ad

ब्योमा ताम्राकार: सात समुद्रपारी राजनीतिमा उदाउँदी नेपाली चेली

नारायण अर्याल
बिहीबार, माघ २९ २०७७
image

काठमाडौं : राजनीति किन गर्ने ? हाम्रो सामान्य बुझाइ हो, शान, मान र प्रतिष्ठा कमाउन । यत्ति मात्रै होइन, मनग्य धन दौलत आर्जन गर्न अनि परिवार र केही पुस्तालाई चैनमा राख्न ।

राजनीतिमा लागेका अधिकांश नेपाली नेताहरुको व्यवहारले दिएको सन्देश हो, यो । योसँगै अर्को प्रश्न पनि आउँछ, राजनीति कसले गर्ने ? पहिले एक जमाना थियो, एउटा निश्चित सिद्धान्तमा अडिग रहेर लामो समय संघर्ष गरेर अनि चाहे अनुसारको व्यवस्था स्थापित गर्न लागिपर्ने व्यक्तिले । राजनीति गर्न त्याग चाहिन्छ, संघर्ष चाहिन्छ अनि दृष्टिकोण ।

तर, अचेल यो मान्यता बदलिएको छ । हिन्दीमा एउटा उखान छ नि, ‘जिसका लाठी उसका भैंस.....’

हो, यस्तै देखिँदै छ, नेपाली राजनीतिमा निष्ठाको तुलनामा शक्ति र पैसा हाबी हुँदै छ । गह्रौं खल्ती र सडकको भीड समर्थनको आधार बनेको छ । सेवा कर्म राजनीतिमा संलग्न कैयौं नेताहरु अपराधमा जोडिएका छन् । जसले गर्दा नयाँ पुस्ताको एउटा समूह राजनीतिबाट  भाग्दै छ भने अर्को समूह सत्ता र शक्तिका लागि जे गरेपनि हुन्छ भन्ने मानसिकताबाट अगाडि बढ्दै छ ।

किन त ?

उच्च नेतृत्व तहमा मौलाएको मनमौजी र दण्डहीनता यसका कारण हुन् । अर्को कारण राजनीतिप्रतिको बुझाइमा कमी हो ।

नेपालमा यस्तो संस्कारको विकास भइरहेका बेला सात समुद्रपारि पुगेकी एक नेपाली चेली भने त्यहीँको राजनीतिमा उदाएकी छिन् । राजनीतिको वास्तविक अर्थ यहाँ र त्यहाँ फरक छैन । तर, संस्कार फरक छ, सोंच फरक छ । उत्तरी यूरोपेली मुलुक फिनल्याण्डको राष्ट्रिय राजनीतिमा उदाउँदै गरेकी नेपाली चेली हुन् ब्योमा ताम्राकार ।

काठमाडौंदेखि हेल्सिन्की यात्रा

ब्योमा काठमाडौंकी राम्रै परिवारकी चेली हुन् ।

यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट सामाचार सुन्नुहोस् ...... । कम्तीमा तीन पुस्ताले सुनेको आवाज हो यो । हो, धेरैको कानमा अझै पनि गुन्जिने यही स्वरकी धनी कृष्णाकी छोरी हुन् ब्योमा ।

काठमाडौंमा राम्रै शिक्षा दीक्षा पाएकी ब्योमा र कामकै सिलसिलामा काठमाडौं आएका एक फिनिस नागरिकबीच हिमचिम शुरु भयो । उनीहरुबीचको प्रेम विवाहमा परिणत भयो । नेपाली चेली, विदेशी ज्वाईं । उनी फिनल्याण्डकी बुहारीका रुपमा प्रस्थान गरिन् हेल्सिन्की ।

‘जन्मघरबाट कर्मघर आएकी हुँ तर हराएकी छैन,’ व्यस्त जीवन शैलीका बीच करिब एक घण्टा समय निकालेर ग्लोबल नेप्लिजसँग उनले आफ्नो बेलिविस्तार लगाइन् ।

