ad

सुशील दाइको सम्झना

शनिबार, फागुन २९ २०७७
image

-विपुल पोख्रेल

खुट्टामा ‘माइनर अप्रेसन’ गरेर ‘बेड रेस्ट’मा रहेको समयमा मैले वरिष्ठ पत्रकार सुशील शर्माको निधनको खबर सुनेँ । अप्रेशनबाट बनेको घाउको दर्दलाई सहेर बसीरहेको मलाई त्यो खबरले स्तब्ध बनायो, मनमा छटपटी पनि छुट्यो । स्तब्धता र छटपटीले मेरो खुट्टाको दर्द कता हरायो कता !

सुशील शर्माको फोटो फेसबुकमा पोष्ट गर्दै मैले लेखें, ‘ वरिष्ठ पत्रकार सुशील शर्माको निधनबाट नेपाली पत्रकारिताले एउटा निष्ठावान अगुवा गुमाएको छ । यो दुःखको घडीमा सुशील दाइप्रति हार्दिक श्रद्धान्जली ।’

केही बेरमा एउटा टेलीभिजन समाचारमा उहाँको मृत्युबारे समाचार हेरेँ । ६३ बर्षको मात्र हुनुहुँदो रहेछ । ‘तटस्थ राजनीतिक विश्लेषक’ भनेर त्यो समाचारमा सुशील दाइको परिचय दिइयो । राजनीतिक रूपमा पुरै विभाजित समाजमा त्यत्तिको विशेषण सीमितहरूको नामको अगाडी लाग्ने हो । सुशील दाइको त्यो परिचयले मलाई गौरवान्वित पनि बनायो । 

सुशील दाइसंग मेरो निकै घनिष्ट सम्बन्ध रह्यो । तर भेट भने जीवनमा एक पटक मात्र । उहाँसंगको सम्बन्धका कारण मैले पत्रकारितामा एउटा फड्को पार गर्न धेरै सहज भयो । 

युद्धविराम भंग

२०५८ साल मंसिर ८ मा तत्कालिन माओवादी र सरकारबीच युद्धविराम भंग भयो । युद्धविराम भंग भएको जनाउ दिन माओवादीले दाङमा रहेको सेनाको व्यारेकमा आक्रमण गरी हतियार लुटेको थियो । त्यसको ठिक एक महिनापछि त्यही दाङको सदरमुकाम घोराहीमा हामीले रेडियो स्वर्गद्वारीको प्रसारण थालनी गरेका थियौं । पत्रकारिताको झण्डै १० बर्षको अनुभव भए पनि मेरा लागि रेडियो पत्रकारिता नितान्त नौलो अनुभव थियो । बुटवलदेखि पश्चिमको पहिलो रेडियो थियो त्यो । म समाचार सम्पादकको भूमिकामा रहेको थिएँ । स्टेशन म्यानेजर दधिराम सुवेदीले रेडियो नेपालको घटना र विचार कार्यक्रमका लागि केही समय दाङबाट समाचारदाताका रूपमा काम गरेको अनुभव बाहेक हामीसंग कुनै अनुभव थिएन । 

यो परिवेशमा काम गर्दै जाँदा हाम्रासामु चुनौति थियो - रेडियो नेपाल, बीबीसीको नेपाली र हिन्दी सेवा अनि  भारतीय रेडियो आकाशवाणी सुनिरहेका स्रोताहरूलाई हाम्रो रेडियो सुन्ने कसरी बनाउने ? 

मेरो पत्रकारिताका उत्प्रेरक भगीरथ योगी दाइसंग म नियमित संपर्कमा रही रेडियोका सामग्री तयार पार्दै जान थाले । उहाँ काठमाडौमा रहेर बीबीसीमा काम गरिरहुन भएको थियो । उहाँले नै मलाई सुशील दाइसंग सम्पर्कमा बस्न भन्नुभयो र फोन नम्बर दिनुभयो । अब मेरो रेडियो पत्रकारिताका दुईजना गुरुहरू नियमित सम्पर्कमा रहनु भयो । हप्तामा एक वा दुई पटक त उहाँहरूको आवाज नै मैले मेरो रेडियोमा बजाउन थाले । ‘बीबीसीमा बोल्नेहरू पनि दाङकै रेडियोमा बोल्न थाले त !’ यस्तो प्रतिक्रिया सहित रेडियोका स्रोताहरू बढ्दै गए । हाम्रो समाचार विश्वसनीय मानिन मद्दत पुग्यो ।

