचार्य–संस्थापक अध्यक्ष, ओवाईए इंक) ले फोन मार्फत दिएको नवीन्द्र दाइ ब्रेन ह्यामरेज भएर नर्भिक अस्पतालमा हुनु हुन्छ भन्ने खबरले स्तब्ध बनायो । नवीन्द्र दाइलाई ब्रेन ह्यामरेज नै हुने गरि स्वास्थ्य समस्या भएको जस्तो लाग्दैन थियो । माघ १६ गतेको शहिद दिवसको कार्यक्रममा ब्लड प्रेसर अलिकति बढेर कार्यक्रम छोट्याएको त हो, तर त्यसदिन बढेको ब्लड प्रेसर नवीन्द्र दाइलाई हामीसंग सदाका लागि चुँडेर लैजाने घातक ब्रेन ह्यामरेजको पूर्व संकेत थियो भनेर अनुमान नै गर्न सकिएन । उक्त दिन बढेको ब्लड प्रेसर पस्चात नवीन्द्र दाइले चिकित्सकसंग परामर्श गरेर आफूले सेवन गर्ने औषधिहरुको पुनरावलोकन गर्नु भएको थियो ।

म अर्को दिन हेटौडाबाट फर्के लगत्तै नर्भिक अस्पताल पुग्दा नवीन्द्र दाइका शुभचिन्तकहरुले अस्पतालको परिसर भरिभराउ थियो । सबैले नवीन्द्र दाइको सिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका थिए । सपना भाउजु (नवीन्द्र दाइकी श्रीमती) र छोरी निरहिटीसंग भेट्दा उहाँहरुलाई कुन शब्दले सान्त्वना दिने मसंग शब्द नै थिएन । नवीन्द्र दाइलाई चाँडै ठिक हुन्छ, यति धेरै शुभ चिन्तकहरुको प्रार्थना भगवानले सुन्छन् भन्ने बाहेक मसंग अरु कुनै शब्द नै थिएन । डा. राजिव झाको नेतृत्वमा रहेको चिकित्सक टोलीले नवीन्द्र दाइलाई फिर्ता ल्याउन सर्वोत्तम प्रयास गरेको हो, बीचमा केहि सुधारको लक्षण पनि देखिएको हो । तर दैवको अगाडी हाम्रो मानवीय प्रयास असफल भैदियो, नवीन्द्र दाइलाई हामी सबैबाट दैवले चुँडेर लगिदियो ।

नवीन्द्र दाइसंगको मेरो चिनाजानी उहाँ काठमाण्डौको उपमेयर हुँदा देखिको हो । तर निकट संबन्ध सन् २००६ बाट भएको हो जब उहाँले मलाई गणेशमान सिंह अध्ययन प्रतिष्ठानको सदस्यमा नियुक्त गर्नु भयो । उहाँ संगको सामिप्यताले मलाई निष्ठाको राजनीति, नेपाली काँग्रेसको इतिहास र नेपाली काँग्रेसका अग्रजहरु विशेषतः गणेशमानजी र किसुनजीका बारेमा धेरै नलेखिएका कुराहरु थाहा पाउने मौका मिल्यो । नवीन्द्र दाइले उहाँ उद्योग मन्त्री हुँदाको अनुभव सुनाऊँदा सत्ता र शक्ति प्राप्त हुँदा देश र जनतालाई एकातिर पन्छ्याएर भ्रष्ट र अनैतिक हुन चाहने हो भने कस्ता कस्ता अवसर आऊँछन भन्ने थाहा भयो । नवीन्द्र दाइले भन्नु हुन्थ्यो, "यदि सत्तामा पुगेको मानिसले कोठा भरि पैसाको चाङ र अन्य ऐयासीका अवसरलाई लत्याउन नसक्ने हो भने उ सजिलै दलालहरुको चंगुलमा पर्दछ र त्यो चंगुलबाट जीवनभर मुक्त हुन सक्तैन । त्यसैले यदि तपाईंलाई कुनै दिन त्यो अवसर प्राप्त भयो भने पहिलो दिन देखी नै त्यस्ता प्रवृत्तीलाई लत्याउनु होला र देश र जनतालाई अगाडी राखेर निर्णय गर्नु होला । होइन भने तपाईंको आदर्श भाषणमा मात्र सिमित हुनेछ ।"