No description available.हेल्सिन्की पुगेर पनि केही वर्ष अध्ययनमै बिताएकी ब्योमा विस्तारै त्यहाँको समाजसँग घुलमिल गर्न थालिन् । ‘समाजमा घुलमिल हुनु पहिलो कर्तव्य हो, समाजमा आफू समाहित हुन सकिएन भने समाजले आफूलाई कहिल्यै चिन्दैन,’ फरक संस्कारमा व्यक्तिले आफूलाई कसरी समाहित गर्नुपर्छ भनेर आफूले गरेको अभ्यासको वृत्तान्त पनि सुनाइन् ।

फिनिस समाजमा घुलमिल हुँदै गर्दा उनी नेता पो बन्न पुगिन् ।

पहिले आप्रवासी अहिले काउन्सिलर

वैवाहिक सम्बन्धका कारण २९ वर्षअघि हेल्सिन्की पुगेकी ब्योमालाई त खासै समस्या थिएन, तर, त्यहाँ रहेका आप्रवासीहरुको समस्याले उनको मन छोयो । बहुसंख्यक र अल्पसंख्यकबीच हुने विभेदका घटनाले पिरल्यो । उनी यही विषयमा अध्ययन गर्न थालिन् ।

सोही क्रममा उनी जोडिइन्, त्यहाँको अल्पसंख्यक समुदायको पैरवी गर्ने दल ‘स्वीडिस पार्टी अफ फिनल्याण्डसँग । पहिले स्वीडेनको उपनिवेश रहेको फिनल्याण्डमा अहिले पनि स्वीडिस भाषा बोल्ने  फिनिश नागरिक हरु र  स्वीडिस  मूलका समुदायहरु छन् तर, अल्पमतमा । फिनिस राष्ट्रियता भित्र जोडिएको छ  स्वीडिस राष्ट्रियता पनि । आदिवासी फिनिस र उपनिवेशका क्रममा आएको स्वीडिस समुदाय मिलेर बनेको सिंगो राष्ट्रियता हो, ‘फिनिस राष्ट्रियता’ ।

अल्पसंख्यक समुदाय भित्रैको एउटा पाटो आप्रवासी समुदाय । 'अल्पसंख्यकको पैरवी गर्ने स्वीडिस पार्टीले मेरो धारणा मन परायो, अनि त्यही पार्टीको संगठनमा आबद्ध भएँ,' ब्योमाले आफ्नो राजनीतिक यात्राको गाँठो फुकाइन् ।

‘तर, सजिलो रहेनछ यहाँ । आफै धारणा बनाऊ, त्यसको पैरवी गर अनि त्यसलाई तथ्यका रुपमा स्थापित गर’ राजनीतिको सूत्र सुनाइन् । यही अभियानका कारण चार वर्षअघि उनलाई स्वीडिस पार्टीले हेल्सिन्की नगरको काउन्सिलर पदमा उम्मेदवार बनायो ।
उनले मनसँगै मत पनि पाइन् । विजयी भइन् । फिनिस बुहारी ब्योमाको परिचय बदलियो र बनिन्, हेल्सिन्की नगरकी ‘काउन्सिलर ब्योमा’ ।

No description available.आप्रवासी महिला भएर कसरी राजनीतिमा स्थापित हुनुभयो ? प्रश्न सुन्नासाथ उनी हाँसिन् । ‘यहाँ महिला र पुरुष भन्ने कुनै हुँदैन, मात्र दृष्टिकोणको कुरा हुन्छ, जसले भिजन ल्याउन सक्छ र जसले त्यसलाई कार्यान्वयन गर्ने आँट राख्छ उही नेता हुने हो, फिनिस राजनीतिक संस्कारको परिचय दिइन् ।

सिटी काउन्सिलरको रुपमा उनको पहिलो चार वर्षे  कार्यकाल आगामी अप्रिलमा सकिँदै छ । उनी दोश्रो पटक सोही पदमा उम्मेदवार बन्दैछिन् ।

हेल्सिन्कीको दोश्रो पारि

‘विविधतामा एकता’ ब्योमाको चुनावी नारा छ । यही नाराले उनलाई चार वर्षअघि विजयी बनायो । उनले यो नारा अहिले पनि दिएकी छिन् । उनका चुनावी एजेण्डा पनि पुरानै छन् । भन्छिन्, 'पहिलो कार्यकालमा सबै काम सकिएको छैन, बाँकी काम पूरा गर्नु छ ।'