संकटकाल, कांग्रेसको विभाजन, दरबार हत्याकाण्ड, दैनिक माओवादी युद्धमा मानिस मारिएका समाचार, राजाको प्रत्यक्ष शासनकाल, १९ दिने आम हड्ताल । मेरो रेडियो पत्रकारिताको प्रारम्भका दिनहरू यस्तो जटिल परिवेशकाबीच शुरु भएको थियो । समाचारमा तटस्थता र अधिकतम सूचना प्रवाह हाम्रा लागि महत्वपूर्ण थियो त्यो बेला किनभने तटस्थताको अभावमा हाम्रो सुरक्षा र विश्वसनीयता दुबै जोखिममा पर्ने अवस्था थियो । त्यस्तै समाचार प्रवाहको माध्यमका रूपमा हाम्रो मात्र रेडियो भएका कारण स्थानीय गतिविधिका समाचारहरूको चाङ सधै थुप्रो हुने । ती समाचार नदिदा स्थानीयहरूको गुनासो रहने । त्यसकारण अत्यन्त जिम्मेवार बन्नुपर्ने वाध्यता  थियो हाम्रा लागि ।

‘सहज संवाद गर्ने शैली’

सुशील दाइनै त्यो बेला मेरा लागि बलियो आधार हुनुभयो । उहाँको सहज संवाद गर्ने शैलीले गर्दा मैले सानातिना कुरा पनि फोनमा सोध्दै निर्णय लिदै जान थाले । भगीरथ दाइसंग सानातिना कुरा सोध्न डर लाग्थ्यो । विशेष कुराहरू सोध्थें र उहाँको सुझाव मेरा लागि निर्देशन हुन्थ्यो । विशेष बेलामा मेरा पिताजी र भगीरथ दाइको सल्लाह अहिले पनि लिन्छु मैले मेरो पत्रकारिताको जीवनमा । उहाँहरूसंग सुशील दाइसंग जति साना तिना कुरा भने सोध्न अप्ठ्यारो लाग्छ । 

एकपटक सुशील दाइले मलाई ‘त्यहाँ क्याजुएल्टीको अवस्था के हो ?’ भनेर सोध्नुभयो । मैले क्याजुएल्टी  भनेको बुझेन र अर्थ सोधेँ । उहाँले ‘युद्धभूमिमा बसेर क्याजुएल्टी भनेको नबुझ्नेले पनि पत्रकारिता गर्छन?’ भनेर हप्काउनु भयो र आफै मलाई बुझाउनु पनि भयो । यसरी शब्दको अर्थ समेत मैले उहाँसंग नहिच्किचाएर सोध्ने गर्दथे ।  

त्यो क्रममा सुशील दाइले धेरै कुरा सिकाउनुभयो मेरा लागि । पहिलो कुरा निडर हुन सिकाउनु भयो । युद्धको समयमा सूचना अधिकतम दिनुपर्छ भन्ने मान्यता राख्नु हुन्थ्यो र प्राप्त सूचना पुष्टि भएपछि निर्धक्क भएर प्रवाह गर्न भन्नुहुन्थ्यो । मैले गरेँ पनि त्यो काम । एक पटक सेनाको कर्नेलले सैनिकहरु सहित आएर हाम्रो कार्यालय घेरे । सुशील दाइले नआत्तिएर मुकाबिला गर्न भन्नुभयो । मैले मुकाबिला गरें र सेना फर्कियो पनि । 

अर्को उहाँले मलाई समाचारमा हतार नगर्न सिकाउनु भयो । युद्धमा मारिएकाको संख्या बढाउने होड नै थियो त्यो बेला । तर उहाँले लासको संख्यामा टाउको नदुखाउन र घटनाको विस्तृत विवरण खोज्न मलाई प्रेरित गर्नुभयो ।

'तटस्थता पत्रकारिताको मर्म'

अप्ठ्यारो समयमा प्रारम्भ भएको मेरो रेडियो पत्रकारितामा एकजना महत्वपूर्ण गुरुका रूपमा मलाई सुशील दाईले सिकाउनु भयो । तटस्थता नै पत्रकारिताको मर्म हो । तटस्थता कायम गर्नेहो भने जोखिमका समयमा पनि राम्रो पत्रकारिता गर्न सकिन्छ भन्ने त पढेको, सुनेको थिएँ । तर त्यसलाई व्यवहारमा प्रदर्शन गर्न निकै गाह्रो छ । सुशील दाइसंगको सामिप्यताले मलाई त्यो कुरा पनि सहज भयो ।

अर्को कुरा, स्रोतसंग जतिसके धेरै प्रश्न गर्न पनि सुशीलदाईले सिकाउनु भयो । एउटा सन्दर्भ म सधै सम्झन्छुँ । 