निष्ठाको राजनीतिको प्रतीक

मैले देखेको र बुझेको नवीन्द्र दाइ निष्ठाको राजनीतिको प्रतीक हो । उच्चस्तरको इमान्दारिता र नैतिकता नवीन्द्र दाइका विशेषता थिए । लोकतन्त्र र समाजवाद रट्ने कुरा होइन, यो त जीवन पद्धति  हो भन्ने कुरामा उहाँको अटल विश्वास थियो । वीपी, गणेशमान, किसुनजीले अवलम्बन गर्नु भएको सादगीपूर्ण जीवनलाई उहाँ आफ्नो मार्गदर्शन मान्नु हुन्थ्यो । गणेशमानजीले भारतमा रहँदा नेपालबाट गएका मानिसको पाउपोशको माटो शिरमा लगाएको घटनालाई उहाँ निकै उत्साहित भएर सुनाउनु हुन्थ्यो । 

कतै भ्रमण गर्दा पनि उहाँमा कुनै तडक भडक थिएन र लागेको खर्च उहाँ आफै ब्यहोर्नु हुन्थ्यो । मलाई सम्झना छ एक पटक काभ्रेको एउटा कार्यक्रममा जाँदा होटेलमा भएको खर्च होटेलवालाले लिन मानेनन् । तर नवीन्द्र दाइले होटलवालालाई यो तपाईंको व्यापार हो, हामीले सित्तैमा खान मिल्दैन भनेर पैसा दिएर छाड्नु भयो । हामीले नवीन्द्र दाइसंग खर्च साझा गरौं भन्दा पनि मान्नु भएन । तपाईंहरु भरखर आफ्नो करियर बनाऊँदै हुनु हुन्छ त्यसैले म दाइको नाताले अहिले खर्च व्यहोर्ने जिम्मेवारी मेरो हो भन्नु हुन्थ्यो । 

नवीन्द्र दाइलाई गणेशमानजी र किसुनजीले निकै माया गर्नु हुन्थ्यो र उहाँहरुको विश्वासपात्र पनि हुनु हुन्थ्यो । उहाँ हरुको विश्वास नवीन्द्र दाइले कायम राख्नु भएको पनि थियो । एक पटक किसुनजीले गणेशमानजी लाई केहि कुरामा छलफल गर्न बोलाउनु भएछ । गणेशमानजीले नवीन्द्र दाइलाई पनि संगै लिएर जानु भएछ तर किसुनजीको कोठामा नलगी बाहिरै बसाउनु भएछ । गणेशमानजी र किसुनजीको छलफल पछि किसुनजीले एउटा पानामा केहि कुरा लेख्नु भएछ तर आफ्ना अक्षरहरु उहाँलाई त्यति मन परेनछ । अब त्यो लेखनलाई कसले राम्रो अक्षरमा लेख्ला भनि किसुनजीले गणेशमानजीलाई सोध्नु भएछ । गणेशमानजीले मैले नवीन्द्रलाई संगै ल्याएको छु उसैले लेख्छ भन्नु भएछ । किसुनजीले हुन्छ भने पछि नवीन्द्र दाइलाई भित्र बोलावट भयो । किसुनजीले नवीन्द्र दाइलाई ल तिमीले यो लेखेको कुरा अर्को पानामा राम्रा अक्षरमा सार तर यहाँ के लेखेको छ त्यो कुरा आफ्नो सम्झनामा नराख्नु भन्नु भएछ । नवीन्द्र दाइले पनि निकै आज्ञाकारी भएर सो कुरा अर्को पानामा सार्नु त भएछ तर सम्झनामा केहि राख्नु भएनछ । नवीन्द्र दाइले मलाई भन्नु हुन्थ्यो, दधि मलाई त्यो पानामा के कुरा लेखिएको थियो भन्ने कहिले पनि सम्झना भएन । तर त्यो कुरा त्यति महत्वपूर्ण र गोप्य थियो कि पछि किसुनजीले गरेको त्यो खेस्रालाई मंगला आमाले च्यातेर टुक्रा टुक्रा पारेर आगोमा जलाउनु भयो । यो घटनाले नवीन्द्र दाइ र शिर्ष नेताहरुको एक अर्का प्रतिको विश्वास र आस्थालाई स्पष्ट पार्दछ । नवीन्द्र दाइले मलाई यस्ता धेरै प्रेराणदायी, शिक्षाप्रद र ऐतिहासिक कुरा सुनाउनु भएको छ ।