‘यहाँको नीति निर्माण तहमा आप्रवासीको सहभागिता मेरो पहिलो प्राथमिकता हो । जुन समुदाय समस्यामा छ, ती समस्याको सामाधानका लागि त्यही समुदायलाई नीति निर्माण तहमा सहभागी गराउनुपर्छ । दोश्रो भनेको साँघुरो श्रम बजार र त्यसमा हुने विभेद हो । सबै आप्रवासीलाई विना भेदभाव रोजगारी उपलब्ध गराइनुपर्छ र राज्यले त्यसको सहजीकरण गर्नुपर्छ,’ फिनिस राजनीतिमा आफ्नो अभियानबारे उनले खुलस्त पारिन् ।

'पहिलो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले कसरी काम गर्ने भन्ने सिकेकी छु । यही सिकाइलाई आधार बनाएर दोश्रो कार्यकालमा स्थानीय र आप्रवासी समुदायबीच हातेमालोको अभियान चलाउने छु,' उनले भनिन्  ।

'नीति बनाउँछौं, गर भन्दैनौं'

निर्वाचित भएपछि सरकारी संयन्त्रलाई यो गर, त्यो गर वा यसरी गर, त्यसरी नगर भन्ने नेपाली संस्कार हो । करिब करिब  दक्षिण एसियामै यस्तै प्रचलन छ । के यो प्रजातान्त्रिक पद्धति हो त ?

ब्योमाको अनुभव छ, ‘यो प्रजातान्त्रिक संस्कार होइन । जनप्रतिनिधिले नीति बनाउने हो, कार्यान्वयनका लागि आवश्यक परे सहयोग गर्ने हो।  तर, सरकारी संयन्त्रलाई निर्देशित गर्ने होइन । जनप्रतिनिधिले निर्देशन दिन थाल्यो भने त प्रजातन्त्र नै भएन नि,' उनले भनिन् । पूर्ण समानुपातिक निर्वाचन प्रणाली रहेको फिनल्याण्डमा जित्नेको मात्रै कदर हुँदैन, कम मत ल्याउनेको पनि उत्तिकै सम्मान हुन्छ ।

‘पद जिम्मेवारी हो, राजनीति पेशा होइन’

हेल्सिन्की नगर काउन्सिलर ब्योमाको समाजसेवा एउटा पाटो हो । राजनीतिमा आउनु, पद लिनु र त्यस अनुसार जिम्मेवारी निर्वाह गर्नु सहज भने  छैन । 'यो स्वयम्सेवा हो, स्वयम्सेवाले  त परिवार पाल्दैन नि, त्यसैले आफ्नो जीविकाका लागि अर्को पेशा वा व्यवसाय गर्नुपर्छ,' नेपाली नेताहरुको जीवनशैलीसँग मेल नखाने तर्क उनले सुनाइन् ।

उनले केही समय विश्वविद्यालयमा पढाइन्, रिसर्चको काम पनि गरिन् । उनि अहिले करपोरेट सेक्टरसंग आबद्ध छिन।  अंग्रेजी र फिनिस  भाषामा पोख्त उनले अनुवादको काम पनि गर्छिन् । 'व्यवसाय गर्नै भ्याइनं, यस्तै 'जब' मा छु,' उनले आफ्नो जागिरे अनुभव साटिन् । 

'यहाँका धेरै मान्छे राजनीतिक पद लिन चाहन्नन् । जसले विश्वविद्यालय तहदेखि नै राजनीतिलाई केन्द्रमा राखेर अगाडि बढे उनीहरु मात्रै राजनीतिमा सफल हुन्छन्,' उनले सुनाइन् ।

फिनल्याण्डमा युवा महिला प्रधानमन्त्री छन् । उनका सहयात्री पनि युवा नै छन् । अधिकांश महिला । कसरी संभव भयो ? 