कांग्रेस विभाजन भएको थियो । शेरबहादुर देउवा नेतृत्वको कांग्रेस सरकारमा थियो, गिरिजाप्रसाद कोइरालाको नेतृत्वको कांग्रेस सत्ता बाहिर थियो । निर्वाचनको मिति तोकिएको थियो । दुबै कांग्रेसले आधिकारिकता पाउन निर्वाचन आयोगको निर्णय कुर्दै थिए । त्यो बेला नेपालगञ्जमा कोइराला नेतृत्वको कांग्रेसको सभा थियो । म पनि दाङबाट गएको थिएँ । रेडियोमा समाचार लाइभ गर्ने रहरले यसरी दौडाउंथ्यो हामीलाई त्यो समयमा । 

सभापछि गिरिजाप्रसाद कोइरालासंग पत्रकार भेटघाटको आयोजना भयो । मैले सुशील दाइलाई फोन गरेर ‘यो बेला कस्तो प्रश्न सोध्ने हो कोइरालालाई ?’ भनेर सुझाव मागें । उहाँले कोइराला कांग्रेसले आधिकारिता नपाएमा अबको चुनावमा भाग लिन्छ कि लिंदैन भनेर सोध्नुस् न’ भन्नुभयो । 

मैले सोधेँ त्यो प्रश्न कोइरालालाई । तर त्यो  प्रश्न अप्ठ्यारो रहेछ । कोइराला यसको जवाफ दिनबाट ‘स्किप’ हुन खोज्नुभयो । मैले प्रश्नमाथी प्रश्न गर्दै गएँ । उहाँले ‘हामी छलफल गरेर निर्णयमा पुग्छौ’ भन्नुभयो । त्यो छलफलले आधिकारिकता नपाए चुनावमा नजाने निर्णय पनि गर्न सक्छ ? भनेर मैले फेरि सोधेँ । कोइरालाले फ्याट्ट ‘सक्छ’ भन्नुभयो । यो सक्छ भन्ने जवाफ राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमको मुख्य समाचार बन्यो । मेरो प्रश्न देखेर केहीले त्यहाँ मेरो तारिफ पनि गर्नुभयो । बीबीसीका शरद के.सी.ले त्यो बेला नेपालगञ्जबाटै रिपोर्टिङ् गर्दथे । उनले पनि यही कुराबाट समाचार बनाए । बीबीसीले पनि ‘आधिकारिता नपाए कोइराला नेतृत्वको कांग्रेस चुनावमा नजान सक्ने’ भनेर समाचार बनायो ।

सुशील शर्मा भन्नासाथ गिरिजाप्रसाद कोइरालासंगको मेरो त्यो सवाल र उहाँको जवाफको प्रसङ्ग मस्तिष्कमा आइहाल्छ । निडर बन्ने र स्रोतसंग प्रश्नहरू सोधी राख्ने उहाँको दीक्षा मेरो पत्रकारिताको जीवनमा सधै रहने छ । 

बीबीसी नेपाली सेवाकालागी सुशील शर्माले सन् २००६ जुन १६ मा एउटा समाचार लेख्नुभएको थियो– शुक्रवारको दिन पत्याउनै नसकिने ढंगले घटनाहरू अघि बढ्ने केहि दिन यताको श्रृंखलाकै अर्को कडी थियो । यो पटक गृहमन्त्री विद्रोही नेता प्रचण्डसित कुराकानी गरेर मात्र फर्केनन् उनलाई आफैसंग हेलिकप्टरमा राखेर काठमाण्डौं ल्याए र सिधै प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गराए ।’ दरबार हत्याकाण्डदेखिका महत्वपूर्ण घटनाहरू शुक्रबार नै भएका थिए । अहिले शुक्रबार नै महत्वपूर्ण घटनाहरू हुन्छन् भन्ने विश्वास धेरै नेपालीहरूमा छ । नेपालीहरूमा यस्तो छाप बसाइदिने पत्रकार हुनुहुन्थ्यो– सुशील शर्मा । शुक्रबार नै हामीहरुसंग बिदा हुनुभएका निष्ठा र तटस्थताका प्रतिमूर्ति वरिष्ठ पत्रकार सुशील दाइप्रति हार्दिक श्रद्धाञ्जलि !

(नेपाल पत्रकार महासंघका उपाध्यक्ष पोख्रेल दाङ्गबाट प्रकाशित हुने गोरक्ष दैनिकका सम्पादक पनि हुन्।)

ad
ad ad