ad

पर्सिभिअरन्सले गर्‍यो मंगल ग्रहको सतहमा सफल परीक्षण यात्रा

शनिबार, फागुन २२ २०७७
image

एजेन्सीहरू : अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स यानले मंगल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको छ ।

शुक्रबार पृथ्वीमा डाउनलोड गरिएका तस्बिरले सो रोबोटले आफ्नो पाङ्ग्रा निकालेर छोटो यात्रा गरेको संकेत दिएको हो । एक टन वजन भएको रोबोट मङ्गल ग्रहको सतहमा दुई साता अघि ओर्लिएको हो ।

पाङ्ग्रा

दुई सातामा वैज्ञानिकहरूले सो यानका थुप्रै प्रणालीलाई सक्रिय बनाएका छन् । पर्सिभिअरन्सले मंगल ग्रहमा कुनै बेला भएको हुन सक्ने जीवनको प्रमाण खोज्ने नासाले जनाएको छ । सो खोजका लागि अन्तरिक्ष यानले दुई वर्षमा पन्ध्र किलोमिटर यात्रा गर्ने अपेक्षा नासाको छ ।

मङ्गलमा पाइला

कुनै बेला ठूलो ताल रहेको ठानिएको मंगल ग्रहको क्षेत्रमा प्रागऐतिहासिक जीवन अवशेषको खोजी गर्ने नासाको तयारी छ । त्यसका लागि विभिन्न चट्टानको अध्ययन गर्ने प्रयास यानले गर्ने बताइएको छ ।

अध्ययनका लागि एउटा सानो हेलिकप्टरको उडान पनि नासाले गर्न लागेको छ । अहिले सो हेलिकप्टर यानभित्र नै राखिएको छ । केही साता सो यानले हेलिकप्टर निकालेर राख्न उपयुक्त स्थानको खोजी गर्ने नासाको भनाइ छ ।

ad
ad ad