‘महिला र पुरुषको कुरै होइन, उनीहरुको एजेण्डा स्थापित भयो, भिजन पारित भयो, जसको भिजन पारित भयो, उनीहरुले नै सरकार चलाउने हो,’ उनले सत्ता सञ्चालनको विधि पनि बताइन् । ‘यसको मुख्य कारण चेतना हो।  त्यहाँको शिक्षा प्रणाली हो,' ब्योमाले भनिन् ।

नमुना शिक्षा प्रणाली

फिनिस शिक्षा प्रणाली विश्वमै उदाहरणीय मानिन्छ । त्यसैले त विश्वभरका विद्यार्थी उच्च शिक्षाका लागि फिनल्याण्ड पुग्छन् । शिक्षा निःशूल्क छ । विद्यार्थीको रुची र क्षमता अनुसारको शिक्षा दिइन्छ । त्यसैले त बेरोजगार हुने सम्भावना धेरै कम हुन्छ  ।

विद्यालय शिक्षापछि  धेरै विद्यार्थीहरु केही समय काम गर्ने गर्छन् । त्यही बेला विद्यार्थीहरुले सामाजिक र व्यक्तिगत  जिम्मेवारी लिन र समाजमा घुलमिल हुन  सिक्छन् । समाज चिन्छन्, समस्या थाहा पाउँछन् ।

व्यावहारिक,व्यावसायिक शिक्षा तथा जीवन पर्यन्त सिकाइलाई  प्राथमिकता दिइने भएकाले नै यहाँका मानिसमा फाल्तु समय नै हुँदैन ।

फिनल्याण्डको जस्तो शिक्षा व्यवस्था नेपालमा पनि लागू गर्न सके बेरोजगारी समस्या धेरै नै  कम हुने उनको ठम्याइ छ । डिग्रीमा होइन, सीपमा विश्वास गर्ने बानी बसाल्नुपर्छ , जब सीप हुन्छ, मान्छे बेरोजगार हुँदैन, नेपालमा पनि यस्तै शैक्षिक व्यवस्थाको खाँचो उनले औल्याइन् ।

आप्रवासीलाई कठिन

शुरुका चरणमा आप्रवासीलाई यहाँ घुलमिल हुनै कठिन छ । भौगोलिक सीमाका विषयमा उतिसारो चिन्ता नगर्ने युरोपेलीहरु आफ्नो भाषामा भने अति नै संवेदनशील छन् । हो, यहाँ पुग्ने जो कोही आप्रवासीलार्ई यही भाषाको समस्याले सताउँछ । भाषाकै कारण आप्रवासीहरु रोजगारीको विभेदमा पर्छन् । भाषाकैै कारण कानुनी अड्चनसमेत भोग्छन् ।

करिब  पाँच हजारको हाराहारीमा नेपाली छन् फिनल्याण्डमा । नेपालीले सञ्चालन गरेका रेस्टुरेन्ट छ्यापछ्याप्ती छन् । ती रेस्टुरेन्टका कामदार अधिकांश नेपाली नै छन् ।

विश्वविद्यालयमा अध्ययनका लागि पुग्ने नेपालीहरु पनि बाक्लै छन् । अध्ययनपछि उनीहरु पुग्छन्, श्रमबजारमा । जब श्रम बजारमा पुग्छन्, तब शुरु हुन्छ समस्या । स्थानीय भाषामा पर्याप्त ज्ञान हुँदैन, कामको अनुभव पनि ।

यही समस्या समाधान गर्न फिनिस सरकारले आप्रवासीहरुलाई भाषा र कामको तालिम दिन थालेको छ । , ब्योमाले आप्रवासीका लागि भएको प्रगतिको कथा वाचन गरिन् । 'भाषा सिकौं, सिप सिकौं, डिग्री च्यापेर नबसौं, यहाँको सरकारले कसैलाई पनि बेरोजगार राख्न चाहँदैन,' उनले स्पष्ट पारिन् ।

फिनल्याण्डको राजनीति र श्रम बजारबारे कुरा भइरहँदा उब्जियो नेपालको राजनीतिको प्रसंग ।

जेमा पनि राजनीति : विधिको उपेक्षा

शुरुमा नेपालको राजनीतिबारे खासै जानकारी नभएको बताएकी ब्योमाले एकपछि अर्को गर्दै सबै सरसर्ती बताइन् ।