नवीन्द्र दाइलाई गणेशमानजीले विशेष स्नेह गर्नु हुन्थ्यो । त्यसैले गणेशमान सिंह अध्ययन प्रतिष्ठान जुन गणेशमानजी जिवित हुँदै खुलेको प्रतिष्ठान थियो त्यसको अध्यक्ष नवीन्द्र दाइलाई बनाउने प्रस्ताव गणेशमानजीले नै गर्नु भएको थियो र त्यसको समर्थन संपूर्ण सदस्यहरुले गरेका थिए । प्रतिष्ठानको मातहतबाट राष्ट्रियता, लोकतन्त्र र समाजवादका कार्यक्रम संचालन गर्ने नवीन्द्र दाइको ईच्छा थियो । यो दिशामा केहि काम पनि भएका थिए । गतवर्ष कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव र निराकाणका उपायहरु संबन्धमा नवीन्द्र दाइको अध्यक्षतामा गठित समिति जसमा योजना आयोगका पूर्व उपाध्यक्षहरु लगायत प्राज्ञहरुको पनि सहभागिता रहेको थियो सो समितिले सरकारलाई निकै छोटो समयमा निकै गहन प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको निकै प्रशंसा पनि गरिएको थियो ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानसंग संबन्धित अर्को प्रसंग पनि उल्लेखनीय छ । अहिले देशमा यस्ता प्रतिष्ठान खोले अकूत सरकारी अनुदान लिने लहर चलेको समयमा नवीन्द्र दाइले कहिले पनि यस्तो अनुदान लिनु भएन । प्रतिष्ठान लोकतन्त्रलाई माया गर्ने केहि दाताहरु र नवीन्द्र दाइको आफ्नै व्यक्तिगत खर्चमा चलेको थियो । यसले नवीन्द्रदाइ पारदर्शिता, ईमान्दारिता र नैतिकता प्रति कति सचेत हुनुहुन्थ्यो भन्ने स्पष्ट गर्दछ ।

बाँच्न पाउने अधिकार

बाँच्न पाउनु मानिसको सबैभन्दा पहिलो अधिकार हो भन्नेमा नवीन्द्र दाइ दृढ हुनुहुन्थ्यो । यसको निमित्त हरेक नागरिकको निमित्त खाना, स्वास्थ्य र बस्ने बासको सुनिस्चितता गर्नु कुनै पनि जिम्मेवार सरकारको पहिलो दायीत्व हो भन्नेमा उहाँ स्पष्ट हुनुहुन्थ्यो । कोरोना अवधिमा देश राजनीतिक खिचातानीमा व्यस्त भयो तर गरिब, निमुखाहरु कोरोनाको सामान्य परिक्षणबाट पनि वंचित भए भन्ने लागेर उहाँ कम्तिमा पनि आफ्नो निर्वाचन क्षेत्रमा भए पनि केहि गर्नु पर्दछ भन्ने लागेर जनताको घर घरमा पुग्नु भयो । उहाँको साथमा मास्क, स्यानिटाईजर, अक्सिमिटर, र सिटामोलको प्याकेट थियो । प्रत्येक घरलाई उहाँले यो प्याकेट दिनु हुन्थ्यो । यसका साथै २४ सै घण्टा चिकित्सकको सल्लाह लिन सक्ने गरेर आमनागरिकको निमित्त हटलाइनको व्यवस्था गरिदिनु भएको थियो । नवीन्द्र दाइको यो कार्यको आम नागरिकले निकै प्रशंसा गरेका थिए ।

नवीन्द्र दाइ काँग्रेसमा देखिएको गुटबन्दीप्रति निरास हुनु हुन्थ्यो । पार्टीमा गुटगत भागबण्डा नभएर व्यक्तिको क्षमता र योगदानको आधारमा अवसर दिईनु पर्दछ भन्ने मान्यता उहाँको थियो । काँग्रेसका कार्यकर्तामा विपक्षी संग सहज हुने तर आफ्नै पार्टीका साथीहरुसंग बोल्न, बस्न र छलफल गर्न असहज मान्ने प्रवृत्तिको विकास हुँदै गएकोेमा निकै चिन्तित हुनु हुन्थ्यो । पार्टीभित्र गुट निर्माण सिद्धान्तको निमित्त हुनु पर्दछ अवसरको निमित्त होइन भन्ने मान्यता उहाँमा थियो ।