आफू नेपालमा छँदा राजनीतिमा सहभागी नभएको बताएकी उनलाई विदेशमा रहेका नेपालीहरुले नेपालका दलका भ्रातृ संस्थाका रुपमा राजनीति गरेकोप्रति पटक्कै चित्त बुझेको छैन ।

'नेपालमा नेताहरुले जे गरिरहेका छन्, हामी विदेशमा रहेकाले पनि त्यस्तै गर्ने ? जातजातिका आधारमा संगठन बनाउने अनि आफू आफू झगडा गर्ने ? यो त राम्रो भएन नि !' उनले राजनीतिको एउटा पक्ष कोट्याइन् ।

उनको कुरामा समर्थन जनाउँदै जाँदा मुख खोलिन्, 'नेपाल त मेरो जन्मघर हो, त्यहाँको बारेमा चासो नहुने कुरै भएन नि, होइन र !'

'त्यत्रो संघर्ष पश्चात लोकतान्त्रिक संविधान बन्यो तर त्यसको पालना भएन । नेताहरुले प्रजातन्त्रलाई गलत तरिकाले प्रयोग गरे ।' नेताहरुले संविधान र प्रजातन्त्रको मर्म ‘फलो’ नगरेकाले अहिलेको समस्या आएको उनको बुझाइ छ ।

हेल्सिन्की नगर काउन्सिलरको रुपमा एक कार्यकाल पूरा गर्नै लागेकी ब्योमाले आफूलाई भर्खर राजनीति सिक्दै गरेको एक व्यक्तिको रुपमा चिनाइन् । 'सिक्नुपर्ने धेरै छ, पाइला चाल्दै छु,' उनले भनिन्, ‘अब एक अर्को कार्यकालले अलि बढी सिकाउला कि भन्ने अपेक्षा छ ।‘

नेपाल जोड्ने प्रयास

नेपाल र फिनल्याण्डबीच द्विपक्षीय सम्बन्ध स्थापित भएको निकै लामो समय भइसक्यो । यसबीचमा सरकार–सरकारबीच मात्रै नभई जनस्तरमा पनि सम्बन्ध बढ्दै छ ।

आधुनिकताको अग्रभागमा रहेको फिनल्याण्ड र आधुनिकतातर्फ भर्खर बामे सर्दै गरेको नेपालबीच अनेकन असमानता छन् । तर, नेपालमा समस्या पर्दा सघाउने र नेपालको विकासमा हातेमालो गर्ने अभियानलाई भने उनले प्राथमिकतामा राखेकी छन् ।

एउटा कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्क, को सदस्यको रुपमा उनले नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा परियोजनाहरु संचालन गर्न सहयोग रकम जुटाउँदै आएकी छिन्।   

त्यसो त जनस्तरबाट धेरथोर पैसा उठाएर पठाउँदैमा नेपालीले ठूलो फाइदा पाउँछन् भन्ने छैन । त्यसका लागि नीतिगत रुपमा सरकारी तवरबाटै सहयोग आदान प्रदान आवश्यक छ । यहाँको सरकारले पनि यो विषयलाई प्राथमिकतामा राखेको छ । 'यसमा मलाई सफलता पनि मिलेको छ,' उनले भनिन्, 'त्यसको नतिजा पनि देखिँदै छ ।'

'नेपालमा जस्तो मन्त्री प्रधानमन्त्रीलाई भेट्न गाह्रो हुँदैन । ‘इजि एक्सेस’ हुन्छ,' उच्च पदस्थ सरकारी अधिकारीहरुसँगको सम्बन्धबारे उनले जानकारी दिइन्, 'विषय प्रष्ट पार्न सक्नुपर्छ, जो सुकैले पनि भेट्न सक्छन् ।'

पूर्ण लोकतान्त्रिक राजनीतिक संस्कारमा नेतृत्वको सिंढी चढ्दै गरेकी ब्योमाले पदीय महत्वाकांक्षा भने व्यक्त गरिनन् । उनले माथिल्लो तहमा जाने तत्काल योजना नरहेको जानकारी दिँदै भनिन्, 'माथिल्लो तहको राजनीतिका लागि अझ बढी खारिनुपर्छ, थप नयाँ भिजन र क्षमता चाहिन्छ ।'

ad
ad ad