संगठन निर्माणमा पनि नवीन्द्र दाइको चिन्ता उत्तिकै थियो । २१ औं शताब्दीमा राजनीतिक पार्टीको संगठन निर्माणको तरिका २० औं शताब्दीको जस्तो हुनुहुँदैन भन्ने मान्यता उहाँमा थियो । पार्टीले युवाहरुमा वर्तमान समय अनुसारका सिद्धान्त र अनुशासन संप्रेषण गर्ने, विभिन्न संचार माध्यम मार्फत कार्यकर्ता र शुभेच्छुकसंग नियमित संवाद गर्ने, नियमित प्रशिक्षण कार्यक्रम संचालन गर्ने कार्य गर्नु पर्दछ भन्ने विचार उहाँको थियो । नवीन्द्र दाइ कार्यकर्ताहरु नेताहरुको घर घरमा गएर दैनिक भेट गरेपछि मात्र उनीहरुलाई जिम्मेवारी दिईने प्रवृत्तिको सख्त विरोधी हुनु हुन्थ्यो । नवीन्द्र दाइको विचार कार्यकर्तालाई जीवनभरमा एउटा पदको आशामा झुलाएर आफ्नो पछि हिडाउनु समाजवादी नेताको आचरण हुन नसक्ने भन्ने थियो । कार्यकर्तालाई विचार, व्यवहार र कार्यक्रमहरुले आकर्षण गर्ने हो पद र पैसाको लोभले होइन भन्ने कुरामा उहाँ स्पष्ट हुनु हुन्थ्यो ।  

पार्टी र समग्र राजनीतिमा युवाहरुको घट्दो आकर्षणप्रति नवीन्द्र दाइको चिन्ता थियो । राजनीतिमा युवाहरुको सहभागिता विना देशको विकास हुन सक्तैन भन्ने मान्यता उहाँमा थियो । ईनफ इज ईनफ र अन्य त्यस्तै प्रकारका आन्दोलनमा स्वतः स्फूर्त रुपमा युवाहरुको सहभागिता   हुने तर ने.वि.संघले गर्ने त्यस्तै प्रकारको आन्दोलनमा युवा सहभागिता   कम हुनुको कारण के हो भन्नेमा नवीन्द्र दाइको चिन्ता थियो । नेपाली काँग्रेसले युवाहरुको चाहना र आवाजलाई समेट्न सकेन कि भन्ने उहाँलाई लाग्थ्यो । संसद र पार्टीमा २५–४० वर्षका युवाहरुको निमित्त केहि सिट सुनिस्चित गर्ने तर्फ आवाज उठाउने उहाँको तयारी थियो । युवाहरुलाई राजनैतिक रुपमा चेतनशील र सक्रिय बनाउने उद्देश्यले उहाँले मासिक रुपमा युवाहरुसंग भेटघाट र छलफलको कार्यक्रम चलाउनु भएको थियो । ती छलफल कार्यक्रममा ने.वि. संघ र तरुण दलका कार्यकर्ताको उत्साहजनक उपस्थिती देखिएको थियो । युवाहरुको सहयोगमा चाँडै नै भ्रष्टाचार विरुद्धको आन्दोलन शुरु गर्ने उहाँको योजना थियो ।

तर विडम्बना, नवीन्द्र दाइले युवाहरुको त्यस्ता दुई वटा मात्र कार्यक्रमहरुको आयोजना गर्न सक्नु भयो र हामीलाई छोडेर जानु भयो । हामीले एक निष्ठावान राजनीतिज्ञ गुमाएका छौं । नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । नवीन्द्र दाइ, हामी तपाईंलाई फिर्ता ल्याउन त सक्तैनौं, तर तपाईंले राष्ट्रियता, लोकतन्त्र र समाजवादको लक्ष्य प्राप्तीको निमित्त दिएका ज्ञान र देखाएका बाटाहरुमा अविचलित भएर हिडी रहने प्रण गर्दछु । अलविदा प्यारो नवीन्द्र दाइ !

अर्थशास्त्री अधिकारी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका सदस्य हुन्।  

(साभार: नेपाललाइभ डटकम) 

ad
ad ad